ईश्वर पाेखरेलआवरणमा लुकेको ‘मु.’
दसैंको मुखमा यत्रो रकम गमर्क्याउन पाएकाले यसपालिको दसैंमा यी ज्वाइँचेलाले दक्षिणामा खासै धेरै रकमको आशा नगर्लान्। यसका लागि भैरव पुरस्कार गुठीलाई धन्यवाद भन्नुपर्छ – 'धन्यवाद !’
ईश्वर पोखरेल :
साहित्यतर्फ रुचि निर्माणका दृष्टिले मेरा प्रारम्भिक दिन थिए- ती।
भर्खरै द्यौसी खेलिएको थियो। द्यौसीमा समाजमा पहिचान भएका युवाहरूको बाहुल्यता थियो। द्यौसी पनि परम्परागत ढाँचाभन्दा अलिक फरक– नाचगानसहितको थियो, बाजागाजाको पनि राम्रै जोरजम्मा थियो। त्यस द्यौसीको मूल नारा थियो– ‘पुस्तकालय निर्माण।’
त्यतिबेला पुस्तकालय भनेको के हो भन्ने तिनपाटनका धेरैलाई थाहा थिएन। त्यसैले पुस्तकालय स्थापनाका अभियन्ताहरू आँगनमा द्यौसी पुग्नुअघि नै घरघर पुग्थे र घरमूलीलाई पुस्तकालयका बारेमा कन्भिन्स गर्थे। परिणामतः द्यौसीमा राम्रै रकम जम्मा भयो। अनि त्यही रकमले पुस्तकालयका लागि किताब किनियो। धेरैजसो रुसी र चिनियाँ साहित्यका किताब थिए। केही मार्क्सवाद र माओ विचारधारालाई बुझाउने किताब थिए, अनि केही साहित्यिक मूल्यका हिन्दी र नेपाली किताबहरू पनि थिए ।
पुस्तकालयले व्यवस्थित स्वरूप ग्रहण गर्न बाँकी नै थियो। त्यही बीच काकाबा श्री रामहरि पोखरेलले दुइटा किताब ल्याउनुभयो – १) तरुणतपसी, २) घुम्ने मेचमाथि अन्धो मान्छे।
‘तरुणतपसी’ पढ्नका लागि पाण्डव भिनाजुले शाखाजोर लैजानुभयो। ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ हाम्रै घरमा रह्यो। काकाबालाई यस संग्रहका कविताहरू औधी मन परेका थिए। त्यसमा पनि ‘मेरो चोक’ र ‘मैनबत्तीको शिखा’ उहाँ दोहोर्याइरहनुहुन्थ्यो।
राम्रो लागेका कुरा पढिसकेपछि काकाबा कसैलाई सेयर गर्न चाहनुहुन्थ्यो। तर गर्ने कसलाई ? पछिल्लो पुस्तामा अलि हुर्किएको र केही पढेको म नै थिएँ। तर म ती दुवै कविता बुझ्न सक्ने भइसकेको थिइनँ।
काकाबा बुझाउन खोज्नुहुन्थ्यो। म केही बुझे जस्तो, केही नबुझे जस्तो अवस्थामा अलमलिइरहेको थिएँ। यही बीच उहाँले किताबको आवरण देखाउँदै भन्नुभयो, “यो चित्र हेर्। आवरणका चित्रले खास अर्थ बोकेका हुन्छन्। चित्रमा सन्निहित अर्थलाई पनि बुझ्न सक्नुपर्छ। यहाँ हेर्, यी ‘मु.’। ‘मु.’ को अर्थ मुखिया। मुखियाको अर्थ टेकवीर मुखिया। यो चित्र टेकवीर मुखियाले बनाएको हो।”
त्यसै दिनदेखि म किताबको आवरणमा रहेको चित्रमाथि झोक्रिन थालेको थिएँ। त्यो चित्र कसले बनाएको हो भन्नेतर्फ पनि रुचि जान थाल्यो। आवरणमा टेकवीर मुखियाको ‘मु.’ कता लुकेको छ भनेर म खोज्न थालेँ।
गत १८ असोज २०८३ का दिन यिनै टेकवीर मुखियालाई ‘भैरव पुरस्कार गुठी’ले एक लाख एक हजार एक सय एघार रुपियाँको ‘भैरव वाङ्मय पुरस्कार- २०८३’ बाट पुरस्कृत गर्यो। हिजो पुरस्कृत हुनेमा हेटौँडा निवासी वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजाल र हास्यव्यङ्ग्यकार देवीप्रसाद चापागाई पनि थिए । रिजाल एक लाख एघार हजार एक सय एघार रुपियाँको ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार- २०८३’ र चापागाई एकाउन्न हजार एक सय एघार रुपियाँको ‘भैरव प्रतिभा पुरस्कार- २०८३’बाट पुरस्कृत भएका थिए ।
