साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धवृद्धाका लागि भ्रमणकाे आवश्यकता

वृद्धवृद्धाहरूका लागि जीवनमा पुनः ऊर्जा भरिदिने मौका हो । यात्रा उनीहरूको अनुहारमा मुस्कान ल्याउने, उनीहरूलाई सबैले सम्झिएको महसुस गराउने, र जीवनमा अझ केही बाँकी छ भन्ने विश्वास दिलाउने कार्य हो ।

Nepal Telecom ad
जीवनाथ अधिकारी :

आरम्भ
मानिसको जीवनचक्र शैशव, यौवन, प्रौढ र वृद्धावस्थाका चरणहरूबाट अगाडि बढ्छ । यीमध्ये वृद्धावस्था जीवनको अन्तिम तर सबैभन्दा संवेदनशील चरण हो । यस अवस्थालाई सम्मानजनक, स्वस्थ र खुसी बनाउनु सामाजिक र पारिवारिक दायित्व पनि त्यत्तिकै रहन्छ । यसै सन्दर्भमा वृद्धवृद्धाका लागि भ्रमण (यात्रा) आवश्यक, अर्थपूर्ण र सकारात्मक योगदान दिने एउटा महत्त्वपूर्ण उपाय हो । सायद हामीले कहिल्यै गहिरिएर नसोचेको विषय हो– वृद्धावस्थामा यात्रा किन आवश्यक हुन्छ भन्ने ।

वृद्धावस्थामा भ्रमणको महत्त्व
वृद्धावस्थामा शरीर कमजोर भइसकेको हुन्छ, दृष्टि कमजोर भएको हुन्छ, कान कम सुन्न थाल्छन्, साथीभाइ र इष्टमित्रहरू घट्दै जान्छन् र मनले आफूलाई एक्लो ठान्न थाल्छ । यस्तो अवस्थामा मानसिक सन्तुलन कायम राख्न र जीवनप्रति उत्साह र आस्था जगाइराख्न भ्रमण अत्यन्त प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ ।
भ्रमणले वृद्धहरूलाई नयाँ वातावरणमा पुर्यााउँछ, जहाँ उनीहरूले शान्ति, रमाइलो, भेटघाट, मनोरञ्जन प्राप्त गर्नुका साथै स्मरणशक्ति पुनः जागृत गर्न पाउँछन् । केही समय घरको दिनचर्या, मानसिक चिन्ता वा स्वास्थ्यको बोझबाट टाढा रहनु उनीहरूका लागि अत्यन्त लाभदायक हुन्छ ।

भ्रमणको आवश्यकता र औचित्य
१.मानसिक सन्तुलनका लागि
वृद्धवृद्धाका लागि मानसिक सन्तुलन अत्यन्त आवश्यक पक्ष हो, र त्यसका लागि भ्रमण निकै प्रभावकारी माध्यम हुन सक्छ । दीर्घकालीन जीवनसङ्घर्ष, जिम्मेवारी, एक्लोपन, स्वास्थ्यसमस्या तथा सामाजिक सम्पर्कको सीमितताले मानसिक थकान उत्पन्न गराउँछ । यस्तो अवस्थामा नयाँ ठाउँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सामाजिक अन्तरक्रियाबाट उनीहरूले मानसिक स्वच्छता (ताजगी) र उत्साह महसुस गर्छन् । यात्राले उनीहरूलाई दिनचर्याबाट छुटकारा दिलाएर जीवनप्रति नयाँ उमङ्ग र नवीन दृष्टिकोण प्रदान गर्छ । यसले तनाव कम गर्न, स्मरण शक्ति सुधार गर्न र जीवनप्रतिको सकारात्मक सोच विकास गर्न मद्दत पुर्यामउँछ, जुन मानसिक सन्तुलनका लागि अपरिहार्य छ।

