डा. गंगाप्रसाद अधिकारीबैठक
“हैन, यिनीहरूको यो सभा हो कि के हो, दुई वर्षको सट्टा तीन वर्षको राख्नपर्ने, कमसेकम ठोकठाकमा पर्नेहरूको जीऊ अलि विसेक त हुन पाउँथ्यो ।”

प्रविण टण्डन ’वसन्तप्रवीण’:
विवादै-विवादका बीच अकस्मात् साधारणसभाको मिति तोकियो । असन्तुष्टि, मतभेद (“कटुता”का सबै समानार्थी शब्द) कायमै रहेकोले यसपटकको सभा “असाधारण सभा” बन्ने डर अधिकांशलाई थियो।
यसको पृष्ठभूमि भने दुई वर्ष अघि नै बुनिएको भन्ने सुनिएको थियो । अहिलेका बहालवाला अध्यक्ष भरत दाइले ऊबेलाका अध्यक्षलाई आफ्ना विश्वासपात्रको घेरामा, बन्द कोठाभित्र हातै समातेर राजीनामामा सही गराए अरे । आफूलाई त न चासो न चिन्ता, भर्खर-भर्खर प्रवास आइएको, आफ्नै ध्याउन्न थियो ।
हुन पनि यसो सोच्दा त, त्यहीं बीस-तीस हजार डलरको वार्षिक बजेटको संस्था, यति साह्रो हानथाप त नहुनुपर्ने हो । तर “अध्यक्ष” भएपछि मान-सम्मान-सेवा-सत्कार अलि बेग्लै किसिमको हुन्छ क्यारे । फेरि हाम्रो भरत दाइको त व्यवसाय पनि, समुदायमा सम्पर्क/पहुँच बढ्दा त्यसलाई पनि फाइदै हुने ।
यथार्थ भन्नुपर्दा भरत दाइ (छोटकरीः “भदा”) लाई यस्ता झिनामसिना साधारण सभा/चुनावमा समय नष्ट गर्ने मन नै थिएन । उनको भित्री मनसाय त मिलेसम्म अकण्टक अध्यक्ष बन्ने, नसके रूसमा महामहीम पूटिनले जस्तै बीचमा उपाध्यक्ष भएर फेरि अध्यक्षमा फर्किने भन्ने थियो (प्राविधिक कारणः लगातार दुईपटक नेतृत्वमा बस्न नपाइने विधान) ।
एकपटक ‘वाइन गार्डेन’ भन्ने नदीछेउको रेष्टुरेन्टमा उनका नजिकका मानिसको जमघटमा उनको मुखबाट “क्याप्चर” र “कमब्याक” शब्द पटकपटक सुन्दा मेरा कानै टट्टाएका थिए । उता भदिनी (भरत दाइकी श्रीमती, हाम्री भाउजू)लाई दोश्रो गिलासमै होसले छोड्नथालेपनि एउटा चोर औंला उठाएर “पद त्यसै काँ’ छोड्नु नि, ठीक भन्नुभो’” भन्दै श्रीमानलाई साथ दिंदैथि’न् । दुईजनाको जोडी कत्ति मिलेको । म पनि के कम, “हो-हो दाइ” भन्दै थिएँ, पछि त अलि लागेछ, हामी तीनजनालाई बोकेर लगी गाडीमा घर पुर्याएछन् ।
बजारमा हल्ला चाहिं धेरै सुनिने- ‘भरत आएपछि ऊमात्रै मोटायो, सँस्था दुब्लायो’, ‘संस्था अब चाँडै डुब्छ’, आदि-आदि । खै हामीलाई त त्यस्तो कहिल्यै लागेन । एकचोटि दशैंको बेलामा सँस्थाले नेपालमा के कार्यक्रम राखेको रहेछ, भदाका बूढाबूढी, खड्ग (सचिव) र म भएर सँस्थाकै टिकटमा गएका थियौं । मौका परेको बेला, दशैं पनि मनाएर फर्किइयो । नेपालको कार्यक्रममा चाहिं म सहभागी हुन परेन, खै भृकुटीमण्डपमा के को हो प्रदर्शनी थियो ‘रे ।
अरू मैले जानेको त, सँस्थाको काममा यताउति कुदिरहनुपर्ने भएकोले भदासहित तीनजनाको सवारीको तेलको जिम्मा सँस्थाले नै लिएको रहेछ । अनि बाहिर कोठाभाडा अरूलाई तिर्नभन्दा, सँस्थाको अफिस पनि सोही मूल्यमा आफ्नै ग्यारेजमा राख्ने व्यवस्था उनले मिलाएका रहेछन् । यसमा कोषाध्यक्षको पूरापूर सहयोग उनलाई मिलेको रहेछ । “भै’हाल्छ नि” भन्ने उनको थेगो नै, भदालाई जे काममा पनि कति सजिलो।
यस्ता हल्ला भदाको कानसम्म पनि नपुग्ने कुरा भएन । त्यसैले त, हामीलाई सम्झाउँथे – “यी बाहिर कुरा काट्नेहरू, मुख बजाइरहन्छन्, मैले सबैसँग कुरा मिलाइसकेको छु । भाइहरूले केही चिन्ता लिनुपर्दैन है?”
