साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाको मान्छेका तथ्य कुरा बुझौँ

पछिल्लो पटक नेपालमा बजारवादले बुई चढ्दा ‘खानका काल, नकमाउने वा घरको बोझ’को रूपमा हेरिने पाका मानिस विस्तारै ‘आदरणीय’ बन्न थालेका छन् ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

संसारभरी नै पाका मानिसहरू करिब ६० वर्ष माथिकालाई भनिन्छ र जानिन्छ । नेपालमा पाका मानिसलाई ‘बुढाखाडा’, ‘बलियाबाङ्गा बाघलाई, बुडाखाडा माघलाई’, ‘बुढो भयो सब रङ्ग गयो, आँगन भयो परदेश’ जस्ता अति होच्याउने शब्द पनि प्रयोग गरिन्छ । तर, सँगसँगै ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’, ‘बुढापाकाको अर्ति माने बिग्रँदैन’ ‘बुढाबुढी मरे कुरा सरे’ भन्ने भनाई पनि छ । कतिपय जातजाति, समुदाय र संस्कृति अनुरुप पाका मानिससँग गरिने व्यवहार र भनाइ फरक पाइन्छन् ।

आजको विकसित समाजमा सञ्चारको चहलपहल र मानिसका भेटघाटले फेरि ‘संसार एक गाउँ’ अर्थात ‘बशुधैव कुटुम्बकम’मा नै फर्किरहेको छ । त्यसैको फल हिजोआज ज्येष्ठ नागरिकका बारेमा कुरा हुन थालेका छन् । व्यक्ति–व्यक्ति मात्र नभई, समाज र सरकारले पनि केही वर्षदेखि पाका मानिसका कुरा नगरी सुखै पाइरहेका छैनन् । पछिल्लो पटक नेपालमा बजारवादले बुई चढ्दा ‘खानका काल, नकमाउने वा घरको बोझ’को रूपमा हेरिने पाका मानिस विस्तारै ‘आदरणीय’ बन्न थालेका छन् ।

हुन त  यस्तो ‘सुनौलो उमेर’मा प्रवेश गर्दा पनि कसैकसैलाई चिन्ता हुन थाल्छ, पाको हुँदा चमकदमकभन्दा अशक्त र चाउरी पर्ने होला भनेर । समुदाय र परिवारको औषधि गर्ने धेरै चिकित्सक उमेर पाको हुनासाथ सबैलाई त्यस्तै हुन्छ भन्ने कुरामा सत्यता नरहेको जिकिर गर्छन् । हो, करिब ७० वर्ष पार गरेपछि मानिसमा केही शारीरिक र मानसिक परिवर्तनहरू आउँछन्, तर सबैले भन्ने गरेको दन्त्यकथा जस्तो पाका मानिसमा विपरीत असरहरू देखा नपर्न सक्छ । वास्तवमा जीवन भनेकै जीवनपर्यन्त गरिने स्वास्थ्यको मर्मत र संरक्षण हो । तपाईंको स्वस्थ्य बानी व्यहोरा छ र विस्तुर नगरी विगत जीवनभर नियम कायम राख्नुभएको छ भने दीर्घजीवन र सुखी पाका मानिसमा दरिन सक्ने संभावना बढी हुन्छ । केही अनुभवी र अनुसन्धाता चिकित्सकको सल्लाहहरू संयोजन गर्ने हो भने उमेर जतिसुकै बढे पनि पाको उमेरमा हामी स्वस्थ्य, चलायमान र तिक्ष्ण भइरहन सकिन्छ । संसारभरी धेरैतिर जस्तै नेपाली समाजमा चलेका केही भनाइलाई अनुसन्धाता चिकित्सक डा. कार्ल लाम्बेर्टका सल्लाहबाट प्रष्ट पारौं ।