वृद्धहरूमा चिन्ता, डिप्रेसन, आत्मनिर्भरता गुमाउने डर आदि समस्या देखिन्छन् । यस्ता मनोवैज्ञानिक अवस्थालाई सहज बनाउन र आत्मबल कायम राख्न यात्रा सहयोगीसिद्ध हुन्छ ।

२.शारीरिक स्वास्थ्यका लागि
वृद्धवृद्धाको शारीरिक स्वास्थ्य सुदृढ राख्न भ्रमण निकै लाभदायक हुन्छ । नियमित घुमफिरले शरीरमा सक्रियता ल्याउने भएकाले हिँडडुल, सास फेर्ने अभ्यास र हल्का शारीरिक कसरत स्वतः हुने गर्दछ । यसले रक्तसञ्चारमा सुधार, जोर्नीमा लचिलोपन कायम तथा मधुमेह, उच्च रक्तचापजस्ता दीर्घरोग नियन्त्रणमा मद्दत गर्छ । नयाँ ठाउँको स्वच्छ हावा, घाम र प्राकृतिक वातावरणले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पुर्यामउँछ । दैनिक जीवनको एकै प्रकारको अभ्यासबाट बाहिर निस्किई फरक वातावरणमा पुग्नुले उनीहरूलाई ऊर्जावान् बनाउँछ। हल्काफुल्का हिँडडुल, शुद्ध हावा, सूर्यको किरण, प्राकृतिक सौन्दर्य आदिले वृद्धहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । विशेषतः मुटु, रक्तचाप र जोर्नीसम्बन्धी समस्यामा यसले सहजता ल्याउँछ । यसैले भ्रमण वृद्धवृद्धाको शारीरिक स्वास्थ्यका लागि आवश्यक र औचित्यपूर्ण देखिन्छ ।

३.सामाजिक अन्तःक्रिया
वयोवृद्धाका लागि सामाजिक अन्तःक्रिया अत्यन्त महत्त्वपूर्ण पक्ष हो, जसमा भ्रमणले प्रभावकारी भूमिका खेल्दछ । वृद्धावस्थामा साथीभाइ, आफन्त वा समाजसँगको सम्पर्क कम हुँदै जान्छ । त्यसैले एक्लोपन र अलग्याइको भावना उत्पन्न गराउँछ । भ्रमणका क्रममा नयाँ मानिससँग भेटघाट, अनुभव साटासाट र सामूहिक गतिविधिमा हुने सहभागिताले सामाजिक सम्बन्ध विस्तार हुन्छ । यस्तो अन्तःक्रियाले आत्मविश्वास बढाउने, सामाजिक पहिचान कायम राख्ने र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत गर्छ । यसले उनीहरूलाई ‘अनुभवको भण्डार’ को रूपमा सम्मानित महसुस गराउँछ भने मानसिक सन्तुलन र समग्र जीवनस्तर उकास्न सहयोग पुर्याकउँछ । यात्राबाट परिवार, समाज वा साथीहरूसँगको साहचर्यमा सुदृढता आउँछ भने वृद्धहरूलाई नयाँ सम्बन्धहरू निर्माण गर्न र पुराना सम्झनाहरू ताजा गर्न सघाउँछ । यसले उनीहरूलाई ‘एक्लो छैनँ’ भन्ने अनुभूति दिन्छ ।

४.सांस्कृतिक र धार्मिक आस्था पूरा गर्न
वृद्धवृद्धाका लागि भ्रमण सांस्कृतिक र धार्मिक आस्था पूरा गर्ने सशक्त माध्यम हो । जीवनको उत्तरार्द्धमा मानिसहरू आध्यात्मिक र सांस्कृतिक मूल्यप्रति अझ संवेदनशील बन्ने गर्दछन् । तीर्थयात्रा, मठमन्दिर दर्शन, सांस्कृतिक स्थलको भ्रमणजस्ता क्रियाकलापले उनीहरूको धार्मिक आस्था परिपूर्ति हुन्छ । यस्तो अनुभवले आत्मिक सन्तोष, शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्छ । साथै यस्ता स्थलहरूको भ्रमणबाट परम्परा, संस्कृति र इतिहासप्रतिको ज्ञान पनि पुनः ताजा हुन्छ । धार्मिक वातावरणमा बिताएको समयले मानसिक स्थिरता, आत्मबल र जीवनप्रति सकारात्मक भावना विकास गर्न सहयोग गर्छ, जसले वृद्धवृद्धाको जीवनलाई पूर्णता दिन्छ ।
धेरै वृद्धहरूमा पहिलेदेखि रहिआएका सपना हुन्छन्— तीर्थयात्रा गर्नु, प्रसिद्ध स्थल हेर्नु वा पुराना ठाउँहरू तथा इष्टमित्र फेरि भेट्नु । यो उमेरमा ती आकाङ्क्षाहरू पूरा गरिदिनु अत्यन्त अर्थपूर्ण हुन्छ ।

