सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

क्याम्पस चिफ हुँदाको सम्झौटो (२)

मेरो मनमा अझ पनि यो विश्वास जुर्मुराएर उठ्छ, कि मेरो कुर्सी छैन भने मेरो क्याम्पस पनि रहँदैन । म आफैँले फुर्किन त नमिल्ला तर राष्ट्रिय स्तरमा उच्च त्याग र प्रतिभा मूल्याङ्कन हुँदा यो गरीव राष्ट्रसेवकले पानी पिसाव एक भएर गरेको सेवाको पनि कदर हुनेछ ।

Nepal Telecom ad

डा. गोविन्दराज भट्टराई :

नं. ३ मा म नजिकका ससाना कर्मचारी र लाइब्रेरियन माथि प्रहार गर्थें । “भएन, त्यसरी भएन, विद्यार्थीले जे भन्यो त्यही गर्ने तिमीहरू ? हाम्रो नियममा त्यस्तो छैन, भन्नू । तलको समस्या कहिल्यै पनि माथि आउन नदिनू । कुनै कामपर्दा चीफ सरलाई सोध्नू भनेको सुन्नु नपरोस् । यहाँ विद्यार्थीले भीड पारेर मेरो काम रोकिन्छ । कसको हातमा जागीर अडिएको छ, बुझेर काम गर्नू ।”

नं. ४ मा गएर शिक्षकहरू माथि एकदृष्टि दिन्थेँ । सबैजना मदेखि होसियारीले खुम्चिए जस्तो लाग्थ्यो । शिक्षक नं. १ लाई सिधै भन्थेँ, “ तपाईंको पढाइ राम्रो बुझिएन, भन्ने कम्प्लेन आउँदैछ । म चाहन्छु, शिक्षकले आफ्नो जागीर आफैँ जोगाओस् ।”

त्यसपछि शिक्षक नं. २ लाई भन्थेँ, “तपाईं हिजो घण्टी बज्नुभन्दा ४ मिनेट पहिल्यै कक्षाबाट किन निस्कनुभो ?”

शिक्षक नं. ३ लाई भन्थेँ, “तपाईं कक्षा जाँदा धेरै चक लिएर जानु हुन्छ भन्ने सुन्छु । खबरदार चकका टुक्रा कक्षामा नछोडियुन । त्यो चकले विद्यार्थीले ब्ल्याकवोर्ड भरेको हेर्न मलाई मन छैन ।”

शिक्षक नं. ४ र ५ त्यहाँ नभएकोले नं. ६ लाई भनेँ, “तपाईंले मत्लप् आफ्नो टेक्निकमा अलि सुधार गर्नु पर्‍यो । कक्षामा विद्यार्थीहरूको सामू उभिएर पढाएको बेला यो कुरा मलाई थाहा छैन, भोलि हेरेर आउँछु, भनी क्याम्पसकै बदनाम हुने झुम्रे चाल गर्नु भएन । यो यस्तै हो, मभन्दा जान्ने को छ यहाँ भनेर धाक छोड्न सिक्नु पर्छ ।”

शिक्षक नं. ७ लाई भनेँ, “ तपाईं प्रत्येक पिरियड्को ग्यापमा चिया होटलतिर जानु हुन्छ, यसको मत्लप् के हो ? फेरि तपाईं राती पनि ट्युशन गर्नुहुन्छ भन्ने सुन्छु, के मैले दिएको तलबले पुग्दैन र ? कति पैसा चाहिएको तपाईंलाई ? त्यसपछि विस्तारै सबै शिक्षकहरू कक्षातिर लाग्थे । म एक्लिएर, धुम्मिएर सूनसान अफिस रुँगिरहन्थेँ ।

यस्तै अवस्थामा एकदिन स्मरणीय घटनाको सूत्रपात भयो । अफिस बाहिर गाइँगुईं सुन्दा सुन्दै त्यो गाँइगुईं बढेर एकदम ढोकैमा आइपुग्यो । मैले तयारी पोजिसना बस्नै पाएको थिइन, जब कि विद्यार्थी समूहले बलिष्ठ पिउनलाई ठेलेर पिउन भित्रपट्टी पछारियो र एक दुई जना गर्दागर्दै सयौँ विद्यार्थी भित्र पस्न लागे । अटेसमटेस भयो, ठेलाठेल भयो, पेलापेल भयो, काला टाउका मात्र देखिन लागे । यस्तो स्थिति यो भन्दा पहिले आइनपरेको त होइन तर आजको भीड आक्रोसमा थियो । त्यो देखेर त्रस्त दुई जना आआफ्नो कक्षाको प्रतिनिधि आएर बताए भैहाल्छ नि ?”

