बिन्दु दहाल ‘मूकदर्शक’बोक्रा महान् बन्दछन्
गुन्डा चोर दलाल भ्रष्ट जति छन् बस्छन् गलैँचातिर विद्वान् सज्जन शिष्ट सभ्य जन ती पुग्छन् फलैँचातिर अन्धा कानुनको हुँदैन भर नै छन् साधु ती जेलमा साँढे मस्त भए पुगी सदनमा उत्ताउलो खेलमा ।

बिन्दु दहाल मूकदर्शक :
खोज्दा गोरु लगाउँछन् कति यहाँ गौमाथि राँगो पनि
मान्छे मख्ख परे दिने छ दुध हा ! ब्याएर डाँगो पनि
केही कर्मविनै त्यसै रहरले खोज्छन् मिठा जो फल
मान्छेको मन छैन आज किन हो चोखोनितो निर्मल ।
जो रोप्छन् धतुरो तिनै सुजनले रोज्छ्न् खुवा सुन्तला
आफ्नैले पनि रेट्दछन् गजबले हाली अँगालो गला
आफ्नो स्वार्थ निमित्त आज दुनियाँ डुब्दै छ सङ्कोचमा
आफ्नै पुत्रसमेत कालसरिको बन्छन् धराधाममा ।
बोकाका मुखभित्र अट्दछ यहाँ फर्सी कुभिन्डाहरू
कुर्सीमा जहिलेसुकै किन यहाँ बस्छन् उभिन्डाहरू
गालीशास्त्र पढी फलाक्छ जसले विद्वान् सुधी भन्दछन्
फ्याँकिन्छ्न् भुइँमा गुदी जति सबै बोक्रा महान् बन्दछन् ।
गुन्डा चोर दलाल भ्रष्ट जति छन् बस्छन् गलैँचातिर
विद्वान् सज्जन शिष्ट सभ्य जन ती पुग्छन् फलैँचातिर
अन्धा कानुनको हुँदैन भर नै छन् साधु ती जेलमा
साँढे मस्त भए पुगी सदनमा उत्ताउलो खेलमा ।
कोही कोकिलको सुरम्य लयमा गानाहरू गाउँछन्
नारा बेच्न यहाँ नयाँ फकिर ती बस्ती खुबै धाउँछन्
हामी हौँ पटमूर्ख कर्मठ सबै खान्छौँ गरी पौरख
कोही ढाँट्दछ लुट्छ देश दुनियाँ केही नमानी धक ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest






