पाका मानिसले कसरत गर्नुहुन्न ?
‘उमेरदार मान्छे पो बलियो बाङ्गो हुन्छ, बुढापाकाले कहाँ सकिन्छ ? तरुनातरुनी पो बलिया हुन्छन् र जीउको बल तह लगाउन कसरत गर्छन्’ भनिन्छ । त्यसैले, पाका मानिस धेरै जर्‍याकजुरुक गर्नुहुन्न र सकेसम्म ट्याउँट्याउँ बोल्ने अर्ती उपदेश दिने हो भन्छन् । ठूलो काम गर्न नसक्ने भएपछि बरु चुप लाग्ने र एकातिर बसेर आराम गरिरहनुपर्छ भन्छन् । तर, यो उल्टो भनाई हो । अनुसन्धानबाट देखिएको छ कि शारीरिक श्रम नगर्ने, आराममात्रै गर्ने र कसरत नगर्ने पाका मानिसमा अरु समस्याका साथै मोटोपना, मुटु रोग र मधुमेहको खतरा धेरै बढी रहेको पाइन्छ । बिग्रेको उपकरण जस्तो घरी यसो भयो, घरी उसो भयो भन्यो, आफैं केही उपाय गर्नुको सट्टा पैसा छ भने चिकित्सक भेट्यो, औषधि थप्यो । औषधिको रसायनले गर्ने बाह्य असरले अन्यत्र हान्छ, अर्को अङ्गमा असर गर्छ अनि अर्को समस्या देखिन्छ, फेरि कुद्यो अस्पताल वा चिकित्सक भेट्न । त्यस्ता पाका मानिसको बाँकी जीवनदैनिकी नियमित अस्पताल र चिकित्सकको भेटघाटमा नै बितिरहेको छ ।

नियन्त्रण यसरी गरौं पाका मानिसले पनि शरीरलाई दखल नपर्ने गरी गाह्रो होइन, हलुका शारीरिक व्यायाम गरौं । नियमित व्यायाम गर्नाले तपाईंको मुटु र फोक्सोलाई बलियो बनाउँछ र चिन्ता लिने मौका कम भएर तनाव व्यवस्थित गर्दछ । शरीरको तौल नियन्त्रण गर्दै सन्तुलनमा गरिने व्यायामले–विशेष गरेर हरेक दिनको नियमित हिँडाइ–तपाईंको हाडको स्वास्थ्य, बलियोपन र सन्तुलनको समस्या हल हुन थाल्छ । हाड बलियो र जीउको सन्तुलन भएमा तपाईंहरूमा लर्बराउने र पछारिने समस्या कम हुँदै जान्छ । यसो भएमा यस्तो उमेर समूहका पाका मानिसहरू ठूलो दुर्घटनाबाट बच्न सक्छन् ।

सावधानी यदी तपाईं पाका मानिसहरू पहिलो पटक व्यायाम गर्न जाँदै हुनुहुन्छ भने चिकित्सकसँग सल्लाह लिएर व्यायामशालाका प्रशिक्षकहरूलाई आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी गराउनु होला । हौसेर ‘म पनि सक्छु’ भनि गाह्रो व्यायाम सुरु गरि नहाल्नोस् । ‘योग गरे राम्रो’ भन्ने नाममा एउटा अति उच्च रक्तचाप भएका पाका मानिस शीर्षासन गर्दा सधैंका लागि बिदा भएका थिए ।

पाका मानिसले यौनक्रिडा गर्न सक्दैनन्ः
महिला र पुरुष दुवैमा यौनक्रिडा वयस्क भए पछि हुने जैविक आवश्यकता र प्रक्रिया हो । धेरै उमेर पुगेपछि पाका मानिस यौनक्रिडा गर्न सक्दैनन् भन्ने कुरा गलत हो । रोगले सताइएका, जीर्ण भएका र स्वासप्रस्वास तथा मुटुको समस्याले बिरामी भएका बाहेक रक्तचाप, फोक्सोलाई परिश्रम पर्ने यो जैविक क्रिया गर्न पाका मानिस सक्षम हुन्छन् । हो, कसैकसैमा मानसिक चिन्ता बढी भएर अथवा आन्तरिक जैविक उत्तेजक रसायन उत्पादन नभएर अथवा पाठेघर वा अण्डकोषकै समस्या भएर यौनक्रियाप्रति अनाकर्षक हुन सक्छन् ।

नियन्त्रण यसरी गरौंः विभिन्न शारीरिक र भौतिक कारणले पाका मानिसमा यौनप्रति उदासिनता हुनसक्छ । आफू हुर्केको संस्कृति, चलन र बुझाई तथा यौनसाथीको व्यवहारले पनि यौनक्रियाप्रति नकारात्मक सोचाइ आउनसक्छ र अनिच्छुक होइन्छ । शरीर भावनामा परेको गलत प्रभावलाई हल गरेर पाका मानिसले पनि यौन आनन्द लिन सक्छन् । यौन चाहना र क्षमतालाई विभिन्न माध्यमबाट सम्बोधन गरेर यौनक्रिया गर्न र पुनः तरुनो हुँदाको जस्तै सन्तुष्टि प्राप्त गर्न सकिन्छ ।