आवेशभरी अनुहार र आक्रोशभरि आवाजमा उत्तर आयो, “के छ समस्या ? भनेर बूझ पचाउने होइन सर । हामी समस्याको जंगलमा छौँ । अस्तिको हाम्रो मागपत्र र अल्टिमेटमबारे के कुरा भयो मिटिङ्गमा ? हामीलाई उत्तर दिनुहोस् ।”

मैले उत्तर दिएँ, “तपाईंहरूले असिस्मेण्ट नदिएसम्म मिटिङ्ग नबस्ने भो, मागहरू माथि पनि विचार नगरिने भो ।” मैले मुस्किलले त्यति भन्न मात्र पाएको थिएँ, विद्यार्थीहरू बर्षिए, “तपाईंलाई कुर्सी मात्र रुङ्न पाए पुग्यो । विद्यार्थीको मर्म बुझ्न सक्ने क्षमता तपाईंमा छैन । त्यसैले कुर्सी छोडिदिनोस्, अर्को योग्य मानिस क्याम्पसचीफ आउनेछ । के पुस्तकालय, के फीसको कुरा, के युनियन, के मारपीट, के धरपकड, के प्रतिशोध, के पढाइ, के योग्य शिक्षक, के क्याम्पस, के कुरुक्षेत्र, के तपाईं १८ सयको लागि मात्र यति नीच भएर सम्पूर्ण लाज पचाउनु हुन्छ ? हाम्रो प्रतिनिधि कोही छैन । हरेक व्यक्ति आफ्नै प्रतिनिधि हुन्छ । हाम्रा मागप्रति वेवास्ता गरिएमा, हामी अवश्य हडताल लम्याउने छौँ, हामी न्यायको लागि संघर्ष गर्न तत्पर छौँ । यस्तै चाला हो भने कि हामी क्याम्पस छोड्छौँ, कि तपाईंलाई कुर्सी छोडाउँछौँ ।”

कुर्सीको प्रतिष्ठा हल्लिएको र त्यसको बेइज्जल भएको संझेर म चर्किंदै बोलेँ, “यहाँ धेर तर्क गर्ने होइन । कोसँग बोल्दैछौ, ख्याल गर, मनपरे पढ, नपरे जाऊ, यो मेरो क्याम्पस होइन ।”

विद्यार्थीहरू जंगिए, “सर यो तपाईंका बाबुको क्याम्पस हो र यो मनपरी चलिरहेछ ? के विद्यार्थी मानिस होइनन ? अब कि हामी छैन, कि क्याम्पसचीफ छैन ।”

त्यो बाठो हुने विद्यार्थीको दाँत झार्दिनु पर्‍यो भन्ने झोंकले मुड्की उज्याएर म जुरुक्कै उठेँ, “के तिमीले मलाई च्यालेञ्ज दिन खोजेको हो च्यालेञ्ज ? च्यालेञ्ज भए च्यालेञ्जै सही, हातले होस् कि बातले ।” त्यसपछि खेलमा झिलिक्क झिलिक्क मुड्की बज्रेको देख्थेँ । शिशा धुलिएजस्तो देख्थेँ, कराएको सुन्थेँ, भित्तामा हिर्काएको सुन्थेँ । क्रमश मेरो मुख सुक्न लाग्यो । रौँ ठडिएर आए । म अचेत झैँ भएँ । वरिपरि हेर्छु, आफ्नो पक्षमा बोलिदिने कोही छैन, भक्कानिएर हृदय खोलेँ, “हेर्नोस् तपाईहरूले घिसारेर पछारे पनि म यो कुर्सी छोड्नेवाला छैन । म त हेर्नोस् कमिटीको निर्णय सुनाउने मात्र हुँ । जे गर्नुपर्छ, गर्नोस् ।”

