साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्याम्पस चिफ हुँदाको सम्झौटो (१)

कुन शिक्षकले पानी पिउँदा, पिसाब फेर्न जाँदा, कक्षामा पढाउँदा र बजारमा डुल्दा मेरोबारे के कुरा गर्छ भन्ने बुझ्न सि.आइ.डी. राख्थेँ तर पछि मलाई थाहा लाग्यो ती सिआइडी नै उनीहरूका मानिस रहेछन् ।

Nepal Telecom ad

डा. गोविन्दराज भट्टराई :

प्रत्येक मानिसको जीवन एकपल्ट उन्नतिको शिखरमा चढ्दछ । मैले पनि आफ्नो समयमा यस्तो शिखर देखेको छु र यस्तो शिखरमा यिनै पैतालाले टेकेको छु । आज तपाईंहरू समक्ष ती दिनका सुन्दर क्षणहरूको संझना चित्र उतार्ने प्रयास गर्दा पनि आनन्दको रमरमले मलाई छोप्दछ । म एकपल्ट क्याम्पस चिफ भएको छु र यही नै मेरो जीवनमा उन्नतिको सगरमाथा जस्तो लाग्दछ ।

उन्नतिको खुड्किला उक्लिनु तपाईंको निम्ति कठीन कार्य हुनसक्छ अथवा कतिलाई असम्भव हुनसक्छ । तर मैले हरेक असम्भावनालाई कहीँ ठेल्न सिकेँ, कहीँ तान्न सिकेँ र मुड्कीको भरमा सम्भव मान्न सिकेँ । हुन त यो व्यक्तिगत घटनाको कुरा तर पनि यसबाट अरुलाई प्रेरणा मिल्ला उत्साह मिल्ला र मैले गरेजस्ता कठीन कार्यहरू पनि पूरा गर्ने संकल्प हृदयमा उब्जेला भन्ने विश्वास छ । “प्रगतिको लागि गोबरमाथि लड्नु परे पनि, अर्काको ढाड्माथि चढ्नु परे पनि बाँकी नराख्नू” भन्ने प्राचीन ग्रिसेली विद्वान मकियाभेली मेरा आदर्श गुरु हुन् । साँच्चै म कतिपल्ट गोवरमा लडेँ, अझसम्म अर्काकै ढाडमा चढेर यो पद सम्हालिरहेछु । म चाणाक्यलाई मान्दछु र इतिहासका हरेक धूर्त पुरुषलाई जान्दछु । कोबाट कति शिक्षा लिएँ, त्यो संझी साध्य छैन र छोटकरीमा मैले कसरी क्याम्पस चलाएँ, त्यो यहाँ व्यक्त गर्न चाहन्छु ।

आफ्नो ठाउँमा क्याम्पसको खाँचो खड्किरहेछ भन्ने सुन्दासुन्दै मेरो कानमा पर्‍यो— यहाँ क्याम्पस खुल्नै आँटेको छ । ककसको प्रय्रत्नले कसरी क्याम्पसको स्वीकृति ल्याइयो, त्यो कुरामा मलाई चासो थिएन । त्यसबेला म विद्यार्थी नै थिएँ । क्याम्पसको डेस्क बेञ्च छोडेको थिइनँ । पढाइमा सधैँ व्याक बेञ्चर भएकोले सेमिष्टरले मेरो ढाड मर्काइदिएको थियो, ब्याकको बोझले शीर झुकेको थियो र थेसिसका थाङ्नामा निर्दोष बालक झैँ लडिरहेको थिएँ । त्यसैबेला एउटा सपना जस्तो सुन्दर यथार्थ मेरो सामू आइपर्‍यो । त्यो क्याम्पसको लागि झटाझट प्राध्यापकको नियुक्ति–पत्र तयार हुन लागेछन् । मैले थाहा पाएँ— म भन्दा योग्य, अनुभवी र प्रमाणपत्रवाला साथी तयार छ । मेरो भने डिग्रीको कोर्स पूरा भएकै थिएन तर पनि मैले सोर्स लगाएँ, फोर्स लगाएँ र त्यसको अघि योग्यताको के मत्लब ? अनुभवको के अर्थ ? अनि कागतका प्रमाणको के तागत ? म मुड्के विद्यामा पास, म चापलुसी चमेरो, म पावरको प्रतीक । एकै रातमा मैले कालोलाई सेतो गरिदिएँ, म भन्दा योग्यलाई दबाउन सकेँ, विरोधलाई चबाउन सकेँ र भोलिपल्ट निर्विकल्प भएर नं. १ मा आफ्नो नाम चढाउन सकेँ । त्यसले गर्दा एक दुई जना साथीहरू मेरो रीसले राँक्किए डाहले डामिए, अथवा विरक्तिले झोक्राए । तर मलाई त्यसको के मत्लव थियो र ?

