रामकुमार पाँडेनेताको व्यथा
अर्थात् जनताले नेता बनाउँदैनन् । नेता जननेता भन्दाभन्दै धननेता बनेको पत्तै हुँदैन । यसैले त नेता घैँटो हो भनेको । बुद्धिको बिर्को नउघारी घैँटोमा घाम के लाग्ला ?

रामकुमार पाँडे :
राजनीति र नेता पानी र घैटो बराबर हुन् । जस्तो घैटोमा हाल्यो राजनीति उस्तै हुन्छ । त्यसो त घैटाका पनि अनेक रूप हुन्छन् । जति हाले पनि नभरिने घैटो, जति हसुरे पनि नपुग्ने नेता बराबर हो । राजनीतिको घैटो मध्य लोटा जाति असङ्ख्य हुन्छन् । लोटाको भाग्य गज्जबको हुन्छ राजनीतिमा । तिनको प्रवेश पाइखानाबाहेक अन्यत्र हुन्न । यस्ता लोटे कार्यकर्ता केही झर्ला र घैटेभुँडी भरौला भन्दाभन्दै आफू रित्तिन्छन् । अर्थात् यस्ता लोटाको प्रयोग पत्तै नदिइ नेताले के जाति धुवाइका लागि प्रयोग गरिसकेको हुन्छ । लोटालाई नेताले काँधमा बोक्दैनन् । हातमै च्याप्छन् । यस्ता लोटामा खैराते प्राध्यापकदेखि प्रोजेक्ट प्रापक, पत्रकारदेखि साहित्यकार र दूतालय पोषित अरौटे भरौटे कर्मचारीदेखि स्वयम घोषित एवम पद र पगरी खोषित सांसदसम्म पर्छन् । जल भरिने घैटो राजनीति पल्टा खायो भने मल भरिने बन्छ । जसरी अबिर दलिने नेता कालोमोसो दलिने बन्छन् ।
राजनीति पोखिएपछि घैटो रीत्तो ढ्वाङ्ग बन्छ । नमचिने पिङ्गको सय झट्का भनेझै रित्तो ढ्वाङ्गको आवाज चड्का । जसै नेता महान बन्छन् ती कलशझै पुजिन्छन् । कलश र लोटामा काँधमाथि र कम्मर मुनिजत्तिकै भिन्नता छ । शक्ति बिनाको राजनीति रित्तो घैटो बराबर । नेता शक्तिसहित र शक्तिरहित हुन्छ । शक्तिसहितको नेता स्यालै भए पनि बाघको ओढारमा उभिदा आफूलाई बाघ ठान्छ । शक्तिरहित नेता बाधै भए पनि जुङ्गा उखेल्दा पनि मरेको बाघफैं बन्छ ।
शक्तिको लोलुपताबाटै राजनीति अर्थात् नेतागिरी प्रारम्भ हुन्छ । नेताको खेल भन्नु नै म्युजिकल चेयर हो । मानौं कुर्सी झिङ्गाका लागि अपच वालाले छाडेको वस्तु हो । हेर्नोस कुर्सी चारखुट्टे भए पनि यो जनावर होइन । यस्को चार पाङ्ग्रा नभएकोले यो गतिवान पनि छैन ।
शायद गति दिन घुम्ने मेचवालाले पाङ्ग्रा हाल्छन् । तर ती निश्चित सीमाबाट उम्कनचाहिँ सक्दैनन । गति नहुनेको दुर्गति हुन्छ । यसैले कुर्सीमा सदाकाल कोही पनि बसिराख्न सक्दैनन । नत बसी राख्छु भनेरै बस्न पाउँछ । हो कुर्सीबाट झार्ने र कुर्सीमा आफूलाई पार्ने खेल नै राजनीति हो । कुर्सीमा गति नभए पनि त्यस्मा बस्नेको प्रगतिचाहिँ रोकिन्न । यसैले त कुर्सी नछोडी त्यसैमा सद्गति पाउने पनि छन् । नेता र कुर्सीको सम्बन्ध जीव र अजीवजत्तिकै छ । अर्थात् नेतामाझ नेता जिउँदो जीव भएर जान्छ र जित्छ । कुर्सीमा बसिसकेपछि निर्जीवजस्तै हुन्छ । यो अजीव बन्दै पुनः जीव बन्छ । अर्थात् पुतली झुसिलकीराजस्तै नेताको रूप, जीवन प्रणाली शायद कमैले बुझ्छन् । जीवन दर्शनका दृष्टिले देखिएको सत्य होइन । राजनीतिमा सत्य झुठ र झुठ सत्य हुने कारण नै सफेद झुठ हो । अर्थात् अर्थलाई निरर्थ र निरथलाई अर्थपूर्ण पार्ने नै राजनीति हो ।
