डा. शरद परासर मरहट्टारामायणदेखि बासी वाइनसम्म
कसैले हजुरको काव्यको मर्म बुझेर, कसैले वधूशिक्षा उद्धृत गरेर, अनि कसैले हजुरकै शैलीमा अरूलाई घरबुढी, अलच्छिनी वा पुरानो बोइफ्रेन्ड बनाएर । अझ, ‘म’जस्ता कसै–कसैले त हजुरसँगै यो वा त्यो नाता जोडेर !
डा. शरद पराशर मरहट्टा
भानुभक्त हजुरबा,
सादर प्रणाम !
स्वर्गलोकमा काव्यपान गर्दै र गराउँदै रहनुभएका प्रिय हजुरबा, पृथ्वीलोकबाट यो स्वघोषित नातिले गङ्गास्नान गरी हजुरलाई प्रणाम गर्दछु ।
खासमा नि, हजुरबा, हजुरकी साख्खै नातिकी नातिनी र मेरो भाइबीच बिहेबारीको नाता जोडिएपछि उनी मेरी भाइबुहारी, अर्थात् अहिलेको चलनचल्तीको भाषामा बहिनी बनेकी छिन् । यही नाताको लहरो समातेर मैले पनि नातारूपी हजुरको दौराको फुर्को समात्ने धृष्टता गरेको हुँ । आखिर, बैंकमा खाता खोल्नसमेत नाता लगाउनुपर्ने मुलुकको मानिस न परेँ म ! आशा छ, गजाधर सोतीकी घरबुढीलाई जस्तै युगले सम्झिरहने कुनै काव्य रचेर मलाई पनि बदनाम गर्ने काम गर्नुहुने छैन ।
फेरि, “तेरो र मेरो बीचमा पाँच पुस्ताको फरक छ, म कसरी तेरो हजुरबा भएँ ?” भन्नुहोला । हजुरबाभन्दा माथिल्लो पुस्तालाई सम्बोधन गर्न मिल्ने कुनै कर्णप्रिय शब्द नभेटेकाले हजुरलाई पनि हजुरबा नै भनेको हुँ । रामायणजस्तो ग्रन्थमा समेत लेख्न छुटेको हजुरबाका हजुरबालाई सम्बोधन गर्ने कुनै झर्रो नेपाली शब्द छ भने खबर पाऊँ । आगामी पत्रमा सम्बोधन सच्याउँला ।
खसोखास भन्ने हो भने, यो पत्रमार्फत अहिलेका नेपालीभाषीहरूले हजुरलाई निकै सम्झन्छन् भन्ने कुरा बताउन खोजेको हुँ । भाका हालेर रामायणका श्लोक पढ्ने पुस्ता त बिस्तारै पातलिँदै गएको छ, तर हजुरका प्रतिमा बनाएर सम्मान प्रकट गर्ने पुस्ता भने यत्रतत्र सर्वत्र फैलिएको छ । नेपालका विभिन्न ठाउँमा त छँदै छन्, प्रवासमा दार्जिलिङ र सिक्किमदेखि अमेरिकासम्म पनि हजुरका सालिक बनाएर हजुरले गर्नुभएको कामको प्रचारप्रसार भइरहेको छ ।
यसैसँगै, कफी स्टलदेखि कोठे कविगोष्ठीसम्म, क्यालिफोर्नियादेखि कोलोराडोसम्म, हजुरको नाम लिएर वा प्रतिमा निर्माणको बहाना बनाएर आफूलाई भानुभक्तका ‘भक्त’ प्रमाणित गर्न खोज्ने शिष्य र नवकविहरूको पनि लामै लाइन लागेको छ ।
त्यति मात्रै कहाँ हो र, हजुरबा ! अहिलेको पुस्ताले हजुरलाई आदिकवि मात्र नभनी भाषाका माध्यमबाट राष्ट्रिय एकीकरण गर्ने युगनायकका रूपमा समेत लिने गरेको छ । व्यक्तिगत कुराकानीका क्रममा मैले भेटेका प्रवासी नेपालीमध्ये केही भावुक मन भएकाहरूले त “भानुभक्त नभएका भए नेपाली भाषा नै हुने थिएन” भन्ने पनि ठान्दा रहेछन् ।
म पनि उनीहरूको दुःख देख्न नसकेर ती दुःखी मनहरूलाई सान्त्वना दिँदै भन्छु, “हाम्रा हजुरबा नभएको भए पनि नेपाली भाषा त हुन्थ्यो होला, तर नेपाली भाषाको रामायणचाहिँ हुँदैनथ्यो होला ।” यसरी उनीहरूको पीडामा मलमपट्टी लगाउने काम गर्दै आएको छु ।