म त्यो भीडको आक्रोसलाई प्रतिवाद गर्न नसक्ने स्थितिमा पुगेको हुनाले दुवै आँखा चिम्लेर टेबलमाथि घोप्टिएँ ।
“त्यसो भए क्याम्पसचीफको के अर्थ भयो ?”
“भोलि आठ बजे सम्मलाई मात्र अल्टिमेटम भो साथी हो ।”
यो क्याम्पसचीफलाई निकाल्नै पर्छ ….मूर्धावाद् …, आदि आवाजहरू मेरा कानमा पर्न लागे । बेहोश भएँ र कुर्सीमा त्यसै त्यसै पल्टिरहेँ ।

आधा घण्टा पछि मात्र मैले थाहा पाएँ, शरीर पसिना पसिनाले निथु्रक्कै भिजेको थियो । मेरो मुटु ढुकढुकाइरहेथ्यो । आँखा उठाएर हेरेँ, सम्पूर्ण क्याम्पस सुनसान थियो । त्यहाँ कुनै विद्यार्थी थिएन, कुनै शिक्षक थिएन । एकजना पिउन मात्र ढोकामा उभिइरहेको थियो । मेरो मुखबाट एकै शब्द निस्केन । आफ्नो टेबल बाकस बन्द गरेँ र धर्मराउँदै जुरुक्क उठेँ । तर अन्यमनष्क भावले जुरुक्क उठेँ मात्र । मनमा कुनै संकल्प थिएन, कुनै विकल्प थिएन । म बरु मूर्चल भै कुर्सीमै बसिरहुँ कि जस्तो पनि लाग्यो । यथार्थमा म मूर्चलकै रुप थिएँ । एउटा योग्य क्याम्पसचीफले मूर्चल मुद्रामा बस्न सक्नु पर्छ भन्ने मेरो विश्वास थियो । कति विद्यार्थीहरू मलाई मूर्चल नामले पुकार्थे पनि । म कुर्सीमा धुमधुमती बसिरहन्थेँ । क्याम्पसमा विद्यार्थीहरूको असभ्यता बढ्दै गएकोले म अफिस बाहिर निस्कनै छाडेँ । पाइखाना पिसाब चियापान सम्पूर्ण कुरा माया मारेर सहेर मूर्चल मुद्रामै रहन्थेँ । बाहिर निस्केको बेला विद्रोह, अशान्ति र पिकेटिंग हुने त्रासबाट यसरी जोगिन्थेँ । बाटो विद्यार्थी शूण्य भएपछि कालो ब्याग च्यापेर दायाँ बायाँ नहेरी हनुमान गियरमा बूढो साइकल लच्काउँदै घर पुग्दै । पसिनाले डुबेको र सासै एकोहोरिएको कुरा त घर पुगेपछि मात्र थाहा पाउँथेँ ।

त्यो रात मैले आफ्नो मनको सन्तुलन गुमाएँ । हृदयमा उम्लिरहेको उत्पीडन व्यथा आफ्नी परम प्रेयसी धर्मपत्नीलाई सुनाएर उनीबाट केही राहत पाउने धमिलो आशा जागृत भएर आयो । ओछिनमा पल्टिएँ मात्र, तर हृदय छटपटाइरहेथ्यो, विगत घटना र भविष्यको तर्कना मनमा उम्लिरहेथ्यो । सुतेर धेरै समय सम्मको अनिँदो छटपटीपछि हृदय खोलेँ, “हे मेरी डार्लिङ ! यो विरही महापुरुषले भोगेको व्यथा तिमीलाई सुनाउन चाहन्छु आज । यो क्याम्पस प्रमुखको पदलाई कुन साहस र धैर्यले थामिरहेछु, तिमीलाई थाहा छैन । यद्यपि नवविवाहित छौ, तिमीले मेरो जीवनमा हरियाली ल्याइसकेकी छौ । तर अब मलाई तिम्रो र यो नवजात शिशु मुहारको भन्दा कुर्सीको प्रश्नले अत्यन्तै चिन्तित पारेको छ । करीव एक वर्षको समयमा कति ढुंगा मूढाको धम्की सहेँ, कति गाली बेइज्जती सहेँ, कति आफ्नै कार्टूनको विकृत रुप देखेँ, कतिपल्ट बहिस्कार गरे, त्यसको सामयिक झल्को तिम्रै आँखामा झल्किरहेको होला ।