टेकवीर मुखिया कर्णवीर सुनुवारका छोरा हुन् । कर्णवीर भारतीय सेनामा मुखिया थिए, सबैले उहाँलाई ‘मुखिया दाइ’ भन्थे। मुखिया दाइका छोरा टेकवीरले पनि नामको पछाडि ‘सुनुवार’ लेखेनन्; ‘मुखिया’ लेखे र टेकवीर सुनुवार होइन; टेकवीर मुखिया भए ।
मुखिया मदन पुरस्कार गुठीको चार लाख रुपियाँको ‘जगदम्बा–श्री पुरस्कार- २०७९’ बाट सम्मानित व्यक्तित्व पनि हुन् ।
मुखियाले लामो समय साझा प्रकाशनमा काम गरे । मेरो आफ्नै भाइ पोष्टराज पोखरेल पनि साझा प्रकाशनमै थियो। साझा प्रकाशनमा भाइहरूको प्रसंग उठेपछि म धेरै साथी र भाइहरूलाई सम्झिन्छु – दामोदर कोइराला, बाबुराम पराजुली, सुशील अधिकारी आदि। तिनताका म आफू पनि पटक–पटक साझा प्रकाशन पुगेको छु। तर मुखिया दाइसँग मेरो सम्बन्ध देखादेख र सामान्य परिचयमै सीमित रह्यो।
आफ्नो मन्तव्यमा रामकुमार पाँडे भन्दै थिए – “टेकवीर मुखिया ९३ वर्षका हुनुभयो। केही वर्षदेखि हिँडडुल गर्न छाड्नुभएको छ। तर उहाँमा अझै सिर्जनात्मक जोस छ, आँखामा अझै उत्साह छ।”
टेकवीर मुखियाको तर्फबाट उनका छोरा समृद्ध मुखियाले पुरस्कार ग्रहण गरेका थिए ।
(यो आलेख तयार पार्दापार्दै भोजराज रेग्मी ‘मुखाले’ले मुख छाडे- “सामान्य भलाकुसारी पनि गर्न नपाई कार्यक्रमबाट किन बीचैमा लुसुक्क हिँड्नु हुन्छ तपाईं ?” खासमा मलाई अर्का रेग्मी रत्ननिधि रेग्मीले देखेछन् । भनी हाले- “तपाईसंग मेरो पुरानो हिसाब बाँकी छ ।” हिसाबको कुरा उठेपछि नफर्स्याईकन भयो ? मैले रत्ननिधिलाई पछ्याउनु परी हाल्यो । अब यी सबै फेहरिस्त ‘मुखाले’लाई भनूँ ?)
आर.सी. रिजालको बारेमा लक्ष्मण गाम्नाङ्गेको कथन टिपेर नरनाथ लुइँटेल भन्दै थिए– “बासुदेव शर्मा लुइँटेल आफूलाई ‘भूतको भिनाजु’ भन्थे। भूतको भिनाजुले ‘भूतको सालो’ भने चिनाएनन्; नचिनाईकनै गए । तर हामीले चिन्यौँ। ‘भूतको सालो’ यिनै आर.सी. रिजाल हुन्। कुनै रचनात्मक काम लागेपछि भूतले छाड्ला, यी छाड्दैनन्।”
रिजाल आफैंले हेटौँडामा स्वर्गीय भैरव अर्यालको शालिक निर्माणको रोचक कथा सुनाए ।
आर.सी. रिजाल २००९ चैत्र ११ गते मकवानपुरगढीमा जन्मिएका हुन् । रिजाल सिस्नुपानी मकवानपुरका संस्थापक हुन् । हास्यव्यङ्ग्य तथा अनुवाद लेखनमा सक्रिय रिजाल ‘कवि बन्ने लहडमा’(२०२८) शीर्षकको व्यङ्ग्य निबन्धबाट हास्यव्यङ्ग्यमा उदाएका हुन् । रिजालको पहिलो प्रकाशित कृति ‘खरानीभित्रको आगो (लघुउपन्यास, २०३६) हो । यस अघि ‘भैरव प्रतिभा पुरस्कार- २०५८’, ‘पारिजात सम्मान- २०६७’ आदिबाट पुरस्कृत रिजालका ‘कुकुरको पुच्छर’ (२०५५), ‘कण्ठलङ्गौटी’ (२०५७) ‘र हाकिमको खप्पर’ (२०६३), मौलिक हास्यव्यङ्ग्यात्मक कृति हुन् । ‘भोलारामको आत्मा’ नेपालीमा अनुवाद गरी रिजालले हास्यव्यङ्ग्यमा योगदान पुर्याएका छन् ।
दसैंको मुखमा भैरव पुरस्कार गुठीले यी हास्यव्यङ्ग्यकारहरूलाई पुरस्कृत गरेको छ। मुखिया र चापागाईको ससुरालीका बारेमा मलाई मेसो छैन; रिजालका ससुराली भने पोखरेल हुन्। म आफू पनि पोखरेल। भैरव पुरस्कार गुठीले पुरस्कार भनेर यी प्रतिभाहरूलाई अंगालोभरि रकम दिएको छ। दसैंको मुखमा यत्रो रकम गमर्क्याउन पाएकाले यसपालिको दसैंमा यी ज्वाइँचेलाले दक्षिणामा खासै धेरै रकमको आशा नगर्लान्।
यसका लागि भैरव पुरस्कार गुठीलाई धन्यवाद भन्नुपर्छ – ‘धन्यवाद !’
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































