अनिल कोइरालाउमेर भनेकै यस्तै हो
हाम्रो प्रेम चल्दै चलेन, नासपातीको बोटमा स्याउ फलेन, किनकि मलाई थाहा छ, यो उमेर भनेको यस्तै हो कुकुरको पुच्छर बाँङ्गो देख्दा पनि, हाँसो लाग्छ भनेको जस्तै हो ।

अनिल कोइराला :
मेरा आंखा गएका थिए जसमा
देख्ने गर्दै सधै लोकल वसमा
लोकल वस न हो,
असाध्यै ‘प्याक’ हुन्थ्यो
कहिले देखिने कहिले छेकिने,
दुवैलाई ‘ऱ्याक’ हुन्थ्यो ।
मेरो नजिकैको सिट खाली हुन्थ्यो
अब त्यहाँ वस्ने उनकै पाली हुन्थ्यो
सँगै वस्थ्यौं तर कुरा नहुने
अनजानमै भए पनि,
कहिले उनले मलाई त,
कहिले मैले उनलाई छुने ।
रिस उठ्थ्यो अरूको दाउमा,
पिर पर्थ्यो उनको ओर्लने ठाउँमा,
तर अकस्मात्,
उनलाई लोकल बसमा भेट्न पाइन
आँखाको अनि मनको प्यास मेट्न पाइन ।
केही सिप नलागी निष्कर्ष निकालें
मलाई उनको चोलो मन परेको थियो
निलो रङ्को सारी मन परेको थियो
शायद उनलाई मेरो जुगा मन परेको थियो
फ्रेन्चकट दाही मन परेको थियो ।
त्यसैले त न उनीसँग माया बस्यो
न विछोडमा दुईथोपा आँसु खस्यो
न त उनलाई ‘बोर’ भयो
न त मलाई ‘भूर’ भयो
हाम्रो प्रेम चल्दै चलेन,
नासपातीको बोटमा स्याउ फलेन,
किनकि मलाई थाहा छ,
यो उमेर भनेको यस्तै हो
कुकुरको पुच्छर बाँङ्गो देख्दा पनि,
हाँसो लाग्छ भनेको जस्तै हो ।
०००
पाल्पा, हाल अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