यसरी जीवनमा पहिलो पल्ट मैले प्रवेश गरेँ विश्वविद्यालय जस्तो पवित्र संस्थामा । मेरो मन पवित्र थियो, भावना पवित्र थियो र हरेक मानवले व्यक्तिगत उन्नति गर्न सके मात्र राष्ट्र उँभो उक्लन्छ भन्ने मेरो विश्वास थियो । यस्तो व्यक्तिगत उन्नतिको आधारहरूमध्ये तीनवटा हुन सक्छन्‌— मुड्की, काक्ताली र फुपाजूका काकाको मित बाबुसम्म भए पनि आफ्नो तान्ने वा ठेल्ने हुनुपर्छ भन्ने मेरो विश्वास थियो । त्यसैले मेरो विरोध गर्ने साथीहरूलाई शुरुमै मैले चिने र तिनीहरूलाई नयाँ शिक्षा दिन मनमनै मुडुकी तिखारेँ ।

त्यसको ठीक एक महीनापछि विद्यार्थी संख्या र प्रशासनिक भार बढ्दै गएको एक जना सहायक क्याम्पस प्रमुखको आवश्यकता भएको र त्यसको लागि सक्षम उम्मेद्वार म मात्र हुनसक्ने कुरामा आफन्तलाई विश्वास गराएँ । नभन्दै नयाँ क्याम्पस, नयाँ विद्यार्थी, नयाँ साथीहरू र एकजना पुरानो मान्छे क्याम्पस प्रमुख भएको ठाउँमा खुसुक्कै म सहायक क्याम्पस प्रमुखमा बढुवा भएँ । सहायक मात्रै भए पनि चापलुसीको सत्कार्यमा तल्लीन हुनु परेकोले एक प्रकारले क्याम्पस प्रमुखै भएर कार्य चलाउनु पर्न थाल्यो । यसरी क्रमश मेरो व्यक्तित्व, मेरो ओज, मेरो धाक धम्की, मेरो पोज प्रतिदिन तिखारिँदै गयो क्याम्पस सेवामा आफूलाई पूरै उत्सर्ग गर्ने भावना तिखारिँदै गयो ।

यत्तिकैमा एकदिन मेरो एउटा कक्षा बहिस्कार गरियो । अनेक फकाइ फुल्याइ गरेँ विद्यार्थीलाई तर कक्षामा कोही पनि अडिएन । महान उद्देश्य लिने व्यक्तिले ससानो कुरामा विचलित हुनु हुँदैन भन्ने कुरा सुनेको हुनाले बहिस्कारको बेइज्जति बिर्सने प्रयास गरेँ । तर पनि कसो कसो त्यो दिनभरि भोक न रातभरी नींद भएँ । चक डष्टर लिएर आफू कक्षामा प्रवेश गर्नासाथ हुरुरु …डेस्क बेञ्च रित्याएर विद्यार्थी बाहिरिएको, ब्ल्याकबोर्डमा चकले आफ्नै विद्रूप मुद्राको तस्वीर खिचिएको र फलानाले पढाएको बुझिएन, कक्षा बहिस्कार….. भनेको शब्दचित्र मात्र रातभरी कानमा गुञ्जिरह्यो । मन झुम्रिए पनि ओठमा मृदु मुस्कान छर्दै त्यसको भोलिपल्ट सदा झैँ क्याम्पस पुगेँ र कक्षामा प्रवेश गरेँ तर आज त एउटा शेक्सन मात्र होइन, सबै सेक्सनबाट बहिस्कार गरिएँ । कक्षामा डेस्क बेञ्च मात्र बाँकी रहे । चक डष्टर र रजिष्टर हातमा च्यापेर फुस्रो मुख लगाउँदै म अफिसमा फिरेँ ।