अनि नि, हजुरबा, हजुरले रामायण लेख्दाताकाको नेपाली भाषा र व्याकरण दुवैले निकै फड्को मारिसकेका छन् । यही मेसोमा, “एक् दिन् नारद सत्यलोक् पुगी गया” लेख्दा हजुरलाई प्रिय बनेको हलन्त बिचरो अहिले मारमा परेर बिरामी भएको छ । धेरैजसो नाम चलेका साहित्यकारले बरु आफ्नै जहान उछिट्याउने जारको कुरा गर्लान्, तर हजुरको प्रिय यार अर्थात् हलन्तलाई सम्झँदैनन् । धन्न, मजस्ता ‘सो–कल्ड’ नवलेखकहरू पनि छौँ, जसले यदाकदा चिठीचपेटाका माध्यमबाट भए पनि यसलाई बोलाएर बचाइराख्ने कोसिस गरेका छौँ ।
व्याकरण सुधारका क्रममा हजुरका पालाको ‘शहीद’लाई ‘सहिद’ बनाइएको पनि धेरै भइसक्यो । कामकुरो बिग्रिएका बेला पनि ‘ठीक–ठीक’ भन्दै उफ्रने त्यो बेलाको ‘ठीक’लाई अहिले प्रज्ञा प्रतिष्ठानको शब्दकोशले ‘ठिक’ बनाएर तह लगाएको छ । आपसमा किचलो गरिरहने ‘श’, ‘स’ र ‘ष’मध्ये ‘स’लाई मात्र प्राथमिकता दिएर बाँकी दुईको पाइनसमेत देखाइएको छ । त्यस्तैगरी, त्यो बेलाको ‘मीठो’मा रहेको मिठासमा आएको बदलावलाई बुझेर नै होला, हिजोआज त्यसलाई ‘मिठो’ बनाएर पाठ पढाइएको छ । भाषा र व्याकरणमा भएको यो हदसम्मको विकास पचाउन नसकेर संस्कृत पाठशालामा पढेका केही ‘गुरु’हरूले बेलाबेलामा नाक खुम्च्याउने र टाङ अड्याउने काम गरिरहेकै छन् । तैपनि, हजुरले सुरु गर्नुभएको नेपाली भाषाको विकासयात्रा हजुरलाई नै सम्झँदै कुनै न कुनै रूपमा अघि बढिरहेको छ ।
हजुरको त्यो बेलाको प्रिय सहर ‘अमरावती कान्तिपुरी नगरी’ अहिले धुमधामकी रूपसी बनेकी छे । बीचमा केही आगजनी तथा विद्रोहका प्रयास नभएका होइनन् । तैपनि, हजुरका प्रिय रामभक्त कान्तिपुरका पिताले यस युगका ‘मन्थरा’ र ‘कैकेयी’हरूलाई थामथुम पार्दै, विप्लवीहरूलाई सामसुम पार्दै, आफ्नो सदाबहार मौन कूटनीतिमार्फत देशकै पिता बनेर ‘बाहुबल’ देखाइरहेका छन् । उनैका प्रिय ‘हनुमान’ र ‘सुग्रीव’हरू दायाँबायाँ बसेर पहिले जनमानसलाई तर्साएकाहरूलाई राति–राति भूतले तर्साएझैँ तर्साउँदै आएका छन् । यसरी उनीहरूले कान्तिपुरको सुन्दरता र अमनचैन दुवै बढाएका छन् । जे होस्, हजुरको प्रिय कान्तिपुरको मोहिनी रूपमा भने कुनै कमी आएको छैन ।
अँ, साँच्ची ! हजुरले लेख्नुभएको “भोलि भोलि भन्दाभन्दै सब घर बितिगो, बक्सियोस् आज झोली” भन्ने पङ्क्तिमा अभिव्यक्त मनोव्यथा बुझ्नेहरू अहिले सतहमै देखिन थालेका छन् । उदाहरणका रूपमा, छ महिनाअघि नियुक्त भएका ‘घरमन्त्री’ले नयाँ जागिर पाएको चौबीस घण्टा नबित्दै हजुरको काव्यको मर्म नबुझ्ने पुराना मुखियालाई कर्यायपझ्याप पारेर हजुर थुनिएको कुमारीचोकतिर ‘मार्चपास’ गराउँदै हजुरमाथि आभार व्यक्त गरे । भलै, हजुरको काव्यको रसपान गर्ने हैसियत नभएकाहरूले त्यसलाई अरू नै केही ठानेका होऊन् !
