साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गायत्रीका शक्तिशाली व्यङ्ग्य निबन्धको पठन पश्चात्

स्वामी रिसाउलान् भनेर यहाँका अधमहरू सधैं पाउमा छन् । सबै नक्कल सबै पराधीन । रोड सडक उनीहरूका सामान ओसार्ने अथवा हाम्रा युवा गाडीमा चढेर विदेश लाग्ने सरल बाटा । गायत्रीले निर्भिकतापूर्वक ती कुरा उदाङ्गो पारेकी छन् ।

Nepal Telecom ad

प्रा. गोविन्दराज भट्टराई :

सबैभन्दा कठिन विषय हो लेख्नु, त्यो पनि मूल्या‌ङ्कनमा । अफ सारो ता व्यङ्ग्य वा हास्यमिश्रित कुराको मूल्याङ्कन । चेष्टाले अनेक जुक्ति जानेको हुन्छ । आफूले तेसो गर्न खोज्दा कैले त रही पनि हुन सक्छ । अरु नाचेको देखेर जिउ मर्काउँदा जस्तै काल हुन्छ ।

गायत्री बैनीलाई धेरै वर्ष आगे साहित्यिक कर्म गर्दै स्याङ्जा जाँदा तिहीं देखेँ, उनले साहित्य सिर्जना थालेकी थिइन् । हास्यव्यङ्ग्य लेखन गारो क्रिया, धेरै सिक्नलाई नै उटपट्याङको सङ्गत चाहिन्छ । तेसैले तेता जान रूचाउने नारी सष्टा शून्य डिग्रीनै भएको बेला उनले झटारो र बोका पालन निकालिसकेकी थिइन् । पछि लगातार कलेजमा क्यान्सर, बोक्सीमन्त्र र भरपाई निकालिन् । हास्यव्यङ्ग्यमा रुद्रघण्टी उनको छैटौं कृति हो। यो लेख्ने बेलामा रूद्रघन्टी फुकालेको पुरूषको रूप धारण गरेर लेखिछन्, किनभने पुरूषलाई अधिकांश घरेलु हिंसामा उत्रिने साहस रूद्रघण्टीले नै दिने रहेछ ।

अलिक आश्चर्य पनि लाग्छ सुरूदेखि नै उनले पुरूषको रूप धारण गरेर चोला फेरेर बोलेकी छन् । अधिकतर अपराध कर्ममा साहसी पुरुष भएकाले यो आवरणमा उनीहरूलाई परोक्ष रूपले खसी पारेको हुन सक्छ । यसरी उनले पुरुष पात्रलाई मु‌ड्क्याएकी हुन् ।

एउटा बिदाको दिन पारेर गहिरो गरी सास तान्दै गायत्री मन्त्र जप्न थालें । सुरुको कुरा थियो, कुकुर जात्रा । यसमा प्रवेश गरेसी यी आक्रमणका गोली छर्रा ननिख्रेसम्म नरिसाई रिल खोलिरहूँ लाग्यो र पाना पल्टाइरहें । घर भित्रेदेखि सुत्ने बेला बितो भनेको ता नौ बजेदेखि हो तर नसुनेजसरी घोप्टिरहें । त्यसो त यी शब्द बोलेको नसुनेको होइन, ‘यी मोबाइल र कम्पुटरले सप्पैको मासु खाने भए । तर त्यो रात मसँग ती जिनिस थिएनन, कसले कहाँ लुकाइदिएका थिए । बार बजेर उनान्साठी मिनेटमा सबै पठन सकेर सुत्न जाँदा ढोका बन्द थियो । क्यै गरे गरे पनि खुलेन । सारै ठुलो डाङडुङ गर्दा पनि छोराछोरीले था पाउने भए भनेर बैठक कोठाको सोफामा पसारिएर बाँकी रात गुजारें ।

