डा. शरद परासर मरहट्टाभानुसँगको वार्ता
‘वसुधैव कुटुम्बकम्’ भन्थे ‘कौसिक’ ले अघि, विक्षिप्तप्रायः भा' का छन् ‘कोसी’मा जाकिदे'पछि । म तीव्र दुःखमा छु आफैँ, अर्को पाखण्ड देखिँदा, खोजी नै नगरी ‘राम’, ‘माडी’लाई बुझाउँदा ।”

डा. शरद परासर मरहट्टा :
आदि कवि हिजो राति बलभद्र सरी थिए,
ब्रह्माण्डभरिको झोक मेरै अगाडि पस्किए ।
प्रश्न थियो, थियो कुण्ठा, म थिएँ मझधारमा,
के गर्नु ख्वै ! सबै क्रोध ठोकेँ मेरै निधारमा ।
भानुका प्रश्न र गुनासाहरू:
“त मर्त्यलोकको मान्छे, बौलाएर बोल्दछस्;
स्वर्गमा बास बस्नेको कति हुर्मत खोल्दछस् ?
पितृको नाम काढेर कति दूर्नाम गर्दछस् ?
आस्थामा सियोले घोची, कति दूर्वाच्य बोल्दछस् ?
जन्मेको स्थान फेर्नाले ‘पाणिनि’ वाक्क दिक्क छन्,
बहुविवाहको ‘बात’ लागि ‘मदन’ खिन्न छन् ।
‘शिव’को के कुरा गर्नु ! अत्यन्त दिक्क-दिक्क छन्,
जात छुट्ट्याइयो भन्दै नित्य ताण्डव गर्दछन् ।
‘वसुधैव कुटुम्बकम्’ भन्थे ‘कौसिक’ ले अघि,
विक्षिप्तप्रायः भा’ का छन् ‘कोसी’मा जाकिदे’पछि ।
म तीव्र दुःखमा छु आफैँ, अर्को पाखण्ड देखिँदा,
खोजी नै नगरी ‘राम’, ‘माडी’लाई बुझाउँदा ।”
पटाक्षेप:
भानु रौद्ररूपी लागे प्रश्नका तीर तेर्सिँदा,
उनी रुञ्चे सरी लागे गुनासाहरू पोखिँदा ।
बोल्दै थिए यता भानु, मिर्मिरे भो बिहानको,
म ब्यूझेँ सपनाबाट— भो’ अन्तर्ध्यान भानुको ।
०००
नर्थ क्यारोलाइना, अमेरिका
(जुलाई १३, २०२५ / आषाढ २९, २०८२ ; भानु जयन्ती)








































नोट: तलबाट गन्दै आउदाको छैठौं लाइनमा typo रहेछ; सच्याएर पढ्न निवेदन गर्दछु। हुनुपर्ने यो हो:
“म तीव्र दुःखमा आफैँ छु,अर्को पाखण्ड देखिदा,”