साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भात

नामकै कुरा गर्ने हो भने भातको कारणले धेरै नाम पाएको छु । कसैले ‘गोठाले’ भन्छन् त कसैले ‘ढिँडे’ कसैले ‘च्याँख्ले’ भन्छन् त कसैले ‘लिँडे’ । भात भनेपछि म ज्यान छाडेर हिँड्छु ।

Nepal Telecom ad

केशव दुवाडी :

यन्त्रमानवलाई काम गर्न लगाएर आनन्दसँग ऐस आराम गर्न सकिने आजको अत्याधुनिक युगमा पनि यो भाते भातको मात्रै कुरा गर्छ भनेर भाते व्यंग्य विरोधी समालोचकसाहेबहरूले रिसको झाेंकमा कलमको निब नभाँच्नु होला । दूध चुसेर भात ओकल्ने अनि वियरले कुल्ला गरेर कुखुराको साँप्राले दाँत कोट्याउनेहरूका लािग भात ‘घटिया बात’ भए पनि भातको लागि भौतारिएर नाना भूखण्ड दौडिनेहरूका लागि भात जीवनको सबैभन्दा ठूलो बात भएको छ ।

एकमुठी ठालुहरूका लागि भात ‘खातैैे खात’ भए भए पनि धेरै बबुराहरूका लागि टाउकोमा हात छ । ‘ह्युवाकर’ भन्ने एकजना विद्वानले निबन्धको टाउको एमिवादेखि मानिससम्म,तारादेखि धूलोसम्म जे पनि हुन सक्छ भनेका छन् । त्यसैले भात भन्ने विषय छान्दा अन्याय हुन्छ जस्तो लाग्दैन ।

जस्तो मन्त्र जपे पनि, जस्तो तन्त्र आए पनि अनि विकासको जतिसुकै गुड्डी हाँके पनि यहाँ हुने भन्दा नहुने धेरै छन्, सिरक ओढ्ने भन्दा आकाश ओढ्ने धेरै छन्, हाँस्ने भन्दा रुने धेरै छन्, भातखाने भन्दा पुरापात चाट्न वाध्य धेरै छन् । ‘रोटी चिल्ला मीठा, कुरा खस्रा मीठा’ । आफू त खस्रो मान्छे खस्रै कुरा, चढेको भने पनि भनुन् बढेको भने पनि भनुन् ।

अहो ! भातको कुरा गर्दै थिएँ अन्तै पो बात घुमाउन पुगेछु । यही भातका लागि धेरै जनाको बात मात्रै होइन लात पनि खान परेको छ मैले । हाम्रो परिबार यही भातको लागि काजीसाहेबको घरमा भतुवा बस्न गएको थियो ।

बाउ दिनभर हलो जोतेर लोत हुन्थे भने आमा कोदालो खेलाउँदैमा लखतरान हुन्थिन् । खाने बेलामा चामलको भात त परै जावोस् भान्छै कालो, पेटैकालो मात्र होइन जस्तो खायो उस्तै आउने फेरि खान खोज्दा गनाउने बारुद जस्तो कालो कोदाको ढिँडो पनि पेटभर खान पाइन्थ्यो । ‘अन्नमा भन्दा सन्नमा बल गर्नु पर्छ’ भनेर कजिनी कराउँथिन् । त्यति मात्र हो र मेलाबाट काम गरेर धापिएर आयो आउने बित्तिकै ठेकीको काइ पखालेको पानीलाई मही भनेर तीन डबका पिउन दिन्थिन् । तिर्खाएको झोँकमा पियो भुँडी डम्म भैहाल्छ अनि तुरुन्तै ढिँडो ल्याएर पिढीँमा टस्क्याइदिन्थिन् । अब भन्नोस् कति रुच्दछ र खाने ? यौटा डल्लो खायो उठ्यो । एक छिनपछि सु गर्न गयो अघि खाएको बासी मही सकिइहाल्छ अनि भुँडी त खालीको खाली । ‘सिता खाने भित्ता लाग्छ ढिडो खाने जोदाह हुन्छ’ भनेर मलाई ढिँडोको महिमा सुनाउँथिन् । तर काजीको कालो कुकुर मासु नभई भात खाँदैनथ्यो । बन साङ्लाले घरसाङलालाई जितेको ठाउँमा मही पार्नेले घीऊ खान कहाँ पाउनु !

