जीवनाथ अधिकारीवृद्धवृद्धाका लागि भ्रमणकाे आवश्यकता
वृद्धवृद्धाहरूका लागि जीवनमा पुनः ऊर्जा भरिदिने मौका हो । यात्रा उनीहरूको अनुहारमा मुस्कान ल्याउने, उनीहरूलाई सबैले सम्झिएको महसुस गराउने, र जीवनमा अझ केही बाँकी छ भन्ने विश्वास दिलाउने कार्य हो ।

जीवनाथ अधिकारी :
आरम्भ
मानिसको जीवनचक्र शैशव, यौवन, प्रौढ र वृद्धावस्थाका चरणहरूबाट अगाडि बढ्छ । यीमध्ये वृद्धावस्था जीवनको अन्तिम तर सबैभन्दा संवेदनशील चरण हो । यस अवस्थालाई सम्मानजनक, स्वस्थ र खुसी बनाउनु सामाजिक र पारिवारिक दायित्व पनि त्यत्तिकै रहन्छ । यसै सन्दर्भमा वृद्धवृद्धाका लागि भ्रमण (यात्रा) आवश्यक, अर्थपूर्ण र सकारात्मक योगदान दिने एउटा महत्त्वपूर्ण उपाय हो । सायद हामीले कहिल्यै गहिरिएर नसोचेको विषय हो– वृद्धावस्थामा यात्रा किन आवश्यक हुन्छ भन्ने ।
वृद्धावस्थामा भ्रमणको महत्त्व
वृद्धावस्थामा शरीर कमजोर भइसकेको हुन्छ, दृष्टि कमजोर भएको हुन्छ, कान कम सुन्न थाल्छन्, साथीभाइ र इष्टमित्रहरू घट्दै जान्छन् र मनले आफूलाई एक्लो ठान्न थाल्छ । यस्तो अवस्थामा मानसिक सन्तुलन कायम राख्न र जीवनप्रति उत्साह र आस्था जगाइराख्न भ्रमण अत्यन्त प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ ।
भ्रमणले वृद्धहरूलाई नयाँ वातावरणमा पुर्यााउँछ, जहाँ उनीहरूले शान्ति, रमाइलो, भेटघाट, मनोरञ्जन प्राप्त गर्नुका साथै स्मरणशक्ति पुनः जागृत गर्न पाउँछन् । केही समय घरको दिनचर्या, मानसिक चिन्ता वा स्वास्थ्यको बोझबाट टाढा रहनु उनीहरूका लागि अत्यन्त लाभदायक हुन्छ ।
भ्रमणको आवश्यकता र औचित्य
१.मानसिक सन्तुलनका लागि
वृद्धवृद्धाका लागि मानसिक सन्तुलन अत्यन्त आवश्यक पक्ष हो, र त्यसका लागि भ्रमण निकै प्रभावकारी माध्यम हुन सक्छ । दीर्घकालीन जीवनसङ्घर्ष, जिम्मेवारी, एक्लोपन, स्वास्थ्यसमस्या तथा सामाजिक सम्पर्कको सीमितताले मानसिक थकान उत्पन्न गराउँछ । यस्तो अवस्थामा नयाँ ठाउँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सामाजिक अन्तरक्रियाबाट उनीहरूले मानसिक स्वच्छता (ताजगी) र उत्साह महसुस गर्छन् । यात्राले उनीहरूलाई दिनचर्याबाट छुटकारा दिलाएर जीवनप्रति नयाँ उमङ्ग र नवीन दृष्टिकोण प्रदान गर्छ । यसले तनाव कम गर्न, स्मरण शक्ति सुधार गर्न र जीवनप्रतिको सकारात्मक सोच विकास गर्न मद्दत पुर्यामउँछ, जुन मानसिक सन्तुलनका लागि अपरिहार्य छ।
वृद्धहरूमा चिन्ता, डिप्रेसन, आत्मनिर्भरता गुमाउने डर आदि समस्या देखिन्छन् । यस्ता मनोवैज्ञानिक अवस्थालाई सहज बनाउन र आत्मबल कायम राख्न यात्रा सहयोगीसिद्ध हुन्छ ।
२.शारीरिक स्वास्थ्यका लागि