उदाहरणका लागि, महिला योनीको रस उत्पादन नभएर धेरै महिलाहरू आफ्ना पुरुष साथीका लागि अनाकर्षक बन्छन् । यस्तो समस्या महिनावारी नहुने भएपछि र भइरहँदा पनि हुनसक्छ । यस्तोमा यौनाङ्गमा चिप्लोपन बढाउने विभिन्न गुणका तेलहरू प्रयोग गर्नु लाभदायक हुन्छ । पुरुषहरूमा पनि लिङ्ग यौनक्रियामा तयार नहुने वा दह्रो नहुने समस्या हुनसक्छ । जैविक रसायनको कमी वा अनियन्त्रणले हुने यस्ता समस्याका लागि अहिले लगाउने र खाने प्रशस्त औषधि बजारमा पाईन्छन् । उचित विश्वसनीय चिकित्सकको सल्लाहमा सेवन गर्न सकिन्छ र आफ्नो यौनजीवन सुखमय बनाउन सकिन्छ । हुनत, बढी उमेरकालाई चिकित्सकसँग यस्तो उमेरमा यस्ता कुरा भनेर यौनका कुरा गर्न असजिलो लाग्नसक्छ । सम्बन्धित विषयका चिकित्सकको भनाई र सल्लाह मान्दा नै बाँकी जीवन सुखमय हुन्छ भने किन धक मान्नु ? कुरा गर्नै पर्दछ अन्यथा उदासिनता बढन सक्छ ।

पाका मानिसलाई कम सुते पुग्छः
वयस्क र कम उमेरका मानिसलाई पाका मानिसको तुलनामा बढी सुत्न आवश्यक छ । तर ख्याल रहोस् पाका मानिसले वयस्कभन्दा बढीमा एक घण्टामात्र कम सुत्ने हो । उमेर बढी भएकाले सुत्नै पर्दैन, निद्रै लाग्दैन भन्ने कुरा गलत हो । रोग, चिन्ता वा अन्य कारणले निद्रा राम्ररी नपर्ने पाका मानिसले त अझ बढी आराम गर्नुपर्छ । त्यसैले पाका मानिसले हरेक रात ६ देखि ७ घण्टा निदाउने गरी सुत्नै पर्दछ ।

नियन्त्रण यसरी गरौँः राम्ररी नसुत्ने वा निद्रा नपरे धेरै खालका गल्ती कमजोरी देखिन थाल्छन् । पाका मानिसले मस्तसँग निदाउने बानी बसाल्नु पर्छ । ठीक समयमा सुत्ने, ठीक समयमा उठने र आवश्यक पर्दा दिउँसो एकछिन झकाउने गर्नुपर्छ, त्यस्तो भएन भने धेरै रोगहरू लाग्न सक्छन् र अलि दुःख पाइन्छ । कुनै कुनै औषधिहरू, कफी, मादकपदार्थ र धुमपानको असरले पनि कम निद्रा लाग्ने हुनसक्छ । सकेमा आफैं सचेत हुने र यथायोग्य बानी बसाल्ने नसकेमा सुताईविज्ञ चिकित्सकसँग परामर्श लिएर समस्या समाधान गर्नुपर्दछ ।

हाडजोर्नी समस्या र बाथ पाका मानिसलाई अवश्यंभावी छः
उमेर र समयअनुसार हाडजोर्नीका समस्या हुन सक्छन, तर सधैं होइन । अमेरिकी स्वास्थ्य संस्थानका अनुसार ६५ वर्ष माथिका आधाजसो त्यहाँका पाका मानिसलाई मात्र सामान्य खालको हाडको बाथ भएको पाइएको छ । तिनीहरूको जाँच गर्दा समस्या भएको जोर्नी र रोगग्रस्तता भने उमेरजन्य खिइएर वा सुन्निएरभन्दा अन्य खतरनाक कारणले भएको पुष्टि भएको छ । त्यस्ता कारणमा मोटोपना, वंशानुगत र पहिले भएका जोर्नीका चोटपटक रहेको छ । जीउ दुख्ने, जोर्नी सुन्निने, हाड चर्कने वा हातखुट्टा करकर खाने समस्यामा ‘बुढेसकालको बाथ’ भनेर मात्र निच मानेर पाका मानिसले नहुने रहेछ, कारणहरू खोज्नु र उचित उपचार गर्नुपर्ने हुन्छ ।

