चिरञ्जीवी दाहालआरती हात्ती र पुरस्कार खेती
अहिलेलाई यति मात्र भनौँ ,जब पुरस्कारको खेतीमा हात्ती पसेको हल्ला फैलिन्छ, बर्खायाममा आँगनमा सुकाएको बिस्कुन उठाउनेको र मेरो हतार एकै नासको हुन्छ ।
चिरञ्जीवी दाहाल :
यदाकदा लाग्छ, कुनै पुरस्कार हात पार्न कर्मभन्दा पनि उचित समयमा, उचित व्यक्तिको, उचित आरती उतार्न सक्ने कला महत्वपूर्ण मानिन्छ । काम गर्दा कसले कति योगदान दिएको छ भन्ने प्रश्न मुख्य प्रश्न होइन । यो प्रश्नको पालो निकै पछि आउँछ । पहिलो प्रश्न, कसले कसको गुणगान कति सुरिलोसँग गाउन सक्यो भनेर एउटा परीक्षा लिइन्छ । यही परीक्षा उत्तीर्ण गर्ने मान्छे समयमा सम्मानित र पुरस्कृत हुन्छ । यो रहस्य धेरैलाई थाहा छ तर अधिकांश मान्छेहरू यसबारे हतपती मुख खोल्न चाँहँदैनन् । बेला न कुबेला मुख खोलियो भने मुखमा तिरस्कार नामको लाठी बर्सन सक्छ ।
यसो भन्दैमा मान सम्मान र पुरस्कार हात पार्नेहरू सबैले मुख अमिलो भने बनाउनु पर्दैन । किनकि सबैजना मान्छेहरू एकै श्रेणीका हुँदैनन् र सबै पुरस्कृत व्यक्तित्व र दाताहरूले एउटै पँधेरोको पानी प्रयोग गरेका हुँदैनन् । सम्मान र पुरस्कारसँग जोडिएको रमाइलो कुरा यही हो । संसारमा भएका दुई प्रकारका मनुष्यहरू मध्ये यहाँ एक प्रकारका मनुष्यहरूको मात्र वर्णन गरिएको छ ।
यस विषयमा मुख खोल्ने र औँला उठाउनेलाई , ईर्ष्यालु ,लोभी, कन्जुस र रुन्चेको बिल्ला भिराउने प्रचलन छ । फेरि दायाँ बायाँ नहेरी मुख खोल्नु पनि त भएन , अन्यथा पुरस्कारको हराभरा फाँटमा ओहोरदोहोर गर्ने मार्गमा बडेमानको तगारो तेर्सियो भने गम्भीर सङ्कट पर्नसक्छ । टिप्न नसक्ने अङ्गुर पो अमिलो हुन्छ, हातको पहुँच भित्रको अङ्गुर त सबैलाई गुलियो र मीठो लाग्छ । त्यसैले अधिकांश मान्छेहरू पुरस्कार सम्बन्धी आँतबाट मुस्लिएर आएको असन्तुष्टिलाई मुखबाट बाहिर निस्कन दिँदैनन् । फलस्वरूप त्यो पुनः आँततर्फ नै फर्किन्छ र गम्भीर प्रकारको ग्यास्ट्रिक रोगकि शिकार हुन्छ । यो ग्यास्ट्रिक औषधिले निको हुँदैन केही खुराक पुरस्कार कै क्याप्सुल चाहिन्छ ।
मैले धेरै दिनसम्म आरती र यसको रहस्यबारे खासै बुझ्न सकिन । यस विषयमा म मूर्ख थिएँ , मूर्ख छु र सायद मूर्ख नै रहिरहन्छु । लाग्थ्यो, कुनै पुरस्कार हात पार्न प्रसस्त योगदान गर्नुपर्छ । सुन्दर, गुणस्तरीय र सबैले मन पराउने काम गर्नुपर्छ, यति भएपछि समयले न्याय गर्छ ! तर यथार्थ त्यस्तो हुँदैन । समय निकै व्यस्त हुन्छ, समयलाई त कसैको अनुहारमा हेर्नेसम्म पनि फुर्सद हुँदैन । मुख हेर्ने र न्याय गर्ने जिम्मा समयसँग होइन, पुरस्कार वितरण समितिका वरिपरि घुम्ने राहु केतु, शनि र मङ्गल लगायतका ग्रह उपग्रहहरूसँग हुन्छ ।
यसै क्रममा एक दिन देखिएको एउटा अद्भुत दृश्यको वर्णन गर्ने अनुमति मागेँ । जसले हातमा मानसम्मान र पुरस्कारको थैलो बोकेका थिए, उनको वरिपरि निकै ठूलो भीड देखिन्थ्यो, मानौँ भर्खरैमात्र मह भण्डार गरेको विशाल घैँटो फुटेको छ र निर्दोष मौरीहरू वरिपरि झुम्मिएर त्यही पोखिएको मह चाट्न भुन्भुनाइ रहेका छन् । पङ्त्तिमा उभिनेहरूले, त्यही पुरस्कारको थैलो बोक्ने महान व्यक्तित्वको लेखन कलालाई विश्वस्तरको घोषणा गर्दै थिए, केही थैलावालहरूको मुस्कानलाई बुद्धको करुणासँग तुलना गर्दै थिए, कुनै उनको फेसबुके टिप्पणीलाई वर्तमान युगको साहित्यिक घोषणापत्र सिद्ध गरिरहेका थिए । अब मलाई भीडको पहिचान गर्न गाह्रो भएन, किनकि भुनभुनाउनेहरू अधिकांश मेरो चिनजानका थिए ।