वृद्धवृद्धाको शारीरिक स्वास्थ्य सुदृढ राख्न भ्रमण निकै लाभदायक हुन्छ । नियमित घुमफिरले शरीरमा सक्रियता ल्याउने भएकाले हिँडडुल, सास फेर्ने अभ्यास र हल्का शारीरिक कसरत स्वतः हुने गर्दछ । यसले रक्तसञ्चारमा सुधार, जोर्नीमा लचिलोपन कायम तथा मधुमेह, उच्च रक्तचापजस्ता दीर्घरोग नियन्त्रणमा मद्दत गर्छ । नयाँ ठाउँको स्वच्छ हावा, घाम र प्राकृतिक वातावरणले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पुर्यामउँछ । दैनिक जीवनको एकै प्रकारको अभ्यासबाट बाहिर निस्किई फरक वातावरणमा पुग्नुले उनीहरूलाई ऊर्जावान् बनाउँछ। हल्काफुल्का हिँडडुल, शुद्ध हावा, सूर्यको किरण, प्राकृतिक सौन्दर्य आदिले वृद्धहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । विशेषतः मुटु, रक्तचाप र जोर्नीसम्बन्धी समस्यामा यसले सहजता ल्याउँछ । यसैले भ्रमण वृद्धवृद्धाको शारीरिक स्वास्थ्यका लागि आवश्यक र औचित्यपूर्ण देखिन्छ ।
३.सामाजिक अन्तःक्रिया
वयोवृद्धाका लागि सामाजिक अन्तःक्रिया अत्यन्त महत्त्वपूर्ण पक्ष हो, जसमा भ्रमणले प्रभावकारी भूमिका खेल्दछ । वृद्धावस्थामा साथीभाइ, आफन्त वा समाजसँगको सम्पर्क कम हुँदै जान्छ । त्यसैले एक्लोपन र अलग्याइको भावना उत्पन्न गराउँछ । भ्रमणका क्रममा नयाँ मानिससँग भेटघाट, अनुभव साटासाट र सामूहिक गतिविधिमा हुने सहभागिताले सामाजिक सम्बन्ध विस्तार हुन्छ । यस्तो अन्तःक्रियाले आत्मविश्वास बढाउने, सामाजिक पहिचान कायम राख्ने र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत गर्छ । यसले उनीहरूलाई ‘अनुभवको भण्डार’ को रूपमा सम्मानित महसुस गराउँछ भने मानसिक सन्तुलन र समग्र जीवनस्तर उकास्न सहयोग पुर्याकउँछ । यात्राबाट परिवार, समाज वा साथीहरूसँगको साहचर्यमा सुदृढता आउँछ भने वृद्धहरूलाई नयाँ सम्बन्धहरू निर्माण गर्न र पुराना सम्झनाहरू ताजा गर्न सघाउँछ । यसले उनीहरूलाई ‘एक्लो छैनँ’ भन्ने अनुभूति दिन्छ ।
४.सांस्कृतिक र धार्मिक आस्था पूरा गर्न
वृद्धवृद्धाका लागि भ्रमण सांस्कृतिक र धार्मिक आस्था पूरा गर्ने सशक्त माध्यम हो । जीवनको उत्तरार्द्धमा मानिसहरू आध्यात्मिक र सांस्कृतिक मूल्यप्रति अझ संवेदनशील बन्ने गर्दछन् । तीर्थयात्रा, मठमन्दिर दर्शन, सांस्कृतिक स्थलको भ्रमणजस्ता क्रियाकलापले उनीहरूको धार्मिक आस्था परिपूर्ति हुन्छ । यस्तो अनुभवले आत्मिक सन्तोष, शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्छ । साथै यस्ता स्थलहरूको भ्रमणबाट परम्परा, संस्कृति र इतिहासप्रतिको ज्ञान पनि पुनः ताजा हुन्छ । धार्मिक वातावरणमा बिताएको समयले मानसिक स्थिरता, आत्मबल र जीवनप्रति सकारात्मक भावना विकास गर्न सहयोग गर्छ, जसले वृद्धवृद्धाको जीवनलाई पूर्णता दिन्छ ।
