जीवनाथ अधिकारीबुढाबुढीको पारिवारिक र सामाजिक सम्बन्ध र समन्वय
वृद्धवृद्धासँग अथाह अनुभव र ज्ञान रहेको हुन्छ भने नयाँ पुस्तासँग नवीनतम प्रविधि र समकालिक वैश्विक ज्ञान । यी दुवैको संयोजन गराउने काम परिवार र समाजका काँधमा रहेको हुन्छ ।

जीवनाथ अधिकारी :
परिवार हाम्रो पहिलो समाज हो । पारिवारिक संरचनामा सानाठुला सदस्य— बालबालिका, बुढाबुढी, आमाबाबु, दाजुभाइ, दिदीबहिनी आदि सबै समावेश हुन्छन् । परिवारका सदस्यको बुढाबुढीसँगको सम्बन्ध विशेष हुन्छ किनभने उनीहरू अनुभवी, बुद्धिमान्, पारिवारिक संस्कारका वाहक हुन्छन् । उनीहरूले जीवनमा अनेक उतारचढाव र सुखदु:ख बेहोरेर जीवनलाई नजिकबाट गहिराइमा पुगेर अनुभूत गरेका हुन्छन् तर उमेर ढल्काइसँगै पहिलेको सशक्त मासिक, शारीरिक तथा भौतिक अवस्थामा पनि क्षयीकरण हुँदै जान थालेपछि भने विविध अप्ठ्यारासित सङ्घर्ष गर्नुपर्ने हुन्छ उनीहरूले ।
अब बिस्तारै शारीरिक अशक्तता बढ्नुका साथै मानसिक स्वास्थ्यमा पनि अनेकौँ समस्या देखा पर्न सक्छन् । यति बेला उनीहरूलाई सुदृढ भौतिक र मानसिक सहाराको आवश्यकता पर्न सक्छ । परिवार, समाज र वैश्विक जानकारीबाट पनि दूर हुन पुग्ने अवस्था हो वृद्धावस्था । यस्तो बेलामा उनीहरूलाई आत्मनिर्भर बनाउन परिवार तथा समाजको गहन भूमिका हुन्छ । परिवारका सानाठुला सबै प्रकारका सदस्य तथा सामाजिक परिवेशले उनीहरूसँग राख्ने सम्बन्ध र गर्ने व्यवहार वृद्धमैत्री र अनुकूल भयो भने उनीहरूले आफ्नो जीवनको सार्थकता अनुभूत गरिरहन पाउँछन् । यस आलेखमा परिवार र समाजले कस्तो दृष्टिकोणले वृद्धवृद्धालाई हेर्ने भन्ने बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
बुढाबुढीसँग सम्मान र आदर (Respect and Honor toward Elders)
नेपाली सांस्कृतिक मूल्यअनुसार वृद्धवृद्धालाई सम्मान र आदरका साथ व्यवहार गर्नु सबैको प्राथमिक कर्तव्य हो । यो केवल शब्दको सत्कारको मात्र सवाल होइन, उनीहरूको अनुभव र समयलाई प्राथमिकता दिनु पनि हो । यसले उनीहरूको आत्मसम्मान बढाउँछ । Filial Piety भन्ने अङ्ग्रेजी शब्दले यस संस्कारको तात्पर्य व्यक्त गर्छ, जसको मतलब बच्चाबाट अभिभावकप्रति सम्मान, पालनपोषण र सेवा गर्नु भन्ने हो । आदरपूर्ण व्यवहारमा कोमल भाषा प्रयोग, उनीहरूको निर्णयको सम्मान गर्नु र उनीहरूको अनुभव मूल्याङ्कन गर्नु महत्त्वपूर्ण हुन्छ । यसले पारिवारिक सम्बन्ध अत्यन्त गाढा र प्रेमपूर्ण बनाउँछ ।
सेवा र हेरचाह (Service and Care)
