बिन्दु दहाल ‘मूकदर्शक’बुझ्न बाँकी छ धेरै
भैँसी कुद्छन् तनभरि जतै खोज्छु जुम्रा अरूका लाई मैले मलमल सधैँ भन्छु झुम्रा अरूका मैले मेरै प्रगतिपथको रोक आफैँ लगाएँ व्यर्थै रोई तरल नुनिला अश्रुधारा बगाएँ ।

बिन्दु दहाल मूकदर्शक :
बुझ्दा बुझ्दै समय सकियो बुझ्न बाँकी छ धेरै
दौडेँ अन्तै तर हृदय यो बुझ्न बाँकी छ मेरै
धोई मैलो कलुषित हियो स्वच्छ पार्नै भुलेँछु
खाई हावा समय नबुझी खालि अन्तै डुलेँछु ।
मेरो आत्मा मुदित नहुँदा देह मेरै गनायो
यो बानीले अधम मतिको तुच्छ जाली बनायो
तैँले तेरै हृदय बुझिनस् भन्छ आत्मा मलाई
मेरो आफ्नै नजिक छ चिता हाँस्छ आफैँ लजाई ।
आफैँलाई पनि नबुझिने जिन्दगी नीर जस्तो
घोच्दै हिँड्ने वरपर जतै जिन्दगी तीर जस्तो
जाने बेला अब छ नजिकै गर्न बाँकी छ धेरै
दौडेँ अन्तै तर हृदय यो बुझ्न बाँकी छ मेरै ।
भैँसी कुद्छन् तनभरि जतै खोज्छु जुम्रा अरूका
लाई मैले मलमल सधैँ भन्छु झुम्रा अरूका
मैले मेरै प्रगतिपथको रोक आफैँ लगाएँ
व्यर्थै रोई तरल नुनिला अश्रुधारा बगाएँ ।
कोही भन्छन् मरणपछिको मार्ग के सोच्नु पर्छ
कोही भन्छन् समय रहँदै बेसरी कोच्नु पर्छ
गर्ने के हो अलमल भएँ मार्गमेसो हरायो
आफैँलाई नबुझिकननै छेउमै काल आयो ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