धेरै वृद्धहरूमा पहिलेदेखि रहिआएका सपना हुन्छन्— तीर्थयात्रा गर्नु, प्रसिद्ध स्थल हेर्नु वा पुराना ठाउँहरू तथा इष्टमित्र फेरि भेट्नु । यो उमेरमा ती आकाङ्क्षाहरू पूरा गरिदिनु अत्यन्त अर्थपूर्ण हुन्छ ।
भ्रमणबाट हुने फाइदाहरू
१.मानसिक स्वच्छता (ताजगी) र शान्ति
भ्रमणबाट मानसिक रूपमा उत्साह र शान्ति प्राप्त गर्नु वृद्धवृद्धाका लागि अत्यन्त महत्त्वपूर्ण फाइदा हो । लामो समयसम्म एकै स्थानमा बसिरहनु, उही दिनचर्याको पुनरावृत्ति हुने र सामाजिक संलग्नताको कमीले मानसिक थकान र तनाव उत्पन्न हुन सक्छ । यस्तो अवस्थामा नयाँ स्थानको प्राकृतिक सौन्दर्य, शुद्ध हावा, हरियाली, नदीपहाडजस्ता दृश्यले मनलाई शान्त बनाउँछ र नयाँ ऊर्जा दिन्छ । धार्मिक स्थल, सांस्कृतिक सम्पदा वा मनोरम स्थलको भ्रमणले मनमा सकारात्मक सोच र आत्मिक सन्तोष ल्याउँछ । यसले तनाव, चिन्ता र निराशा कम गर्न सहयोग गर्छ र मानसिक सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ । नयाँ ठाउँ, हरियाली, प्राकृतिक सौन्दर्यले वृद्धहरूको मन आनन्दित बनाउँछ, दैनिक तनावबाट मुक्ति दिन्छ ।
२.स्मरणशक्ति वृद्धिमा सहयोगी
भ्रमण वृद्धवृद्धाको स्मरण शक्ति वृद्धिमा सहयोगी हुन्छ भन्ने कुरा वैज्ञानिक अध्ययनहरूले पनि पुष्टि गरेका छन् । नयाँ स्थानमा जाने, नयाँ मानिसहरू भेट्ने, नयाँ अनुभव लिनेजस्ता गतिविधिहरूले मस्तिष्क सक्रिय बनाउँछन् । यात्राका क्रममा हुने योजना, स्थानस्मरण, दिशा चिन्नु, कुरा बुझ्नु र अनुभव साटासाट गर्नुजस्ता कार्यहरूले मस्तिष्कलाई अभ्यास गराउँछ । यस्ता अभ्यासले स्मरणशक्ति तीव्र बनाउँछ । यसले उनीहरूमा नयाँ कुरा सिक्ने उत्साह पनि बढाउँछ । साथै सुखद अनुभवहरू सम्झने र बाँड्ने कार्यले पनि स्मृति कायम राख्न मद्दत पुर्या उँछ । यसरी भ्रमण स्मरणशक्ति अभिवृद्धिको एउटा प्राकृतिक र प्रभावकारी उपाय हो । नयाँ कुरा देख्ने, सुन्ने र अनुभव गर्ने क्रममा वृद्धको स्मरणक्षमता सक्रिय रहन्छ, जसबाट पुराना सम्झनाहरू पनि ताजा हुन्छन् ।
३.रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि
भ्रमणले वृद्धवृद्धाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । शुद्ध हावा, हरियाली, घामको किरण र प्राकृतिक वातावरणमा समय बिताउँदा शारीरिक सक्रियता बढ्छ, जसले शरीरमा सकारात्मक प्रभाव पार्छ । घामबाट प्राप्त हुने भिटामिन ‘D’ ले हड्डी मजबुत बनाउन र रोगसँग लड्ने क्षमता बढाउन सहयोग गर्छ । नयाँ वातावरणमा शरीरको अनुकूलन क्षमता सक्रिय