चिन्ता त आफैंले लिनुभन्दा पनि घरमै भेट्न आउनेरहेछन् । सोफाको खुट्टानेर पल्टिएर, आफ्नो खुट्टा चाहिं सोफाको हाततिर पुर्याएर दोस्रो घण्टा टिकटकमा सयर गर्न लागेको, ढोकामा “टिडिंग-टिडिंग” घण्टी बजाउँदै भित्र हानिए अध्यक्षका प्रत्यासी चिन्तामणि, आफ्ना एक अजँगका सहयोगीका साथ । यस्तो जोशले भित्र छिरे कि घरको ‘टमी’ कुकुर समेत डराएर डाइनिंग टेबुलमुनि लुक्नपुग्यो । अनि शुरू भयो मेरो घरको झ्यालबाट देखिने बेलीब्रिजभन्दा लामो उनको बेलीविस्तार ।
भदा पदमा आसिन भएपछि मैले चाल पाएका मात्र हैन कहिल्यै नसुनेका अनेकौं काण्डका(उनको शब्दमा ‘मनपरी’) चाँग उनले लगाइदिए । मैले सानोमा विध्यालयमा भाग लिएको वक्तृत्वकलाकै झल्को दिने उनको एकल प्रस्तुतिका मुख्य अँशहरूमा उनी रोक्किएर मलाई हेर्थे, र त्यहींबेला उनको सहयोगीले पनि मसँग आँखा जुधाउँथ्यो – “बुझिस्?” को शैलीमा । दायाँपट्टी उनी लगभग मेरै कदका भएकोले थोरै टाउको घुमाएपनि पुग्थ्यो, तर बायाँपट्टी उनको साथीलाई हेर्न भने दोब्बर टाउको उचाल्नपर्ने । प्रतिद्वन्दी खेमाकालाई केको आसन ग्रहण गराइराख्ने भनेर बस्न पनि भनिएन- झन् आफैंलाई गाह्रो ।
उता सोफामा मेरो टिकटकको उहीं रिल चौथौपटक बजिरहेको थियो – “के तपाईंलाई थाहा छ ..?”
यो थकानयुक्त मन्तव्यपछि उनले भने – “ल सन्तोष भाइ कुरा जति गरेपनि त्यहीं हो, यसमा नबुझ्ने कुरा केही छैन । सँस्था तिम्रो पनि हो, जोगाउनपर्छ है ?”
यता विपक्षीले यसरी मोर्चा कस्दै गइरहेका, उता भदालाई भने आफ्नै ध्याउन्न थियो । दुई वर्षे कार्यकालको समापनको मौकामा उनलाई सँस्थाको तर्फबाट “मायाको चिनो” चाहियो ‘रे । धुनधानै माया गरेका रै’छन् क्यारे सबैले । भनेपछि गर्दिनैपर्यो, पसलमा पुगेर फोटो पठाएँ- “यस्तो खालको हुन्छ दाइ ?”