नियन्त्रण यसरी गरौँः
हाडजोर्नीका बाथ र समस्याको खतरा कम गर्नका लागि डा.लाम्बेर्टको सल्लाहलाई एक शब्द अनुसार आफ्नो गतिविधिको मापन बनाउनुहोस् । जोर्नीलाई जोड्ने ठाउँमा रहेका मांशपेसी र कुरकुरे हाडको स्वास्थ्य रक्षाका लागि नियमित, हलुका शारीरिक गतिविधि गरिरहनु होस् । यसबाट कुरकुरे हाड च्यात्तिने, हाडको टुप्पा खिइनबाट जोगिन्छ र मांशपेसीहरू बलियो हुँदै जान्छन । व्यायाम गर्नाले थप वजन बढ्न पाउँदैन र शरीरलाई थप भार पर्दैन । यसले तपाईँका जोर्नीमा थप भारी नपरेर हलुका भई चलायमान हुन मद्धत पुग्दछ, दुखाई घटछ र रोगको रुपमा रहन्न ।

मिलाएर गरौंः लामो समयसम्म जोर्नीहरूमा भार पर्ने एकोहोरो काम गर्दा बारम्बारको घर्षणले जोर्नीका जोडिने तन्तु र हाडको टुप्पो खिइने र फुटने हुनसक्छ । यस्तै कारणले हाडजोर्नी समस्या देखिन आउँछ । त्यसैले काम फेरीफेरी गर्नुहोस्–वजनदार सामान उठाउने र बोक्ने गरेपछि अलि लामो समय सोझो वजनबिना हिँडनु होस् अथवा साइकल वा मोटर हाँक्नुहोस् । बाथ भइसकेको छ भने पानीमा गरिने व्यायाम काम लाग्न सक्छ । पौडी खेल्ने वा विभिन्न तरिकाले सामान्य जीउ चलाउने काम पानीमा गर्दा जोर्नीहरूको राम्रो व्यायाम पुग्छ र स्वस्थ्य हुन सकिन्छ ।

अध्ययन अनुसन्धानले स्थापित गरेको छ कि पाका मानिसले नयाँनयाँ कुरा सिक्नमात्र नसक्ने होइन जीवनभरी सिकाईलाई बानी बनाएर धेरै लाभान्वित भएका थुप्रै उदाहरण छन् ।

छालाको क्रिमले उमेर घटाउँछः
बजारमा उपलब्ध महंगा क्रिम, अनुहार र शरीरको आवरण छालामा दल्ने औषधिले के उमेरजन्य पाकोपनालाई उल्टाउन सक्ला त ? के चाउरीहरू, छाला झोल्लिएका लाम्टाहरू, काला दागहरू, पोतो र चायाहरू हराउलान त ? डा. श्रीमति लाम्बेर्टको भनाइ चाहिँ ‘अँ’ भन्दै ‘हुन नि सक्छ नहुन पनि सक्छ’ भन्छिन । छाला विशेषज्ञहरूले त्यस्तो भएको बाहिरी छालामा घस्नका लागि विधिसहित केही उत्पादन सिफारिस गरेका छन् । त्यस्ता क्रिममा यदि अम्लको मात्रा छ भने छालाको बाहिरी काँचुलीजस्तो पत्रमा सफाई गरेर तपाईंको छाला नरम, तन्किएको र चिल्लो देखिन सक्छ तर यो परिवर्तन त अस्थायी हो । केटाकेटीको कुपोषण भएको भए छाला चाउरिन्छ, नत्र चाउरिन्न । वयस्कको रोगव्याधमा छाला चाउरिन्छ, नत्र चाउरिन्न । बलियोबाङ्गो उमेरमा वयस्क मान्छेका बढनु जति मांशपेसी बढ्छन्, हाड र अरु अङ्ग बढेका हुन्छन । ति सबैलाई खोलको रुपमा काम गरिरहेको छाला त्यही अनुसार तन्किएको र ठूलो भएको हुन्छ । अब पाको उमेरमा भित्री अङ्ग उस्तै रहे पनि मांशपेसी घटेकै हुन्छ अनि बोसो पनि थेग्रीएको हुन्छ । अब बाहिर देखिने भनेको छाला नै हो । उमेरजन्य सुखा खुम्चिएका छाला र पाको भएर आएका दागहरू तपाईंका बाँकी जीवनका सम्पति हुन, ति तपाईँसँग नै रहन्छन् ।

