साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सञ्जालको जाल : कालको द्वार

यसलाई बिम्बात्मक वा प्रतीकात्मक रूपमा कसरी प्रयोग गर्नुहोला, त्यो प्रतीक्षाकै विषय हो । साँच्चै प्रतीक्षा भनिरहँदा प्रतीक्षालाई हिजो मेसेज पठाएको कुरा याद आयो । के रिप्लाई दिइन् हेर्न जानुपर्छ ।

Nepal Telecom ad

अमू शाक्य :

हास्यव्यङ्ग्य साहित्यको उन्नयन र प्रवर्द्धनका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापित खाइराइड हास्यव्यङ्ग्य पुरस्कार स्थापना गरेका छन् । उक्त पुरस्कारको व्यवस्थापन बाङ्गा अक्षरले गरेको छ । विद्यालय तहको राष्ट्रव्यापी हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता २०८२ मा प्रथम, द्वितीय र तृतीयका साथै अन्य सहभागीको निबन्ध पनि प्रकाशित गरिने क्रममा यो निबन्ध प्रकाशित गरिएको हो । विद्यार्थीहरुका राम्रा निबन्धहरुलाई फित्कौलीले नवश्रृजना स्तम्भको रुपमा नियमित प्रविष्ट गर्दै आएकाे छ । साथै प्रेरणाको लागि विद्यालय र कलेज तहका विद्यार्थीले लेखेका स्तरीय निबन्धलाई फित्कौलीले प्राथमिकता साथ प्रकाशन गर्नेछ ।- प्रधान सम्पादक
००

ब्ल्याकहोलको रहस्य आजकालका ठिटाठिटीहरूका लागि गहन गवेषणको विषय हैन । चन्द्रमामा घर बनाउने विषय पनि आजकालका युवायुवतीका लागि जटिल विषय हैन । आजकालका जेनजी एवम् स्ल्याङ वर्ड प्रयोग गर्ने वनितालाई संस्कृतको कविताले रमिता दिलाई भवितामा श्रीमती बनाउन पनि आजकालका ठिटाठिटीका लागि कठिन विषय पक्कै हैन । सञ्जालको क्षुधालाई पनि आजकालका जेनजीले नियन्त्रित पारिरहेका नै छन् । एकछिन एकछिन, धाराप्रवाह लेख्दै जाँदा यो अन्तिम असफल वाक्यांश किन पो लेखेँ मैले ? लु गज्जब भएछ, निश्चित वाक्यांशहरूको अन्तिममा एउटा दिवाना शृङ्गारशिरोमणिको आफ्नी प्रेयसीलाई गर्ने वर्णनभन्दा अतिसयोक्तिपूर्ण कुरा मैले कसरी लेख्न पुगेँ ? खागप्रसाद, सिंहवीर र प्रसूनपद्मलगायत अन्य नेतालाई आजकालका जेनजीले तहसनहस पारेको विषय साक्षी रहिआएकै छ । जेनजीको बारेमा बोल्दा कतै मै पो सत्यानाश हुने हो कि? हे दैव, रक्षा गर ।

हुन त म सञ्जालको विषयलाई लिएर जेनजी मात्र हैन, समस्त मानव जातिलाई नै औँला ठड्याइरहेको छु । तर चोर औँला हजुरहरूलाई ठड्याईराख्दा बाँकी तीन औँला म आफैमा ठडिँदो रहेछ । त्यसैले म आफै पनि स्वयं मेरो आलोचनाको पात्र बन्न पुगेको छु । हुन त आफू पनि वर्गीकरणको हिसाबले त जेनजी नै परियो ।

हैन आजकालका केटाकेटीचाहिँ यो मोबाइल भन्ने भाँडोमा कति व्यस्त भएका हुन् ? उठी सुख म बसी सुख भन्थे पहिला । अहिले त मोबाइल नपाएका बच्चाहरूको चिच्याहट् भनेकै उठी मोबाइल न बसी मोबाइल हुन जान्छ । मोबाइलमा पनि धेरै कुरा हुन्छन् जसमा सबैभन्दा बढी चलाईने कुरा सामाजिक सञ्जाल पो रहेछ । यी जेनजीहरूले चलाउने भनेको नै सामाजिक सञ्जाल नै पो रहेछ । मैले त सामाजिक भन्ने शब्द आएपछि समाजका निम्ति उपयोगी केही होला नि त भन्ने परिभाषा सोचेको थिएँ । परिभाषा त मैले सोचेअनुरूप नै रहेछ । तर कार्यान्वयन चाहिँ नेपालका अधिकांश कलेजहरूमा गराउने साइन्स प्राक्टिकलजस्तै रहेछ । एकदम वस्तुनिष्ठ ।