‘काढी तरक्क पसिना, दिनरात डोको, बोके पनि उदर गर्त रहन्छ भोको’ भनेर हाम्रा लेखनाथबाजेले ठ्याक्कै मिलाएका छन् । लेखनाथबाजेकै पालादेखिको यो रोग अहिलेसम्म निको नभएको देख्दा केहो केहो जस्तो लाग्छ ।

एकदिन काजीसाहेब कपाल खौरिएर बाउको सरात गरिरहेका थिए पुरेतबाजे किताब पल्टाउँदै गनगनाइरहेका थिए । मलाई चाहिँ ‘तृप्यन्ताम तृप्यन्ताम, पित्रृले नपाए पनि बाहुनले पाउन् आते पाते टपरी चाटे, यो दुनाको पैसा त्यो दुनामा हाल, तेरो बाउको पिण्ड खोलामा लगेर फाल’ भनेको जस्तै लाग्यो ।

पुरेतले जेसुकै भनुन् मेरो मतलबको विषय थिएन । मलाई त दूधमा पकाएर घिऊ, सक्खर र केरा हालेर बाटिएको बाटुलो पिण्ड देख्दा मुखबाट सरर पानी आइरहेको थियो ।

काजीसाहेब सरात सकेर पिण्ड सेलाउन पँधेरातिर झरेका मात्र के थिए म पनि पछि पछि टाप ठोकेर पुगेँ । काजीसाहेब घरतिर लागे म चाहिँ पिण्ड पुक्याउन थालेँ । त्यसैले मलाई गाउँलेहरू ‘पिण्डे’ पनि भन्छन् । आखिर नामले के फरक पार्छ र ? पेट भर्न पाएपछि । हाम्रो बाउलाई ‘भतुवा’ भन्थे भने मलाई ‘जुठे’ । नामकै कुरा गर्ने हो भने भातको कारणले धेरै नाम पाएको छु । कसैले ‘गोठाले’ भन्छन् त कसैले ‘ढिँडे’ कसैले ‘च्याँख्ले’ भन्छन् त कसैले ‘लिँडे’ । भात भनेपछि म ज्यान छाडेर हिँड्छु । गउँमा कसैको बिहे, बर्तुन, न्वारन, पास्नी भयो भने म मुन्टोले टेकेर पुग्छु । निम्तो होस् या नहोस्, मलाई के मतलब ? लामो पेट तन्काउँदै दन्काउन पाए पुग्यो ।

भान्छेहरू भलादमी भए भने त टन्न हुनेगरी कठार फुकाएर खान पाइन्छ । भोकले सिद्रा जस्तो भएको आन्द्रा रगतले सोलोमोलो भएको जुका जस्तो टन्न हुन्छ । ढ्याउ ढ्याउको सुमधुर झङ्कारको आनन्द नै अर्कै हुन्छ । तर भान्छे भष्मासुर भए भने त घोक्राको मयल ने साफ हुन बेर लाग्दैन । यसरी ‘डाक न बोलाई कुकुर पुच्छर डोलाइ’ गरेर भान्छा ढुक्दै भात हसुर्ने हुनाले मलाई ‘ढुकुवा’ पनि भन्ने गरिन्छ । भातको खोजीमा भौतारिँदा पाएका नामहरूको उल्लेख गर्ने हो भने अर्को अमरकोश नै बन्न बेर लाग्दैन ।

त्यसैले भोकले भुतुक्कै हुनु भन्दा ‘पिण्डोपजीबी’ हुनु राम्रो जस्तो लाग्छ । जसले जे भने पनि आफनो बानी छाड्न सक्दिन म । पापी पेटको अगाडि ‘निहुर मुन्टी न’ बन्नै पर्दो रहे छ । ‘भनेर मान्छ मर्दैन,तातो पानीले घर जल्दैन’ भन्ने उखान मेरो लागि हनुमानले पर्वतसँगै बोकेर ल्याएको ‘सञ्जीबनी बुटी’ साबित भएको छ । मरेको साँप जस्तो भए पछि जति घोचे पनि लम्पसारको लम्पसार ।

हाम्रो बाउले जिन्दगीभर जडाउरी लगाएर हलो जोत्दा पनि चामलको भात पेटभरी खान पाएनन् काचोपातको भुस्साको कंकट तान्दै एकडल्लो ढिडोको भरमा ‘पूर्वजन्मको कमाइ’ भन्दै नूनको सोझो गरे । कुपोषण र कडा परिश्रमको कारणले उनी अकालमै मास छर्न गए । कात्रो जडाउरी नहुने भएकोले हाम्रोबाउको शरीमा पहिलोपटक नयाँ लुगा पर्‍यो ।

म उनको ‘ढिकुराको पुजारी’ हुन पाएकोले टन्न चामलको भात खान पाएँ । ‘गोरु मरे पुर्पुरोमा हात बाउ मरे घिऊ र भात’ भन्ने उखान वास्तबै सार्थक लाग्यो ।