भ्रमणबाट हुने फाइदाहरू
१.मानसिक स्वच्छता (ताजगी) र शान्ति
भ्रमणबाट मानसिक रूपमा उत्साह र शान्ति प्राप्त गर्नु वृद्धवृद्धाका लागि अत्यन्त महत्त्वपूर्ण फाइदा हो । लामो समयसम्म एकै स्थानमा बसिरहनु, उही दिनचर्याको पुनरावृत्ति हुने र सामाजिक संलग्नताको कमीले मानसिक थकान र तनाव उत्पन्न हुन सक्छ । यस्तो अवस्थामा नयाँ स्थानको प्राकृतिक सौन्दर्य, शुद्ध हावा, हरियाली, नदीपहाडजस्ता दृश्यले मनलाई शान्त बनाउँछ र नयाँ ऊर्जा दिन्छ । धार्मिक स्थल, सांस्कृतिक सम्पदा वा मनोरम स्थलको भ्रमणले मनमा सकारात्मक सोच र आत्मिक सन्तोष ल्याउँछ । यसले तनाव, चिन्ता र निराशा कम गर्न सहयोग गर्छ र मानसिक सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ । नयाँ ठाउँ, हरियाली, प्राकृतिक सौन्दर्यले वृद्धहरूको मन आनन्दित बनाउँछ, दैनिक तनावबाट मुक्ति दिन्छ ।

२.स्मरणशक्ति वृद्धिमा सहयोगी
भ्रमण वृद्धवृद्धाको स्मरण शक्ति वृद्धिमा सहयोगी हुन्छ भन्ने कुरा वैज्ञानिक अध्ययनहरूले पनि पुष्टि गरेका छन् । नयाँ स्थानमा जाने, नयाँ मानिसहरू भेट्ने, नयाँ अनुभव लिनेजस्ता गतिविधिहरूले मस्तिष्क सक्रिय बनाउँछन् । यात्राका क्रममा हुने योजना, स्थानस्मरण, दिशा चिन्नु, कुरा बुझ्नु र अनुभव साटासाट गर्नुजस्ता कार्यहरूले मस्तिष्कलाई अभ्यास गराउँछ । यस्ता अभ्यासले स्मरणशक्ति तीव्र बनाउँछ । यसले उनीहरूमा नयाँ कुरा सिक्ने उत्साह पनि बढाउँछ । साथै सुखद अनुभवहरू सम्झने र बाँड्ने कार्यले पनि स्मृति कायम राख्न मद्दत पुर्या उँछ । यसरी भ्रमण स्मरणशक्ति अभिवृद्धिको एउटा प्राकृतिक र प्रभावकारी उपाय हो । नयाँ कुरा देख्ने, सुन्ने र अनुभव गर्ने क्रममा वृद्धको स्मरणक्षमता सक्रिय रहन्छ, जसबाट पुराना सम्झनाहरू पनि ताजा हुन्छन् ।