सञ्जालको परिभाषा नेपाली बृहत् शब्दकोशले यसरी दिएको छ – जालजस्तो फिँजिएको कुनै प्रणाली, राम्ररी विस्तार गरिएको जालो । शब्दकोशले जाल शब्द मूलशब्दको व्यष्टिको रूपमा मात्र भनेको रहेछ । अथवा यहाँ जालको अर्थ अर्कै आएको हुनुपर्छ । तर वास्तवमा कसैलाई फसाउन प्रयोग गरिने जालको झल्को चाहिँ सञ्जालले दिन्छ । व्यावहारिक रूपमा भन्नुपर्दा त जाल र सञ्जाल पर्यायवाची शब्द नै बनिसक्यो । अब उपसर्ग लाग्या, वैयाकरणीय हिसाबले नमिलेको भन्दै नआईदिनहुन भाषाविद्ज्यूहरूलाई अनुरोध गर्दछु । गल्ती भए माफी त छँदै छ ।

एउटाले जाल रच्यो, हामी त्यो जालमा फस्यौँ । अब त्यही चक्रव्यूहबाट उम्कन नसकिरहेको अवस्था छ । त्यही हो सामाजिक सञ्जालको यथार्थपरक परिभाषा । जुन सिद्धान्त वा ध्येयले सामाजिक सञ्जाल बनाइयो, त्यो लक्ष्य पूरा भएको उपलक्ष्यमा हामी अझै सप्रिँदै गएका पो हौँ कि ? नभए के हो ? यो जालले कुन दिन काल ल्याउने हो, त्यो रहस्यको विषय छ । रहस्य पनि के भन्नु?  सञ्जालमा प्रेम गर्ने र ब्रेकअप भएपछि हुने डिप्रेसन, उदासीनता अझ वैश्विक रूपमा हेर्ने हो भने गरिने प्राणोत्सर्गका केसहरू नौला विषय हुँदै हैनन् । कुन दिन यही सञ्जालको जालले कालको द्वारमा पुगिएला भनेर भन्न सकिन्न ।

आलस्य मानिसको शक्ति हो । ए शक्ति हैन भक्ति हो । त्यही भक्ति आजकालका तथाकथित जेनजीको सिर्जनात्मक मस्तिष्कबाट शक्तिको अर्थमा अर्थापकर्ष भएको छ । त्यो भक्त किशोरकिशोरीहरू झन् धेरै हुन्छन् । त्यही किशोरकिशोरीहरूमा सञ्जालको बढ्दो भोकले पेट त भरेन तर थप अल्छीपन चाहिँ बढेको छ । मोबाइल बाहेक केही काम गर्नुपर्यो भने चाहिँ नाइनास्ति हुन्छ तर मोबाइल हेर्ने काममा चाहिँ सदा-सर्वदा सक्रिय । मोबाइल भए वन भो घर, नभए पनि वन भो घर तर लाटानुप्रासार्थमा ।

यो मोबाइलको आविष्कारले नि गर्नु गर्यो । मार्टिन कुपरले यस्तो भविष्य देखेको थियो भने त आफ्नो विज्ञानको ज्ञानको सदुपयोग गर्दैनथ्यो होला । सुनौलो र नौलो भविष्यको कल्पना थियो विचरा आविष्कारकको तर मैलो मनस्थितिले कुरा बिगार्यो । विडम्बना, कुपरज्यूलाई दूरदर्शी नभएको भन्न नि मिलेन । आफू पनि त्यही भाँडोको मदतले बाँचिरहेको छु । मानव बाँच्नका लागि गर्ने प्रथम कृत्य भनेको आहारविहार हो । त्यो आहारविहार पनि आजकाल त सहजसित हुँदैन । त्यसको लागि पनि करण कारक मोबाइल चाहिएकै छ । आहारविहार मात्र के ? तत्पश्चातका कार्यमा पनि मोबाइल नभई हुन्न । पहिलेपहिले डेटिङमा मिठामिठा कुरा हुन्थे । अहिले त डेटिङमा समीप हुँदा पनि बोल्न लाज लाग्यो भन्दै सामाजिक सञ्जालमा भिडियो कल गर्ने अथवा सन्देश गर्ने परिपाटी फस्टाउँदो छ ।

अस्ति छिमेकी कर्क्यानी फुपूको फेसबुक आईडी आफ्नो विदेशको छोरासित बोल्न खोलिदिएको थिएँ । फुपू त फेसबुकमा झुन्ड्याझुन्ड्यै हुनुहुन्छ । उहाँको घरमा भात, तरकारी पकाउँदा सिठ्ठी फुकेको हाम्रा घरमा पनि सुनिन्छ । पहिलेपहिले त ४ सिठ्ठी नै सुनिन्थ्यो । आजकाल त ८-९ र र एकदिन त १० सिठ्ठी नै सुनिएको थियो । फेसबुकले त धेरै कमाल गरेको थियो । विचरा त्यो दिन फुपाजुफुपूले कति डढेको तरकारी वा भात खानुपरेको थियो होला । धन्न यस्तो घटना अहिलेसम्म मेरो घरमा भएको छैन ।

