डा. विप्लव ढकालकागजकाे फिरफिरे
आफ्नाे जुनीभरि घुमाइ नै रहनेछन् कागजको फिरफिरे ! उनीहरू सडकमा टायर बाल्दै जुनीभरि एउटै राष्ट्रिय गीत गाइरहने छन्- मूर्दावाद ! मूर्दावाद !!

विप्लव ढकाल :
तिम्री आमा
मजदुरको जुलुसमा हिँड्दा हिँड्दै
बूढो पाठेघरको थैलाेबाट
फ्यात्त
सडकमा झरेका थियौ तिमी
र पहिलो शब्द सुनेका थियौ-
मूर्दावाद !
तिम्री आमासँग थिएन
पार्टीको झन्डा !
त्यसैले कागजको फिरफिरे उडाउँदै
तिमी पनि कुद्न थाल्यौ
दुखिया जुलुसको पछिपछि !
आज तिमी
सपना देख्नै नसक्ने गरी
बूढो भइसक्याै
तर अझै पनि तिम्रा हातहरूमा
घुमिरहेको छ-
कागजको फिरफिरे !
हे वृद्ध पितामह !
तिम्रा सन्तान दरसन्तानहरू पनि
आफ्नाे जुनीभरि
घुमाइ नै रहनेछन्
कागजको फिरफिरे !
उनीहरू सडकमा टायर बाल्दै
जुनीभरि
एउटै राष्ट्रिय गीत गाइरहने छन्-
मूर्दावाद ! मूर्दावाद !!
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