बहिस्कारपछि त्यसको कारणको विश्लेषण गरी कमिटीलाई रिपोर्ट दिएँ, “शिक्षक नं. ७ ले उचालेर विद्यार्थीहरू भड्किए । उसलाई उठ्न नसक्ने गराइयोस् ।” यसो भन्नुमा भित्री कूटनीति थियो जो कसैलाई थाहा थिएन । दोस्रो कारण, मनमनै म यो विश्वासमा पुगेँ— सम्पूर्ण विद्यार्थीहरू मन्दबुद्धिवाला रहेछन् । किनभने कितावमा लेखिएको कुरा एकै अक्षर नबदली म पाठ गर्दिन्थेँ । यत्ति हो, नोट गराउँदा भने दुई सेक्सनमा दुवै प्रकारको हुँदो रहेछ । फेरि विद्यार्थीको अनुशासनलाई ध्यानमा राखेर म कक्षामा रहुञ्जेल कसैले कुनै प्रश्न गर्न नपाउने नियम बनाएथेँ । क्याम्पसको सबभन्दा मोटो, बलियो र व्यक्तित्ववाला शिक्षकको कक्षा बहिस्कार गर्नु उसको कार्टून कोरेर ब्ल्याकवोर्ड भर्नु र भित्ताभरी विरोध लेख्नु— विद्यार्थीको कमजोरी हो र मुर्ख्याईं पनि । म जस्तो सच्चा समाजसेवीलाई विद्यार्थीले चिनेन, राष्ट्रले चिनेन ।

तर यसो भन्दैमा म आफैँ आफ्नो प्रतिभा छिपाएर बस्ने प्रकृतिको मानिस थिइनँ । प्रत्येक संकष्टबाट एउटा शिक्षा लिने मेरो लक्षणा थियो । त्यसर्थ, बहिस्कार र विरोध मेरो जीवनका सात साल थिए, अथवा इतिहासका निर्णायक घडीहरू जसले मलाई उन्नतिको सगरमाथा चढाए । एउटै कक्षा नलिएर पनि क्याम्पसको सेवा अटूट राख्ने विचार मेरो मनमा जागृत भयो । त्यस्तो लक्ष्य प्राप्त गर्न मैले क्याम्पस चिफ हुन सक्नु पर्थ्यो । त्यसै दिनदेखि मेरो सङ्लो हृदयाकाशमा क्याम्पसचीफको पवित्र कुर्सीको कालो छाया नाच्न थाल्यो ।

आवश्यकता नै आविस्कारकी जननी हुन् भन्ने विश्वास लिएर नयाँ कुर्सी आविष्कारको लागि म हजार तर्कनामा डुब्न लागेँ । चिन्तनको गहिराइमा डुबेकै बेला न्यूटनलाई अचानक गुरुत्वाकर्षणको नियम फुरे झैँ, मेरो मनमा नयाँ ज्ञान फुरेर आयो । मैले भित्रभित्रै यस्तो प्रचार गर्न लागेँ, “मेरो कक्षा बहिस्कार भएको दृश्य हेरिरहने, विद्यार्थीलाई सम्हाल्न नसक्ने, विद्यार्थीको समस्या चिन्न नसक्ने, अझ भनौँ शिक्षक विद्यार्थीमा सुमधुर सम्बन्ध कायम राख्न नजान्ने वर्तमान क्याम्पस चीफ क्याम्पस चलाउन अयोग्य छन् । त्यसका साथै मैले आफ्ना मानिसलाई सुनाउन एउटा गोप्य रिपोर्ट पनि तयार पारेँ, “यस्ता अयोग्य क्याम्पसचीफको उदार नीतिले गर्दा विद्यार्थीहरू शिक्षकको खप्परमा चढेर नाच्न थालेका छन् । सबै विद्यार्थीसँग नडराई खुलेर बोल्ने, नरम बोली भएका सबै शिक्षकलाई योग्यता अनुसार समान अवसर दिनुपर्छ भन्ने र क्याम्पसलाई छिटै माथि पुर्‍याउनु पर्छ भनी अदूरदर्शी सपनामा डुब्ने वर्तमान क्याम्पस चीफले यो क्याम्पसलाई बिगारिरहेछन् । त्यसमाथि सतीले श्राप दिएको यो देशमा यस्तो स्पष्टवक्ता गाईप्राणी प्रशासक हुन सक्तैनन् भन्ने मेरो विश्वास छ । हालसम्मको अनुभव बटुल्दा म मात्र त्यस पदको लागि योग्य छु । नभन्दै मेरो गोप्य रिपोर्टले जादूको काम गर्‍यो र धेरै दिन नबिती उनको राजीनामा आयो । त्यो उनको राजीनामा आउनु र मेरो जीवनमा सूर्योदयको घडीसँगै जोडिएको छ । त्यसपछि मेरो नयाँ भाग्यरेखा कोरियो र त्यही रात अरु साथीले थाहै नपाई म क्याम्पसचीफ हुन पुगेँ ।