तर भोलिपल्ट अबेर उठेसँगै म एति भन्न सक्ने भएँ- गायत्रीका निबन्धहरू व्यङ्ग्यप्रधान सिर्जना हुन् । व्यङ्ग्यलाई समाज चिनाउने अति प्रभावकारी प्राचीनतम स्रोत मानिएको छ । यसले मानव समूहको मनो जगत प्रस्तुत गरी अवाञ्छित मूल्य र ती उत्पादक समाजका शक्तिकेन्द्रहरू चिनाउँछ । गायत्रीका निबन्धमा तिनै तत्त्व छन् । बडो निर्ममतापूर्वक प्रहार गरेकी छन् । मलाई नै ताकिन् कि क्या हो, म यस्ता माथि नलेखूं कि क्या हो भन्ने पनि भयो । तर घरमा तेती धेरै पिटाइ नखाएको एक जना पुरुषले नै गायत्रीलाई चिनाउँदै भन्यो, बैनी एकदम असल छिन् । उनको प्रहार तीव्र भए पनि हाम्लाई हान्या नठान्नुहोला, रिस उठ्यालाई हो । दाजुले लेख्ता हुन्छ, म ग्रेन्टी भएँ । तेस्पछि मैले हुन्छ नि त लेखूँला’ भन्या थेँ।

व्यङ्ग्यका वैश्विक हतियारमा प्यारोडी, हास्य, अतिशयोक्ति, सन्निधि, विडम्बना आदि हुन् । लेखकले सबै प्रयोग गरेकी छन् । व्यङ्ग्यले समाजका विविध पक्षलाई आफ्ना मूर्खता, भुल, त्रुटि आदि देखाएर प्रभावकारी परिवर्तनको आवश्यकतातर्फ सङ्केत गर्दछ ।

विश्वमै सत्ताधारीहरू नै सम्पूर्ण अत्याचार र शोषणका प्रथम स्रोत हुन् । नेपाल ता सबैलाई उछिनेर अघि लागेको हुनाले नव पुस्तामा ‘राष्ट्र भन्ने तत्त्व मेटिंदै छ । किनभने देशलाई सुधार्न सकिएला भन्ने मनोबल अति दुर्बल भएको छ । सरकार अविवेक, पार्टी-गुन्डागर्दी, कमाउ र लुटमा व्यस्त छ । यी निबन्धमा सरकारको शक्ति उन्माद, पार्टीका मनपरी, लठैतहरूको कुशासन, भष्टाचार अनि समाजमा हुर्की बसेका यस्तै दुस्प्रवृत्ति, नैतिकताको स्खलन व्यक्तिको मात्र होइन राष्ट्रकै पतनकारी समस्या हो । यस्ता विषयमाथि प्रहार छ, व्यङ्ग्य छ । यस्ता विषयमाथि लेखेर के हुन्छ र सुन्ने कोही नभएको देशमा भन्ने लाग्छ, तर देखेको लेख्न सक्ने एउटा व्यङ्ग्यकार नै हुन्छ । उसले त्यस्तो टोन, भाषा शैली र अलङ्कारादिको विकास गरेको हुन्छ । त्यसैले होला प्राचीन ग्रिसेलीदेखि आज सम्मको साहित्यमा व्यङ्ग्य लेखको लामो सूची छ – होरेस, ओभिड, सेक्स्पियर, भोल्टेयर, पोप, ड्राइडन, गोगोल, थ्याकरे, क्यारोल, साकी, ओर्वेल गर्दै आजसम्म कति हो कति । नेपालीको आफ्‌नै सूची छ । त्यसकै समकालीनमा पर्छिन् गायत्री ।

अन्य विधाको लक्ष केवल स्थितिबोध हुन सक्छ, तर व्यङ्ग्यले बेथिति विसङ्गतिमा आक्रामक बाण हानी समाजसुधारको अपेक्षा राख्तछ । गायत्रीको प्रथम निबन्ध कुकुर जात्रामा हेरौँ-

देशकै राजधानीमा बसेका हुनाले होला यहाँका कुकुरहरूलाई अलिक विद्वान् मानिन्छ । जे कामकुरा गर्दा होस् आफ्‌नो राष्ट्रिय स्वाभिमानको कदर गर्छन् । जस्तो कि कहिलेकाहीं यहाँका कुकुरहरूको आसन ग्रहण कार्यक्रम हुन्छ, त्यहाँ गएको बेला पनि एक अर्कासँग लडिहाल्छन् । भाषण-ग्रहणको कार्यक्रम हुन्छ, त्यसमा एकले अर्कालाई आसन ग्रहणमा बसेको कुर्ची उचालेर टाउकामा नै ठोक्छन् । कहिलेकाहीं यिनीहरूको विकास हेर्ने कार्यक्रम हुन्छ, त्यसमा पनि विकास भन्ने कुरालाई देखेपछि लथालि‌ङ्ग पारिहाल्छन् । क्या कमालका छन् हाम्रा कुकुरहरू ।