३.रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि
भ्रमणले वृद्धवृद्धाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । शुद्ध हावा, हरियाली, घामको किरण र प्राकृतिक वातावरणमा समय बिताउँदा शारीरिक सक्रियता बढ्छ, जसले शरीरमा सकारात्मक प्रभाव पार्छ । घामबाट प्राप्त हुने भिटामिन ‘D’ ले हड्डी मजबुत बनाउन र रोगसँग लड्ने क्षमता बढाउन सहयोग गर्छ । नयाँ वातावरणमा शरीरको अनुकूलन क्षमता सक्रिय हुन्छ । यसबाट रोग प्रतिरोधी पद्धतिलाई मजबुत बनाउन सहयोग पुग्छ । मानसिक सन्तुलन, तनाव न्यूनीकरण र आनन्दको भावना जागृत हुँदा प्रत्यक्ष रूपमा शरीरको प्रतिरक्षा प्रणालीलाई सुधार गर्न योगदान दिन्छ । शुद्ध हावा, प्राकृतिक पानी, शारीरिक हिँडडुलजस्ता कुराले शरीरमा सक्रियता ल्याउँछ । यसैले भ्रमण स्वास्थ्यवर्धक अभ्यासको रूपमा अत्यन्त लाभदायक छ ।

४.जीवनप्रतिको दृष्टिकोणमा सकारात्मकता
भ्रमणले वृद्धवृद्धाको जीवनप्रतिको दृष्टिकोणमा सकारात्मकता ल्याउन महत्त्वपूर्ण भूमिका खेल्दछ । घरभित्र सीमित जीवनशैलीले उनीहरूमा एक्लोपन, निराशा र निष्क्रियता बढाउने सम्भावना रहन्छ । तर नयाँ स्थानको अवलोकन, नयाँ
मानिसहरूसँगको भेटघाट, नयाँ संस्कृतिको अनुभवले जीवनलाई फराकिलो दृष्टिकोणले हेर्न सिकाउँछ । यसले आशा, आत्मबल र जिज्ञासा बढाउँछ । सुखद र प्रेरणादायी यात्राले जीवन अझ बाँकी छ भन्ने अनुभूति गराउँछ । साथै यस्ता अनुभवले आफूलाई उपयोगी र सक्रिय महसुस गराउने भएकाले वृद्धवृद्धामा उत्साह, आत्मविश्वास र जीवनप्रतिको सकारात्मक भावना बलियो बनाउँछ । नयाँ अनुभवले जीवनको मूल्य बुझाउँछ । वृद्धहरूले जीवनलाई नयाँ उत्साहका साथ हेर्न सिक्छन् ।

यात्रा गर्दा ध्यान दिनुपर्ने विषयहरू
१.स्वास्थ्य अवस्था मूल्याङ्कन
यात्रा सुरु गर्नुअघि वृद्धवृद्धाले आफ्नो स्वास्थ्य अवस्था मूल्याङ्कन गर्नु अत्यावश्यक हुन्छ । वृद्ध उमेरमा विभिन्न दीर्घरोग, उच्च रक्तचाप, मधुमेह, हड्डीसम्बन्धी समस्या आदि सामान्य हुन्छन्, जसले यात्रामा कठिनाइ निम्त्याउन सक्छ । त्यसैले चिकित्सकको परामर्श लिई स्वास्थ्य परीक्षण गराउनुपर्छ– जस्तै, रक्तचाप, रक्तशर्करा (सुगर), हृदयगति आदि । आवश्यक औषधीहरू व्यवस्था गर्न, आकस्मिक अवस्थाको योजना बनाउने र यात्रा उपयुक्त छ वा छैन भन्ने निर्णय गर्न यसले मार्गदर्शन गर्छ ।
यसले यात्रालाई सुरक्षित, सहज र आनन्ददायक बनाउँछ । स्वास्थ्य मूल्याङ्कनले सम्भावित जोखिम घटाउँछ र मानसिक शान्ति पनि दिन्छ ।

