साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढाबुढीको पारिवारिक र सामाजिक सम्बन्ध र समन्वय

वृद्धवृद्धासँग अथाह अनुभव र ज्ञान रहेको हुन्छ भने नयाँ पुस्तासँग नवीनतम प्रविधि र समकालिक वैश्विक ज्ञान । यी दुवैको संयोजन गराउने काम परिवार र समाजका काँधमा रहेको हुन्छ ।

Nepal Telecom ad

जीवनाथ अधिकारी :

परिवार हाम्रो पहिलो समाज हो । पारिवारिक संरचनामा सानाठुला सदस्य— बालबालिका, बुढाबुढी, आमाबाबु, दाजुभाइ, दिदीबहिनी आदि सबै समावेश हुन्छन् । परिवारका सदस्यको बुढाबुढीसँगको सम्बन्ध विशेष हुन्छ किनभने उनीहरू अनुभवी, बुद्धिमान्, पारिवारिक संस्कारका वाहक हुन्छन् । उनीहरूले जीवनमा अनेक उतारचढाव र सुखदु:ख बेहोरेर जीवनलाई नजिकबाट गहिराइमा पुगेर अनुभूत गरेका हुन्छन् तर उमेर ढल्काइसँगै पहिलेको सशक्त मासिक, शारीरिक तथा भौतिक अवस्थामा पनि क्षयीकरण हुँदै जान थालेपछि भने विविध अप्ठ्यारासित सङ्घर्ष गर्नुपर्ने हुन्छ उनीहरूले ।

अब बिस्तारै शारीरिक अशक्तता बढ्नुका साथै मानसिक स्वास्थ्यमा पनि अनेकौँ समस्या देखा पर्न सक्छन् । यति बेला उनीहरूलाई सुदृढ भौतिक र मानसिक सहाराको आवश्यकता पर्न सक्छ । परिवार, समाज र वैश्विक जानकारीबाट पनि दूर हुन पुग्ने अवस्था हो वृद्धावस्था । यस्तो बेलामा उनीहरूलाई आत्मनिर्भर बनाउन परिवार तथा समाजको गहन भूमिका हुन्छ । परिवारका सानाठुला सबै प्रकारका सदस्य तथा सामाजिक परिवेशले उनीहरूसँग राख्ने सम्बन्ध र गर्ने व्यवहार वृद्धमैत्री र अनुकूल भयो भने उनीहरूले आफ्नो जीवनको सार्थकता अनुभूत गरिरहन पाउँछन् । यस आलेखमा परिवार र समाजले कस्तो दृष्टिकोणले वृद्धवृद्धालाई हेर्ने भन्ने बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

बुढाबुढीसँग सम्मान र आदर (Respect and Honor toward Elders)
नेपाली सांस्कृतिक मूल्यअनुसार वृद्धवृद्धालाई सम्मान र आदरका साथ व्यवहार गर्नु सबैको प्राथमिक कर्तव्य हो । यो केवल शब्दको सत्कारको मात्र सवाल होइन, उनीहरूको अनुभव र समयलाई प्राथमिकता दिनु पनि हो । यसले उनीहरूको आत्मसम्मान बढाउँछ । Filial Piety भन्ने अङ्ग्रेजी शब्दले यस संस्कारको तात्पर्य व्यक्त गर्छ, जसको मतलब बच्चाबाट अभिभावकप्रति सम्मान, पालनपोषण र सेवा गर्नु भन्ने हो । आदरपूर्ण व्यवहारमा कोमल भाषा प्रयोग, उनीहरूको निर्णयको सम्मान गर्नु र उनीहरूको अनुभव मूल्याङ्कन गर्नु महत्त्वपूर्ण हुन्छ । यसले पारिवारिक सम्बन्ध अत्यन्त गाढा र प्रेमपूर्ण बनाउँछ ।

