साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपना नयाँ, खेल पुरानो

होटलको चिसो एसीभित्र त देश निकै राम्रो देखिन्छ । स्लाइडमा अझ सुन्दर, भाषणमा थप व्यवस्थित र कल्पनामा विकसित । तर बाहिर घाम छ, धूलो छ र दुःखको धागोले बाँधिएको यथार्थ छ ।

Nepal Telecom ad

·मदन लम्साल :

देश नयाँ सरकारको नेतृत्वमा त गयो । तर संस्कार पुरानै छ । सिंहदरबारहरूभित्र एउटा अर्कै संसार छ, ‘भूत कार्यालय ।’ टेबल–टेबलमा कंकालहरू बसेका छन् । उनीहरू जिउँदा त छन् । तर गति फाइलजस्तै मृतप्रायः छन्, धीमा, भारी र सधैं कतै अड्किएको । यहाँ समय चल्दैन, घिस्रिन्छ ।

भदौ २४ को आगोले देशमा हठात् नयाँ सरकार जन्मायो । सत्तामा अनुहार फेरिए । भाषणको भाषा फेरियो, शासनको शैली फेरिन्छ भनेर सुनियो । देशले फेरि एकपटक ‘अबचाहिँ केही हुन्छ ?’ भन्ने आशाको न्यानो कम्बल ओढेको छ । चिसो हावामा चर्को घोषणा, घोषणामा घनघोर गफ र गफमा गहिरो गर्जन । देश फेरिनेछ, छिट्टै फेरिनेछ, चाँडै चम्किनेछ भन्ने चर्को चिच्याहटले शहरका चोकदेखि गाउँका चौतारासम्म गुन्जिरहेको छ । मानौं, वर्षौंदेखि अड्किएको घडीले एक्कासि टिक–टिक गर्न थालेको छ । तर समय अघि बढ्छ कि सुई मात्र घुम्छ भने हेर्न बाँकी भो ।

रास्वपाका १८२ सांसदमध्ये १५–१६ जनाले आज मन्त्रीको माला लगाउँदै छन् । बाँकी सांसद नवराजलाई राजा छान्ने हात्तीले आफूलाई माला लाइदिहाल्छ कि भन्ने धैर्य–ध्यानमा होलान् । नबोल्न सभापतिको आदेश जो छ । कसैले ऐन बदलिने सपनासँगै मन्त्रालय रोजिरहेका छन्, कसैले मन्त्रालयसँगै कुर्सीको उचाइ नापिरहेका छन् । सबैसँग पक्कै एउटा साझा योजना होला, ‘देश बदल्ने ।’

हो, कसै कसैले देश बदल्ने सोचेका पनि होलान्, अर्थात् अर्को देश जाने । तर धेरैको गोप्य योजना चैं केवल कोट बदल्ने होला । तर सबैको बदलिएको एउटै कुरा छ । त्यो हो टोन । हिजो सबै बिग्रिएको देख्नेले आज सबै राम्रो देख्न थालेका छन्, असन्तोषको आगो ओकल्नेले संयमको भाषा लेख्न थालेका छन् । हिजो प्रश्न सोध्ने अहिले उत्तरबाट भाग्न थालेका छन् ।

तर देश बदल्ने योजना जब सिंहदरबार छिर्छ, ढोकामा बसेको सरकारी कर्मचारी नामक एक पुरानो प्राणीले सोध्छ, ‘फाइल ल्याउनुभयो त ?’ त्यो केवल प्रश्न होइन, एउटा प्रवेश परीक्षा हो, प्रक्रिया होइन, परम्परा हो, प्रगतिलाई रोक्ने प्राचीन मन्त्र हो र परिवर्तनलाई पर्खालमा टाँग्ने प्रपञ्च हो । फाइलको गेटमा बस्ने त्यो प्राणी कहिलेकाहीँ मान्छे हो कि मूर्ति, छुट्ट्याउन गाह्रो हुन्छ ।