“सन्तु भाइ अलि गह्रुँगो खालको हेर्नु है, स्टेजमा बोक्दा पनि अलि मजा आओस् न” – जवाफ आयो ।
एउटा मोटो-मोटो अवार्डजस्तो देखिने राखेको रहेछ, त्यहीं लिएर बुझाइदिएँ ।
एक साँझ कुखुराको पखेटासँग ह्विस्कीको चुस्की लिन लागेको, प्यारीले ‘एयर फ्रायर’मा अलि बढी समय राखिछन् कि – छेउतिर कालै! त्यहीं बिनेर खाँदैथिएँ, फोनको घण्टी बज्यो ।
“ए.. सन्तु भाइ, यसपालि अधिवेशनमा हाम्रो ‘कोर’ मान्छेहरू कतिजना हुन्छन् हेर्नुपर्ने भयो है?” – भदा अलि तनावमा सुनिन्थे – “हामी समितिमा तीनजना, भाइ भइहाल्यौ, अनि खड्गले आफ्ना चार-पाँचजना साथीहरू बोलाउँछु भनेको छ – पुग्छ होला नि है? अलि दर्हो मान्छे चाहिन्छ के।”
“हुन्छ होला दाइ, उनीहरूको पनि त्यस्तो को नै छ र? खरो भनेको त्यै’ चिन्तामणिको साथी रै’छ, अस्ति घरमा पनि आएका थिए दुईजना” – मैले केही दिनपहिलेको कुरा उप्काएँ ।
“ए, घरैमा आए?”
“अँ दाइ, सम्झाउन आएको ‘रे! काँ’ म नेपालदेखिको आफ्नो दाइलाई छोडेर तिनीसँग लाग्छु होला त?” – साखुल्ले बन्दै भनें ।
“ठीक भाइ, मलाई यो ठाउँसम्म ल्याएको नै भाइहरूले त हो नि । बरू यो पालि बजारमा अलि गाइँगुइँ सुनिरा’को छु, भाइ पनि यसो जिम-सिम गएर अलि ज्यान बनाउन पर्यो, खड्गले जस्तै। तीन हप्ता बाँकी छ, हाम्ले आफ्नो तयारी त गर्नपर्यो नि।”
कहाँ जिमको झ्याउलो लाइदिए भदाले फेरि ।
केही वर्षपहिले खुब जोश चल्थ्यो र जान्थें, यताउति पुक्क-पुक्क निस्किएका पनि थिए । पछि जान छाडेपछि त झण्डै पूर्ववत् रूपमा फर्किए ।
बिहानै काममा जाऊ, थाकेर आइन्छ, फेरि जिममा गएर जीऊ दु:खाउनपर्ने, कहाँ सक्नु? दुईदिन गएर छोडियो ।
आखिर दिन ढल्किंदा-ढल्किंदै आइपुग्यो नेतृत्व छनौटसहितको वार्षिक साधारणसभा पनि । खै’ कसकसको वर्षदिनलाई पुग्नेगरी मालिस हुने हो भन्ने हल्ला व्यापक थियो । अध्यक्षज्यूले “चाँडै आउनु है सन्तु भाइ, व्यवस्था गर्नुपर्छ” भनेका थिए ।
१२ बजेको कार्यक्रम, म र कोषाध्यक्ष १० बजे नै पुगेर कुर्सी मिलाउने, ब्यानर टाँग्नेआदि गर्दैथियौं, केहीबेरपछि भदा आइपुगे ।
“खै खड्ग आइपुगेनन् ?” – भदाले सोध्दै गर्दा मोबाइल पनि हेर्दैथिए, एकछिन पूरै स्थीर हुनपुगे । “हैन के भन्छ यो” – एक हात टाउकोमा राखेका भदाको शुष्क बोली र हाउभाउले नै उनलाई म्यासेजमा आकस्मिक सुचना आएको भान हामीलाई भइसकेको थियो ।