यो सिधै देश सञ्चालकमाथिको आक्रमण हो तर अन्तिम वाक्यले देखाउँछ कसरी लेखकले अर्थ लाउनेमाथि जिम्मेवारी खन्याएकी छन् ।अर्को निबन्ध छ खुराफाती जुन चाहिं ह्रासोन्मुख समाजको एक सुन्दर गहना हो । लेखकले यसलाई एक अत्यावश्यक तत्त्वझैं गरी प्रस्तुत गरेकी छन् ।

-भेज, ननभेज सबैको स्पेसलमा मिल्ने, सानो ढोका वा झ्यालबाट सजिलै छिर्ने, रित्तै वा निकै हेभी भारी बोक्नेले पनि भिर्ने कमालको चिज, वस्तु हो यो खुराफाती। मलिलो मन, रुखो मन, बाँझो मन, नौनी घिउ जस्तो मन, ढुङ्गा जस्तो मनलगायत सबै खाले मनहरूमा मलक्कै मल्किने माल हो यो खुराफाती । भोको पेटमा पनि खान सकिने, अघाएको पेटमा पनि थप्न सकिने साहै लचकदार हुन्छ यो ।

खुराफातले नै देशको परिचय विकृत छ, नत्र किन यस्तो स्थिति हुन्थ्यो होला ! ब्रह्माले मान्छे सृष्टि गर्दा नै मानिसको मनभित्र खुसुक्क खुराफाती रस पनि घुसाइदिएको हुन सक्छ । हुन त ब्रह्मा पनि कम खुराफाती थिएनन् । विचार गरी ल्याउँदा इन्द्रकै पालादेखि, विश्वामित्रकै पालादेखि कुन्तीकै पालादेखि कृष्णकै पालादेखि उही बेलादेखि नै यो खुराफातीय परम्परा चलेर आएको रहेछ । गजब के भने, यो खुराफातीको पढाइ कुनै विद्यालय, महाविद्यालयमा हुँदैन । तर पनि हामी सबै यसमा पारङ्गत छौं । खुराफाती ज्ञानले परिपूर्ण छौं ।

यसैसँग मिल्ने अर्को निबन्ध छ, चाकरी । सरकारको नीतिले, दलालहरूको स्वार्थले देश रित्तिनै लाग्यो । चालिस कटेपछि निबन्धमा यही कुरा प्रकट छ-

जान खोज्नेलाई दिन सक्ने जति स्वदेशकै रेमिट्यान्स लिएर सधैंको लागि विदेशमा निर्यात गर्ने उद्योग खोल्नुलाई चानेचुने प्रगति मान्नुहुन्छ त ? जान पाउनेलाई पनि फाइदा, जान दिनेलाई पनि फाइदा, व्यापार जति सबै नाफामा, बेरोजगारको सङ्ख्यामा पनि कमी । यहाँभन्दा बढी फाइदा त अरू के गरेर होला र खै ?

हाम्रा विषयहरू अर्थात समस्याहरू ता सदाकालीन हुँदा रहेछन् । महाकविले अ‌ङ्ग्रेजीमा पुलिङ दि लेग्स अब हाइअर पिपल‘ शीर्षक निबन्ध लेखेका रहेछन् जसलाई मैले माथिका खुट्टा तान्ने प्रवृत्ति‘ शीर्षकमा अनुवाद गरेको थिएँ । आज पनि हामीलाई पिरोल्ने एउट तत्त्व त्यही छ, त्यसैले लेखक भन्छिन्, सबै जना एक जुट भएर खुट्टा तान्ने शुभ मुहुर्त हो यो । जसरी हुन्छ, जताबाट मिल्छ, जति सकिन्छ सबै मिलेर गर्ने काम भनेको उहाँहरूको खु‌ट्टा तान्ने नै हो ।