सेवा र हेरचाह (Service and Care)
बुढाबुढीको स्वास्थ्य र जीवनशैलीको ख्याल राख्नु कर्तव्य मात्र नभई मानवता पनि हो । उनीहरूका लागि दैनिक औषधी, विश्राम, स्वास्थ्यसेवा तथा पोषणयुक्त भोजन उपलब्ध गराउनु जरुरी हुन्छ । उनीहरूलाई अस्पताल लैजानु, समय समयमा ध्यान दिइरहनु र घरमा आरामदायी वातावरण सुनिश्चित गर्नाले रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि तथा मानसिक पीडा कम गर्न सहयोग गर्छ । उनीहरूको सेवा गर्दा स्नेह, सहनशीलता र संवेदनशीलता देखाउनुपर्दछ । यस प्रकारको सकारात्मक व्यवहारले बुढाबुढीको आत्मविश्वास र जीवनप्रतिको दृष्टिकोण स्मरणीय रूपमा परिवर्तन गर्छ ।

संवाद र मनोवैज्ञानिक समर्थन (Communication and Psychological Support)
बुढाबुढीहरू नियमित रूपमा अन्य व्यक्तिसँग अन्तर्क्रिया गर्न मन पराउँछन् । यसका लागि उनीहरूसँग नियमित संवाद गर्ने अनुभव र भावना साटासाट गर्ने प्रक्रिया चलाइरहनु आवश्यक देखिन्छ । यसले उनीहरूको एक्लोपन घटाउँछ र मनोस्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । उनीहरूका निराशा, पीडा वा चिन्ता सुनेर भावनात्मक समर्थन दिनु आवश्यक हुन्छ । संवादको क्रममा उनीहरूलाई सहभागी बनाउनु, सुन्नु र सम्मानपूर्वक प्रतिक्रिया दिनु उनका आत्मसम्मानमा बल प्रदान गर्नु हो । यसले पारिवारिक सदस्यहरूका बिचमा विश्वास र आत्मीयता कायम राख्छ ।

निर्णयमा सल्लाहग्रहण ( Advice in Decision Making)
घरेलु, आर्थिक वा सामाजिक फैसला वा निर्णयमा बुढाबुढीको सुझाव समावेश हुनु बुद्धिमानीपूर्ण अभ्यास हो । उनीहरूको जीवनअनुभवले निर्णयप्रक्रियालाई भरपर्दो बनाउँछ । यस्तो सल्लाह लिनु भनेको उनीहरूको आत्मगौरव र भूमिकालाई महत्त्वका साथ मान्यता दिनु पनि हो । यसले सम्बन्धको आधारलाई बलियो बनाउँछ र नयाँ पुस्तालाई अनुभवबाट शिक्षा लिने अवसर दिन्छ भने बुढाबुढीले आफ्नो पनि भूमिका अझै नसकिएको अनुभूत गर्न सक्छन् ।

आत्मावलोकन र स्मरणोत्सव (Reflection and Commemoration)
विशेष अवसरमा बुढाबुढीलाई सम्मान गर्ने कार्यक्रममा आमन्त्रित गर्नु र उनीहरूको योगदान, कथा वा सङ्घर्षलाई सार्वजनिकीकरण गर्नु प्रेरणादायी हुन्छ । जन्मदिन, भगवत्भक्तिपूर्ण समारोह वा स्मृतिदिवसहरूमा सम्मानपत्र प्रदान गर्नु, कथा वाचन वा गुणगान प्रस्तुति गर्नु उनीहरूको गरिमालाई स्थापित गर्नु हो । यसले अन्य परिवार र सदस्यहरूमा आदरभाव बढाउँछ र पारिवारिक मूल्यको संरक्षणमा मद्दत गर्छ ।

सम्बन्ध सुधार्न अपनाइने व्यावहारात्मक उपायहरू (Practical Behaviors to Improve Relations)
बुढाबुढीसँग आदरजनक भाषा प्रयोग हुनु अनिवार्य छ— हजुर, तपाईँजस्ता सम्मानसूचक शब्दले सम्बन्ध मधुर बनाउँछ । समय बिताउने, सङ्गत गर्ने, स्वास्थ्य निरीक्षण गर्नेजस्ता व्यवहारले एक्लोपन घटाउँछ । सरसल्लाहमा उनीहरूलाई सहभागी गराइनुले सम्बन्धलाई गाढा र सहयोगात्मक बनाउँछ । यसले पारिवारिक वातावरण सकारात्मक र प्रेमपूर्ण बनाउँछ।