“ए, भाइ हेर त, खड्गको त बिहान गाडी बेसरी ठोक्किएछ, अहिले हस्पिटलमा पुगेर फोटो पो पठाउँछ” । नीलो घेरा भएको अस्पतालको भित्ताछेउ बेड, त्यहीं पल्टिएका थिए भदाका प्यारा खड्ग । “ए, टाँका-साँका त केही लगाएको रै’नछ, जीउमा दखल पर्यो होला।” – फोटो हेर्दै मैले भनें ।
लामो सास फेरेर भदाले मलाई हेरे – “सन्तु भाइ, अब तिम्रै भर छ।”
यता हलको घडी आफ्नै गतिमा हिंडिरहेको थियो । बिस्तारै अरू सहभागीहरू पनि आउनथाले । चिन्तामणि, उनको साथी र उनीहरूका टोलीका अरू मान्छे पनि लस्करै भित्रिए । कार्यक्रम शुरू भयो ।
ठूलो सभाकक्ष, पूर्वपट्टि भित्तामा ब्यानर, अगाडि मञ्च र बोल्नलाई माइक । बायाँपट्टि टेबुलमा खादा, प्रमाणपत्र र मैले किनेको “मायाको चिनो” सजिएर बसेका थिए । छेउको कुर्सीमा कोषाध्यक्षको ल्यापटप तर झोला चाहिं हेलामा परेजस्तोगरी भुइँमा मिल्किएको थियो ।
प्रमुख अतिथि छोटो मन्तव्य राखेर “ल, मैले अब ‘फ्लोर’ खाली गरिदिएँ है” भन्दै विदा हुनुभयो ।
बाहिर वहाँकी छोरी सुरक्षालाई अलि सन्चो नभएकोले निस्किनुपरेको भन्ने सुनिएपनि वहाँ आफ्नै “सुरक्षा”को चिन्ताले उम्किनुभएको भन्ने सबैलाई लागिरहेको थियो ।
भित्र माहोल तात्दै थियो । पालो थियो – कोषाध्यक्षले आर्थिक विवरण प्रस्तुत गर्ने ।
अगाडि उभिएर खुब ठाँटसित उनले आफ्ना सातवटा ‘स्लाइड’ प्रस्तुत गरे । अन्त्यमा अघिल्लो कार्यकालभन्दा यसपटक सँस्थाको खुद वचत २% ले बढेको देखाइएको थियो ।
“ए, संस्था सकियो भनेको त जिउँदै रहेछ” – एउटाले बीचबाट टिप्पणी दियो – दुई-तीनजना गलल्ल हाँसे ।
भदाचाहिं कोषाध्यक्षलाई ‘स्याबास’ भनेझैं गरी ठूलै पुरूषार्थ भएजस्तो गरेर भीडमा हेर्दैथिए ।
त्यत्तिकैमा चिन्तामणिसँग टाँसिएर बसेको अलि अग्लो काँठीको मान्छे जुरूक्क उठ्यो- “एकचोटि अघिल्लो ‘स्लाइड’मा जानु त।”
“कुन ‘छ’ नम्बरमा?” – कोषाध्यक्षले हड्बडाएजस्तो गरेर सोधे ।
“अँ पाँच र छ मा।”
यी दुई ‘स्लाइड’मा भएका खर्चका फेहरिस्त थिए ।
“एकछिन है” – ती मानिस उठेका-उठ्यै थिए, सँगै हलमा अरूले पनि मोबाइलमा हिसाब जाँच गर्नथाले।
नभन्दै देखाइएको विवरणमा $५,००० अपुग देखियो ।
“ल, यो त भएन है ?”
“के हो यस्तो कोषाध्यक्षजी ?”
“सँस्थाको हिसाबकिताबमा पनि यस्तो लापरवाही गर्ने ?”