नियन्त्रण यसरी गरौँः उपायजति सबै तपाईँको हातमा छ । तपाईँका छाला चिल्लो, चम्किलो, राम्रो र वयस्कको जस्तो देखिन सक्छः

धुमपान त्यागौँः
भर्खरका केही अनुसन्धानले देखाएको छ कि धुमपान गर्नेका मुख वरपरका छाला चाँडै चाउरिन्छन् । धुमपान नगर्नेभन्दा गर्नेको कम उमेरमा नै आँखाका तलपट्टि सुन्निएको जस्तो हुने र च्यापुको लोती झोल्लीने हुन्छ । पाको मानिसमा यो असर अझ बढी हुन्छ । अब मर्दा नै छोड्ने हो भनी निच नमारौँ, बरु जतिन्जेल बाँचिन्छ राम्रो देखिएर बाँच्नु मज्जा नि ! ‘यो उमेरमा पनि कस्तो पट्ठो वा पट्ठीे’ भनेको नराम्रो हुन्न, रमाईलै हुन्छ । बानी छ र सकिन्छभने धुमपान आजै छाडौं है ।

घामको असर रोकौँः घाम हामीलाई चाहिन्छ, खानेकुराबाट नपाईने भिटामिन शरीरमा लिन सूर्यको किरण हाम्रो छालामा परेपछि उत्पादन हुन थाल्छ । सित्तैमा पाईने यो अति आवश्यक पदार्थ शरीर बलियो र निरोगी बनाउन काम लाग्छ । तर घामको दहन काम लाग्दैन, छाला बिगार्छ । लुगा वा केही कुराले छोपिएको छाला र बाहिर देखिने छालाको रङ्ग हेर्दा फरक त देख्नु भएको होला ! कत्ति फरक पर्छ ? अबदेखि खप्न सक्ने केही बेर घाममा बसे पनि बाहिर फेर गर्दा बदली दिनमा पनि आफ्नो छालालाई समय अगावै सूर्यको प्रभावबाट बचाउन घामको असर रोक्ने वा नियन्त्रण गर्ने चस्मा, क्रिम र लुगा लगाउनु बेस हुन्छ ।

छालालाई तिर्खालु हुन नदिउँः आद्रता वा पानीको मात्रा कम भएमा छाला सुख्खा हन्छ । त्यस्तो छालामा बढी चाउरी पर्छ । हात, गोडा र अनुहारमात्र होइन ढाडको छालासमेत फुस्रो, खस्रो र दरफरिएको जस्तो देखिन्छ । पानी मात्र पिएर फुटेका छाला राम्रो हुँदैन बरु हातगोडा धोएपछि वा नुहाएपछि चिसो छँदै आद्रता कायम राख्ने झोलहरू दल्नु र लगाउनु राम्रो हुन्छ । त्यसले छालामा भएको आद्रतालाई किताबमा जिल्दाले झैँ ढाकेर धेरैबेर छालाको आद्रता कायमराख्न मद्दत गर्छ अनि छाला फुटन र चाउरिनबाट बचाउँछ ।

बुढो सुँगालाई सिकाउन सकिन्नः
हुन त धेरै पहिलेदेखि भनिने यो भनाई हो तर हाम्रो मस्तिष्क केटाकेटी देखि नरोकिई वयस्क होइन्जेल विकसित भईरहन्छ । डा. लाम्बेर्टको भनाईमा यसो नभएको अध्ययन अनुसन्धानले स्थापित गरेको छ । पाका मानिसहरूले नयाँ–नयाँ कुरा सिक्नमात्र सक्ने होइन, जीवनभरी सिकाईलाई बानी बनाएर धेरै लाभान्वित भएका थुप्रै उदाहरण छन् । के आजका पाका मानिसले आफ्नो बालापन र वयस्क हुँदासम्म यसअघि कहिले नदेखेका मोबाईल, कम्प्युटर, माईक्रो ओभन, राईस कुकर, वासिङ्ग मेसिन, आदि चलाउन सिकेका छैनन् र ? महिला वा प्रौढ कक्षामा उमेर धेरै भएका महिला र पुरुषले पढन लेख्न सिकेका छैनन् र ? निरक्षरी महिला नै पचास वर्ष नाघेपनि पढन आएर एसएलसी पास गरेको त प्रेरणा महिला विद्यालय, ललितपुरलाई सोधे पनि थाहा पाईन्छ है । त्यस विद्यालयबाट पचासौंले उत्तीर्ण भएर उच्च शिक्षासमेत अध्ययन गरिरहेछन् ।