ती बितेका दिनभन्दा कठोर क्षणहरू अझ अघि आइरहेछन् । कत्रो सत्प्रयास, कति आफ्ना मान्छेको आशीष र कति चम्चा घुमाएर पाएको यो ‘विद्वताको प्रतीक’ कुर्सी हल्लियो भने प्राणै हल्लिए सरह लाग्ला । त्यसमाथि तलब पनि १८ सयबाट बढाएर २४ सय पुर्‍याउने कुरा पास गराएँ । अब आफैँ संझ एउटा सेक्सन अफिसरको तलब ८७५ भएको देशमा २४ सय खाने कुन भाग्यशाली श्रीमान् तिम्रो सामू यो दिलको दर्द पोखिरहेछु । तर विश्वास छ प्रिये ! यी मर्मकथा लगेर माइती गाउँमा प्रचार नगरौली, तिमीलाई थाहै छ । तर …तर आज विश्वयुद्धमा लडेर राष्ट्रको सार्वभौमिकता जोगाउनु भन्दा कठीन प्रतीत भैरहेछ मलाई यो कुर्सी जोगाउनु । प्रिये ! तिम्रै लागि जीवनको बाजी लगाएको छु । प्रत्येक दिन क्याम्पसबाट सद्दे फिर्न सफल भएपछि नयाँ जीवन प्राप्त गरेको खुसीले मन धपक्कै बल्छ रै पनि क्याम्पसचीफ चलाइरहेछु ।”

गंभीर मुद्रा धारण गरी उनी बोलिन्, “मेरो प्राण, जीवनमा कैयौं विघ्नबाघा र कष्ट आइपर्छन् । समाजको अग्रगामी आदर्श पुरुषले मार्गद्रष्टा बन्न अनेक कष्ट सहेका छन् । योग्य मानिसलाई जिउँदो छउञ्जेल राष्ट्रले चिन्दैन, तर सत्कार्यमा अघि बढ्न हार्नु हुन्न । मैले पनि पढेकी छु, ‘डार्विन, ग्यालिलिओ, बर्नार्ड शा र ईशु क्रीष्टले पनि जिउँदामा यश प्राप्त गरेनन् भन्ने पाठ इतिहासबाट सिकी यो पोष्ट त मरे पनि छोड्नु हुन्न । जे जे परेपनि सहनु पर्छ ।”

म यी शब्दले उत्साहित भएँ र हिन्दीको एक भनाइ अनुसार “जान जाए पर क्याम्पसचीफ नजाए” भन्ने सिद्धान्तमा अडिएँ । तर बारम्बार संग्रामहरू आउँदै गए, संग्रामहरू जाँदै गए । म हुरीसँगै उड्ने दिशाहीन चरो भएर हडतालसँगै उड्न लागेँ, विरोधसँगै उड्न लागेँ, अल्टिमेटम् र धम्कीसँगै उड्न लागेँ । मलाई कुनै विद्यार्थीको पनि मुख हेर्न मन थिएन । शिक्षकहरू पनि एक प्रकार मेरा विरोधी मात्र थिए जस्तो लाग्छ । त्यो विरोधलाई सहने सामर्थ्य मबाहेक अरुमा सायद हुने थिएन । मेरा बाटाका अवरोधहरू पन्साउँदै गएँ, सङल्याउँदै गएँ । यसै क्रममा सहायक क्याम्पसचीफ ताक्ने कति माष्टरलाई सुकाएँ, क्याम्पसचीफको पसिनामा लोभिनेलाई मुर्छा खुवाएँ, शिक्षण समिति खोज्ने, त्रि.वि. सरह थप सुविधा खोज्ने, घरभाडा खोज्ने, स्थायित्व खोज्नेलाई उठ्नै नसक्ने गराएँ ।

मेरो प्रशासनिक दक्षता पनि विचित्र प्रकृतिको थियो । क्याम्पसको मिटिङमा गएर भन्थेँ, “क्याम्पसमा कुनै समस्या नै छैन । क्याम्पस एकदम राम्ररी चलेको छ ।