२.औषधीको प्रबन्ध
यात्रा गर्दा औषधीको प्रबन्ध गर्नु वृद्धवृद्धाका लागि अत्यन्त आवश्यक र संवेदनशील पक्ष हो । उनीहरू प्रायः दीर्घकालीन रोग जस्तै, मधुमेह, उच्च रक्तचाप, हड्डी तथा नसासम्बन्धी समस्याबाट ग्रस्त हुने भएकाले नियमित औषधी सेवन अपरिहार्य हुन्छ । यात्रा अवधिभर आवश्यक पर्ने सम्पूर्ण औषधी तयारी गर्नुपर्छ र प्रयोग गर्ने समयअनुसार व्यवस्थापन गर्नुपर्छ । औषधी सुरक्षित स्थानमा, सहजरूपमा पहुँच हुने गरी राख्नुपर्छ । आकस्मिक अवस्थामा प्रयोग हुने औषधीहरू, डाक्टरको प्रेस्क्रिप्सन, औषधीको नाम र मात्रा लेखिएको सूची पनि साथमा हुनु आवश्यक छ । यसले आकस्मिक समस्यामा सहजीकरण गराउँछ र यात्रा सुरक्षित बनाउँछ ।

३.खानपानको सुव्यवस्था
यात्रा गर्दा खानपानको सुव्यवस्था वृद्धवृद्धाका लागि विशेष महत्त्वको विषय हो । उमेरअनुसार पाचनप्रणाली कमजोर हुने भएकाले अस्वस्थ, मसलादार वा खुला स्थानमा पकाइएका खाना स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । त्यसैले पौष्टिक, सफा, सुपाच्य र समयमै भोजनको व्यवस्था गर्नु आवश्यक हुन्छ । निर्धारित समयमा खाना खानु, पर्याप्त पानी पिउनु र डाक्टरले सल्लाह दिएको भोजनतालिकाअनुसार खानेकुरा साथमा बोक्नु उपयुक्त हुन्छ । नयाँ ठाउँमा अनौठो खाना तुरुन्त सेवन नगर्नु राम्रो हुन्छ । यी कुराहरूले स्वास्थ्यलाई सन्तुलित राख्न, ऊर्जा जोगाउन र यात्रालाई आरामदायक बनाउन मद्दत पुर्याउँछन् ।

४.वातावरण र मौसमअनुसार तयारी
यात्रा सफल र आरामदायक बनाउन वातावरण र मौसमअनुसार तयारीको सुव्यवस्था अत्यावश्यक हुन्छ विशेष गरी वृद्धवृद्धाका लागि । भ्रमण गर्ने स्थानको तापक्रम, आर्द्रता, वर्षा वा हिउँ पर्ने अवस्था तथा उचाइबारे पूर्वजानकारी लिई आवश्यक वस्तुहरूको तयारी गर्नुपर्छ । जस्तै, चिसो ठाउँमा जाने हो भने न्यानो लुगा, टोपी, मोजा आदि अनिवार्य हुन्छन् भने गर्मी स्थानमा हल्का लुगा, छाता, चस्मा र सनस्क्रिन क्रिम (सनस्क्रिन क्रिम : छालालाई घामबाट बचाउन प्रयोग गरिने क्रिम ।) उपयोगी हुन्छन् । मौसमअनुसार खानपान, औषधी, छाला र श्वासप्रश्वासको सुरक्षामा पनि विचार गर्नुपर्छ । वातावरणअनुरूप तयारीले स्वास्थ्य जोगाउँछ, असहजता हटाउँछ र यात्रा थप सुरक्षित र आनन्ददायक बनाउँछ ।