क्याम्पसचीफ हुनासाथ मैले मनमनै सपथ ग्रहण गरेँ— पहिलो क्याम्पसचीफबाट हुन गएका भूलहरू अब मबाट दोहोरिने छैनन् र परोक्षरुपबाट उनीलाई यो शिक्षा दिने प्रयास गर्नेछु कि अवैतनिक सेवा गर्नु एक प्रकारको अपराध हो, विद्यार्थी प्रिय हुनु भनेको अनुशासनको घर भत्काउनु हो ।

क्याम्पसचीफ हुनासाथ मैले क्याम्पसमा व्यापक परिवर्तन ल्याएँ । के विद्यार्थी, के शिक्षक, के प्रशासन, के जन सम्पर्क मैले जादू नै गरेँ । त्यो सबै वर्णन गर्दा आत्मप्रशंसा जस्तो देखिएला, त्यसैले बरु मैले गरेका सुधारका २–४ नमूनाहरू मात्र यहाँ उतार्न चाहन्छु ।

नं. सर्वप्रथम व्यक्तिगत उन्नतिको प्रमाण देखाउन मैले क्याम्पस प्रमुखको गरिमामय पदलाई अवैतनिकबाट उठाएर रु. १८०० ।– सयमा पुर्‍याएँ ।
नं. २ मा क्याम्पस प्रमुखले कुनै पिरियड, लिन नपाउने नियम पास गराएँ ।
नं ३ मा म जस्तो क्याम्पसचीफ स्वयम् सकृय भै सम्पूर्ण कारोबार भ्याउने भएकाले प्रशासनमा प्रतिद्वन्द्वी वातावरण उत्पन्न हुने भएकाले सहायक क्याम्पस प्रमुखको पद नै खारेज गरिदिएँ ।
नं ४ मा क्याम्पसचीफ र अरु शिक्षक बीचको अन्तर प्रष्ट कायम राख्ने हेतूले रु ९०० ।– भन्दा माथि उक्लन कसैले नपाउने सीमा रेखा कायम गरिदिएँ ।

त्यसैगरी विद्यार्थीसँगको सम्बन्ध पनि विशेष प्रकारले सुधार गर्न थालेँ । विद्यार्थीले सोझै गएर क्याम्पसचीफलाई भेट्न नपाउने र पिउनसँग अनुमति लिएर एकपल्टमा एकजना वा बढीमा दुई जनाको दरले प्रवेश गर्नुपर्ने नियम बनाएँ र धेरै जना विद्यार्थीले एकैचोटी अफिसमा प्रवेश गर्न खोज्लान् भनी प्रवेशद्वारमा एकजना बलिष्ट मुंग्रे व्यक्तित्वलाई अफिस समयभरी ठिङ्ग्र्याउने गरेँ र यो आदेश उसलाई दिएँ– “धेरै विद्यार्थी एकैपल्ट अफिसमा पसी भीड गर्ने नियत बुझिएमा उनीहरूलाई ठेलेर तैलेँ बाहिर घुर्चिदिनू । त्यो ठेलाईको आधारमा तेरो जागीर बढ्नेछ ।” विद्यार्थीहरूले आफ्नो अनुशासनको ख्यालगरी क्याम्पसचीफसँग अधिकार र कर्तव्य जस्ता वाहियात कुरा झिकी क्याम्पसको मौलिक संविधानमाथि तर्क गर्न नपाउने गराएँ ।

