सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

काठमाडौं, माइक्रोबस र सास्ती

यो भीडलाई देख्दा पनि अचम्म लाग्छ । मान्छे र गाडी बराबर भएपनि नपुग्ने । लगभग दुईघण्टापछि मैले दिएको भाडाको काम तमाम भएछ ।

Nepal Telecom ad

अनिल कोइराला :

एउटा विचारगोष्ठीमा आफ्ना अचारजस्ता विचारहरू ओकलेर म ठ्याक्कै नेपाल वायुसेवा निगमको भवननेर चोकमा भोकभोकै ठिङ्ग उभिएको थिएँ । ‘नेपाली टाइम’ भन्दै दुईघण्टा ढिलो पुग्दा नास्ता छुटेछ । गाडी नपाइने चिन्ताले हतार-हतारमा सडकपेटीका फलामे बार नाघ्दै यहाँ आइपुग्दा साँढेचार बजेको थियो । यै ठाउँमा चारबजेपछि मान्छे र गाडीबाहेक अरु चीज देख्न त तुरुन्तै आँखा अस्पताल गैहाल्नुपर्ने भएको हुनुपर्छ । तर सबैकुरा बिर्सेर ‘पूरा घुम’ गर्ने हो भने नेपाल वायुसेवा निगमको सुलुक्क परेको भवनले हामीलाई नै पुर्लुक्क हेरिरहेको देख्न सकिन्छ । विचरो के गरोस् ! यतिधेरै मान्छे देख्दा उसको मन खिन्न हुँदो हो । त्यसमाथि गाडी नपाएर तानातान र हानाहान भएको देख्दा आफ्नै अपमान भएको भान हुँदो हो, तुरुन्तै सबैलाई वायुसेवा टक्र्याएर मेवा खाने इच्छा हुँदो हो तर आफनै सेवाले हावा खाइरहेको स्थितिमा के नै पो गरोस र । बस् कोलाहल र धुलो-धुवाँको बिचमा बसेर टुलुटुलु हेरिरहने मात्रै हो ।

निगमलाई विचरा भन्दै यात्रु र खलाँसी करा’को ठाउँतिर आँखा हुत्याएँ । पाँचजनासम्म आरामले बस्न मिल्ने तीनजनाको सिट प्याक भैसकेछ । बाह्रजनासम्म अट्ने माइक्रोवसमा अठारजनाले त दलहरूले जस्तो वाध्यात्मक सम्झौता गरिसकेछन् । ढोकाबाहिर छत्तीसजनाले तालमेलको राजनीति गर्न खोजेका रहेछन् । खलाँसी साहेबले झर्किदै र चर्किदै चिच्याइरहनुभएको थियो- “अलि भित्र जानुस् न । त्यत्रो खाली छ ।” कुनचाहिँ खलाँसी बोल्नुहुन्छ र हाँसी हाँसी । धन्न वाध्यताले भएपनि सुन्नैपर्ने शब्दहरू ओकल्नुभएन । म पनि आफ्नो गन्तव्यमा पुग्न त्यही भव्य भिडभाडवाला गाडीमै अट्नुपर्छ । आफू ठिटी भएको भए त कुनै ठिटोको काखमै बसेर गैदिन्थे । आफूलाई काखमा को मुखले राखोस । यत्तिकैमा गाडीभित्रबाट आवाज आयो “हैन ! टाउकामा राख्ने हो कि क्या हो ?” खलाँसी साहेबले झन् चर्को स्वरमा अर्को वाक्य थप्नुभयो- “एक्लै जाने हो भने ट्याक्सीमा जानुस् ।” बिचरी महिला चुप लागिन् । बोर्डिङ स्कूलकी शिक्षिका होलिन् । एक महिनाको तलवले डेढ महिनालाई माइक्रो भाडा पुर्‍याउनु पर्छ भन्ने कुरो दिनदिन हातभरि टन्न पैसा बोक्ने खलाँसी साहेबलाई के थाहा ?

