जगदीश्वर पाेखरेलभानुभक्त
भाषा भासिनु हुन्न साँच्न नसके नेपाल बच्ला र के । भाषा संस्कृति मास्नमा रत हुने छन् घात गर्ने लिखे ।। भाषा आदिम देशको विभव हो फुल्दै गरेको कली । भाषा रक्षक भानु आदिकविमा अर्पन्छु शब्दाञ्जली ।।

जगदीश्वर पाेखरेल :
रोप्दै खेत थियो चुँदी परिधिमा आषाढको दाउमा ।
झुल्के भानु कवीन्द्र हर्ष भरियो रम्घा चुँदी गाउँमा ।।
धर्ती उर्वर पार्दछन् श्रमिकका छन् पौरखी पाखुरा ।
श्रद्धा थ्यो’ ममता अगाध कविको भाषा उठाए धुरा ।।१
भाषा भक्त सशक्त काव्य युगका साहित्यका सारथि ।
दिन्थिन् आसिक सिर्जना मधुरिमा माया गरी भारती ।।
माटोको ऋण तिर्न पर्दछ भनी सेवा गरे अर्पण ।
भाषाको गरिमा समर्पण गरे लेखेर रामायण ।।२
भाषा फूल टिपेर हार उनियो संसारमा फैलियो ।
भाषा मास्न भनेर हुर्मत लिए भाषा कला मैलियो ।।
दुष्टात्मा जतिको जमात छ ठूलो हान्छन् सदा बन्चरा ।
भाषा मर्छ भनेर थर्थर भए नेपालवासी बरा ।।३
छद्मी भेष धरी मिली डलरको खेती गरी मक्ख छन् ।
खम्बा तुल्य बनेर भानु उभिए वैरीहरू छक्क छन् ।।
नेपाली जन भावना अटल होस् नेपाल झन्डा मुनि ।
भाषा मूल बनेर हर्दम बगोस् मेची र काली धनी ।।४
भाषा भासिनु हुन्न साँच्न नसके नेपाल बच्ला र के ।
भाषा संस्कृति मास्नमा रत हुने छन् घात गर्ने लिखे ।।
भाषा आदिम देशको विभव हो फुल्दै गरेको कली ।
भाषा रक्षक भानु आदिकविमा अर्पन्छु शब्दाञ्जली ।।५
०००
पाउँदीबजार, लमजुङ
Subscribe
Login
0 Comments
Oldest







