आ-आफ्ना ढँगका प्रतिक्रिया आउन शुरू भयो ।
कोषाध्यक्ष हातमा प्रतिवेदन समात्दै अर्को हातले “एकछिन, एकछिन …” भनिरहेका थिए, हल हल्लैहल्लाले भरिन लागिसकेको थियो ।
भीडबाट एउटाले एक हात टेबुलमा राख्दै, अर्को हातको चोर औंला नचाउँदै भन्यो – “यो हाम्रो पसिना परेको सँस्था, हामीले पनि धेरै बुझिसक्यौं । अब यो हिसाब-किताब के हो, हामीलाई जवाफ चाहियो । हैन भने यो टिमको कसैलाई छोडिन्न।” – चेतावनी कडा थियो । आखिर कोषाध्यक्ष पनि “थप विवरण ‘प्रिन्ट’ गरेर ल्याउने” भन्दै बाहिरिए ।
अब यी सबै आरोप/प्रत्यारोप/असन्तुष्टिको जवाफ दिने पालो आयो भदाको । उनले झलक्क सबैतिर हेर्दै आफ्नो स्पष्टीकरण शुरू गरे- “मैले अध्यक्ष बन्दा, सँस्था कहाँ थियो, अहिले कहाँ छ, मलाई धेरै कुरा गरिरहनुपर्छ जस्तो लाग्दैन ।
अब काम गर्ने मान्छेको कहिलेकाहीं गल्ती हुनसक्छ । त्यो अघिको विवरणमा के भएको हो म कोषाध्यक्षजी आएपछि वहाँलाई प्रष्ट पार्न लगाइहाल्छु ।
“ऊ त गयो, अब आउँदैन” – एउटाले मधुरो स्वरमा भन्यो ।
“त्यसमाथि, अब आउने कार्यकालका लागि, सबैको सल्लाहमा विधान फेरेर, म फेरि निर्वाचित भएर आएँ भने, सँस्थाको कूल प्रशासनिक खर्चको पाँच प्रतिशत रकम जिम्मेवार अध्यक्षको हैसियतले आफैंले व्यहोर्ने प्रतिबद्धता पनि तपाईंहरूसामु राख्न चाहन्छु।”
यति भन्दै उनले आशापूर्ण आँखा हलतिर घुमाए – ‘यहाँभन्दा बढी के चाहियो’ भनेझैं गरी । पातलो ताली बज्यो, मैले शुरूवात गरेपछि । ठूलो कोठामा तीनचारजनाको ताली त अनौठो सुनिनेरहेछ – टेबुलमा लठ्ठी ट्याक-ट्याक पारेजस्तो । अब बोल्ने पालो थियो, सचिवका हैसियतले खड्गको । तर उनी अनुपस्थित रहेकोले एकपटक पूर्वअध्यक्षलाई पनि बोल्न दिनुपर्छ भनेर कुरा उठ्नथाल्यो । भदालगायत हामीले रोक्न निकै प्रयास गर्यौं, तर धेरैको करकापले अगाडि ल्याउनैपर्ने भयो ।
“मलाई कुन अवस्थामा कसरी निकालियो सब्बै साथीहरूलाई थाहा छँदैछ”
भीडबाट एक-दुईजनाले थप्दैथे’ – “त्यो गलत भा’को हो” । मलाई भने उनको कुराले झोंक चलिरहेको थियो – रीस शान्त पार्न कहिले देब्रे हातको रबरको बाला चलाउँथें, कहिले “NY” लेखिएको कालो टोपी ।
त्यसैबखत एकपटक मैले हलभित्र नियालें । खड्ग नआएपछि सँगै आउने भनेका साथीहरू कोही आएका रहेनछन् । केही सहभागीहरू “यो सबै फर्जी हो” भन्दै निस्किंदै थिए, एउटाले जाँदै गर्दा कोषाध्यक्षको प्रतिवेदन हावामा मिल्काइदियो । हेर्दाहेर्दै त्यहाँबाट तटस्थ मानिसको बहिर्गमन हुँदैथियो । जनमत आफ्नै पक्षमा छ भनी ढुक्क रहेका भदा अल्पमतमा परिसकेको भान हुन्थ्यो भने हलमा थुप्रै अपरिचित अनुहारहरू चिन्तामणि बसेपट्टि देखिए ।
केहीबेरअघिको मेरो रीस रूपान्तरित भइ ‘आत्मसँरक्षण’मा परिणत हुनपुग्यो । आँखाहरूले अब भित्ताको घडी र मूलढोका हेर्नथाले ।
उता पूर्वअध्यक्षले भने आफ्नो गुनासोलाई झन् चर्को आवाजमा निरन्तरता दिंदैगए- “.. दुई वर्षमा अहिले सँस्थाको जुन हविगत भएको छ, त्यसको जिम्मेवार को ?” यति सुन्नासाथ अहिलेसम्म थामिएर बसेका भदा जुरूक्क उठेर जोशिएर भने, “कस्तो हविगत? तपाईंको पालामा के-कस्तो थियो हामीलाई थाहा नभएको हो र? मैले गरेको यत्रा काम ‘चाहिने’ नदेखेर, नचाहिंदो आरोप लगाउने तपाईं ?”
“आरोप” शब्द अलि जोड दिएर भनिएको थियो – दाहिने हातले टेबुल ठोक्दै । त्यसपछि दुई वाक्य थप्दा पनि उनले पटक-पटक टेबुल बजाए । (सँगसँगै गोलाकार पेटमा अड्न असफल बेल्टलाई पनि घुमाएर माथि सार्थे ।)
बारम्बारको टेबुल बजाइ विपक्षी खेमालाई हाँक दिएजस्तो भएछ ।
“ए, टेबुल चाहिं किन ठोकेको, तर्साउन खोजेको हामीलाई ?”
