चिरञ्जीवी दाहालसुन कागती र गोजी कागती
लाइक र कमेन्ट नामको पदार्थलाई निस्तै अचार सम्झिएर ग्रहण गरे पनि हुन्छ । फेरि यो लोकप्रिय गोजी कागती सित्तैमा पाइयो भन्दैमा भुँडी चर्किने गरि खानु भने हुँदैन अजीर्ण हुनसक्छ !

चिरञ्जीवी दाहाल :
सुन कागतीको एउटै थोपो चुहियो भने पनि दुध फाट्छ । त्यसैले केटाकेटी बेलामा हामीलाई दुधको कराही वरिपरि बसेर कागती काट्न प्रतिबन्ध लगाइन्थ्यो । चुलेसी र कागतीको दाना लिएर दुधको कराही भन्दा टाढा गएर निचोर नाचोर पारेर अचार बनाउने जिनिसमा मिसाएपछि बल्ल सुरक्षित रूपमा अचार बन्थ्यो, उता दुध फाट्नबाट जोगिन्थ्यो । दुध फाट्नबाट जोगाउने यो होसियारी आमा हजुरआमा हरूलाई कसैले सिकाउनु पर्दैन थियो । कुनैबेला पनीर बनाउँदा बाहेक कागतीको रस र दुधको भेट हुनु भनेको एउटै पसलमा आँप र सुन्तला भेट हुनु जस्तै मानिन्थ्यो ।
समय परिवर्तन भयो , जुग जनमानाले गर्दा अनेक उन्नति र प्रगति भयो । यतिबेला कागतीको रस भन्दा कडा अम्लिय एसिड भएको नयाँ कागतीको विकास भयो । यो कागती उबेलाको सुन कागतीभन्दा पनि कडा र अमिलो निस्कियो । बोटमा फल्ने कागती भन्दा यो कागती निकै लोकप्रिय हुँदै गयो । बोटमा फल्ने कागतीको काम हरियो गावाको तिहुनमा निचोर्ने, अचार बनाउने र ग्रीष्म याममा सर्वत बनाउने भन्दा बाहेक खासै अन्य केही थिएन । वर्तमानमा गोजीमा फल्ने कागतीको लोकप्रियता किन बढ्दैछ भने यो कागती बहुउपयोगी छ र स्वादिष्ट पनि छ । यही कागतीले धेरैलाई स्वयं लेखक, सम्पादक र प्रकाशक बनाइ दिन सक्ने खुबी राख्छ । संसारको जुनसुकै कुनामा बसेको साथीसँग भेट गराइ दिन्छ, नयाँ नयाँ र नौला जोडीहरूलाई प्रेम सम्बन्धमा पुर्याइदिन्छ र उस्तै परे स्थायी रूपमा जोडी मिलाइदिन सक्छ । यही गोजी कागतीले मान्छेलाई नेता , कलाकार, कवि, साहित्यकार बनाइदिन्छ । दुखमा संवेदना दिन्छ, खुशीमा उत्साह थपिदिन्छ । यतिमात्र होइन, यसले अनेकौं नयाँ पुराना सीप बाँड्छ, निशुल्क भाग्य कुण्डली केलाइदिन्छ । मागेको नमागेको दुबै प्रकारको अर्ती र उपदेश पनि दिन्छ । को मान्छे कुन विषयको विशेषज्ञ रहेछ सूची तयार गर्न कतै जानु पर्दैन, ऐना हेरेर जस्तै छर्लङ्ग देख्न सकिन्छ । कसैलाई धम्क्याउने तागत दिन्छ भने कसैसँग माफी माग्न उसैलाई भेटेर ङिच्च दाँत देखाइ रहनु पर्दैन । धन कमाएको, गाडी खरिद गरेको, विहेवारीदेखि जुठो सुतकको सूचनापाटीका रूपमा उपयोग गर्न सकिने यो गोजी कागतीको महिमा अपरम्पार छ ।