त्यसपछि मैले पनि विचार गरेँ, अब ढिला गर्नु हुँदैन, पुरस्कार हात पार्ने यो अलौकिक सूत्रको अनुसरण गर्नैपर्छ । त्यहाँको लाईन यो भन्दा पनि लम्बिँदै गयो भने बित्यास पर्न सक्छ । मनले भन्यो, किन सधैं आदर्शको भारी बोकिरहनु ! यस्तो भारी बोक्नेले के नै पो लछारपाटो लगाएका छन् र ? बरु ज-जसले पुरस्कारको खेती गरेर फसलको थैलो बोकेको हुन्छ, म पनि उसैको भजन र आरती गाउँछु । तिनको खेती जस्तोसुकै होस्, प्रशंसाको धूप बाल्न सके कमसेकम आफ्नो नाकसम्म बास्ना आइपुग्छ , उनलाई पनि भक्तले पूजा गरे सरह आनन्द प्राप्त हुन्छ । पञ्चामृत र प्रसाद सबैले ग्रहण गर्न पाएपछि लाभ सबैलाई हुने भइहाल्यो । जतिसक्दो चाँडो लाइनमा मिसिनु श्रेयस्कर हुन्छ ।
म योजना बनाउनतिर लागेँ । म पनि के कम , कसैका छेस्काछेस्कीलाई महाकाव्य नामाकरण गरिदिएँ, कसैका फेसबुक स्टाटसलाई युगान्तकारी दर्शन भनेँ, तिनको काइते भाषणलाई पाँचौँ वेद र तिनका उपदेशलाई उन्नाइस पुराण घोषणा गर्न अबेर गरिन । त्यसै दिनबाट मैले पनि वाल्मीकिले रामायण लेख्न कमर कसे जस्तै, स्तुति गान लेख्न सुरु गरेँ । स्तुति गान भनेको आखिर स्तुति गान नै हो ।
पुरस्कार हात पार्नलाई सिर्जनाको घुमाउरो मार्गको यात्रालेमात्र हुँदैन, स्तुतिगान नामको छोटो र सुरक्षित मार्गको प्रयोग गर्नुपर्ने रहेछ । जब मैले यो सूत्र बारे विस्तृत जानकारी हासिल गरेँ, अनावश्यक दुःख नगर्ने निधो गरेँ । जगजाहेर छ, पौराणिक कालमा पनि चोरबाटोबाट यात्रा गरेर गणेशजीले त्यत्रो मानसम्मानरूपी पुरस्कार हात पारेकै हुन् । बाटो नछोडी हिँड्ने कुमारजी हेरेको हेर्यै भए । घटना आँखाले नदेखे पनि ग्रन्थहरू अध्ययन गर्दा हामीले पढैको र सुनेकै हो ।
सूत्रमा टेकेर गरेको गणितको कठिन प्रश्न त सजिलै हल गर्न सकिन्छ भने यो सूत्रको प्रयोगले नाथे पुरस्कार कसो हात नपर्ला ! मख्ख मात्र होइन, अब भने पुरस्कार आफ्नै पोल्टामा पर्ने कुरामा म ढुक्क थिएँ । त्यसैले मेरो काम अब पुरस्कार हात परेपछि गर्नुपर्ने भाषणको तयारीमा जुट्नु पर्ने थियो । धन्यवाद क-कसलाई दिने, कसलाई सम्झिने , कसलाई विशेष कृतज्ञता जाहेर गर्ने, जस्ता विषयहरूमा म केन्द्रित रहेँ र भाषणको ड्राफ्ट तयार गर्न लागेँ ।
भाषणको ड्राफ्ट तयार भइसकेको थियो, दुर्भाग्यवश नियतिलाई मेरो यो काइते चातुर्य मन परेन । अचानक केही अजङ्गका मत्ता हात्तीहरू पुरस्कारको खेतमा प्रवेश भएको खबर ग्रीष्मयामको समयमा जङ्गलमा लागेको डँढेलो जस्तै फैलियो । सुने अनुसार ती सामान्य हात्ती थिएनन्, तिनीहरू घुँडासम्म आएको मकैबारीमा पसेजस्तै मेरो स्तुतिगानको बगैंचामा पसेर सारा स्तुतिगान बुन्न प्रयोग गरिएका अक्षरका दानाहरू सबै स्वाहा बनाए । प्रष्ट भन्नुपर्दा तिनले मेरो अक्षरका गेडाहरूलाई एकै गाँस बनाए, चाटीचुटी