डा. विप्लव ढकालएक अँजुली भानुभक्तहरू : च्यातिएको झोलाभित्र
यसरी गल्ली गल्लीमा चुहिने छैनन् आस्थाका भानुभक्तहरू ! शिर उठाएर बोल्न देऊ मलाई– अब बारूद भरिएको कलमको निबबाट रगतले लेखिने छ जनताको रामायण !

डा. विप्लव ढकाल :
अजिङ्गरका
निराकार झम्टाइहरू जस्तै
शार्दूलविक्रीडित सिउँदोहरूमा
उन्मुक्त सपनाको उचाइबाट
नाङ्गिएको कुनै यौवन,
म रित्तिएको कात्रो
उपहार दिन चाहन्नँ !
मात्र एक प्याला रक्सीझैँ
प्यारालाइसिस आकाश ढाकेर
मेरो ठीक टाउकोमाथि कति धराप
एउटा च्यातिएको झोला
झुन्डिएको छ !
भाँचिएर कहीँ
निर्दिष्ट भविष्यका पाखुराहरू,
डसिएर कतै
बिहानी वसन्तका आँकुराहरू,
बिलाउन लाग्दा स्वदेशका पानाहरू,
के त कुनै अतिरिक्त मस्तिष्कको
पागल चोइटो घोटेर
हामी हाम्रो घाउमा
आफै उपचार गर्न सक्दैनौँ ?
कुँजिएर कतै विश्वासका परिधिहरू,
इतिहासको यौवनलाई
गोमनले डसिसकेछ !
अब एक एकान्त सडकमा
एक्लो भिखारी
च्यातिएको झोलाभरि
थुप्रै भानुभक्तहरू बोकेर
मतिरै आइरहेछ–
म कसो गरूँ ?
इतिहासबाटै राजीनामा दिइसकेका
एक बोतल उदाङ्गा पाइलाहरू
चुहिएर आफ्नै सपनाहरूबाट
सडकका मधौरू डायरीमा खोपिएको
मुर्दा गन्हाउने जीवनको बान्ता
ओकलेर आफ्नै वेदनाहरूबाट
ऊ मतिरै आइरहेछ–
म कसो गरूँ ?
मात्र प्रदर्शनीका
क्षतविक्षत चिहानहरूभित्र
रगतको बगैँचामा उम्रिएका
सहिदका सपनाहरू गोड्दै
मैले आकाशबाट ताराहरू टिपेर
टमाटरझैँ पिसपास पार्दै
भविष्यका पाहुनाहरूलाई
मीठो सित्तन बनाएको छु !
भावनाका अनौठा कचौराहरूमा
अलिकति घाम खन्याएर
एउटै टेबुलमा सँगै बसेर
यी कहालिलाग्दा
काला रातहरू पिउने
हाम्रो धेरै पुरानो सपना थियो !
भिखारी आफ्नै दुःखले मातेको छ
मात्नु उसको नियति नै हो !
दिनभरि भिक्षा मागेका भानुभक्तहरूले
एक छाक टार्न नपाउँदै
चुहिएर उसको पुरानो झोला
एक अँजुली भानुभक्तहरू
फोहोर गल्लीमा पोखिए !
झोला सूत्रबद्ध रूपले रित्तियो,
र गल्लीमा भानुभक्तको बेवारिस लास
बिना कुनै लाज, बिना कुनै सरम
स्याल र कुकुरहरूले
एकै साथ लुछिरहेका छन् !
मुर्दा गन्हाएर मान्छेहरू
अचेलभरि त त्यो बाटो
हिँड्नै घिन मानिरहेका छन् !
आजभोलि
एक कचौरा रामायण पिएर
कुनै राष्ट्रिय सराबी
यो बाटोमा हुलदङ्गा गरिरहेको छैन !
बरू तिम्रा रामहरू
सडकमा नाङ्गै डुलिरहेका छन् !
राम नाङ्गो डुलिरहेको बेला
रामायणकै पानाहरू च्यातेर
अब तिमी सक्दैनौ
उसको नाङ्गो आङ ढाकिदिन !
के गर्नु अब ती भानुभक्तहरूले ?
न एकमाने भाँडाबाट
भानुभक्तलाई थालमा पस्किएर
भोका छोराछोरीहरूको पेट भर्न सकिन्छ !
न कुनै थाङ्नोझैँ च्यातेर भानुभक्त
दुध चुसिरहेका दुब्ला नानीहरूलाई
पेटेभोटो सिलाइदिन सकिन्छ !
ए मेरो देशको पुरानो कवि !
आजभोलि तिम्रा सपनाहरू
सिरानी हालेर सुनेको दिन
म किन कुनै
स्वतन्त्र सपनाहरू देख्न सक्दिनँ ?
ए भानुभक्तहरू !
आज तिम्रा भक्तहरू
एउटा हातमा
मान्छेको रगत मुछिएको छुरी,
र अर्को हातमा
बुद्धको जिब्रो बोकेर
किन तिम्रै आस्थाको आँगनमा
निर्लज्ज नाचिरहेका छन् ?
र किन आज तिमी
आफ्नै आँखाहरूबाट चुहिएर
मरूभूमिको जर्जर बालुवामा
आँसुझैँ पोखिइरहेका छौ ?
अब रामायणको जङ्गल फाँडेर
यो देशका सुकुम्बासीहरूले
आफ्नै हृदयको घडेरीमा
नयाँ नयाँ बस्तीहरू
बसाउन खोजिरहेका छन् !
अब चेतनाको बिरूवा गोडेर
यो देशका आदिवासीहरूले
आफ्नै मनको मझेरीमा
अमरावतीको बगैँचा
सजाउन खोजिरहेका छन् !
घाँसीहरूको सपनामा
तिम्रो दौरा फाट्दै छ भानु !
तिम्रो छड्के पछ्यौरी
र बिर्के टोपी च्यातिँदै छ !
अहिले देश फेरि गर्भिणी बनेको छ
र आफ्नो गर्भाशयबाट
असङ्ख्य नयाँ भानुभक्तहरू
जन्माइरहेको छ !
कुनै ट्राफिक नियम
र जेब्राक्रस नभएको
महामृत्यु हिँड्ने
इतिहासको यो सडकमा
शिर उठाएर बोल्न देऊ मलाई–
अब च्यातिएका झोलाहरूबाट
यसरी गल्ली गल्लीमा
चुहिने छैनन् आस्थाका भानुभक्तहरू !
शिर उठाएर बोल्न देऊ मलाई–
अब बारूद भरिएको कलमको निबबाट
रगतले लेखिने छ जनताको रामायण !
०००
गाेरेटाेमा चालेका पाइलाहरू (२०४३)
Subscribe
Login
0 Comments
Oldest







