बुढाबुढीको स्वास्थ्य र जीवनशैलीको ख्याल राख्नु कर्तव्य मात्र नभई मानवता पनि हो । उनीहरूका लागि दैनिक औषधी, विश्राम, स्वास्थ्यसेवा तथा पोषणयुक्त भोजन उपलब्ध गराउनु जरुरी हुन्छ । उनीहरूलाई अस्पताल लैजानु, समय समयमा ध्यान दिइरहनु र घरमा आरामदायी वातावरण सुनिश्चित गर्नाले रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि तथा मानसिक पीडा कम गर्न सहयोग गर्छ । उनीहरूको सेवा गर्दा स्नेह, सहनशीलता र संवेदनशीलता देखाउनुपर्दछ । यस प्रकारको सकारात्मक व्यवहारले बुढाबुढीको आत्मविश्वास र जीवनप्रतिको दृष्टिकोण स्मरणीय रूपमा परिवर्तन गर्छ ।
संवाद र मनोवैज्ञानिक समर्थन (Communication and Psychological Support)
बुढाबुढीहरू नियमित रूपमा अन्य व्यक्तिसँग अन्तर्क्रिया गर्न मन पराउँछन् । यसका लागि उनीहरूसँग नियमित संवाद गर्ने अनुभव र भावना साटासाट गर्ने प्रक्रिया चलाइरहनु आवश्यक देखिन्छ । यसले उनीहरूको एक्लोपन घटाउँछ र मनोस्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । उनीहरूका निराशा, पीडा वा चिन्ता सुनेर भावनात्मक समर्थन दिनु आवश्यक हुन्छ । संवादको क्रममा उनीहरूलाई सहभागी बनाउनु, सुन्नु र सम्मानपूर्वक प्रतिक्रिया दिनु उनका आत्मसम्मानमा बल प्रदान गर्नु हो । यसले पारिवारिक सदस्यहरूका बिचमा विश्वास र आत्मीयता कायम राख्छ ।
निर्णयमा सल्लाहग्रहण ( Advice in Decision Making)
घरेलु, आर्थिक वा सामाजिक फैसला वा निर्णयमा बुढाबुढीको सुझाव समावेश हुनु बुद्धिमानीपूर्ण अभ्यास हो । उनीहरूको जीवनअनुभवले निर्णयप्रक्रियालाई भरपर्दो बनाउँछ । यस्तो सल्लाह लिनु भनेको उनीहरूको आत्मगौरव र भूमिकालाई महत्त्वका साथ मान्यता दिनु पनि हो । यसले सम्बन्धको आधारलाई बलियो बनाउँछ र नयाँ पुस्तालाई अनुभवबाट शिक्षा लिने अवसर दिन्छ भने बुढाबुढीले आफ्नो पनि भूमिका अझै नसकिएको अनुभूत गर्न सक्छन् ।
आत्मावलोकन र स्मरणोत्सव (Reflection and Commemoration)
विशेष अवसरमा बुढाबुढीलाई सम्मान गर्ने कार्यक्रममा आमन्त्रित गर्नु र उनीहरूको योगदान, कथा वा सङ्घर्षलाई सार्वजनिकीकरण गर्नु प्रेरणादायी हुन्छ । जन्मदिन, भगवत्भक्तिपूर्ण समारोह वा स्मृतिदिवसहरूमा सम्मानपत्र प्रदान गर्नु, कथा वाचन वा गुणगान प्रस्तुति गर्नु उनीहरूको गरिमालाई स्थापित गर्नु हो । यसले अन्य परिवार र सदस्यहरूमा आदरभाव बढाउँछ र पारिवारिक मूल्यको संरक्षणमा मद्दत गर्छ ।
सम्बन्ध सुधार्न अपनाइने व्यावहारात्मक उपायहरू (Practical Behaviors to Improve Relations)
बुढाबुढीसँग आदरजनक भाषा प्रयोग हुनु अनिवार्य छ— हजुर, तपाईँजस्ता सम्मानसूचक शब्दले सम्बन्ध मधुर बनाउँछ । समय बिताउने, सङ्गत गर्ने, स्वास्थ्य निरीक्षण गर्नेजस्ता व्यवहारले एक्लोपन घटाउँछ । सरसल्लाहमा उनीहरूलाई सहभागी गराइनुले सम्बन्धलाई गाढा र सहयोगात्मक बनाउँछ । यसले पारिवारिक वातावरण सकारात्मक र प्रेमपूर्ण बनाउँछ।
