डा. शरद परासर मरहट्टामानदेखि भुक्तमानसम्म
पूर्णिमाको भोलिपल्ट किन त्यस्तो आँधी आयो ? सान, मान, प्रतिष्ठामा ‘कालो हुरी’ किन छायो ? किन ढल्यो अहंकार? ओरालोको मृग किन ? झुन्डिएको खुकुरीले तर्साउँछ सधैं किन ?

डा. शरद परासर मरहट्टा :
हाछ्युँ लाग्दा, ढाड दुख्दा, तकियाले बिझाउँदा
वायु चल्दा, हाई काड्दा, सपनाले तर्साउँदा
राज्य थियो ढुकुटीको साँचो आफ्नै मुठ्ठीभित्र
विदेशका अस्पताल बन्थे सधैं इष्टमित्र।
दायाँ-बायाँ “जय! जय !”, सामुन्नेमा “लभ यू” भन्थे
झुटो–साँचो जे बोले नि, सधैं-सधैं “वाह” गर्थे
आकाशमा उड्दै गर्दा “खसेँ” भन्थे, पत्याउँथे
बाढी आउँदा खहरेमा “पसेँ” भन्थे, पत्याउँथे।
सीतालाई होच्याउँदा, मेरै कुरा सही ठान्थे
रामलाई भित्र्याउँदा, सर्वज्ञाता जस्तै मान्थे
नल्याएको भूमिलाई “ल्याएँ” भन्दा रमाउँथे
“रतुवालाई बाँध्छु” भनी ढाँट्दा पनि पत्याउँथे।
“मिलौँ हामी” भन्नेलाई घोक्रेठ्याक लाए पनि
उज्यालोमा एकातिर, राति अन्तै धाए पनि
सुख थियो, सान थियो, मेरै गुणगान थियो
माछापुच्छ्रेभन्दा अग्लो हिजोसम्म मान थियो।
पूर्णिमाको भोलिपल्ट किन त्यस्तो आँधी आयो ?
सान, मान, प्रतिष्ठामा ‘कालो हुरी’ किन छायो ?
किन ढल्यो अहंकार? ओरालोको मृग किन ?
झुन्डिएको खुकुरीले तर्साउँछ सधैं किन ?
०००
क्यानडा
Subscribe
Login
0 Comments
Oldest







