समयले यो सबै देखेको छ, सरकार आएको, गएको, वाचा गरेको, भाखा सारेको । नयाँ सांसदका लागि पाँचतारे होटलमा अभिमुखीकरण भयो । त्यो जरुरी पनि थियो । भित्र प्रोजेक्टरमा ‘राष्ट्रिय पुनर्निर्माण’ चलिरहेको थियो । स्लाइड सुन्दर थियो, भविष्य सुनौलो थियो । तर हलको उज्यालो बत्तीले एउटा सानो प्रश्न झन् गाढा बनायो, ‘शासन स्लाइडमा सिकिन्छ कि सडकमा ?’ किनकि शासन कन्फरेन्सको कुर्सीमा होइन, खेतको फाँटमा, पसिनाको धारमा, जनताको जिब्रोमा र जनजीवनको झन्झटमा सिकिन्छ भन्छन् ।

यसकारण पनि कि गाउँहरूमा खेत बाँझै छन्, शहरहरूमा फोहोरले लोकतन्त्र ढाकेको छ, सरकारी अस्पतालमा बेडभन्दा सिफारिश धेरै छन् र साना व्यवसायीहरू बैंकको ढोकामा लाइन लागेर विकासको अर्थ खोजिरहेका छन् । युवाहरू सपना पछ्याउँदै विदेश उडिरहेका छन् । देशभित्र श्रमको शून्यता, सपनाको शून्यता र शीपको स्खलन छ । गाउँमा केवल बुढाबुढी बाँकी छन्, शहरमा बेरोजगारी बग्रेल्ती छ र सरकारसँग योजना बाँकी छन् । होटलको चिसो एसीभित्र त देश निकै राम्रो देखिन्छ । स्लाइडमा अझ सुन्दर, भाषणमा थप व्यवस्थित र कल्पनामा विकसित । तर बाहिर घाम छ, धूलो छ र दुःखको धागोले बाँधिएको यथार्थ छ ।

जब सरकार काममा लाग्न खोज्नेछ, पुराना फाइलका सट्टा नयाँ फाइल रोज्नेछ । समस्या के छ भने देश नयाँ सरकारको नेतृत्वमा त गयो । तर संस्कार पुरानै छ । सिंहदरबारहरूभित्र एउटा अर्कै संसार छ, ‘भूत कार्यालय ।’ टेबल–टेबलमा कंकालहरू बसेका छन् । उनीहरू जिउँदा त छन् । तर उनीहरूको गति फाइलजस्तै मृतप्रायः छ, धीमा, भारी र सधैं कतै अड्किएको । यहाँ समय चल्दैन, घिस्रिन्छ । यहाँ काम हुँदैन, मामको खोजी हुन्छ । भलै कंकालहरूको पनि आफ्नै कथा छन्, व्यथा छन् ।

हरेक १५ मिनेटमा चिया आउँछ । तर फाइल अघि बढ्दैन, गफ अघि बढ्छ । गफ गहिरिन्छ, गन्तव्य हराउँछ । एउटा कंकालले अर्को कंकाललाई भन्छ, ‘नयाँ मन्त्री आयो रे !’ अर्को कंकाल मुस्कुराउँछ र भन्छ, ‘ठीकै छ त, उसलाई पनि पुरानो बनाइहाल्छौं नि !’ यहाँ नयाँ नीलो हुन्छ, पुरानो पहेँलो हुन्छ र अन्ततः सबै कागजजस्तै फिका हुन्छन् ।

विस्तारै, फाइल टेबल–टेबल घुम्छ । तर आफै हिँडेर होइन, ‘सुझाव’ खाएर । नत्र फाइलले योग सिक्छ, महीनौंसम्म एउटै आसनमा बसिरहन्छ, सुखासनमा, कागजासनमा, प्रतीक्षासनमा । तर जब ‘आवश्यक तत्त्व’ मिसिन्छ, त्यही फाइलमा पखेटा उम्रन्छ । अनि त्यो फाइल सीधा हाकिमको टेबलमा अवतरण गर्छ । मानौं, कुनै भूतले फाइल बोकिदिएको होस् वा कुनै जादूगरले छुमन्तर गरेको होस् ।