अरूको कहानी त त्यस्तै हो । मेरो पनि बहुत रोचक कहानी छ । सामाजिक सञ्जालमा भेटेकी एक परम सुन्दरी एवम् स्वर्वधूले मलाई फेसबुकमा एड गरिन् । मैले पनि एसेप्ट गरेँ । कुराकानी गर्दै जाँदा प्रेम बस्यो । २ महिनाको प्रेमकहानी पछि भेट्न भनेर धरहरामा डेटिङ बोलाएको थिएँ । सुरुमा त मानिरहेकै थिइनन् । पछि भिडियो कल नै गरेको त एउटा १४-१५ वर्षको बालकले फोन उठाउँछ र हाँसेर बोका भनेर पो गिज्याउँछ । त्यो केटाले मलाई झुक्याएको पो रहेछ । म कत्ति न प्रेम, विवाह, सन्तानको सृष्टि, पितृत्व आदि विषयमा आप्लावित भइसकेको थिएँ । यो सामाजिक सञ्जालले गर्दा त प्रेम पनि बिक्न थाल्यो । मेसेजको भरमा विश्वास गर्ने म पनि लन्ठु न हुँ ।

मान्छेको जन्मको सार्थकता उसको लगन, परिश्रम एवम् मिहिनेतले दिनुपर्ने हो । तर आजको युग नै अर्को । यहाँ प्रतिस्पर्धा सिप र शिक्षाको हुनुपर्ने हो तर हास्यास्पद बात के छ भने अहिलेका ठिटाठिटी फेसबुक र इन्स्टाग्राममा जसको फोलोवर्स बढी छ, त्यही बढी हिरो ठान्छन् । इन्स्टाग्राममा फोलोवर्सभन्दा फोलोविङ बढी हुनेको कुनै मूल्य नै नहुने भाष्य चलनचल्तीमा छ । खै ! कुन तर्कले यो भाष्य उत्तम ठहरिएको हो ? अचम्म छ । अझ समयसमयमा इन्सटाग्राममा हाँस उठाउने मान्छेहरूको बथान आइरहेको हुन्छ । मुख्य त उठ्दा, बस्दा, खाँदा, चुठ्दा, डकार आउँदा लगायत सबै कुरा फेसबुक, इन्स्टाग्राममा हाल्ने आडम्बरी व्यक्तित्वहरू हाँसोको पात्र हुन्छन् । तिनीहरूको स्टाटस भनेको हाँस्नकै लागि हेर्ने हो र हँसाउनकै लागि साथीहरूलाई सेयर गर्ने हो । आजकाल चोरहरूलाई पनि हातमै चाबी दिएजस्तै भएको छ । आफू कतै जानुपरे पनि फेसबुकमा ढोल बजाउँदै हिँड्छन् अनि चोरी हुँदा आफै रुन्छन् । अजीवको पनि पराकाष्ठा प्राणी आजकाल जन्मिँदै छन् ।

सामाजिक सञ्जालका अनगिन्ती परिभाषाको बारेमा नि के बोलूँ र खै ? सामाजिक सञ्जाललाई कालको द्वार पनि भन्न सकियो । कामको सिकार पनि भन्न मिल्यो । सारमा निराधार र सिर्जनात्मकतामा कृत्रिमता भन्दा पनि अतिशयोक्ति हुँदैन । मुख्य त सञ्जालको जाललाई अब शब्दकोशले कालको द्वार भनेर अनिवार्य रूपमा हाल्नै पर्ने जस्तो देखिन्छ । अबका पिँढीले यसलाई बिम्बात्मक वा प्रतीकात्मक रूपमा कसरी प्रयोग गर्नुहोला, त्यो प्रतीक्षाकै विषय हो । साँच्चै प्रतीक्षा भनिरहँदा प्रतीक्षालाई हिजो मेसेज पठाएको कुरा याद आयो । के रिप्लाई दिइन् हेर्न जानुपर्छ ।

यस्तै सामाजिक सञ्जालले पुर्याएका क्षति, दुर्गति, अवनति, विनाश आदिको कुरा गरेर साध्य नै छैन । बरु नेताको कुरा काट्न एक सीमामा गएर सकिएला, तर सामाजिक सञ्जालको प्रभावको कुरा भनेको अनन्तमा पुगेर पनि सकिने नसकिने टुङ्गो नभएको विषय हो । यसैको चर्चा मजस्तो अनभिज्ञले गरेँ भने पनि १००० पृष्ठभन्दा बढीको एउटा किताब नै लेखिदिउँला । तर त्यो गर्ने जाँगर पनि छैन अहिले किनकि यो लेखिरहँदा फेसबुक चलाउन पाएको पनि छैन । अझ लेखेँ भने फेसबुक चलाउन नि पाउँदिनँ । प्रतीक्षाको मेसेजको प्रतीक्षा पनि यथावत् नै छ । त्यसैले अहिले यत्ति नै लेखेर बिदा हुन्छु । हुन्छु हैन हुन चाहन्छु । हवस् त नमस्कार । जय सञ्जाल ।

०००
कक्षाः ११, डियरवाक सिफल स्कुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
चुपचाप

चुपचाप

रामप्रसाद अर्याल ‘अविराम’
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x