मदन लम्सालसपना नयाँ, खेल पुरानो
होटलको चिसो एसीभित्र त देश निकै राम्रो देखिन्छ । स्लाइडमा अझ सुन्दर, भाषणमा थप व्यवस्थित र कल्पनामा विकसित । तर बाहिर घाम छ, धूलो छ र दुःखको धागोले बाँधिएको यथार्थ छ ।

·मदन लम्साल :
देश नयाँ सरकारको नेतृत्वमा त गयो । तर संस्कार पुरानै छ । सिंहदरबारहरूभित्र एउटा अर्कै संसार छ, ‘भूत कार्यालय ।’ टेबल–टेबलमा कंकालहरू बसेका छन् । उनीहरू जिउँदा त छन् । तर गति फाइलजस्तै मृतप्रायः छन्, धीमा, भारी र सधैं कतै अड्किएको । यहाँ समय चल्दैन, घिस्रिन्छ ।
भदौ २४ को आगोले देशमा हठात् नयाँ सरकार जन्मायो । सत्तामा अनुहार फेरिए । भाषणको भाषा फेरियो, शासनको शैली फेरिन्छ भनेर सुनियो । देशले फेरि एकपटक ‘अबचाहिँ केही हुन्छ ?’ भन्ने आशाको न्यानो कम्बल ओढेको छ । चिसो हावामा चर्को घोषणा, घोषणामा घनघोर गफ र गफमा गहिरो गर्जन । देश फेरिनेछ, छिट्टै फेरिनेछ, चाँडै चम्किनेछ भन्ने चर्को चिच्याहटले शहरका चोकदेखि गाउँका चौतारासम्म गुन्जिरहेको छ । मानौं, वर्षौंदेखि अड्किएको घडीले एक्कासि टिक–टिक गर्न थालेको छ । तर समय अघि बढ्छ कि सुई मात्र घुम्छ भने हेर्न बाँकी भो ।
रास्वपाका १८२ सांसदमध्ये १५–१६ जनाले आज मन्त्रीको माला लगाउँदै छन् । बाँकी सांसद नवराजलाई राजा छान्ने हात्तीले आफूलाई माला लाइदिहाल्छ कि भन्ने धैर्य–ध्यानमा होलान् । नबोल्न सभापतिको आदेश जो छ । कसैले ऐन बदलिने सपनासँगै मन्त्रालय रोजिरहेका छन्, कसैले मन्त्रालयसँगै कुर्सीको उचाइ नापिरहेका छन् । सबैसँग पक्कै एउटा साझा योजना होला, ‘देश बदल्ने ।’
हो, कसै कसैले देश बदल्ने सोचेका पनि होलान्, अर्थात् अर्को देश जाने । तर धेरैको गोप्य योजना चैं केवल कोट बदल्ने होला । तर सबैको बदलिएको एउटै कुरा छ । त्यो हो टोन । हिजो सबै बिग्रिएको देख्नेले आज सबै राम्रो देख्न थालेका छन्, असन्तोषको आगो ओकल्नेले संयमको भाषा लेख्न थालेका छन् । हिजो प्रश्न सोध्ने अहिले उत्तरबाट भाग्न थालेका छन् ।
तर देश बदल्ने योजना जब सिंहदरबार छिर्छ, ढोकामा बसेको सरकारी कर्मचारी नामक एक पुरानो प्राणीले सोध्छ, ‘फाइल ल्याउनुभयो त ?’ त्यो केवल प्रश्न होइन, एउटा प्रवेश परीक्षा हो, प्रक्रिया होइन, परम्परा हो, प्रगतिलाई रोक्ने प्राचीन मन्त्र हो र परिवर्तनलाई पर्खालमा टाँग्ने प्रपञ्च हो । फाइलको गेटमा बस्ने त्यो प्राणी कहिलेकाहीँ मान्छे हो कि मूर्ति, छुट्ट्याउन गाह्रो हुन्छ ।