माष्टर नं. ४ लाई सचेत गराएँ, “हडताल छ, कक्षामा २० प्रतिशत मात्र विद्यार्थी छन् भनेर कक्षामा पस्न डराउने होइन, जागीर खाने मन भए, डेस्क बेञ्चलाई नै भए पनि पढाउनै पर्छ ।”

माष्टर नं. ५ र ६ लाई संयुक्त रुपमा सुनाएँ, “पछि कोर्स पूरा भएन भन्ने आवाज आयो भने राम्रो हुनेछैन । जागीर संझनोस् ।”

माष्टर नं. ७ मेरा आँखाको कसिंगर थियो । उसको विद्यार्थीसँगको लोकप्रियता निकै थियो । पढाउन भनेपछि उ आफूलाई जादूगर नै ठान्दथ्यो । त्यसैले उसलाई उठ्न नदिन शुरुदेखि नै मैले बहुत षड्यन्त्र गर्नुपर्‍यो र उसलाई भसाउन र उसको स्थितिलाई मैले सँधै सचेत हुनुपर्थ्यो, विभिन्न तरिका खोज्नु पर्थ्यो । कमिटिमा पुग्नासाथ म भन्थेँ, “मास्टर नं. ७ ले क्याम्पसलाई धोका दिइरहेछ । उसलाई ननिकाले सम्म निर्विकल्प भएर क्याम्पसचीफको पद झांगिन सक्ने छैन । ऊ आफ्नो पैसा र सुविधा बढाइमाग्ने, क्याम्पसचीफको विरोध गर्ने र यो क्याम्पसमा जागीरै गर्दिन, भनेजस्ता धम्कीहरू छाड्दै हिँडन लागेको छ । त्यसैले गर्दा, “अब उप्रान्त नं. ७ को कुनै पनि सेवाको यस क्याम्पसलाई आवश्यकता नपर्ने गरी राजीनामा लिइएको छ ।” भनी उसलाई यस ठाउँबाट धपाउने गरी मिटिङमा पास गरिमाग्नु पर्‍यो भन्ने मेरो मनसाय छ ।

त्यसपछि कुरो झन् चर्कियो । कुर्सी काण्डलाई लिएर क्याम्पसमा संकटै उत्पन्न भयो । क्याम्पसका सम्पूर्ण शिक्षकहरूले संयुक्त राजीनामा अव्यावहारिक, अनैतिक, मूर्ख, पक्षपाती र अयोग्य भएको कारण त्यसमा खोलिएको थियो । मेरो शरीर मन दुवै सुकेर आयो । गाउँघर र बजार हल्लियो । क्याम्पसमा आगो सल्कियो । कुर्सीको रस खानु खाएछु भन्ने भावले मनमा भूकम्प उठयो । त्यो भयंकर बेइज्जतिको क्षण टाल्न मिटिङ बस्यो । एकएक गरेर शिक्षकहरूले कमिटी र जनसमूह समक्ष मेरा कुकर्महरूको भण्डाफोर गर्न लागे । सयौँ मानिस सामू म अयोग्य सावित भैरहेथेँ । रीसले आँखै देखिन । म ओइलाएँ, जिंग्राएँ र नून खाएको कुखुरो जस्तो भएँ । म तर्सिएँ, आत्तिएँ र भक्कानिएँ । तर अन्त्यमा कसोकसो कमिटीको सत्प्रयासले सबै शिक्षकहरूलाई थामथुम पारियो । अब उप्रान्त आरोपित भूलहरू नदोहोर्‍उने प्रतिज्ञा गर्दै मैले शिक्षकहरूसँग माफी माग्नु पर्‍यो । त्यसबेला मेरो शीर झुके पनि मन ठाडै थियो । त्यसबेलाको मेरो मनस्थिति चित्रण गर्न लायक थियो र मेरो मुखाकृति हेर्न लायक कार्टून थियो । म मात्र भकभकाएँ । घाँटीभरी भावहरू मडारिन्थे, बोल्न सक्दनथेँ । पसिनाका थोपा र मेरा खुला दन्तलहरले म भित्रको कवित्व छुन भावमा थियो भन्ने कुरा जनाए हुनन् ।