नयाँ मन्त्रीले पहिलो दिन बैठक बोलाउनेछन्, ‘हामी नीति बनाउँछौं ।’ कंकालहरू टाउको हल्लाउँछन् । कंकालहरू बदलिँदैनन्, बुझ्न खोज्दैनन्, तर बुझेजस्तो मात्र गर्छन् ।

दोस्रो दिन, मन्त्री फिल्ड जान खोज्छन् । कंकालहरूले भन्नेछन्, ‘हजुर, पहिले प्रोटोकल बनाऊँ ।’ तेस्रो दिन, मन्त्री जनताको कुरा सुन्न खोज्नेछन् । कंकालहरूले भन्नेछन्, ‘हजुर, पहिले कमिटी बनाऊँ ।’ चौथो दिन, मन्त्री अलमल्ल पर्नेछन् । नीति र प्रक्रियाबीच, चाहना र चलनबीच, सपना र सिस्टमबीच । पाँचौं दिन, मन्त्री भाषण दिन थाल्नेछन् । किनकि अन्ततः यहाँ कामभन्दा कथन र कथ्यकै कदर हुन्छ ।

‘मन्त्री’ भनेको मन्त्रणा दिने मान्छे हो । मन्थराको मन्त्रणाले कैकेयीको जिब्रो चिप्लिएर राम वनवास जानुपर्यो । विदुरको मन्त्रणा कौरवका लागि काम लागेन । तर, यहाँ मन्त्रीले मन्त्रणा बेग्लै गर्छन्, माइकमा अर्कै कुर्लन्छन् । शब्दको शोर, शैलीको सजावट र सन्देशको सतहीपनले शासनलाई शाब्दिक बनाएको हामीले भोगेको, देखेको र लेखेकै हो । यहाँ ब्यूरोक्रेसीले चैं मन्त्रणा दिन्छ । तर त्यो मन्त्रणा यस्तो हुन्छ, जसले घडीको सुईसँगै निर्णय प्रक्रियामै फाइल फनफनी घुमिरहन्छ ।

यसरी अहिलेको अवस्था यस्तै छ, सरकार नयाँ, सिस्टम पुरानो । जस्तै, चौधरीको गोठमा नयाँ पाडापाडी आए, तर भैंसी उही पुरानै भनेजस्तो । त्यो भैंसीले केही दूध चौधरीलाई मात्र दिन्छे कि पाडापाडीलाई पनि चुसाउँछे, थाहै हुँदैन । सरकार भन्छ, ‘विकास दिनुपर्छ ।’ गाउँले भन्छ, ‘पहिले के दिएको थियो र ?’

यसरी एल्गोरिदमको अग्लाइ जति नै भए पनि यथार्थ बेग्लै छ । देशमा स्रोतको शून्यता, श्रमको स्खलन, इमानदारीको खडेरी र सपनाको भार उही बामपुड्के नै छ । बजेट सीमित, जनअपेक्षा असीमित छ । जनशक्ति सीमित, आवश्यकता असीमित छ । विकासको दौडमा दौडनुपर्ने खुट्टाहरू विदेशतिर उडिरहेका छन् । बाँकी खुट्टा सरकारी फाइलको फन्दामा फसिरहेका छन् । सरकार एक्सेलेटर थिच्छ, सिस्टम ब्रेक थिच्छ, माइन्डसेटले क्लच । गाडी स्टार्ट त हुन्छ, तर अघि बढ्दैन ।

अब प्रश्न उब्जिन्छ कि नयाँ सरकारले पुरानो सिस्टम बदल्छ कि पुरानो सिस्टमले नयाँ सरकार ? यो केवल प्रश्न होइन, यो हाम्रो व्यवस्थाको व्यथा हो, हाम्रो समयको व्यंग्य हो । किनकि यहाँ पहिलेदेखि नै एउटा अदृश्य परम्परा चलिआएको छ– सरकार बदलिन्छ, तर सिस्टम बदलिँदैन । सिष्टम उही रहेपछि नतीजा पनि उस्तै रहन्छ नि हैन र ?

के यो परम्परा यसपालि तोडिएला त ?

०००
अभियान (१३ चैत, २०८२)

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x