समाजसँग समन्वय (Coordination with Society)
समुदायमा वृद्धलाई सक्रिय सदस्यको रूपमा सामेल गराउनु संस्कृति र आत्मीयताको पुनर्जीवन हो । गाउँ वा सहरस्तरमा आयोजित भेटघाट, पूजा, चियाभेटजस्ता कार्यक्रमहरूमा उनीहरूलाई सहभागी गराउँदा सामाजिक अपनत्व बढ्छ । स्थानीय वृद्ध क्लब, सामाजिक संस्था वा गैह्र सरकारी संस्थाहरूसित साझेदारी गरेर स्वास्थ्य शिविर, मनोरञ्जन वा योगकक्षाहरू सम्पन्न गर्दा वृद्धहरू सम्मान र गरिमापूर्ण महसुस गर्छन् भने आफू सामाजिक सम्पर्कमै रहिरहेको छु भन्ने अनुभव गर्छन् । यस्ता गतिविधिको सहभागिताले उनीहरूलाई मानसिक रूपमा पनि एक्लोपनको अनुभूति हुनबाट रोक्तछ ।
सहकारी संस्था र निकायसँग साझेदारी (Partnership with Cooperatives and Institutions)
स्थानीय गैह्र सरकारी संस्था (NGO), सरकारी सङ्घसंस्था वा अन्य सामाजिक सेवा दिने संस्थासँग मिलेर वृद्धको हकहित र सहभागिता सुनिश्चित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्नु आवश्यक हुन्छ । वृद्ध क्लब, सहयोगी समूह र सरकारी योजनासँग जोडिएर जीवनशैली सुधार, योग, स्वास्थ्य शिक्षा र मनोरञ्जनका गतिविधिहरू आयोजना गर्न सकिन्छ । यसले वृद्धहरूलाई आत्मनिर्भर हुन र सामाजिक रूपमा सक्रिय हुन प्रेरित गर्छ ।
अन्तर पिँढी (पुस्ता) संवाद (Inter Generational Dialogue)
विद्यालय, युवा समूह र वृद्ध टोलीबिच संवाद कार्यक्रमले ज्ञान र संस्कारको आदानप्रदानलाई प्रोत्साहन गर्छ । विद्यार्थीहरूले वृद्धको अनुभवबाट जीवनका महत्त्वपूर्ण पाठ सिक्छन् भने वृद्धहरू नयाँ पुस्तासँग आत्ममूल्याङ्कन गर्छन् । यस प्रकारको अन्तर पिँढी संयोजनले पारिवारिक संस्कार र आधुनिकतालाई सन्तुलनमा राख्न सहयोग गर्छ ।
वृद्धवृद्धासँग अथाह अनुभव र ज्ञान रहेको हुन्छ भने नयाँ पुस्तासँग नवीनतम प्रविधि र समकालिक वैश्विक ज्ञान । यी दुवैको संयोजन गराउने काम परिवार र समाजका काँधमा रहेको हुन्छ । नयाँ शिल्प र प्रविधिमा पुराना अनुभव र ज्ञानलाई जोड्ने सांस्कृतिक संवाहनको काम गर्न सके हाम्रो आफ्नोपन पनि कायम रहने र नयाँ प्राविधिक प्रायोगिक अभ्यासका माध्यमबाट समाजलाई समुन्नत बनाउन सहज हुन्छ । तसर्थ पुराना पुस्ताका ती खजानालाई नयाँ पिढीँका ऊर्जामा समाहित गर्ने प्रबन्ध मिलाउनु समीचीन हुन जान्छ ।
०००
२०८२ साउन १४
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest

