“क’ल्लाई तर्साउने, क’ल्लाई तर्साउने?” – भदा आफ्नो ठाउँबाट सुरिदैं हल्ला भइरहेको चिन्तामणि बसेको टेबुलनजिक के पुगेका थिए, उनको सहयोगीले देब्रे हातले भदालाई बेस्सरी धकेलिदियो ।
“अनिकालमा घिउ नखोज्नु, हुलमुलमा निहुँ नखोज्नु” भन्थे क्यारे, भदाबाट त्यसको ठाडै उलँल्घन भयो। यस्तै मौका कुरेर बसेका विपक्षीलाई के चाहियो- एकाएक उनलाई घेरामा पार्नखोजे । वरीपरी हौस्याउने/रमितेहरू छँदैथिए, यद्यपि त्यो अस्तव्यस्ततामा पनि अरू कसैले त हाम्रो पक्ष लिइदेला – झिनो आशा बाँकी थियो ।
कोलाहल/चिच्याहट बीचपनि त्यो भीडलाई बडो यत्नले छिचोल्दै, अनि भदाको करीब दशकदेखिको नुन(/सुकुटी/तोम्बा/रम/केही पकेट खर्च आदि)को सोझो गर्दै म भित्र दाखिल हुन भने सफल भएँ – तर दृष्य सोचेभन्दा भयावह रहेछ ।
कहाँ हामीले दुई घण्टा लगाएर मिलाएको सभास्थल, अहिले रत्नपार्कको भालु नचाउने मेलाजस्तो भएको थियो – बीचमा खाली ठाउँ राखी नचिनिएका मानिसहरू वरीपरी गोलो घेरा बनाएर उभिएका । दु:खको कुरा रमाइलो गराउने एउटै भालु चाहिं अरू कोही नभएर बीचमा झोक्राएर बसेका हाम्रै भदा थिए । अनि उनीमाथि जारी कारवाहीलाई विराम दिंदै सबैका आँखा अब मतिर तेर्सिए – मेरो ठुटे कपालसमेत डरले ठाडो भयो ।
हामी दुईका आँखा जुधे ।
“यसले तिमीलाई चिन्छ ?” – पूर्वअध्यक्षले मलाई केरकारको शैलीमा सोधे ।
“अँ, सामान्य चिनजान हो” – मैले जवाफ दिएँ।
भदाले मुख बाएर मलाई हेर्दै भने – “सन्तु!”
चिन्तामणि र अरू एकाधले मलाई चिन्ने भएपनि भदाको डुब्दै गरेको डुँगाबाट त्यसबेला सकुशल उत्रिने मेरो त्यो अन्तिम प्रयास थियो ।
“कहिलेकाहीं यस्तै पार्टी-सार्टीमा भेट हुँदा सन्चो-विसन्चो सोधिन्छ” – मैले प्रष्ट्याउन खोजें – “वहाँलाई यहीं आएर चिनेको मैले” ।
भदाको आर्तनाद सुनियो – “सन्ते..।”
आफ्नै ज्यानको जोखिम हुने बेला, अर्काको जिम्मा त के लिन सकिन्थ्यो ।
अचानक पन्ध्र वर्ष पहिले क्याम्पसकी एक साथीलाई घुमाउन लैजान केही दिनको लागि मोटरसाइकल माग्दा भदाले अफ्ठ्यारो मान्दै दिएको पुरानो सवारीले बीच बाटोमा धोका दिइ बन्न लागेको प्रेम तोडिएको, एकचोटि के कुरामा हो उनले झर्केर “पर्दैन” भन्दा दिनभरी साह्रै चित्त दु:खेका प्रसँग झल्याँस याद आए – मेरो चेतन मनले उहिल्यै बिर्सिसकेका ।
अनि ठूलै आँट निकालेर कार्यक्रमका सभापति भदालाई प्रश्न राखिदिएँ -“संस्थाको रकम हिनामिना गर्ने तपाईं ?”
