चिरञ्जीवी दाहालकलश चोरलाई खुलापत्र
आफूले गरेको सानोतिनो काम सफल भएपछि सेल्फी खिचेर फेसबुकतिर टाँस्नु भएको भए यहाँको मुहार कमलको दर्शन गर्न पाइन सक्थ्यो, त्यसो पनि गर्नु भएन छ ।

चिरञ्जीवी दाहाल :
कलश चोर महोदय,
तामाबाट बनेको कलश र दियो हो तर यसको तौलको कुरा गर्ने हो भने “ सस्तो बेसाहा पखाला लागेर मर्नु ” भने जस्तै थियो । आँखाले देख्दा टिलिक्क टल्कने, गुथुक्क परेका, साना आकारका । आँखालाई झुक्याउने गरि निर्माण गरिएका । तौलको कुरा गर्ने हो भने मुस्किलले चार तोला भन्दा बढी नहुनु पर्ने हो । कालिगढले हातले निर्माण गर्नु परेको भए सायद यसको नाम कलश र दियो हुँदैन थियो होला ! तामाको सानो साँप्लो यसको परिचय हुन्थ्यो । त्यसैले यी कलश र दियो मेसिनमा बनेको हो भनेर सहजै अनुमान गर्न सकिन्छ । यदि यी वस्तु पँहेलो धातु सुनबाट निर्मित भइदिएको भए कमसेकम दस वाह्र लाख जतिको हुन सक्थ्यो । तर हाते नेपाली कागज जस्तो त्यो पातलो कलश र दियो बिक्री गर्ने हो भने कति हातमा आउला र ? सुनको भनेर झुक्किनु पो भयो कि कसो ?
आदरणीय कलश चोर महोदय, विचरा तपाईंका आँखाले धोका दिन लागेछन् । कि उमेरको कारण हुनुपर्छ, कि त तपाईंको चस्माको पावर परिवर्तन गर्नु पर्ने भइसकेको छ । हुनसक्छ रातमा विजुली पानी ग्रहण गरेपछि यो तामा सङ्कलनको पवित्र कार्यमा हिँड्नु भएर होला वा तपाईँका आँखामा दृष्टिभ्रम भएर होला मेरो घरको ढोकाबाट तीन थान कलश र तुलसीको मोठबाट अत्यन्त सानो एकथान दियो र कलशलाई बडेमानको वस्तु देख्नु भएछ क्यारे ! तपाईँका आँखा पनि कमजोर भएको ठहर गरेको छु । आँखासँगै थप स्वास्थ्य परिक्षण गर्नु परे त्यो कलश बिक्री गरेको रकमले धान्दैन महोदय । रातको समयमा यात्रा गर्दा यो वर्षाको समयमा बाटोमा सर्पले टोक्न सक्छ, मानसिक सन्तुलन विग्रिएको स्यालको फेला पर्नु भयो भने तिघ्राको मासु लुछ्न सक्छ । फेरि यसरी रातबिरात हिँड्नु पर्दा स्वास्थ्यमा गम्भीर समस्या नआउला भन्न सकिन्न । निन्द्राको खती आफ्नै ठाउँमा छ । कृपया आफ्नो अमूल्य स्वास्थ्यको पनि ख्याल राख्नु होला ।
केही दिन अघिदेखि यसरी तामाका कलश हराएको समाचार सुनेकै हो तर मलाई लाग्यो , मेरो घरका यी मसिना र पातला कलशबाट कति पो रकम जम्मा हुन्छ र ! लागेको थियो त्यसैले चोर महोदयले मेरो कलश उठाउनु हुन्न तर यसलाई पनि छोड्नु भएन , उठाउनु भयो । जाबो मसिनो कलश उठाउनु र कसैको सिङ्गो ढुकुटी उठाउनु दुबै एउटै कुरा हो । चोरको वर्गिकरण गर्दा सानो चोर र ठूलो चोर भनिदैन । एअरपोर्टबाट एक क्विन्टल सुन पास गर्ने र अमिलो साँधेर खान पसलबाट एक चिम्टी नुन हात लगाउने दुबै चोर मानिन्छन् ।
हुनसक्छ यहाँले साँझ बिहान दाल र भातले भुँडी भर्न सक्ने हैसियत भइदिएको भए यसरी कलश चोर्नु पर्दैनथ्यो होला । सरकारले केही साल, अन्य विकास निर्माणका कार्यक्रम स्थगित गरेर सबैको भुँडी भर्ने कार्यक्रम ल्याएको भए देशबाट चोरीचकारी, घुसखोरी र भ्रष्टाचार निर्मूल हुन्थ्यो कि !
अन्त्यमा, तपाईंले हाम्रो कलश मात्र चोर्नु भएन महाशय , हाम्रो आस्थाको धरोहर, विश्वासको सगरमाथा उठाउनु भएको छ । हामीलाई “ खती भन्दा खाँचो ठूलो भएको छ । प्रहरी, प्रशासन, स्थानीय निकाय, टोल सुधार र गाउँमा यत्रतत्र खुलेका च्याउ सरहका सङ्गठनहरूको आँखामा धूलो छर्न सफल हुनु भएको छ । सुटुक्क कलश उडाउन सफल भएपछि आजभोलिको प्रचलन अनुसार, आफूले गरेको सानोतिनो काम सफल भएपछि सेल्फी खिचेर फेसबुकतिर टाँस्नु भएको भए यहाँको मुहार कमलको दर्शन गर्न पाइन सक्थ्यो, त्यसो पनि गर्नु भएन छ । खैर जे होस्, हुन्छ भने अब आइन्दा यस प्रकारको चोरी गर्ने काम नगर्नु होला । यो खुलापत्र यहाँको नाममा समर्पण गरेँ । अरु त के भनौँ !
उही
कलश पीडित
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