कागतीका चानामा नुन, खुर्सानी हालेर साँधेजस्तै स्वाद लिन सकिने यो गोजी कागती, प्रधानमन्त्री मन्त्रीदेखि लिएर साँसद, मेयर उपमेयर, शिक्षक, लेखक, समाजसेवी , कर्मचारी , विद्यार्थी र सर्वसाधारण जनता समेत सबैमा सहजसँग पहुँच पुगेको छ । केही वर्ष अघिसम्मको तीनसुके कागती अहिले तीस रुप्पे पुगेजस्तो यो कागतीको भाउ बढेको आजसम्म थाहा पाइएको छैन । सामाजिक सञ्जालमा फेसबुक नामले चिरपरिचित यो कागतीले हाल ठूलो बजार लिएको छ । प्रायः सबैका भान्सा र घरमा सहजै उपलब्ध हुने यो विकासे कागती निचोर्न भने मान्छेले त्यति बुद्धि पुर्याएको देखिँदैन र यसका थोपाहरूले कागतीको थोपाले दुध फटाए जस्तै धेरैको मन फटाइसकेको छ र अझै फटाउने सिलसिला जारी देखिन्छ । जब यो रसिलो गोजी कागती निचोर्न थाल्यो यसको दाँत कुड्याउने र पेट ढाडिनेगरि निस्किने अमिलो रस उछिट्टिएर आफन्त, साथीभाइ , छरछिमेक र दाजुभाइको मनमा त्वाप्प चुहिन्छ । जब केही थोपा रस चुहियो, सुन कागतीको रस दुधमा परेर फाट्नु भन्दा चाँडो मान्छेको मन फाट्न सुरु हुन्छ । गोजी कागतीको नकारात्मक पक्ष भनेको यति मात्र हो ।
नपत्याए बुझ्नलाई कतै जानु पर्दैन, तपाईँको मन मिल्ने साथीको दुईचार पोष्टमा कमेन्ट नामको एक थोपा अभद्र रस निचोरी दिनुस् त उस्तै परे बोलचाल हराउला नभए पनि उसको मन भने कागतीको रस जस्तै अमिलो भएको प्रष्टसँग देख्न सकिन्छ । दुध जोगाउन कुनाकाप्चामा गएर सुन कागती निचोरे जस्तै फेसबुके अचारमा रस निचोर्दा मान्छेहरू किन सतर्क हुँदैनन् ? जता पायो , जुनबेला पायो निचोरी रहँदा गोजी कागतीले धेरैको मन अमिलो बनाइसकेको देखिन्छ र दुध फाटे जस्तै सम्बन्धहरू फाट्न थालेको पाइन्छ । यसैले गोजी कागती निचोर्दा निकै विचार पुर्याउनु पर्छ । गोजी कागती निचोर्नै हुन्न त कसरी भन्न सकिएला र ? यसको जन्म निचोर्न कै लागि भएको हो ।
तर निचोर्दा भने जतनले निचोर्नु पर्छ, मजैसँग होस पुर्याउनु पर्छ । सुन कागती र गोजी कागतीको कतिपय विशेषताहरू उस्तै हुन्छन् ।
जस्तो कि अचार साँध्ने जिनिस पाइएन भने सुन कागतीलाई मात्र अचार मानेर पनि चाट्न सकिन्छ त्यसरी मै गोजी कागतीमा कुनै गतिलै पदार्थले साँध्न सकिएन भने फेसबुक खोलेर फेसबुके लाइक र कमेन्ट नामको पदार्थलाई निस्तै अचार सम्झिएर ग्रहण गरे पनि हुन्छ । फेरि यो लोकप्रिय गोजी कागती सित्तैमा पाइयो भन्दैमा भुँडी चर्किने गरि खानु भने हुँदैन अजीर्ण हुनसक्छ !
०००
कालिका, चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