यो सुन्दा भदा हाम्रो घरअगाडिको फोटोपसलको फ्रेममा राखिएको तस्वीरजस्तै भए – अचल । तर मेरो त्यो जुक्तिले बढीमा ३० सेकेन्डजति काम गर्यो होला – चिन्तामणिको साथीले कुरा फुकाइहाल्यो-“यो उम्किन खोज्दैछ, यसलाई सबै थाहा छ । अस्तिन ‘फ्री’ टिकटमा उड्ने यो पनि हो” – उसको कुरा सकिन पाएको थिएन “यल्लाई” भन्दै एक हुल मतिर आइलाग्यो । त्यो घुइँचो छिचलेर निस्कँदा क-कसको काँध, कसको टाउटोमा टेकियो मतलब भएन, धन्न हलको ढोकाबाहिरसम्म कसैगरी पुगियो ।
अब मुख्य चुनौति थियो भुइँतलासम्मको लहरै खुड्किलो । हुत्तिंदै बीचसम्म पुगें । पछाडि हेरेको त चारजना पछि लागेका, एउटाले उहीं ‘मायाको चिनो’ लिएर बसेको रै’छ। हाम्फालेर अन्तिम खुड्किलोमा पुगियो । बाहिर निस्किनलाई ढोकाको ‘ह्यान्डल’ मा समातेर खुल्दा “क्युँ” आवाज मात्र के आएको थियो कोट, सर्ट, गन्जी हुँदै छालाको तह समेत पार गर्दै एउटा गह्रुँगो वस्तुले ढाडको हड्डीमा हान्यो । एकछिन त गोली नै खाइएछ कि जस्तो भयो । हात ह्यान्डिलमै, घुँडाले भुँइ टेके । अर्धमूर्छित अवस्थामा पनि कताकति कसैले “लाग्यो-लाग्यो” भनेको सुनिन्थ्यो – अपराधीहरू । फेरि तल झरेर भदाकै हालत गराउलान् भनेर सकीनसकी निस्केर जीऊ जोगाइयो ।
कार्यक्रम यो गतिले सकियो, धन्न हामी कोही चाहिं नसकिएको । भदाले अस्पतालको लामै बसाइ पाएछन् – प्रहरीले सोध्दा बाथरूममा लडेको भने ‘रे । मैले सोध्नै परेन मोबाइल/फेसबुक सबैतिर ‘ब्लक’ गरिसकेछन् । खड्गलाई भने भोलिपल्टै ठीक भएछ – बिहानै भदालाई भेट्न पुगेका । आफूले चाहिं भदाले अपेक्षा गरेको ‘मायाको चिनो’ अनिच्छापूर्वक ग्रहण गरियो – पछाडिबाट ।
प्यारीले जन्मदिनमा दिएको टाउकाको “NY” टोपी पनि भागदौडमा कता खस्यो थाहा भएन । दिक्दार भएर लागें उहीं “वाइन गार्डेन” मा । दु:खाइको औषधी लिए पनि चस्किने भएकोले सुस्तरी हिंड्दै एउटा गिलास लिएर कुनामा बसियो । पल्तिर एउटा टोली गफिंदै रहेछन् – “हैन, यिनीहरूको यो सभा हो कि के हो, दुई वर्षको सट्टा तीन वर्षको राख्नपर्ने, कमसेकम ठोकठाकमा पर्नेहरूको जीऊ अलि विसेक त हुन पाउँथ्यो ।”
“अर्कोचोटिलाई ?”
“हा..हा..हा..हाऽऽ..”
‘झन् यता आफू अगती परेर, ढाड चलाउँदा पनि भित्र दु:खेको बेलामा यस्ता वचनले घाउमा कागती निचरेजस्तो हुँदोरहेछ’ – मनले आफैंसँग बात मार्यो ।
यस्ता बैठक तपाईंलाई कहिल्यै नपरून् । बरू कसैले मेरालागि अमूल्य त्यो “NY” लेखिएको कालो टोपी भेट्नुभयो भने सधन्यवाद मायाको चिनो प्रदान गर्नेछु ।
०००
basantaprabin@gmail.com
जन्मस्थानः गुल्मी, नेपाल
हालः सिड्नी, अस्ट्रेलिया
Subscribe
Login
0 Comments
Oldest






































