जीवनाथ अधिकारीथुक्क मान्छे ! तँ मर्छस्
आफ्ना खै पौरखी ती कर युगलहरू, पाखुरी बजजस्ता गोडा सग्ला छँदै छन् छपछप रिपुका प्राणका अन्त्य दस्ता । छाती चौडा कसेका अविचल नगझै, किन्तु लच्याङ्ग झर्छस् मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥

जीवनाथ अधिकारी :
आफै धर्ती हुँ भन्छस् तर सब भुसुना सान तेरो बडा छ
तेरै आँखा तिखा छन् परपर दुनियाँ तिर्सनामा खडा छ ।
चल्दै चल्दैन भन्दै पनि म त नभए अन्धताभित्र झर्छस्
मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥१॥
तेरो अत्यास लाग्दो बदनियत अहो ! चालका फालभित्र
गाह्रो भो बुझ्नलाई निमुख जनहरू आज कस्तो विचित्र ।
फन्दामा ती परेझै चहक महकिलो फुर्तिला गान भर्छस्
मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥२॥
मान्छे मान्छे हितैषी भुवनभर सबै मानवी गान गाई
हिँड्थे ती एक गोला सँग सँग खुसले साम-प्रातः नुहाई ।
प्यारा ती दिव्य गाना हरहर शिवको डिम्डिमेभित्र झर्छस्
मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥३॥
बस्थ्यो मान्छे उबेला सघन विपिनमा सभ्यताबाट दूर
हातेमालो गणैमा मन सरस हुँदा दृष्टि पुग्थ्यो सुदूर ।
सुन्दैमा लाग्छ प्यारो, तर मनुज यहाँ नीच भै कत्ति गिर्छस्
मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥४॥
बालेका अग्निभित्रै चरु हवन हुँदा बासमा विश्व घुल्थ्यो
आकासे मेघ बज्दा बलजल भरिलो खेतमा धान झुल्थ्यो ।
धावा बोलेर ऐले मुटु हृदय चिरी त्रास बोकी तँ पिर्छस्
मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥५॥
आफ्ना खै पौरखी ती कर युगलहरू, पाखुरी बजजस्ता
गोडा सग्ला छँदै छन् छपछप रिपुका प्राणका अन्त्य दस्ता ।
छाती चौडा कसेका अविचल नगझै, किन्तु लच्याङ्ग झर्छस्
मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥६॥
धोत्रे बोली छ तेरो, मुख मधुर कहाँ, छैन आशा, निराशी
तर्सी तर्सी हिंडेका विकल विहराझै त्रासले प्रेमप्यासी ।
त्यस्ता छाती तँ ताकी परपर दुनियाँ घोप्टिंदै पाउ पर्छस्
मान्छेलाई नगन्ने मनुजसरहमा थुक्क मान्छे ! तँ मर्छस् ॥७॥
०००
२०७६ फागुन १८
मास्कले थिचिएको जिन्दगी (२०७७)
Subscribe
Login
0 Comments
Oldest







