सहकारी खेती त्यस्तै भ्रष्टाचारको अर्को डरलाग्दो उद्योग नेपालमा फस्टाइरहेको छ । यसले गर्दा हामी अवाक् छौं । तर यो देश त्यस्ता बदनामीले संसारमै नाम चलाइरहेको छ । अर्को स्वाहा शीर्षक निबन्धमा यिनै भ्रष्टलाई यसरी सम्बोधन गरेकी छन् –

काम गर्ने कर्मशील, इमानदारहरू सबै हेलामा परून्, बेइमान, चोर फटाहा, डाँकाहरूलाई सधैंभरि मान, सम्मान र इज्जत कायम रहोस् – स्वाहा । देश लुट्ने लुटेराहरूलाई कर छुट मात्र होइन, सबै काम कुरा गर्न र गराउनलाई छुट दिइओस् -स्वाहा ।

जात्रा विषयक अर्को निबन्ध छ कुकुर जात्रा जस्तै तर मानव समाजका राजनीतिक सङ्गठनका सरकारका अनेक जात्रा हुन्छन् । त्यसै गरी कोरोना विषयक पेचिला दुई रचना छन् । सबैभन्दा घिन लाग्दो कुरो यो देश राजनैतिक कार्यकर्ताको भर्तीकेन्द्र भो, अझ चल्तीका शब्दमा झोलेको ।

आज नेपालमा यत्रतत्र सर्वत्र कार्यकर्ताको जागिर फस्टाउने अवस्थामा छ । जताततै सरकार नै सरकार । तल पनि सरकार, माथि पनि सरकार, बिचमा पनि सरकार । ती सरकारलाई तलमाथि गराउने, माथितल गराउने, दायाँबायाँ गराउने, बाँयादायाँ गराउने, उठाउने, बसाउने, हिंडाउने, दौडाउने – सबै काम गर्ने कामदारको केन्द्रबिन्दुमा छन् कार्यकर्ताका जागिरे । सरकारी षड्यन्त्रले खेल्ने धेरै ठाउँ छन् ।

हत्या हिंसा र असत्यको सहाराले विजयीहरू सरकारमा छन् । त्यसैले यो देशमा सङलो समाज स्थापित होला भन्ने आशा छैन ।
जनसाधारणले यसै पिसिएर मर्नु मात्रै । तिनै विचार बोक्नेहरूका सरकारको जगजगीले तिनीहरूका विकासको राप र तापले दुखी समाजका उपायहीन दुखी, दीनहीन जनहरू दिशाहीन भएर डरले डगडगी काम्दै छन् । यिनै सरकारको माथिल्लो तहदेखि समाजको तल्लो तहसम्म भोगिएका भयङ्कर कथाले सुशोभित छ सङ्ग्रह । समाजसम्म भोगिएका तिक्त कथाले यो अमूल्य सङ्ग्रह निर्मित छ । शिक्षा, संस्कृति, स्वास्थ्य सुशासन अर्कै ग्रहबाट भूतले फिंजाएका पसल जस्ता छन् । त्यसैले देश डुब्दै गएको आभास पाइन्छ । यो छिट्टै श्रीलङ्‌का र बर्मा हुन्छ, आफ्‌नो बजार सुक्ला भनेर चीन र भारतले यहाँ सियो उत्पादन गर्न दिँदैनन् । स्वामी रिसाउलान् भनेर यहाँका अधमहरू सधैं पाउमा छन् । सबै नक्कल सबै पराधीन । रोड सडक उनीहरूका सामान ओसार्ने अथवा हाम्रा युवा गाडीमा चढेर विदेश लाग्ने सरल बाटा । गायत्रीले निर्भिकतापूर्वक ती कुरा उदाङ्गो पारेकी छन् । निरीहहरूको स्वर सुन्ने कोही नभएको समय छ ।