हुन्छ । यसबाट रोग प्रतिरोधी पद्धतिलाई मजबुत बनाउन सहयोग पुग्छ । मानसिक सन्तुलन, तनाव न्यूनीकरण र आनन्दको भावना जागृत हुँदा प्रत्यक्ष रूपमा शरीरको प्रतिरक्षा प्रणालीलाई सुधार गर्न योगदान दिन्छ । शुद्ध हावा, प्राकृतिक पानी, शारीरिक हिँडडुलजस्ता कुराले शरीरमा सक्रियता ल्याउँछ । यसैले भ्रमण स्वास्थ्यवर्धक अभ्यासको रूपमा अत्यन्त लाभदायक छ ।
४.जीवनप्रतिको दृष्टिकोणमा सकारात्मकता
भ्रमणले वृद्धवृद्धाको जीवनप्रतिको दृष्टिकोणमा सकारात्मकता ल्याउन महत्त्वपूर्ण भूमिका खेल्दछ । घरभित्र सीमित जीवनशैलीले उनीहरूमा एक्लोपन, निराशा र निष्क्रियता बढाउने सम्भावना रहन्छ । तर नयाँ स्थानको अवलोकन, नयाँ
मानिसहरूसँगको भेटघाट, नयाँ संस्कृतिको अनुभवले जीवनलाई फराकिलो दृष्टिकोणले हेर्न सिकाउँछ । यसले आशा, आत्मबल र जिज्ञासा बढाउँछ । सुखद र प्रेरणादायी यात्राले जीवन अझ बाँकी छ भन्ने अनुभूति गराउँछ । साथै यस्ता अनुभवले आफूलाई उपयोगी र सक्रिय महसुस गराउने भएकाले वृद्धवृद्धामा उत्साह, आत्मविश्वास र जीवनप्रतिको सकारात्मक भावना बलियो बनाउँछ । नयाँ अनुभवले जीवनको मूल्य बुझाउँछ । वृद्धहरूले जीवनलाई नयाँ उत्साहका साथ हेर्न सिक्छन् ।
यात्रा गर्दा ध्यान दिनुपर्ने विषयहरू
१.स्वास्थ्य अवस्था मूल्याङ्कन
यात्रा सुरु गर्नुअघि वृद्धवृद्धाले आफ्नो स्वास्थ्य अवस्था मूल्याङ्कन गर्नु अत्यावश्यक हुन्छ । वृद्ध उमेरमा विभिन्न दीर्घरोग, उच्च रक्तचाप, मधुमेह, हड्डीसम्बन्धी समस्या आदि सामान्य हुन्छन्, जसले यात्रामा कठिनाइ निम्त्याउन सक्छ । त्यसैले चिकित्सकको परामर्श लिई स्वास्थ्य परीक्षण गराउनुपर्छ– जस्तै, रक्तचाप, रक्तशर्करा (सुगर), हृदयगति आदि । आवश्यक औषधीहरू व्यवस्था गर्न, आकस्मिक अवस्थाको योजना बनाउने र यात्रा उपयुक्त छ वा छैन भन्ने निर्णय गर्न यसले मार्गदर्शन गर्छ ।
यसले यात्रालाई सुरक्षित, सहज र आनन्ददायक बनाउँछ । स्वास्थ्य मूल्याङ्कनले सम्भावित जोखिम घटाउँछ र मानसिक शान्ति पनि दिन्छ ।
२.औषधीको प्रबन्ध
यात्रा गर्दा औषधीको प्रबन्ध गर्नु वृद्धवृद्धाका लागि अत्यन्त आवश्यक र संवेदनशील पक्ष हो । उनीहरू प्रायः दीर्घकालीन रोग जस्तै, मधुमेह, उच्च रक्तचाप, हड्डी तथा नसासम्बन्धी समस्याबाट ग्रस्त हुने भएकाले नियमित औषधी सेवन अपरिहार्य हुन्छ । यात्रा अवधिभर आवश्यक पर्ने सम्पूर्ण औषधी तयारी गर्नुपर्छ र प्रयोग गर्ने समयअनुसार व्यवस्थापन गर्नुपर्छ । औषधी सुरक्षित स्थानमा, सहजरूपमा पहुँच हुने गरी राख्नुपर्छ । आकस्मिक अवस्थामा प्रयोग हुने औषधीहरू, डाक्टरको प्रेस्क्रिप्सन, औषधीको नाम र मात्रा लेखिएको सूची पनि साथमा हुनु आवश्यक छ । यसले आकस्मिक समस्यामा सहजीकरण गराउँछ र यात्रा सुरक्षित बनाउँछ ।
