साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुशासन फेरि पनि मर्छ श्रीमान् !

यसका लागि जे जो गर्नुपर्ने हो उपयुक्त आदेश जारी गरिपाऊँ श्रीमान् नत्र मभित्रैबाट दुशासन जन्मन्छ कुशासन फैलाउँछ र, सुशासन फेरि पनि मर्छ श्रीमान् !

Nepal Telecom ad

भवानी खतिवडा :

चराको चिर्बिर असाध्यै राम्रो सुनिन्छ
तर त्यसको भाषा बुझिँदैन श्रीमान्,
बादलको टुक्रो जतिसुकै राम्रो भए पनि
चोलो सिलाएर लाउन सकिँदैन श्रीमान्,
हो, यो दरबार पनि असाध्यै राम्रो छ
तर जनता आएर यतै वास बस्न मिल्दैन श्रीमान् !
हो, यस्तै कुरो हो यो पनि
व्यावसायिक र सिर्जनशील प्रशासन
विकास, समृद्धि र सुशासन
आहा, कति सुन्दर कुरो,
आहा, कस्तो हुनै पर्ने कुरो
तर दुःखको कुरो
यसलाई नारा बनाइयो
जब कि जीवनदर्शन बनाइनुपर्थ्यो
यसलाई आहारा बनाइयो
जब कि जनताको सहारा बनाइनुपर्थ्यो
म नागरिक बडापत्रलाई साक्षी राखेर
र, त्यही टाँसेको भित्तोमुनि उभिएर
सत्य बोल्दैछु श्रीमान्
यो सुन्दर गीतको एक पङ्क्ति हो
जसलाई चपाउन सकिँदैन
यो मन्त्रको एक ऋचा जस्तै हो
जसलाई सिद्ध गर्न पनि सकिँदैन
मेरो सारा योग्यतालाई
थम्ब प्रिन्टको ल्याप्चेले
चुनौती दिइरहेको यो जटिल समयमा
म मान्छे र एआईलाई छुट्याउन पनि सकिँदैन
हो, यो नारा असाध्यै राम्रो छ
तर मन नराम्रो भएसम्म
जनताको जीवनमा उतार्न सकिँदैन श्रीमान्
नियत सफा नभएसम्म
नियमले केही गर्न सक्तैन श्रीमान्
हो, यो मन्त्र हो श्रीमान्
यसलाई त बरु यन्त्र बनाएर
ठाउँ ठाउँमा लगाउनुपर्थ्यो
यो त मात्र ध्वनि भयो श्रीमान्
यसलाई त श्वास प्रश्वासमा फेरेर
जनताको जीवनी बनाउनुपर्थ्यो श्रीमान्
भ्रष्टाचारले डुङ्डुङ्ती गनाएको
यो गेटमुन्तिरबाट छिरेर
म कहाँ नै पुग्न सक्छु र श्रीमान् ?
जब सिङ्गो नदी नै
पूरै प्रदूषित भइरहेको छ भने
म एक्लो माछो
उफ्रिएर कति नै टाढा पुग्न सक्छु र श्रीमान् ?
सुनेँ, सुशासनका कुरा पनि सुनेँ,
सुनेँ, सहभागिताका कुरा पनि सुनेँ
सुनेँ, लोकतन्त्रका कुरा त
झन् कानै पाक्ने गरी सुनेँ
समावेशीकरणका कुरा त
म आफैँ बाहिर ननिकालिउन्जेल सुनेँ
विधिको शासन मात्र होइन श्रीमान्
ज्यातिविधिको शासन पनि देखेँ
अनि देखेँ निरन्तर निरन्तर
तुइनबाट खसिरहेकालाई देखेँ,
सीमान्तीकरणमा परिरहेका
गरीबहरूलाई देखेँ,
सुकुम्वासीका नाममा
हुकुम्वासी जुर्मुराएको पनि देखेँ,
बिचौलिया चल्मलाएको पनि देखेँ,
विदेशी सल्बलाएको पनि देखेँ
जनता रोएको र ऊ हाँसेको पनि देखेँ
जनता भोकै र ऊ अघाएको पनि देखेँ
आफ्नै देशको सीमाभित्र
आफ्नै भाषा मर्दै गरेको पनि देखेँ
सबैभन्दा अचम्म त
कार्यालयबाट फर्किंदा
म निस्कने गेटमाथि लेखिएको
“म भ्रष्टाचार गर्दिन” भन्ने वाक्यांशले
मेरै पछाडि उभिएर
मैलाई गिज्याइरहेको पनि देखेँ
अब मेरापछाडि परिसकेको
यो वाक्यांशलाई
संविधानको कुन धाराले
अगाडि ल्याउने हो श्रीमान् ?
मेरा मनमा आउनै लागेको यो कुविचार
र, गेटसम्म आइसकेको
त्यो ठूलो आकारको ब्रिफकेशलाई
कुन उत्प्रेषणको आदेशबाट
बदर गरिदिनु पर्ने हो श्रीमान् ?
श्रीमान् मलाई ‘म’ बाटै बचाइपाऊँ
श्रीमान्, मलाई मान्छे बनाइपाऊँ
यसका लागि जे जो गर्नुपर्ने हो
उपयुक्त आदेश जारी गरिपाऊँ श्रीमान्
नत्र मभित्रैबाट दुशासन जन्मन्छ
कुशासन फैलाउँछ
र, सुशासन फेरि पनि मर्छ श्रीमान् !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x