समयले यो सबै देखेको छ, सरकार आएको, गएको, वाचा गरेको, भाखा सारेको । नयाँ सांसदका लागि पाँचतारे होटलमा अभिमुखीकरण भयो । त्यो जरुरी पनि थियो । भित्र प्रोजेक्टरमा ‘राष्ट्रिय पुनर्निर्माण’ चलिरहेको थियो । स्लाइड सुन्दर थियो, भविष्य सुनौलो थियो । तर हलको उज्यालो बत्तीले एउटा सानो प्रश्न झन् गाढा बनायो, ‘शासन स्लाइडमा सिकिन्छ कि सडकमा ?’ किनकि शासन कन्फरेन्सको कुर्सीमा होइन, खेतको फाँटमा, पसिनाको धारमा, जनताको जिब्रोमा र जनजीवनको झन्झटमा सिकिन्छ भन्छन् ।
यसकारण पनि कि गाउँहरूमा खेत बाँझै छन्, शहरहरूमा फोहोरले लोकतन्त्र ढाकेको छ, सरकारी अस्पतालमा बेडभन्दा सिफारिश धेरै छन् र साना व्यवसायीहरू बैंकको ढोकामा लाइन लागेर विकासको अर्थ खोजिरहेका छन् । युवाहरू सपना पछ्याउँदै विदेश उडिरहेका छन् । देशभित्र श्रमको शून्यता, सपनाको शून्यता र शीपको स्खलन छ । गाउँमा केवल बुढाबुढी बाँकी छन्, शहरमा बेरोजगारी बग्रेल्ती छ र सरकारसँग योजना बाँकी छन् । होटलको चिसो एसीभित्र त देश निकै राम्रो देखिन्छ । स्लाइडमा अझ सुन्दर, भाषणमा थप व्यवस्थित र कल्पनामा विकसित । तर बाहिर घाम छ, धूलो छ र दुःखको धागोले बाँधिएको यथार्थ छ ।
जब सरकार काममा लाग्न खोज्नेछ, पुराना फाइलका सट्टा नयाँ फाइल रोज्नेछ । समस्या के छ भने देश नयाँ सरकारको नेतृत्वमा त गयो । तर संस्कार पुरानै छ । सिंहदरबारहरूभित्र एउटा अर्कै संसार छ, ‘भूत कार्यालय ।’ टेबल–टेबलमा कंकालहरू बसेका छन् । उनीहरू जिउँदा त छन् । तर उनीहरूको गति फाइलजस्तै मृतप्रायः छ, धीमा, भारी र सधैं कतै अड्किएको । यहाँ समय चल्दैन, घिस्रिन्छ । यहाँ काम हुँदैन, मामको खोजी हुन्छ । भलै कंकालहरूको पनि आफ्नै कथा छन्, व्यथा छन् ।
हरेक १५ मिनेटमा चिया आउँछ । तर फाइल अघि बढ्दैन, गफ अघि बढ्छ । गफ गहिरिन्छ, गन्तव्य हराउँछ । एउटा कंकालले अर्को कंकाललाई भन्छ, ‘नयाँ मन्त्री आयो रे !’ अर्को कंकाल मुस्कुराउँछ र भन्छ, ‘ठीकै छ त, उसलाई पनि पुरानो बनाइहाल्छौं नि !’ यहाँ नयाँ नीलो हुन्छ, पुरानो पहेँलो हुन्छ र अन्ततः सबै कागजजस्तै फिका हुन्छन् ।
विस्तारै, फाइल टेबल–टेबल घुम्छ । तर आफै हिँडेर होइन, ‘सुझाव’ खाएर । नत्र फाइलले योग सिक्छ, महीनौंसम्म एउटै आसनमा बसिरहन्छ, सुखासनमा, कागजासनमा, प्रतीक्षासनमा । तर जब ‘आवश्यक तत्त्व’ मिसिन्छ, त्यही फाइलमा पखेटा उम्रन्छ । अनि त्यो फाइल सीधा हाकिमको टेबलमा अवतरण गर्छ । मानौं, कुनै भूतले फाइल बोकिदिएको होस् वा कुनै जादूगरले छुमन्तर गरेको होस् ।