३.खानपानको सुव्यवस्था
यात्रा गर्दा खानपानको सुव्यवस्था वृद्धवृद्धाका लागि विशेष महत्त्वको विषय हो । उमेरअनुसार पाचनप्रणाली कमजोर हुने भएकाले अस्वस्थ, मसलादार वा खुला स्थानमा पकाइएका खाना स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । त्यसैले पौष्टिक, सफा, सुपाच्य र समयमै भोजनको व्यवस्था गर्नु आवश्यक हुन्छ । निर्धारित समयमा खाना खानु, पर्याप्त पानी पिउनु र डाक्टरले सल्लाह दिएको भोजनतालिकाअनुसार खानेकुरा साथमा बोक्नु उपयुक्त हुन्छ । नयाँ ठाउँमा अनौठो खाना तुरुन्त सेवन नगर्नु राम्रो हुन्छ । यी कुराहरूले स्वास्थ्यलाई सन्तुलित राख्न, ऊर्जा जोगाउन र यात्रालाई आरामदायक बनाउन मद्दत पुर्याउँछन् ।
४.वातावरण र मौसमअनुसार तयारी
यात्रा सफल र आरामदायक बनाउन वातावरण र मौसमअनुसार तयारीको सुव्यवस्था अत्यावश्यक हुन्छ विशेष गरी वृद्धवृद्धाका लागि । भ्रमण गर्ने स्थानको तापक्रम, आर्द्रता, वर्षा वा हिउँ पर्ने अवस्था तथा उचाइबारे पूर्वजानकारी लिई आवश्यक वस्तुहरूको तयारी गर्नुपर्छ । जस्तै, चिसो ठाउँमा जाने हो भने न्यानो लुगा, टोपी, मोजा आदि अनिवार्य हुन्छन् भने गर्मी स्थानमा हल्का लुगा, छाता, चस्मा र सनस्क्रिन क्रिम (सनस्क्रिन क्रिम : छालालाई घामबाट बचाउन प्रयोग गरिने क्रिम ।) उपयोगी हुन्छन् । मौसमअनुसार खानपान, औषधी, छाला र श्वासप्रश्वासको सुरक्षामा पनि विचार गर्नुपर्छ । वातावरणअनुरूप तयारीले स्वास्थ्य जोगाउँछ, असहजता हटाउँछ र यात्रा थप सुरक्षित र आनन्ददायक बनाउँछ ।
५.विश्रामको पर्याप्त समय
वृद्धवृद्धाका लागि यात्रा गर्दा विश्रामको पर्याप्त समय सुनिश्चित गर्नु अत्यन्त महत्त्वपूर्ण पक्ष हो । उमेरसँगै शारीरिक क्षमतामा कमी आउने भएकाले लामो दूरी हिँड्नु, लामो समय बस्नु वा भिडभाडमा थकान हुने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा समय समयमा विश्राम गर्न पाउनुले शरीरलाई आराम, ऊर्जा पुनःसञ्चय र स्वास्थ्यसन्तुलन कायम राख्न सहयोग गर्छ । यात्राको तालिका निर्धारण गर्दा थकाइ नलाग्ने गरी योजना बनाउनुपर्छ र बिच बिचमा विश्रामस्थलको व्यवस्था गर्नुपर्छ । पर्याप्त विश्रामले मानसिक स्फूर्ति, सन्तुलित रक्तचाप र समग्र स्वास्थ्यमा सकारात्मक असर पार्ने भएकाले यात्रा सहज र आनन्ददायक बनाउँछ । भ्रमणको तालिका तनावपूर्ण हुनु हुँदैन । दिनको केही घण्टा मात्र यात्रामा र बाँकी विश्राममा खर्चिने गरी तयारी गर्नुपर्छ ।
वृद्धवृद्धाका लागि कस्तो स्थानको यात्रा उपयुक्त हुन्छ ?