५.विश्रामको पर्याप्त समय
वृद्धवृद्धाका लागि यात्रा गर्दा विश्रामको पर्याप्त समय सुनिश्चित गर्नु अत्यन्त महत्त्वपूर्ण पक्ष हो । उमेरसँगै शारीरिक क्षमतामा कमी आउने भएकाले लामो दूरी हिँड्नु, लामो समय बस्नु वा भिडभाडमा थकान हुने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा समय समयमा विश्राम गर्न पाउनुले शरीरलाई आराम, ऊर्जा पुनःसञ्चय र स्वास्थ्यसन्तुलन कायम राख्न सहयोग गर्छ । यात्राको तालिका निर्धारण गर्दा थकाइ नलाग्ने गरी योजना बनाउनुपर्छ र बिच बिचमा विश्रामस्थलको व्यवस्था गर्नुपर्छ । पर्याप्त विश्रामले मानसिक स्फूर्ति, सन्तुलित रक्तचाप र समग्र स्वास्थ्यमा सकारात्मक असर पार्ने भएकाले यात्रा सहज र आनन्ददायक बनाउँछ । भ्रमणको तालिका तनावपूर्ण हुनु हुँदैन । दिनको केही घण्टा मात्र यात्रामा र बाँकी विश्राममा खर्चिने गरी तयारी गर्नुपर्छ ।

वृद्धवृद्धाका लागि कस्तो स्थानको यात्रा उपयुक्त हुन्छ ?
वृद्धजनका लागि यात्रा महत्त्वपूर्ण त छँदै छ तर यात्रा गर्ने स्थानको उपयुक्त चयन भएन भने यात्रा सुखद नभएर कष्टकर हुन पुग्छ । यसका लागि उनीहरूको अवस्था, रुचि, सांस्कृतिक पक्ष, सामाजिक मूल्यमान्यताजस्ता कुरालाई दृष्टिगत गरी भ्रमण कार्यक्रम तय गरिनुपर्छ ।

१.प्राकृतिक स्थलहरू
वृद्धवृद्धाका लागि प्राकृतिक स्थलहरूको यात्रा अत्यन्त उपयुक्त मानिन्छ । हरियाली, शान्त वातावरण, स्वच्छ हावा र मनोरम दृश्यहरूले मानसिक ऊर्जा र शान्ति प्रदान गर्छ । यस्ता स्थानहरूमा शारीरिक गतिविधि पनि सहज हुन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तनाव घटाउन, आत्मिक सन्तुलन कायम राख्न र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न प्राकृतिक स्थलहरूको भ्रमण विशेष लाभदायक हुन्छ ।

२.धार्मिक स्थलहरू
वृद्धवृद्धाका लागि धार्मिक स्थलहरूको यात्रा उपयुक्त मानिन्छ किनभने यस्ता स्थानको भ्रमणले उनीहरूको आध्यात्मिक आस्था परिपूर्ति गर्न सहयोग गर्छ । मन्दिर, गुम्बा, मस्जिद वा चर्चजस्ता स्थलहरूमा गई पूजा, प्रार्थना र ध्यानमा संलग्न हुँदा मानसिक शान्ति, आत्मिक सन्तोष र आशावादी सोच विकसित हुन्छ । धार्मिक वातावरणले तनाव घटाउन, जीवनप्रतिको विश्वास बढाउन र सामाजिक रूपमा पनि सक्रिय रहन प्रेरणा दिन्छ । यसले समग्र जीवनमा सकारात्मक प्रभाव पार्दछ ।

३.सामाजिक-सांस्कृतिक स्थलहरू
वृद्धवृद्धाका लागि सामाजिक–सांस्कृतिक महत्त्वका स्थलहरूको यात्रा पनि अत्यन्त उपयुक्त हुन्छ। सङ्ग्रहालय, सांस्कृतिक केन्द्र, ऐतिहासिक स्थल वा मेलामा सहभागिता जनाउँदा उनीहरूले आफ्नो विगतका अनुभवसँग नयाँ कुरा जोड्न पाउँछन् । यस्तो यात्राले ज्ञान, सम्झना र सामाजिक सम्पर्क विस्तार गर्छ । सांस्कृतिक विविधता अवलोकनले उनीहरूमा जिज्ञासा, उत्साह र सामाजिक सहभागिता बढाउँछ । मानसिक सन्तुलन र जीवनप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्न यस्ता कार्यले सहयोग पुर्याउँछन् ।