समाजसँग समन्वय (Coordination with Society)
समुदायमा वृद्धलाई सक्रिय सदस्यको रूपमा सामेल गराउनु संस्कृति र आत्मीयताको पुनर्जीवन हो । गाउँ वा सहरस्तरमा आयोजित भेटघाट, पूजा, चियाभेटजस्ता कार्यक्रमहरूमा उनीहरूलाई सहभागी गराउँदा सामाजिक अपनत्व बढ्छ । स्थानीय वृद्ध क्लब, सामाजिक संस्था वा गैह्र सरकारी संस्थाहरूसित साझेदारी गरेर स्वास्थ्य शिविर, मनोरञ्जन वा योगकक्षाहरू सम्पन्न गर्दा वृद्धहरू सम्मान र गरिमापूर्ण महसुस गर्छन् भने आफू सामाजिक सम्पर्कमै रहिरहेको छु भन्ने अनुभव गर्छन् । यस्ता गतिविधिको सहभागिताले उनीहरूलाई मानसिक रूपमा पनि एक्लोपनको अनुभूति हुनबाट रोक्तछ ।

सहकारी संस्था र निकायसँग साझेदारी (Partnership with Cooperatives and Institutions)
स्थानीय गैह्र सरकारी संस्था (NGO), सरकारी सङ्घसंस्था वा अन्य सामाजिक सेवा दिने संस्थासँग मिलेर वृद्धको हकहित र सहभागिता सुनिश्चित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्नु आवश्यक हुन्छ । वृद्ध क्लब, सहयोगी समूह र सरकारी योजनासँग जोडिएर जीवनशैली सुधार, योग, स्वास्थ्य शिक्षा र मनोरञ्जनका गतिविधिहरू आयोजना गर्न सकिन्छ । यसले वृद्धहरूलाई आत्मनिर्भर हुन र सामाजिक रूपमा सक्रिय हुन प्रेरित गर्छ ।

अन्तर पिँढी (पुस्ता) संवाद (Inter Generational Dialogue)
विद्यालय, युवा समूह र वृद्ध टोलीबिच संवाद कार्यक्रमले ज्ञान र संस्कारको आदानप्रदानलाई प्रोत्साहन गर्छ । विद्यार्थीहरूले वृद्धको अनुभवबाट जीवनका महत्त्वपूर्ण पाठ सिक्छन् भने वृद्धहरू नयाँ पुस्तासँग आत्ममूल्याङ्कन गर्छन् । यस प्रकारको अन्तर पिँढी संयोजनले पारिवारिक संस्कार र आधुनिकतालाई सन्तुलनमा राख्न सहयोग गर्छ ।

वृद्धवृद्धासँग अथाह अनुभव र ज्ञान रहेको हुन्छ भने नयाँ पुस्तासँग नवीनतम प्रविधि र समकालिक वैश्विक ज्ञान । यी दुवैको संयोजन गराउने काम परिवार र समाजका काँधमा रहेको हुन्छ । नयाँ शिल्प र प्रविधिमा पुराना अनुभव र ज्ञानलाई जोड्ने सांस्कृतिक संवाहनको काम गर्न सके हाम्रो आफ्नोपन पनि कायम रहने र नयाँ प्राविधिक प्रायोगिक अभ्यासका माध्यमबाट समाजलाई समुन्नत बनाउन सहज हुन्छ । तसर्थ पुराना पुस्ताका ती खजानालाई नयाँ पिढीँका ऊर्जामा समाहित गर्ने प्रबन्ध मिलाउनु समीचीन हुन जान्छ ।

०००
२०८२ साउन १४
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x