थप कुरा ! पछिल्लो समयमा नयाँ मुखिया र नयाँ घरमन्त्रीको कृपाले ससम्मान खोरमा पुर्यामइएका केही सुटेड-बुटेडहरूले पनि हजुरले त्यतिबेला लेख्नुभएको प्रिय काव्यको निम्न अंश स्मरण गर्दै हजुरकै गुनगान गरिरहेका छन्:
“लामखुट्टे, उपियाँ, उडुस, यी सङ्गी छन्, यिनकै लहडमा बसी।
लामखुट्टेहरू गाउँछन्, उपियाँ नाच्दछन्, म हेर्छु बसीबसी।”
अर्को कुरा नि, हजुरबा, हरेक वर्षको भानुजयन्तीमा हजुरलाई सम्झनेहरूको जमात त छँदै छ । हजुरले लेख्नुभएको वधूशिक्षा पढेर घरबाहिरको संसार देख्न लालायित श्रीमतीहरूलाई तह लगाउने श्रीमान्हरूको पनि खासै कमी भइसकेको छैन ।
त्यस्तैगरी, मुलुकबाट प्रवासमा पुगी प्रवासी नेपालीहरूको आतिथ्य ग्रहण गरेर स्वदेश फर्केपछि पत्रपत्रिकामा यात्रा-संस्मरण छपाउनेदेखि साहित्यिक कृति प्रकाशित गर्नेसम्मका लेखकहरूको सङ्ख्या पनि पछिल्लो समयमा निकै बढेको छ । यस्तैमध्येका एक प्रतिनिधि साहित्यकारले हजुरले लेख्नुभएको “गजाधर सोतीकी घरबुढी अलच्छिनी रहिछिन्” भन्ने पङ्क्तिलाई पछ्याउँदै “अमुक व्यक्तिले बासी वाइन खुवायो”, “ऊ आफ्नो बाह्रघण्टे जागिर सकेर मलाई समय दिन आयो” र “फलानाले मलाई ज्वाइँ बन्न नसकेको छोरीको पुरानो बोइफ्रेन्डजस्तो ठान्यो” जस्ता अनुभूति लेखेर प्रकाशित गरेका छन् । त्यसरी प्रकाशित आफ्ना अनुभूतिहरूको सङ्ग्रहलाई हजुरको रामायणजस्तो युगले सम्झने कृतिको हारमा राखेर हजुरमाथि लाउनुसम्मको गुन लगाएका छन् ।
त्यसैले निश्चिन्त हुनुहोस्, हजुरबा—अहिलेको पुस्ताले विभिन्न मोर्चाबाट हजुरलाई सम्झिरहेको छ । कसैले प्रतिमा बनाएर, कसैले जयन्ती मनाएर, कसैले नेपाली भाषा सुधार गरेर, कसैले कान्तिपुरलाई सिंगारेर, कसैले हजुरको काव्यको मर्म बुझेर, कसैले वधूशिक्षा उद्धृत गरेर, अनि कसैले हजुरकै शैलीमा अरूलाई घरबुढी, अलच्छिनी वा पुरानो बोइफ्रेन्ड बनाएर । अझ, ‘म’जस्ता कसै–कसैले त हजुरसँगै यो वा त्यो नाता जोडेर !
हजुरलाई अहिलेको युगले सम्झिरहेको छ ।
आखिर, हामी नेपालीलाई भानुभक्त चाहिएको मात्र होइन, भानुभक्तको नाम लिएर आफूलाई चिनाउने अवसर पनि त उत्तिकै चाहिएको छ !
यति नै ।
उही ‘सो–कल्ड’ नवलेखक तथा स्वघोषित नाति
पृथ्वीलोक
०००
नर्थ क्यारोलाइना, अमेरिका (२०८३ आश्विन २५ गते)







































Well said