क्याम्पसको हित सोच्न नसक्ने शिक्षकलाई अन्तिम र शुरुको पिरियड मिलाइदिएर बीचमा आराम गर्ने र चिन्तनमा डुब्ने मौका दिएँ । कसैलाई डिग्री अपूरो भएको, कसैको मार्कशीट धमिलो भएको, कसैले क्याम्पस चीफलाई कर्के आँखाले हेरेको कारणले कसैको पनि तलबमा पनि एकरुपता कायम रहन दिइनँ । त्यसबेला मेरो पावर यतिसम्म थियो कि एकजना शिक्षकले त्रि.वि. कर्मचारी प्रशासन महाशाखाबाट ल्याएको प्रमाणलाई नै कीर्ते सावित गरिदिएँ । कुन शिक्षकले पानी पिउँदा, पिसाब फेर्न जाँदा, कक्षामा पढाउँदा र बजारमा डुल्दा मेरोबारे के कुरा गर्छ भन्ने बुझ्न सि.आइ.डी. राख्थेँ तर पछि मलाई थाहा लाग्यो ती सिआइडी नै उनीहरूका मानिस रहेछन् ।

मैले आफ्नो स्वास्थ्यमा पनि निकै सुधार गरेँ । साँच्चै भनौ भने मेरो शरीर पूरै अथुलाएकोले म आफ्ना ठाउँका मान्छेहरूमध्ये हात्ती नै भएको थिएँ । क्याम्पस चीफको गर्विलो पदको लागि मेरो व्यक्तित्व अत्यन्तै आकर्षक हुँदै आयो । बिहान छ बजे क्याम्पस शुरु हुन्थ्यो । आफू विहानै उठ्थेँ र चियापानपछि साइकलमा बाहिरिन्थेँ । साइकलको सिटै लचक्क गरेर मेरो चुइकिने साइकल, मेरा ढयास गगल्स, मेरो उर्ध्वगामी पेट, मेरो कालो दाम्रे व्याग अनि शिरभरी उत्तरदायित्वका लाख बोझ बोकी म बाहिरिन्थेँ । विभिन्न ठाउँमा निस्की कहीँ चम्चा हल्लाउनु, कहीँ नस हाल्नु र कहीँ तेल लगाउनु पर्ने हुँदा प्रायः सधैँ ९ बजेतिर मात्र क्याम्पस पुग्थेँ ।

यसरी म क्याम्पस पुग्नासाथ सम्पूर्ण वातावरण त्रस्त भनौँ या स्वयम् नियन्त्रित हुन लाग्थ्यो । म चाहन्थे क्याम्पसचीफको नाम लिनासाथ के शिक्षक, के विद्यार्थी, के कर्मचारी सबले डगडगी काम्नु परोस् । कुर्सी ग्रहण गर्नासाथ आफ्नो टेवलको दराजमा झुकाएको हाजिरी झिकी रेडक्रस लगाउन थाल्ने ।

त्यसबेला बाहिर मैदानमा हेर्दा एक हातमा कुचो र अर्को हातमा थोत्रे टीन बोकेर मेहतर दौडिरहेको हुन्थ्यो । त्यसलाई अफिसमा डाकेर सातो लिने अभिप्रायले कड्किन्थेँ, “ए लखनवा ! तँ हिजो आज राम्ररी पाइखाना साफ गर्न छोडिस्, तेरो चार दिन गयल गर्दिन्छु, बुझिस् !”

खलनवा मेहतर काखीमुनि कुचो च्यापेर, खिया परेको टीन भुँइमा राखी, झुकेर मलाई नमस्कार गर्थ्यो । त्यसबेला उसका नाङ्गा घुँडा डगडगी काम्थे, आँखामा रक्सीको राग र ओठमा पानको दाग बोकेर विनयभावले ऊ भकभकाउथ्यो, “हुजूर, फिनेल किन्ने पैसा छैन, होलीबाट टीनमा पानी भर्नुपर्छ । फेरि दिशा गरेर विद्यार्थीले कागज ठोसिदिन्छ दुलोमा तब कसरी साफ रहन्छ ?”