नयाँ मन्त्रीले पहिलो दिन बैठक बोलाउनेछन्, ‘हामी नीति बनाउँछौं ।’ कंकालहरू टाउको हल्लाउँछन् । कंकालहरू बदलिँदैनन्, बुझ्न खोज्दैनन्, तर बुझेजस्तो मात्र गर्छन् ।
दोस्रो दिन, मन्त्री फिल्ड जान खोज्छन् । कंकालहरूले भन्नेछन्, ‘हजुर, पहिले प्रोटोकल बनाऊँ ।’ तेस्रो दिन, मन्त्री जनताको कुरा सुन्न खोज्नेछन् । कंकालहरूले भन्नेछन्, ‘हजुर, पहिले कमिटी बनाऊँ ।’ चौथो दिन, मन्त्री अलमल्ल पर्नेछन् । नीति र प्रक्रियाबीच, चाहना र चलनबीच, सपना र सिस्टमबीच । पाँचौं दिन, मन्त्री भाषण दिन थाल्नेछन् । किनकि अन्ततः यहाँ कामभन्दा कथन र कथ्यकै कदर हुन्छ ।
‘मन्त्री’ भनेको मन्त्रणा दिने मान्छे हो । मन्थराको मन्त्रणाले कैकेयीको जिब्रो चिप्लिएर राम वनवास जानुपर्यो । विदुरको मन्त्रणा कौरवका लागि काम लागेन । तर, यहाँ मन्त्रीले मन्त्रणा बेग्लै गर्छन्, माइकमा अर्कै कुर्लन्छन् । शब्दको शोर, शैलीको सजावट र सन्देशको सतहीपनले शासनलाई शाब्दिक बनाएको हामीले भोगेको, देखेको र लेखेकै हो । यहाँ ब्यूरोक्रेसीले चैं मन्त्रणा दिन्छ । तर त्यो मन्त्रणा यस्तो हुन्छ, जसले घडीको सुईसँगै निर्णय प्रक्रियामै फाइल फनफनी घुमिरहन्छ ।
यसरी अहिलेको अवस्था यस्तै छ, सरकार नयाँ, सिस्टम पुरानो । जस्तै, चौधरीको गोठमा नयाँ पाडापाडी आए, तर भैंसी उही पुरानै भनेजस्तो । त्यो भैंसीले केही दूध चौधरीलाई मात्र दिन्छे कि पाडापाडीलाई पनि चुसाउँछे, थाहै हुँदैन । सरकार भन्छ, ‘विकास दिनुपर्छ ।’ गाउँले भन्छ, ‘पहिले के दिएको थियो र ?’
यसरी एल्गोरिदमको अग्लाइ जति नै भए पनि यथार्थ बेग्लै छ । देशमा स्रोतको शून्यता, श्रमको स्खलन, इमानदारीको खडेरी र सपनाको भार उही बामपुड्के नै छ । बजेट सीमित, जनअपेक्षा असीमित छ । जनशक्ति सीमित, आवश्यकता असीमित छ । विकासको दौडमा दौडनुपर्ने खुट्टाहरू विदेशतिर उडिरहेका छन् । बाँकी खुट्टा सरकारी फाइलको फन्दामा फसिरहेका छन् । सरकार एक्सेलेटर थिच्छ, सिस्टम ब्रेक थिच्छ, माइन्डसेटले क्लच । गाडी स्टार्ट त हुन्छ, तर अघि बढ्दैन ।
अब प्रश्न उब्जिन्छ कि नयाँ सरकारले पुरानो सिस्टम बदल्छ कि पुरानो सिस्टमले नयाँ सरकार ? यो केवल प्रश्न होइन, यो हाम्रो व्यवस्थाको व्यथा हो, हाम्रो समयको व्यंग्य हो । किनकि यहाँ पहिलेदेखि नै एउटा अदृश्य परम्परा चलिआएको छ– सरकार बदलिन्छ, तर सिस्टम बदलिँदैन । सिष्टम उही रहेपछि नतीजा पनि उस्तै रहन्छ नि हैन र ?
के यो परम्परा यसपालि तोडिएला त ?
०००
अभियान (१३ चैत, २०८२)
Subscribe
Login
0 Comments
Oldest







