प्रविधिले निल्न आँटेको सन्दर्भका दुई रचना छन्, आधुनिक भूतग्रेट बुक । अरू पनि स्वास्थ्य, शिक्षा र दैनिक जीवनका कष्टहरू, निरन्तर शोषण, यस्तै विडम्बना छन् । कोरोना कालका तीन निबन्ध छन् । एउटा छ कंस मामा जसमा कोरोनाका अनेक कष्टको रूप छ : बाँदरभन्दा लाखौँ गुणा साहसी र निडर त यी कंस मामा रहेछन् । आल्मोनियममा हामफाल्छन्, गाडीमा, साइकलमा, हवाइजहाजमा, ग्यासको सिलिन्डरमा, पानीको जारमा, लिफ्टमा, हावामा हुँदै सबैको फोक्सोमा सजिलै छिर्न सक्ने । न त कसैले देख्ने, न त कसैले थाहा पाउने ।

यसै अवसरमा भएका ठगी प्रयत्न र आडम्बर यस्ता छन् :
एउटा साबुन, एउटा केरा, एक माना चामल दिनको लागि लिने एक जना दिने पचासभन्दा बढी । त्यसमा पनि कसैले भाषण गर्ने, कसैले थपडी बजाउने, कसैले भिडियो खिच्ने । सामाजिक सञ्जाल यिनै फोटा र भिडियोले भरिने । यसलाई के नाम दिऊँ खै ? उच्च कोटिको आधुनिक जात्राभन्दा कसो होला कुन्नि ?

यस्तै प्रकारले मानिसका स्वार्थी र नीच स्वभाव सरकारको निन्दनीय स्वरूप र कसैले आवाज गर्न नसकिने स्थिति, गरेर पनि नसुनिने बानी यस्ता कुराले निर्मित छन् निबन्ध । शीर्ष निबन्ध छ रुद्रघन्टी । यसले पुरुषत्वलाई सङ्केत गर्छ जसले गर्दा उसमा अह‌ङ्कार, ठालुत्व र अहमत्याईमा जकडिएर बसेको प्रमाण र आग्रह छ । वर्तमान नारीहरू शिक्षादीक्षाले विभूषित पनि हुन थाले । जागिर गर्न थाले, तापनि रुद्रघन्टेले आफ्‌नो आदिम स्वभाव छोडेन । त्यसैले :
उनैले कमाउँछिन्, उनैले बालबच्चा पाउँछिन्, उनैले हुर्काउँछिन्, उनैले पढाउँछिन् कति हाइसन्चो हो हामीलाई । हामी रुद्रघन्टेहरूले कमाएको त धेरै हिस्सा अरूका जहान समाउन, रमाउन र घुमाउन खर्च गन्यो । बाँकी रहेकोले आफ्ना जहान र परिवारलाई घुमाएपछि अरूका जहान पनि खुसी, अनि आफ्‌ना जहान पनि खुसी । त्यसैले अहिले सरकारले जागिरको मामिलामा महिलाहरूलाई आरक्षण भन्ने कुरो पैंतालिस प्रतिशत मात्र होइन नब्बे प्रतिशत नै दिए पनि हामी रूद्रघण्टेहरूको केही गुनासो नहुने कुरा समर्थन पेटिकामा खसालियो ।

यसरी शक्तिशाली शैलीमा निर्भीकतापूर्वक देखेको देशको स्थिति र समाजको चरित्र लेख्ने गायत्रीका निबन्ध पढेर म अत्यन्तै प्रभावित छु । बेला बेला बाइ, आमा, बाबै, फदाल्नु, कुर्ची जस्ता स्थानीय शब्दको मसला प्रयोगले ग्राम्य सुन्दरता छर्केकी छन् । तर स्रष्टाको यस्तो शक्ति नरोकियोस् भन्ने कामना गर्दै यहीं रोकिन्छु ।

०००
जेठ ३०, २०८१
सुकर्म टोल कीर्तिपुर
रूद्रघन्टी (२०८१) काे भूमिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गणतन्त्रले दुइटा दिने भो

गणतन्त्रले दुइटा दिने भो

डा. गोविन्दराज भट्टराई
एक टपरी मेरा इच्छाहरू

एक टपरी मेरा इच्छाहरू

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (२)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (१)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
केही अराष्ट्रिय तत्वहरू

केही अराष्ट्रिय तत्वहरू

डा. गोविन्दराज भट्टराई
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x