नेताको रूपलाई मानव विकासको अवस्थासँग जोड्न सकिन्छ ।
चुनाव ताका अबोध बालकझै माया पाउन लालायित बन्छ । अर्को बाल स्वरूप नेतासँग कुस्ती पन्यो भने रोएर पनि जित्न खोज्छ । चुनाव जिल्लेबित्तीकै उ वयस्कमैं अरिगाठे गज्जबको काठे बन्छ । नजानेको कुरामा पनि यसरी भाषण छाँट्छ ।
मानौँ उ नै सर्वज्ञ हो । फुकेको राङ्गाझै नेता यतिखेर गुण्डा बन्न पनि सक्छ । तर जव खाँदा खाँदा मुँडी फुट्न खोज्छ, उ विरामी पर्छ । बस, भोगपछिको योग हेर्न लायक हुन्छ । उसको भुँडी जति बढछ टाउको सानो हुन्छ भन्ने कुरा सत्य साबित हुन्छ । अर्था मूर्तिकारलाई नेताको मूर्ति बनाउन दुइटा बल भए पुग्छ । ठुलो बलमाथि सानो बल राखेपछि उसको सही सालिक बन्छ । उसको यो रूपमा मान्छेले केही लछारपाटो लगाउन नसके पनि कागले देखाइदिन्छ । उसको अनुयायी भए बिस्टा सफाइ आयोग बन्ला । नभए उसको रूप बिस्टामय बन्ला । राजनीतिको उलटपलट भनेकै यही हो ।
नेताको यस्तो रूप देख्दादेख्दै मान्छेहरू नेतै हुन खोज्छन । अझ गज्जब त कहाँ छ भने एउटा नेताले अर्को नेतालाई तील बराबर गन्दैनन् । यस अर्थमा तिनलाई के कुराको ज्ञान हुँदैन भन बुहारी पनि सासू बन्छ र सासू बन्नेबित्तिकै आफू बुहारी भएको बिर्सन्छन् । अझ कुनै कुनै नेता छोरा जन्मी सक्दा पनि सधैं आफूमात्र बाबु हो भन्ठाछन् जव कि नाति निक्लिसकेको हुन्छ ।
बास्तवमा नेता बनाउन जनता भए पनि जनता बनाउने नेता कमै छन । जनता र नेता अन्योन्यास्रित हुन तबसम्म, जबसम्म नेता जनता बन्दैनन् र जनता नेता बन्दैन । नेताको नारा लगाएर खाने जनता र जनताको नारा लगाएर खाने नेताको भिन्नता नदेखिए पनि जनताले नेताको नारा लगाउन छ छाडिसके पनि नेताले जनताको नारा लगाउन छोडदैनन् ।
नेता दुई किसिमका मात्र छन् । एकथरि नेता अर्कालाई नाङ्गो पारेर आफू लुगा लगाउँछन् । अर्काथरि नेता आफू नाङ्गिएर अर्कालाई लुगा लगाइदिन्छन् । अर्कालाई नाङ्गो पारेर आफू लुगा लगाउने नेताले भोलि आफूलाई पनि नाङ्गो पार्छन् भन्ने कुरा बिर्सन्छन् । आफू नाङ्गिएर अर्कालाई लुगा लगाइदिने नेतालाई लुगाको खाँचो हुन्न भन्ने कुरा धेरै नेताको आत्मज्ञान हुन्न । नेतालाई नेता बनाउने जनता हुन । तर जनतामा पनि आत्मज्ञान नदेखेर नेताको सपना कहिल्यै साकार नपरेका हुन् । जनताको आत्मज्ञान भएको भए अब जनता शहीद हुने पालो पुग्यो, नेता हुनुपर्यो, नेता बन्नुपर्यो । जनता र नेतामा भिन्नता नै यही होकी जनता शहीद बनेपछि नेता दरिन्छ ।
नेता शहीदै नबनी नेता दरिन्छ । अर्थात् जनता शहीद भएर जिउँदो बन्छ । नेता जिउँदो भएर मरेतुल्य हुन्छ । यो सिद्धान्त त्यति बेलासम्म लागु हुन्छ जति बेलासम्म नेता जनता बन्दैनन् र जनता नेता बन्दैनन् । अर्थात् जनताले नेता बनाउँदैनन् । नेता जननेता भन्दाभन्दै धननेता बनेको पत्तै हुँदैन । यसैले त नेता घैँटो हो भनेको । बुद्धिको बिर्को नउघारी घैँटोमा घाम के लाग्ला ?
०००
हास्यकाे हलुवा (२०८२)
Subscribe
Login
0 Comments
Oldest







