कसैले काँध थापिदियो भने त गैहालिन्छ नि भन्दै म पनि धकेलाधकेल ठेलमठेल गर्दै पुगेँ ढोकैमा मेरो खप्पर बलियो रहेछ, दुईजना यात्रु “हेत्तेरिका !” भन्दै ओर्लिए । त्यै मौका छोपेर मैले चौका हानिहालेँ । टाउको बङ्ग्याउँदै भिन हुलिएँ । पछि कुरो बुझ्दा बल्ल थाहा भयो यहीँ ओलनुपर्ने विचराहरू उक्लने मान्छेले ठेलेर ओलने सकेनछन् । महिला ट्राफिक नानीले तिरिरिरि पारेको मैले ठ्याक्कै सुनेँ । गुरु महोदयले सुन्नु भयो कि भएन मैले मेसो पाइन तर उहाँले ट्राफिक नानीलाई आँखा झिमिक्क पार्दाखेरि ट्राफिक नानी मुसुक्क हाँसेको चाहिँ मेसो पाएँ ।

कर्मथलो एउटै भएकोले होला शायद राम्रै चिनजान रहेछ । पुनः दुईचारचोटि सिट्टि तिरिरिरि पारिन् । गाडीभित्र थुनिएका वाहेक अरु कसैद्वारा सुनिएन । बेकारमा ध्वनि प्रदूषण बढाउनलाई मात्र किन ट्राफिकको व्यवस्था गरिएको होला जस्तो लाग्यो । ढोकामा भिड गरेका लगभग आधाजति अटाएपछि खलाँसी साहेबले गाडीको ढोका ठटाउनुभयो । ट्राफिक नानीको सिट्टिले समेत नगुडेको गाडी खलाँसी साहेबको दुई थप्पडले कुदिहाल्यो ।

ट्राफिक नानीले भनेको नमानेपनि खलाँसी साहेबले भनेको झ्याप्पै मान्नुभया गुरु महोदयले । यस अर्थमा खलासी साहेबहरूलाई नै ट्राफिक बनाइदिए काइदा होलाजस्तो लाग्यो । यत्तिकमा पुनः खलाँसी साहेब चिच्याएको आवाज आयो “अर्को दिनुस् त ! या खुइलिएको नोट म लिन्न ।” यात्रुले भने- “गाडीमै हिँड्दा पाएको नोट हो, त्यै लिनुपर्छ, मैले पनि अर्को दिन्न ।” यो प्लास्टिकको नोटले साह्रै झ्याऊ गराउँदाे रहेछ ।

प्लास्टिकको प्रयोग कम गर्ने विकसित राष्ट्रहरूलाई चकफिल पार्न हामीले प्लास्टिककै नोट बनाइदियौँ । “उहिलेका कुरा खुइले” भन्ने उखानलाई समेत पछार्दै अहिलेक चलनचल्तीका नोटहरू खुइलिएर अनुहारै नचिनिने भैदिन्छन् । मसँग पनि त्यस्तै खुइलिएको नोट रहेछ । उनीहरूको झगडाको बीचमा आफू तगडा बनेर सुटुक्क दिएँ त्यही नोट धन्न केही प्रतिक्रिया आएन । मेरी दश रुपैयाँ चल्यो. अत्यन्तै हर्षित भएँ । एउटा हातले झ्यालको सिसा समातेपनि अर्को हातचाहिँ पाइन्टको पछिल्तिरको खल्तीमा राखिरहें ।

“पाकेटमारदेखि सावधान” लेखेको रहेछ ढोकामाथि, त्यसैलाई अनुशरण गरेँ । “काठमाडौँमा मान्छे धेरै छन् कि गाडी ?” भनेर कसैले सोध्ने साहस गर्‍यो भने कसले उत्तर बजार्न सक्ला र । तर यो भीडलाई देख्दा पनि अचम्म लाग्छ । मान्छे र गाडी बराबर भएपनि नपुग्ने । लगभग दुईघण्टापछि मैले दिएको भाडाको काम तमाम भएछ । चारजनाको बीचमा च्यापिएको शरीर तान्न खोज्दै खलाँसी साहेबलाई ढोकामा एक थप्पड हान्न लगाएँ ।

“ह्याँ रोक्न मिल्दैन” भन्दै गुरु महोदय चिच्याउनु भयो । मान्छे चढाउन यो मिल्छ जहाँ पायो त्यहीँ, ओराल्न कहाँ मिल्छ त । मलाई थाहा त थियो तर ‘स्टप’ लेखेकै ठाउँमा ओर्लन खोजेको मात्र हुँ । गाडी दुईसय मिटर अगाडि पुगेर एक यात्रुले हात उठाएको ठाउँमै ठ्याक्कै रोकियो । लगभग अढाई घण्टामा आफ्नो गन्तव्यमा आइपुगेछु । हिँडेरै आएको भए त यतिखेर पक्कै सुत्ने बेला भैसक्थ्यो ।

०००
काडमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी