साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोकिलनाथ तथा चुँइठीदेवी साहित्यिक पुरस्कार

यो खबटो जस्तो ज्यान देखेर सारा मान्छे गिलिल्ल हाँसे । हिँउदको बेला पसिनाले म भिज्न थाले। खुट्टा लिगलिग थिए, तर पनि म अघिल्तिर गएँ र चारदशक पहिले सुनेर कण्ठ पारेको एउटा गजल सुनाएँ ।

Nepal Telecom ad

डा. गोविन्दराज भट्टराई :

आज यो दुःखी कविको मन एकतमासको हर्षले भरिएको छ। यस्तो अवसर यो जिन्दगानीमा कमै आउँछ। आज मैले “कोकिलनाथ तथा चुँइठीदेवी अन्तर्राष्ट्रिय ढिकी साहित्यिक पुरस्कार पाउने दिन आएको छ। यो पुरस्कार थाप्ने पहिलो व्यक्ति मै हुन गइरहेछु। साहित्यिक बन्धुहरू, यो पुरस्कारको बारेमा अलिकति परिचय दिनु म आफ्‌नो पहिलो कर्तव्य ठान्दछु।

“कोकिलनाथ तथा चुइठीदेवी अन्तर्राष्ट्रिय ढिकी साहित्यिक पुरस्कार” को संस्थापक मेरै छिमेकी केदारप्रसादजी, हुनुहुन्छ। “केदारप्रसादजी” भन्दा तपाईंलाई चिन्न मुस्किल पर्न सक्छ। गाउँमा तपाईंहरू जसलाई “कन्दने जेठो” भनेर पुर्कानुहुन्थो उनैलाई काठमाण्डुमा केदारप्रसाद भनिन्छ। कसरी त्यो कन्दने जेठो आज केदारप्रसाद भयो ? कसरी कन्दने जेठोसँग साहित्यिक पुरस्कारको नाम जोडियो ? भन्नुहोला यहाँहरू। आश्चर्य नमान्नोस्। म पुरस्कृत व्यक्ति त्यसको रहस्य खाेलिरहेछु।

पहाडमा बसिन्जेल कन्दने जेठो हरितन्नम थियो। जस्तै दुखमा पनि म उसको पुरेत, ऊ मेरो जजमान, हामी हाड र छाला जस्तै एक भएर कुध्थ्याैँ। २०३६ सालमा हामी मदेश झर्यौं। कन्दने जेठो दाउरा खेप्नलाग्यो, म आफ्‌नै व्यवसायमा। सखुवाका दाउरा बजारमा बेच्दा बेच्दै ऊ काँधे बन्यो। “काँधे यस्तो व्यक्ति हो जसले जंगलभित्र लुकेर चिराएका काठहरू काँधमा बोकेर रातभरीमै गन्तव्यमा पुऱ्याउँछ। गर्दागर्दै ऊ गोरुगाडामा चल्न थाल्यो।

२०३८ साल लाग्ने बेलासम्ममा कन्दने जेठाले कति बन्जाँचेसँग मित लगायो, कति रेन्जरहरूलाई घरैमा पाल्यो, कति पुलिसहरूलाई कुधाउन थाल्यो। त्यसै बेलादेखि उसको कवाडी ट्रकमा कति सखुवा र सिसौका लाथ्राहरू ओसारिए, कतिपल्ट सिमलका मुढा घिसारिए, त्यसको हिसाव नगरौं।

चालीसको दशक लाग्दा एकदिन कन्दने जेठाले प्रस्ताव राख्यो “गुरू काठमाण्डु जाने होइन ?” मैले पनि “हुन्छ” भनें । अनि दुवैजना नाइटबसमा चढेर सरर काठमाडौ आयाैँ । पैसावाल जेठासँग कुध्ने मलाई कुनै पीर थिएन। यहाँ अनेक चानस हेर्यो उसले, अनेक अनुसन्धान गर्यो । धानकोटको जंगल चाल्यो, गादोवरीका पाखा डुल्यो तर काठको विजिनेश अर्कै तरिकाले चलेको थियो । त्यसैले ऊ नयाँ व्यवसायपट्टि लाग्यो “सुन्दर भविष्य घरजग्गा किनबेच कम्पनी” खोलेर ।

अब सुन्दर भविष्यका अनेकन सपनाहरू त्यहाँ किनवेच हुनलागे । कलम मती बोकेर म बैदारी गर्न थालें, कन्दनेको। ऊ पहाड गयो एकपल्ट, अर्कोपल्ट मधेस झर्यो। ससुरालीको गैरी खेत बेचायो, मामाको बजारको घर, फुपाजुका गुजराँती भैसी, खप्परेको बारी, मुन्धुमेका हलगोरु, चन्दनेको सुनचाँदी, सारा महंगा सपनामा बेचाउँदै काठमाडौ ओसार्दै २ आना, ४ आना, ८ आना, एक रोपनीका टुक्राहरू बालाजुको बनदेखि चोभारको भीरसम्म किन्नेले नदेखे पनि उसले त्यो गरी रह्यो, किनाइरह्यो किनाइरह्यो… सपनाहरूमा मान्छे कुदाइरह्यो।

त्यसैबेलादेखि ऊ “केदारप्रसादजी” भइहाल्यो । त्यसैबेलादेखि उसले प्यान्ट सर्ट लगाउन थाल्यो, छालाका बुट किन्यो। औँला खुइल्याउँदै, खुट्टा बटार्दै हिंड्न सिक्यो। आँखामा सित्तली चश्मा भिरेर विस्तारै उसले कोटेश्वरको तीनतले घरमा जाहान परिवारहरू भित्र्यायो।

अब उसको घरमा सांसदहरू बस्नथाले जिल्ला सभापतिहरू, गाउँलेहरू। वीर अस्पतालमा उपचार गराउनेहरू, सर्वोच्चमा मुद्दा लड्नेहरू, विदेश जान पासपोर्ट बनाउनेहरू, उसकै माध्यम हुन लागे। प्रत्येक रात उसको कम्पाउण्ड, पर्खालको वरिपरि अनेकौ दुखीहरू, नाम्लेहरू, गरीवहरू, आफन्तहरू रोएको सुनिन्थ्यो। भुइँतलामा सुत्ने म उसको बैदार, ती दर्दहरू, आँसुहरू सुन्थेँ अबरसम्म।

एकदिन कमलादीको बाटो हिँड्‌दै थियौँ जेठो र म । झट्ट हाम्रै गाउँको ठिटो देखापर्यो “मौरीलाल”। “कता भान्जा ?” मैले सोधेँ। “मामाहरू नमस्कार” उ बोल्न लाग्यो, म कविता सुनाउन हिंडेको मामा। इ यो ठूलो बिल्डिडमा। (उसले प्रज्ञा प्रतिष्ठान देखायो) चियानास्ता पनि मजाले तोड्न पाइन्छ, फुर्सद भए जौं मामाहरू पनि । मैले जेठातिर हेरें, उसले आखाँ सन्कायो। हामी मौरीका पछि पछि लाग्यौं।

ठूलो हलभित्र अनेकौं मान्छेहरू टन्नै थिए। कन्दने जेठालाई २।३ जना नचिनेकाहरूले नमस्कार पनि गरे। मलाई र कमेज सुरुवालमा देखेर हेपेका होलान् ! कविता सुनाउँदै गए ताली
मार्दै गए। सुनाउँदै गए ताली मार्दै गए। अन्त्यमा एउटा जुंगेले माइकमा बोल्यो अरू कोही इच्छुकहरू हुनुहुन्छ कविता सुनाउने, आउनोस मञ्चमा स्वागत छ।

त्यो देखेर मेरो भित्रैदेखि जोशको राँको पलाएर आयो । देवीदेउता पुकारें । मनमनै देवीथानलाई एकजोर परेवा भाकें र जुरुक्कै उठ्‌दै चिच्याएँ । “म छु।” यो खबटो जस्तो ज्यान देखेर सारा मान्छे गिलिल्ल हाँसे । हिँउदको बेला पसिनाले म भिज्न थाले। खुट्टा लिगलिग थिए, तर पनि म अघिल्तिर गएँ र चारदशक पहिले सुनेर कण्ठ पारेको एउटा गजल सुनाएँ । कति सवाई भन्यो यो मुखले कति बालन, तर यो पहिलो कविता थियो । जानीफकार भन्छन् यो गजल मोतीराम भट्टका मितले लेखेर स्वयं मोतिरामकै हातबाट करेक्सन गराएका थिए। त्याे गजल अहिले कता पर्याे कता, धुइँधुइँती खाेज्दैछु,  भेटेपछि सुनाउँला ।

०००
सिस्नुपानीकाे दाेस्राे झाम्टाे (२०५५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्रले दुइटा दिने भो

गणतन्त्रले दुइटा दिने भो

डा. गोविन्दराज भट्टराई
एक टपरी मेरा इच्छाहरू

एक टपरी मेरा इच्छाहरू

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (२)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (१)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x