“तँ को सित बोल्दैछस् ? होस् गर । रक्सी पिएर तँ आफ्नी स्वास्नीसित बाझेको संझिन्छस् लखने ? तेरो जागीर उड्ला, नबोली ड्यूटी गर …” यत्ति भनेर आँखा तरेपछि ऊ लुरुक्क परेर काम्दै काम्दैपछि सर्थ्यो । आफ्नो प्रशासनिक पावर अघि दुनिया कामेको कल्पनाले म मनमनै फुल्थेँ, यद्यपि मेरो मुहारमा कृतिम पाराले दलिएको रिसको लेप टल्किन्थ्यो ।

त्यसपछि नं. २ मा ढोका नजिक खडेबाबा भएर उभिएको पिउनमाथि म बज्रिन्थेँ, “ए ठण्डाराम ती भित्ताका पोष्टरहरू च्यातिस् ?” ठण्डाराम् विस्तारी भन्थ्यो, “अस्तिका दिन टाँसेका हिजो साँझमा च्यातेँ तर राती कुनवेला आएर फेरि पर्खालै नदेखिने गरी टाँसेछन् ।”

“तँ वीर हुन्छस्‌् ? तँलाई दिएको नाइट् ड्यूटी केका लागि हो ? त्यो भाला र लाइट् किनेर दिएको के मेरो रुङ्नलाई हो ?”

“सर, यो चिहान डाँडामा रातभरी एक्लै हुन्छु, र आज दुई बजे राति बाहिर निस्कँदासम्म कोही थिएन । छ्याप्प चौरभरी शीत परेको थियो । भित्र पसेपछि एकदमै नराम्रो गरी पेट दुख्यो र फेरि बाहिर निस्कनै सकिनँ सर !”
“कोरिएका पर्खालहरू मेट्नू भनेको मेटिस् ?” म फर्किएपछि ठण्डाराम भन्दै जान्छ, मेट्न लागेथेँ सर हिजो साँझमा तर विद्यार्थीहरूले कताबाट देखेछन् र आएर झण्डै मुड्क्याए । म बल्ल बाँचे ।”

“के रे, तँलाई त्यो जागीर केका लागि दिइएको हो ? ख्याल राख । त्यो ब्ल्याकवोर्डमा मनपरी चित्र कसको हो ? त्यो पर रुखमा ककसका कार्टून हुन् ? किन नच्यातेको ? फेरि भित्ता कोर्नेको नाम टिपेर मलाई दे, भनेको होइन ?” म असाध्यै रन्किएँ । पिउन बिस्तारै बोल्न थाल्यो, “सर, त्यो त, त्यो त सरकै नराम्रो खाले नक्सा र मनपरी लेखिएको देखेर मेट्न जाँदा झण्डै मारे । ३–४ मुड्कीसम्म थापेँ । यो एउटा करङ नै तलमाथि सरेजस्तो लाग्छ सर …म यो जागीरै खान सक्तिनँ बरु ….।” म रीसले फेरि रन्किएँ, कर्कराएर दाह्रा किट्थेँ । डरले लकपकाइरहेको पिउन, अलि अलि गर्दै पछि सर्थ्यो र विजय प्राप्तिको आभाषले म फुल्थेँ ।
(क्रमशः)

०००
कीर्तिपुर
वि. सं.२०४१ सालतिरै लेखिएको भए पनि सामान्य सम्पादनपछि पहिलो पटक फित्कौलीले फेला पारेको ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गणतन्त्रले दुइटा दिने भो

गणतन्त्रले दुइटा दिने भो

डा. गोविन्दराज भट्टराई
एक टपरी मेरा इच्छाहरू

एक टपरी मेरा इच्छाहरू

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (२)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
केही अराष्ट्रिय तत्वहरू

केही अराष्ट्रिय तत्वहरू

डा. गोविन्दराज भट्टराई
तिवारीजीको कथा

तिवारीजीको कथा

हरिशंकर परसाईं
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
धन्नै गएनन् माझघर बा

धन्नै गएनन् माझघर बा

सुरेशकुमार भट्ट
हत्याराको छनोट

हत्याराको छनोट

शरच्चन्द्र वस्ती
भैरव अर्याल र उनको ‘जयभुँडी’

भैरव अर्याल र उनको...

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x