पारे । धुर्बे हात्तीको अगाडि स्तुतिगानको अस्तित्व चकनाचुर भयो । मैले प्रेमले उमारेका शब्द र वाक्यहरू, पसिनाले सिँचेका अनुच्छेदहरू, रातभर जाग्राम बसेर घोत्लिएका भावना, हेर्दाहेर्दै धुर्बे हात्तीले चपाएर घुटुक्क निल्यो । म थुचुक्क बसेँ । मत्ता हात्तीको अगाडि मेरो अवस्था बहुमत भत्किएर सत्ताबाट बाहिरिएर भत्ता विहिन नेताकोजस्तै अलपत्र भयो । अब मसँग न बोल्ने शब्दहरू थिए न लेख्ने शब्द नै बाँकी थियो !
त्यही बेला मलाई एउटा दिव्य ज्ञान प्राप्त भयो, आफ्नो भाग्यमा पुरस्कारभन्दा बढी “प्रतीक्षा” लेखिएको छ । यसरी आफ्नो भागमा परेको प्रतीक्षासँगै कर्म साधनामा लागिरहनु मेरो कर्तव्य पनि त हो । मैले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि प्रतीक्षालाई नै साथ दिनु पर्ने भयो ।
स्तुतिगान नामको सूत्रले काम गरेन र म पुनः उपेक्षित बनेँ । शायद मेरो भागमा परेको “उपेक्षा” पनि त्यही मसीले लेखिएको थियो । जुन मसीले सम्मानको प्रमाणपत्रमा हस्ताक्षर गर्ने गरेको छ ।
पुरस्कार, धुर्वेहरूसँग सम्बन्धित हुनेले जितेका थिए । दाता र प्राप्त कर्ता ‘बिजुली पानी सहकर्मी ‘ थिए । कतिपय पुरस्कारमा नियालेर हेर्दा दलको ‘पानी छाप’ चुनाव चिन्ह देखिन्थ्यो । अर्मपर्म त हाम्रो पुरानो परम्परा भइहाल्यो, त्यसैले यो परम्पराको पनि जगेर्ना गर्नै पर्ने हुन्थ्यो । केही पुरस्कारमा नातागोताको प्रत्यक्ष उपस्थिति देखिन्थ्यो । कतिपय पुरस्कारमा राजनीतिको प्रत्यक्ष र अप्रत्यक्ष बासना चलिरहेको थियो, कतै तालमेल थियो, पुरस्कार थाप्नेहरूको यसै ठेलमठेल भइहाल्यो ।
लाग्थ्यो , पुरस्कार र प्रकृतिको मौसममा निकै समानता हुन्छ । वर्षा कहाँ हुन्छ भन्ने कुरा बादलले मात्र निश्चित गरेर हुँदैन, वास्तविक निर्णय त हावाको इसारामा गर्नुपर्ने हुन्छ । पानी बोकेको बादलले आफ्नै आँगनमा पानी झार्नै लाग्दा हावाले उँडाएर पल्लो गाउँमा वर्षा भएको दृश्य बेलाबखत देखिएकै छ । त्यसैले बादलले फलानो ठाउँमा पानी पारेँ भनेर मख्ख नपरे हुन्छ । किनकि बादलको अस्तित्व हावाले उँडाएको देखाउने सिसि क्यामेरा अचेल जताततै जडान गरिएका छन् ।
यस्तै अप्रत्यासित घटनाका भुक्तभोगी केही लेखकहरू कलम र कापी वोक्न भन्दा छाता बोक्न रुचाँउँछन् । तर आफूसँग त्यस्तो छाता पनि छैन र त्यस्तो छाता बजारमा सजिलैसँग उपलब्ध पनि हुँदैन । राजनीति, भाइ बन्धु , आपसी सम्बन्ध, सिफारिस , गुट उपगुट, धुर्वे हात्तीको आड र अवसरवादको छाता बिक्री गर्ने पसल देख्नु भएको भए बिन्ति छ, मलाई पनि देखाइदिनु होला । मलाई पनि एकथान त्यस्तै छाता खरिद गर्ने रहर छ । जसका कारण सधैँ सुरक्षित रहन सकिन्छ । लाग्छ , यसपछि म पनि अलि व्यवहारिक हुने थिएँ । व्यवहारिक बन्न छाता विना मरिगए सकिन्न । अधिकांश मान्छेलाई जस्तै मलाई पनि यस्तै छाता ओढेर व्यवहारीक बन्ने रहर जागेको छ । जब व्यवहारिक बनिन्छ, छाता ओढाउने मान्छे बाक्लै पाइन्छ । छाताले पनि एक झर पुरस्कार रूपी ओत लाग्न सकुिन्छ । जब सबैतिरबाट वन्चित बनिन्छ चाल फेर्न पनि जान्नु पर्ने रहेछ तर चुहिने थाल फेर्न नसक्नेले चाल फेर्न त्यति सहज किन हुन्थ्यो !