वृद्धजनका लागि यात्रा महत्त्वपूर्ण त छँदै छ तर यात्रा गर्ने स्थानको उपयुक्त चयन भएन भने यात्रा सुखद नभएर कष्टकर हुन पुग्छ । यसका लागि उनीहरूको अवस्था, रुचि, सांस्कृतिक पक्ष, सामाजिक मूल्यमान्यताजस्ता कुरालाई दृष्टिगत गरी भ्रमण कार्यक्रम तय गरिनुपर्छ ।
१.प्राकृतिक स्थलहरू
वृद्धवृद्धाका लागि प्राकृतिक स्थलहरूको यात्रा अत्यन्त उपयुक्त मानिन्छ । हरियाली, शान्त वातावरण, स्वच्छ हावा र मनोरम दृश्यहरूले मानसिक ऊर्जा र शान्ति प्रदान गर्छ । यस्ता स्थानहरूमा शारीरिक गतिविधि पनि सहज हुन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तनाव घटाउन, आत्मिक सन्तुलन कायम राख्न र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न प्राकृतिक स्थलहरूको भ्रमण विशेष लाभदायक हुन्छ ।
२.धार्मिक स्थलहरू
वृद्धवृद्धाका लागि धार्मिक स्थलहरूको यात्रा उपयुक्त मानिन्छ किनभने यस्ता स्थानको भ्रमणले उनीहरूको आध्यात्मिक आस्था परिपूर्ति गर्न सहयोग गर्छ । मन्दिर, गुम्बा, मस्जिद वा चर्चजस्ता स्थलहरूमा गई पूजा, प्रार्थना र ध्यानमा संलग्न हुँदा मानसिक शान्ति, आत्मिक सन्तोष र आशावादी सोच विकसित हुन्छ । धार्मिक वातावरणले तनाव घटाउन, जीवनप्रतिको विश्वास बढाउन र सामाजिक रूपमा पनि सक्रिय रहन प्रेरणा दिन्छ । यसले समग्र जीवनमा सकारात्मक प्रभाव पार्दछ ।
३.सामाजिक-सांस्कृतिक स्थलहरू
वृद्धवृद्धाका लागि सामाजिक–सांस्कृतिक महत्त्वका स्थलहरूको यात्रा पनि अत्यन्त उपयुक्त हुन्छ। सङ्ग्रहालय, सांस्कृतिक केन्द्र, ऐतिहासिक स्थल वा मेलामा सहभागिता जनाउँदा उनीहरूले आफ्नो विगतका अनुभवसँग नयाँ कुरा जोड्न पाउँछन् । यस्तो यात्राले ज्ञान, सम्झना र सामाजिक सम्पर्क विस्तार गर्छ । सांस्कृतिक विविधता अवलोकनले उनीहरूमा जिज्ञासा, उत्साह र सामाजिक सहभागिता बढाउँछ । मानसिक सन्तुलन र जीवनप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्न यस्ता कार्यले सहयोग पुर्याउँछन् ।
वृद्धवृद्धाको भ्रमणमा सहयोगी कस्तो हुनुपर्छ ?
वृद्धहरूलाई यात्रामा एक्लै पठाउन प्राय: अनुपयुक्त हुन्छ । उमेरले पाको भएका वा शारीरिक मानसिक रूपमा कमजोर व्यक्तिलाई विनासहयोगी यात्रामा पठाउनु हुँदैन । उनीहरू प्राय: सहयोगीमा भर पर्ने हुनाले आफ्ना अत्यावश्यक कार्य पनि स्वयम् गर्न सक्षम हुँदैनन् । यस्तो अवस्थामा उनीहरूसित सँगै यात्रा गर्न सहयोगी आवश्यक नै हुन्छ । त्यस्ता सहयोगी व्यक्तिमा केही गुण अपरिहार्य रूपमा हुनु आवश्यक छ ।
१.धैर्यवान् र सेवा-भावना भएको
वृद्धवृद्धासँग यात्रा गर्ने सहयोगीमा धैर्य अत्यावश्यक हुन्छ । बुढाबुढीको चाल ढिलो हुन्छ, बानी फरक हुन्छ । यसमा रिस गर्ने, झन्झट मान्ने होइन, समझदारीपूर्वक सहयोग गर्ने हुनुपर्छ ।
२.स्वास्थ्यसम्बन्धी जानकारी भएको
प्राथमिक उपचार, औषधीको समय, हिँडडुलको सीमाको ख्याल गर्न सक्ने व्यक्ति सहयोगीका रूपमा हुनुपर्छ ।
३.आत्मीय व्यवहार गर्ने
वृद्धलाई सहयोग गर्ने सहयोगीले आफन्तजस्तो माया देखाउने व्यवहार गर्नुपर्छ । यसले वृद्धलाई सुरक्षित र सम्मानित महसुस गराउँछ ।
वृद्धभ्रमणमा सहयोगीको भूमिका
१.सुरक्षाको ख्याल राख्ने
सडक पार गराउने, सिँढी चढ्न/ओर्लन मद्दत गर्ने, ढोका खोल्ने, झोला बोक्नेजस्ता कार्यमा साथ दिनुपर्छ।
२.स्वास्थ्यको निगरानी गर्ने
औषधीको समय सम्झाउने, आराम गराउने, थकाइ भए नभएको छिट्टै थाहा पाउने भूमिका निर्वाह गर्नुपर्छ ।
३.आनन्द दिन सहयोग गर्ने
फोटो खिच्ने, रमाइला कुरा गर्ने, स्थानको जानकारी दिने आदि कामले यात्रा अझ उत्साहबर्धक हुन्छ । यो भूमिका सहयोगीले पूरा गर्नुपर्छ ।
४.समय व्यवस्थापन र संयोजन गर्ने
बसाइ, भोजन, विश्राम, घुमाइ आदि सबैलाई सम्यक रूपमा संयोजन गर्नुपर्छ ।
निष्कर्ष
वृद्धावस्था जीवनको अन्तिम तर महत्वपूर्ण अध्याय हो । यसलाई निराशाजनक होइन, अर्थपूर्ण बनाउने प्रयास हामी सबैको जिम्मेवारी हो । भ्रमण धार्मिक, सांस्कृतिक वा प्राकृतिक जुनसुकै प्रकृतिको होस्— वृद्धवृद्धाहरूका लागि जीवनमा पुनः ऊर्जा भरिदिने मौका हो । यात्रा उनीहरूको अनुहारमा मुस्कान ल्याउने, उनीहरूलाई सबैले सम्झिएको महसुस गराउने, र जीवनमा अझ केही बाँकी छ भन्ने विश्वास दिलाउने कार्य हो । यसकारण जेष्ठ नागरिकको सेवा गर्ने मन भएका सबै परिवार, सङ्घसंस्था र समाजका निकायले यस्तो सुरक्षित, व्यवस्थित र संवेदनशील यात्रा कार्यक्रम सञ्चालन गर्नु अत्यन्त जरुरी छ ।
०००
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर
२०८२ साउन २०
Subscribe
Login
0 Comments
Oldest


