नियन्त्रण यसरी गराैँ: वैज्ञानिकहरूको भनाईमा बालबालिका र किशोरकिशोरीलाई भन्दा भिन्न प्रक्रिया पाका मानिसलाई सिकाउन प्रयोग गर्नुपर्छ । उहाँहरूलाई जाने, सुनेको र भोगेको पुराना कुरामा करगरेर हुन्न, अप्ठ्यारो पर्नेगरेर भन्न लगाउने होईन । बरु नयाँ तरिका र दृष्टिकोणबाट हरेक भनाई हेर्न मद्दत गरेर पुराना अप्रमाणित सोचाई र अवधारणाको विरुद्ध डटन सिकाउनु पर्छ । जस्तो पहिला कहिल्यै नपढेको विषयमा कक्षा लिन कोशिस गर्न लगाउनु होस् । नयाँ भाषा, सिप वा गाँठो फुकाउने वा शव्द भण्डार खेल सिक्न अभ्यास गराएर प्रतिष्पर्धा गराउने । उहाँहरूले नयाँ कुरामा चाख लिन थालिहाल्नु हुन्छ । यो भनेको व्यायाम अगाडी शरीरलाई तयारी बनाउन गरिने हातखुट्टा तन्काई जस्तै हो । मस्तिष्कलाई तन्काईयो भने अथवा केन्द्रीत गरियो भने यो बलियो, लचकदार र स्वस्थ्य हुन थाल्दछ । अनि सिक्न सकिहालिन्छ नि ।

जैविक आन्तरिक क्रिया सुस्त भएकाले मोटाइन्छः
पाका मानिसमा जैविक आन्तरिक क्रिया उमेर बढदै गएपछि सुस्त हुँदै जान्छ भनेको ठिकै हो । यसको मतलब तपाईंको शरीरले चाहिँदो मात्रामा शक्ति खर्च गरेर अतिरिक्त कुरा नास गर्न सक्दै न । त्यसैले पाका मानिसमा देखिने पेट, छाती र कम्मरतिर थुप्रिएको भागलाई ‘बुढ्यौली मासु वा बोसो लागेको’ भन्छन् । तर त्यसो हुनैपर्छ भन्ने छैन, मुख्य कुरा तपाईँले कसरी सन्तुलन गर्ने भन्ने नै हो, मिलाउन सके चुस्त दुरुस्त शरीर बनाउन सकिन्छ ।

नियन्त्रण यसरी गर्नेः यस्तो मोटाईबाट स्वस्थ्य रहन सारिरीक तौल आवस्यक भएको जति राख्न सकिन्छ, यस्तो गरौँ नः

खाना चाहिनेमात्रः पाको हुन लागेपछि तपाईँको दैनिक कामगर्न शरीरलाई थोरैमात्र शक्ति चाहिन्छ । शरीरमा शक्ति आउने प्रमुख कुरा नै दैनिक गरिने खानपान हो । त्यसैले पाका मानिसले शरीरले गर्ने श्रम अनुसार कति र के के खान हुन्छ भनेर हेक्का राख्नु महत्वपूर्ण हुन्छ । सामान्यतया घरकाज गरिरहेका सक्रिय ६५ वर्ष वरपरका पुरुष मानिसलाई २४०० क्यालोरी आवश्यक हुन्छ भने महिला मानिसलाई १८०० क्यालोरी उत्पादन गर्ने खानेकुरा भए पुग्छ । त्यसैले त यस उमेरका मानिसलाई शारीरिक मर्मत उर्जा भएपुग्छ भनेर आम भनाई छ ।