अचेल कुनै नयाँ पुरस्कारको घोषणा भयो भने म पहिला तिनै शनि, राहु, केतु र मङ्गल जस्तै ग्रह उपग्रहको अवस्था अध्ययन गर्छु, ज्योतिषीलाई देखाउँछु, ग्रह स्थिति ठिक नभए केलाई निवेदन पेश गर्नु ! यदि ज्योतिषीले ग्रह स्थिती सामान्य देखाए भने तुरुन्तै बिन्तीपत्र बुझाउँछु । यदि ग्रहहरू सामान्य अवस्थामा छैनन् भने म मौन बस्छु । आखिर जगजाहेर छ, मौनता पनि भविष्यमा ठूलो भाग पाउनसक्ने महत्वपूर्ण लगानी हो । जति धेरै मौन रहन सक्यो त्यति ठूलो पुरस्कार हात पर्छ भन्ने मान्यता स्थापित भएकै छ । त्यसैले थुतुनो पनि सम्हाल्नै पर्यो !
जेहोस्, मनले हार मानिसकेको छैन तर म भित्र एउटा जिद्दी लेखक अझै जिउँदो छ । त्यसले बेलाबखतमा मलाई घचघच्याइ रहन्छ,”भजन गाएर मात्र सक्दैनस् वत्स ,अब राष्ट्रिय निकुञ्जमा गएर धुर्बे हात्तीसँग सम्झौता गर्नुपर्छ । एउटा धुर्बे भित्र नाता कुटुम्ब, राजनीति, गुटउपगुट, साथी सङ्गी सबै अटाउँछ । धुर्बे देख्नासाथ दाताहरू पनि नतमस्तक हुन्छन् । कि एउटा दह्रो छाताको बन्दोबस्त गर्नु । ”
आजभोलि पनि मेरा आँखाहरूले, यात्रा गर्दा बसको सिटमा भेटिएकी अपरिचित युवतीको मुहारमा डराइडराइ हेरेजस्तै सम्मान र पुरस्कारको थैलोतिर बेला बेलामा नजर लगाउन छोडेको छैन । हुन त थैलामा मात्र होइन, म आफ्ना अक्षरतिर पनि पनि बेलाबखतमा नजर लगाई रहन्छु । अहिलेलाई यति मात्र भनौँ ,जब पुरस्कारको खेतीमा हात्ती पसेको हल्ला फैलिन्छ, बर्खायाममा आँगनमा सुकाएको बिस्कुन उठाउनेको र मेरो हतार एकै नासको हुन्छ । म हत्तपत्त आफ्ना अक्षरका दानाहरू जोगाउने प्रयासमा लाग्छु । एउटै खर्कका गोठाला भएपछि, पुरस्कारको थैलो त फेरि कुनै दिन कसैले बोकेको कसो देख्न नपाइएला र तर एकपटक हात्तीले कुल्चिएको बाली फेरि पहिलेजस्तै देख्न सकिँदैन ।
विडम्बना ! यहाँ कहिलेकाहीँ कलमले होइन, करतालले इतिहास लेख्छ, परागभन्दा सुराग महत्त्वपूर्ण मानिन्छ । अनि वास्तविक कर्मयोगी भने शब्दको खेतमा उभिएर सोचिरहन्छ, “सायद भाग्यमा पुरस्कार लेखिएको छैन ।”
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