वृद्धवृद्धाको भ्रमणमा सहयोगी कस्तो हुनुपर्छ ?
वृद्धहरूलाई यात्रामा एक्लै पठाउन प्राय: अनुपयुक्त हुन्छ । उमेरले पाको भएका वा शारीरिक मानसिक रूपमा कमजोर व्यक्तिलाई विनासहयोगी यात्रामा पठाउनु हुँदैन । उनीहरू प्राय: सहयोगीमा भर पर्ने हुनाले आफ्ना अत्यावश्यक कार्य पनि स्वयम् गर्न सक्षम हुँदैनन् । यस्तो अवस्थामा उनीहरूसित सँगै यात्रा गर्न सहयोगी आवश्यक नै हुन्छ । त्यस्ता सहयोगी व्यक्तिमा केही गुण अपरिहार्य रूपमा हुनु आवश्यक छ ।

१.धैर्यवान् र सेवा-भावना भएको
वृद्धवृद्धासँग यात्रा गर्ने सहयोगीमा धैर्य अत्यावश्यक हुन्छ । बुढाबुढीको चाल ढिलो हुन्छ, बानी फरक हुन्छ । यसमा रिस गर्ने, झन्झट मान्ने होइन, समझदारीपूर्वक सहयोग गर्ने हुनुपर्छ ।

२.स्वास्थ्यसम्बन्धी जानकारी भएको
प्राथमिक उपचार, औषधीको समय, हिँडडुलको सीमाको ख्याल गर्न सक्ने व्यक्ति सहयोगीका रूपमा हुनुपर्छ ।
३.आत्मीय व्यवहार गर्ने
वृद्धलाई सहयोग गर्ने सहयोगीले आफन्तजस्तो माया देखाउने व्यवहार गर्नुपर्छ । यसले वृद्धलाई सुरक्षित र सम्मानित महसुस गराउँछ ।

वृद्धभ्रमणमा सहयोगीको भूमिका
१.सुरक्षाको ख्याल राख्ने
सडक पार गराउने, सिँढी चढ्न/ओर्लन मद्दत गर्ने, ढोका खोल्ने, झोला बोक्नेजस्ता कार्यमा साथ दिनुपर्छ।

२.स्वास्थ्यको निगरानी गर्ने
औषधीको समय सम्झाउने, आराम गराउने, थकाइ भए नभएको छिट्टै थाहा पाउने भूमिका निर्वाह गर्नुपर्छ ।

३.आनन्द दिन सहयोग गर्ने
फोटो खिच्ने, रमाइला कुरा गर्ने, स्थानको जानकारी दिने आदि कामले यात्रा अझ उत्साहबर्धक हुन्छ । यो भूमिका सहयोगीले पूरा गर्नुपर्छ ।

४.समय व्यवस्थापन र संयोजन गर्ने
बसाइ, भोजन, विश्राम, घुमाइ आदि सबैलाई सम्यक रूपमा संयोजन गर्नुपर्छ ।

निष्कर्ष
वृद्धावस्था जीवनको अन्तिम तर महत्वपूर्ण अध्याय हो । यसलाई निराशाजनक होइन, अर्थपूर्ण बनाउने प्रयास हामी सबैको जिम्मेवारी हो । भ्रमण धार्मिक, सांस्कृतिक वा प्राकृतिक जुनसुकै प्रकृतिको होस्— वृद्धवृद्धाहरूका लागि जीवनमा पुनः ऊर्जा भरिदिने मौका हो । यात्रा उनीहरूको अनुहारमा मुस्कान ल्याउने, उनीहरूलाई सबैले सम्झिएको महसुस गराउने, र जीवनमा अझ केही बाँकी छ भन्ने विश्वास दिलाउने कार्य हो । यसकारण जेष्ठ नागरिकको सेवा गर्ने मन भएका सबै परिवार, सङ्घसंस्था र समाजका निकायले यस्तो सुरक्षित, व्यवस्थित र संवेदनशील यात्रा कार्यक्रम सञ्चालन गर्नु अत्यन्त जरुरी छ ।

०००
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर
२०८२ साउन २०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x