शारीरिक कामः उमेर बढ्दै गएर पाका मानिस हुन लागे पछि हप्तामा न्यूनतम अढाई घण्टा मुटु र फोक्सोमा व्यायाम हुनेगरेर ठिक्क खालको कसरत गर्नै पर्छ । त्यस्तै, मांशपेसी बलियो बनाउन दुई पटक सकेको काम गर्नै पर्दछ । यस्तो शारीरि व्यायाम गर्न व्यायामशाला जान सक्नुहुन्छ । त्यस्तोमा जान मन लाग्दैन वा टाढा पर्छ वा पैसाको अपुग छ भने बगैँचामा काम गर्न सक्नुहुन्छ । यस्तो मिल्दैन भने पाका मानिस आफ्नो घरपालुवा आज्ञाकारी कुकुर लिएर बिहान बेलुका टहल्न सक्नुहुन्छ । केहि मिल्दैन यस्ता चाँजो भने सक्ने र थाक्ने गरेर सामाजिक जमघटमा गीतनाचमा भाग लिएर आफ्नो शरीरको व्यायाम पूरा गर्न सक्नुहुन्छ । डाक्टर लाम्बेर्टको भनाईमा स्वस्थ्य रहन हामी जसरी भएपनि सक्रिय र गतिशिल भईरहनु पर्छ, यसै गर्नुपर्छ भन्ने होईन, शरीरका सबै भाग चले पुग्छ ।

चिन्तारहितः लगातारको चिन्ताले पाका मानिसको शरीरको वजन विस्तारै बढ्न थाल्दछ । जैविक असरहरूका कारण पनि हुन्छ भने साथै चिल्लोचाप्लो, तिख्खर र सजिलै पाकेका बस्तु खानेहुनाले यस्तो हुन थाल्दछ । शारीरिक गतिविधि र श्रमले चिन्तारहित हुन मद्धत पु¥याउँछ । त्यसमाथि बेलाबेला आराम गर्ने, जीउ लुलो पारेर गरिने आधुनिक वा परम्परागत योगध्यान गर्ने र खानामा पथ परहेजले पनि वजन घटाउन मद्धत गर्दछ । हामी सबै पाका मानिसहरू सक्रिय र स्वस्थ्य भएको नै हेर्न चाहान्छौं । पाका मानिसहरू ८०–९० वर्षमा पनि काम गरिरहेका, नयाँ नयाँ कुरा सिकिरहेका र सकुशल डुलफिर गरिरहेका देखेर कसलाई आनन्द नलाग्ला र ?

पाका मानिसहरू अप्ठ्यारा र एकलकाँटे हुन्छनः पाका मानिसहरू एकान्त चाहने र एकालकाँटे हुन सक्छन् । आफन्त प्रियजन गुमाएका अथवा नातेदार टाढा बस्छन भने उमेरिदा मानिस अन्तरमूखि भएर त्यस्तो स्वभाव विकसित हुनसक्छ । तर उमेर बढदै जाँदा आफ्नो सामाजिक जीवन खुम्चिने वा घटने गराउनु हुन्न । वास्तवमा यतिखेर तपाईँसँग पहिले कहिल्यै नभएको फुर्सद पनि हुनसक्छ । कुनै ठाउँमा सेवा गरिरहँदा वा केटाकेटी हुर्काउने बेला बरु तपाईँसँग सम्बन्ध विकास गर्ने वा सामाजिक जमघटमा बिताउने समय नमिलेको हुनसक्छ ।

नियन्त्रण यसरी गरौँः पाका मानिसलाई आफुलाई मनपर्ने, उस्तै उमेर समूहका र ईष्टमित्र भेटघाटगर्ने अवसर यस्तो उमेरमा धेरै हुनसक्छ । विश्वासिला साथीभाई भेटने, पुस्तकालयमा अध्ययन गर्ने, विषय मिल्ने ठाउँमा कक्षा लिने वा नौला र आफ्नो सिप अनुसार स्वयमसेवक भई विभिन्न सामाजिक संस्थामा आवद्ध हुने अवसर मिल्छ । केही नभए आफ्ना ऊबेलाका कक्षासाथीको जमघट गर्नुहोस्, कहिले स्कूलका, कहिले कलेजका, कहिले विश्वविद्यालयका । अनि कहीँ सार्वजनिक संस्था वा कार्यालयमा सेवा गरेको छ भने सेवानिवृत्तको भेला गर्नोस्, वा त्यस संस्थामा अझै काम गरिरहेका र निवृत्तको जमघट गराउनोस् । अनुभवको आदानप्रदान गर्नोस्, हेर्नोस त कति रमाइलो र आनन्द भई सामाजिक होइन्छ ?

०००
चालिसेडाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x