साँच्चै भन्ने हो भने भातको लागि परपुषसँग रात काट्ने पनि छन् । भातकै लागि फोहरमा हात हाल्ने पनि छन् । भातकै लागि टेबुलमुनिबाट बात मिलाउने पनि छन् । भातकै लागि अर्कालाई ढाँट्ने पनि छन् । भातकै लागि अर्काको खल्ती काट्ने पनि छन् । भातकै लागि अन्तरघात गर्ने पनि छन् । भातकै लागि दिनभर काम गरेर पुर्पुरामा हात राख्ने पनि छन् । अनि भातकै लागि अर्काको साथ लाग्ने पनि छन् ।

आदरणीय पाठक समुदाय ! भातद्वारा अभिभूत भएको भातको अनुवर्ती भाते त अनमनिको पकभुत्ते हुनु पर्ने । असारमा गोरुले झै खटेर मंसीरमा धानको धोक्रो साहुको भकारीमा खन्याई एकडल्डो ढिडो खाएर ‘पुर्वजन्मको कमाइ’ भनेर जिल्ल पर्नु पर्ने,योत देश खाएर शेष पाएको कुरा गर्छ भनेर जिल्ल नपर्नु होला । तपाईहरूको अडकल पनि नाजायज होइन । यहाँको चलन नै यस्तै छ । तर सबै अडकलहरू सत्य हुदैनन् । नपत्याउने खोलाले पनि बगाउँछ । विचार बग्ने बाटो गिदी भएको हुनाले यो भात खान पाउनेको गिदीमा मात्र होइन भात खान नपाउनेको गिदीमा पनि बग्छ भन्ने कुरा प्रमाणित भैसकेको छ । माकर््सको जीवनी पढ्नोस या थोरोको, प्रजातन्त्रका पिता लिंकनको कुरा गर्नोस या नाजीवादका नाइके हिटलरको, त्यहाँ भातको लागि भौतारिएका थुप्रै घटनाहरू भेटाउन सकिन्छ ।

टाढा किन जाने ? देवकोटा, भूपि र युद्धप्रसादकै कुरा गरौँ न, त्यहाँ पनि पाइन्छ भातका कारुणिक कथाहरू । महलमा बस्ने कलमबाज भन्दा सडकछाप लेखन्दास धेरै छन् । फेरि साहित्य सम्पन्नहरूको पेवा पनि त होइन । अर्को कुरा नाम्ले कुल्ली बढी नूनको सोझो गर्छ । कलमे कुल्ली (एक दुई अपबाद बाहेक) बढी इमान्दार बन्न खोज्छ । आँैला बाङ्गो बनाउन उनीहरू डराउँछन् । सोझो औलाको कमाइले विरक्त लागेको बेलामा बोत्तल तान्नै पुग्दैन । अनि कहाँबाट पाउनु पेटभर खान पाउनु ?

साहित्यको सबै भन्दा छुचो विधा अँगाल्न लुलो मगज र छेरुवा मुटु भएको मान्छेले सक्दैन । बाउको टाउकोमा गीर खेलेर भात हसुर्ने हसुरदासहरू सालघारीमा स्याल कराउँदा लगौटी कसेर कुलेलम ठोक्ने खाल्का हुन्छन् । हगाइ भन्दा पदाइ ठूलो गरी एक दुईवटा कविता कोरेर ककटेल पार्टीमा पढ्दै कवि बन्ने महानमनुवाहरूलाई भात खान नपाएको भोको पेटको मर्म पनि थाहा हुँदैन । महलमा बसेर सिँगार पटारको झिल्के साहित्य लेखपढ गर्न पल्केकाहरूलाई काँचो पिँडालु जस्तो कोक्याउने विधा मन पनि पर्दैन होला ।

व्यङ्ग्यवादको बाटो हिँड्न बाउन्न ठक्कर त्रिपन्न घुस्सा खाएर खल्ली भैसकेको हुनु पर्छ । घिन, डर र धक नमानी चिलाएको ठाउँमा कन्याउन सक्नु पर्छ । पिल्सिएको घाउलाई निचोरनाचोर पारेर पीप र रगत निकाल्न सक्नु पर्छ । लिखा परेको ठाउँमा ठुंग हान्नु पर्दछ ।

त्यसैले गर्दा तपाइँको कल्पनाको पकभुत्तो भातेले कलम चलाउनु परेको हो । आजको लागि मेरो थुतुनुबाट ओकलिएको छुचो शब्दलाई हुुबहु सार्ने कलमको निबलाई बिश्राम दिन्छु । भात खान पाएर बाँचे भने फेरि लेखौँला ।

०००
सौगात, २०५८ मङ्सिर 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नियत नफेरिएकाहरू

नियत नफेरिएकाहरू

केशव दुवाडी
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
झोला र झोले !

झोला र झोले !

केशव दुवाडी
नजाउँ कोरिया !!

नजाउँ कोरिया !!

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
फुर्सद खै ?

फुर्सद खै ?

केशव दुवाडी
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x