त्यसको भोलिपल्टदेखि महीनौ सम्म मैले ठाडो शीर गरेर ती शिक्षकहरूको मुख हेर्न सकिन बोल्न सकिन । पिउन र मेहतरलाई हप्काउने आँट पनि त्यसै त्यसै सेलाउँदै गयो । विद्यार्थीको नाम सुन्नासाथ म झस्किन्थे । प्रत्येक विद्यार्थीको मुहारमा एउटा भूत लुकेको देख्न थालेँ । त्यसले मलाई तर्साउँथ्यो र पनि त्यसै त्यसै लाइफ चलिरहेथ्यो । म अनायासै जीन्दगीको लाइफसित संझौता गरी मूर्चल भैदिन्थेँ । बाटाको साथी साइकल हुन्थ्यो, अफिसको कुर्सी । अफिसमा पुगेर कालो व्यागबाट एउटा लेटर प्याड झिकी घण्टौँ कोर्थें, घोरिन्थेँ, व्यस्त भएको बहानाले शीर उठाएर हेर्ने फुर्सदै नभएझैँ गर्थे र तीन घण्टा विताएर घर दौडिन्थेँ । साँच्चै भनौ भने तलवबाट आउने २४०० सय र खिर्चिमिर्चीको बलशाली मोहनी त्यागिनसक्नु थियो । सम्पूर्ण गाली, बेइज्जती, धम्की र विरोधले जन्माएको घाउलाई त्यो २४०० ले विस्तारी विस्तारी मलम लगाइरहेथेँ, मलम लगाइरहेथेँ ।

मैले क्याम्पसचीफ पद त्याग गर्नु पर्ने स्थिति आएमा क्याम्पसै उडोस् भन्ने पवित्र भाव ममा भएकोले मैले क्याम्पसको कुनै भौतिक साधन जोर्ने दिइन । यो संकटको घडीमा प्रशिद्ध अंग्रेजी विद्वान फ्रान्सिस वेकनको संझना आइरहेछ आज मलाई । उनी भन्थे, “प्रगति पथ सोझो हुन्न, त्यसैले उँभो चढ्ने बेला सर्प झैँ गुडुल्किएर घुमेर चढनु तर माथि टुंगामा पुगेपछि चिप्लिने डर सँधै रहन्छ, होसियार रहनू ।”

तै पनि अझसम्म म क्याम्पसचीफ नै रहेको छु । कति शिक्षकले मदेखि हाररे गए टिक्न सकेनन् कति विद्यार्थीले सरुवा लिए, कतिले पढाइ छाडे, कति कर्मचारी मेरा हातबाट खुस्किए म भने अचल भएर अडेकै छु र आफ्नो घरलाई अझ सुन्दर पारेर अड्याएको छु । शायद मेरो धैर्य, आत्मवल र कर्तव्यनिष्ठाको परिचय नै यही हुनुपर्छ । म आजकल केही चम्चाहरूको खोजीमा छु । चम्चा निर्माण गर्ने कलातर्फ आकृष्ट हुँदै गएको छु । कारण मेरो प्रतिभालाई चम्चाले दर्‍याउन र चिल्याउन सक्नेछन् ।

मेरो मनमा अझ पनि यो विश्वास जुर्मुराएर उठ्छ, कि मेरो कुर्सी छैन भने मेरो क्याम्पस पनि रहँदैन । म आफैँले फुर्किन त नमिल्ला तर राष्ट्रिय स्तरमा उच्च त्याग र प्रतिभा मूल्याङ्कन हुँदा यो गरीव राष्ट्रसेवकले पानी पिसाव एक भएर गरेको सेवाको पनि कदर हुनेछ र त्रि.वि. ले पनि मेरो भगिरथ प्रयत्न बुझी कोही मान, पदवी तक्माको व्यवस्था गर्नेछ ।

०००
कीर्तिपुर
वि. सं.२०४१ सालतिरै लेखिएको भए पनि सामान्य सम्पादनपछि पहिलो पटक फित्कौलीले फेला पारेको हाे।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
क्याम्पस चिफ हुँदाको सम्झौटो (१)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
केही अराष्ट्रिय तत्वहरू

केही अराष्ट्रिय तत्वहरू

डा. गोविन्दराज भट्टराई
प्रथम साहित्यिक शहीद ज्यामिरे काइँलाको अन्तिम अन्तर्वार्ता

प्रथम साहित्यिक शहीद ज्यामिरे...

डा. गोविन्दराज भट्टराई
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x