साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मात लागेको मन्त्रीको मस्ती

यी नकचरा । आफ्नो काम बनाउन आएका । मन्त्री सकेको भोलिपल्ट मरेको मुसालाई जिउँदो उपियाँले छोडेजस्तो दम्पच हुन्छन् । असल मान्छे त यहाँ आएकै छैनन् ।

Nepal Telecom ad

रामकुमार पाँडे :

मैले भन्या हैन बुढी ! देखिस् त मन्त्री भएपछि सबै लडी लड़ी आउँछन् । कति ढोका धाउँछन् । चोकमा हेर त कति मान्छे थुप्रैका हेर । कतिले के के बोकेर आ’का ल्या’का छन् ।

हो बुढा, तिमीलाई चाकडी गर्न आएका ती भेडाको हुल देखेर दङ्ग पर्छौं । यी मन्त्री नभाको भोलिपल्ट मरेको मुसालाई उपियाँले छोडेजस्तो बेपत्ता हुन्छन् । तिनले ल्याएको कोसेली अप्रत्यक्ष घुस त हो । हिजो आफूलाई खट्ट हुँदा कसैले झट्ट पैंचोसम्म दिने कृपा नगर्नेले अहिले चट्ट पोको बोकेर अरूले देख्लान भनेर सट्ट भित्र पसेका छन् । यिनलाई लाजै छैन ।

मैले यस्तो कुरा लिनु हुँदैन । अर्का दलका पत्रकारले भेटे उछितो काढ्छन् । म हप्काएजस्तो गर्छु तैँले कुरा मिला । जे दिन्छन् जुरूक्क उठेर खुरुक्क ल्याएर राख । अब त मलाई भात पनि पकाउन पर्दैन । तँलाई ढिँडो मस्काउने दुःख हुँदैन । मेरो त बैठक बसे पनि खाजा र खाना । रात बसे पनि हुन त हो बुढा । रात बस्दा फेरि । के फेरि ? म कहाँ फेर्छु र ? हेर मेरो निजी सचिवचाहिँ एउटी उत्ताउली भै भनेर फेरेको अर्को लाटी परी । आँखा मात्र पिर्लिक पिर्लिक पार्छ ।

तिम्रो बानी मलाई थाह छ बुढा । फेरि बेसरी घोकेर त्यसैलाई ढोगेर बोकेर हिँडलाउ नि ? अचेलका मान्छे मान्छेनि के भाका ? पुच्छर लाग्ने दुछर पाइताला नै चाटुँलाजसो गर्छन् । नाच्न परे कछाडै उचाल्छन्, खुस्केको भोलिपल्ट पुच्छर निमोठ्छन् । खल्तीभरि पैसोदेखि नबोलाए पनि पछि लाग्छन् भुस्याहा कार्यकर्ता जस्ता हैट । त्यस्ता कुरा नि गर्नु ? तिनका बोली वचन नै मीठो । बरु त पनि त्यस्तै सिक न । त पनि त मन्त्राणी भैसकिस् नि ?

चाहिया छैन दुई दिने मन्त्राणी । खुस्केको भोलिपल्ट भुसिया कुकुर जति पनि मान्दैनन् । फूर्ति गरेर हुन्छ र ? चुनावमा जित्न धनुषटन्कार गर्छ, जितेपछि जनतालाई साष्टाङ्गदण्डवत गरोस् भन्ने ठान्छौ । कस्ले बुझ्या छैन र तिम्रो चाल ।

जनताको आँखामा आँसु आफ्नो भागमा मासु । के गर्नु बुढी । आफ्नो अड्डामा त किसिम किसिमका मान्छे छन् । हिजोसम्म सडकमा नारा जुलुस गर्दा गर्धन समाउनेले आज गर्धन तन्काएर स्यालुट गर्छ । मेरो कुरा के गर्छस हेर लूट मचाउने, आतंक मचाउने, हल्ला मचाउने पकेटमारा, मुलुकमारा, ज्यानमारालाई त सुरक्षा दिएर सम्मानसाथ लगेको देखिनस् ? मन्त्री भएपछि चिनेकाको त के कुरा गोरु बेचेको साइनोवाला समेत म त हजुरको फ्यान भनेर पछि लाग्छन् । अझ पत्रकारको के कुरा गर्नु ? पछि लाग्या लागै गर्छन् । हामीले अपानबायु छोडे पनि तिन्ले क्या सुगन्ध फैलियो भनेर रिपोर्टिङ्ग गर्छन् । विद्वान्‌को योगदान र समाजसेवीको दान कार्यक्रमको समाचार तिन्ले दमपच पार्छन् । जता गए नि हाम्लाई आफन्तै जस्तो गर्छन् ।

हो बुढा तिमीलाई के थाहा । भ्रष्टाचारी त झन् खुट्टैमा ढोगुँलाजस्तो गरी चिप्लो घसेर काम लिन्छन् । यस्ताको भर गरौं भने चिप्लाउन बेर हुन्न । कमिशनमा फसाउलान (?) मुखले ठिक्क पार्छन् अनि मौका पर्दा झार्नसम्म झार्छन् । खोइ म त कुनै बुद्धि सिकाउने बुद्धिजीवी यहाँ आएको देख्दिनँ । तिम्रो बुद्धिले मात्र काम गर्दैन। मन्त्री हुनेबित्तिकै सबै जान्नेसुन्ने ठान्छौ । कुनै ध्यान छैन, कुनै ज्ञान छैन । कोतपर्व भनेको के हो भने भने त्यो त एउटा चाडपर्व भन्छौ । रोपाइ गमलामा गर्छौं । गर्नु गर्छ ।

के कुरा गरेकी ? त्यस्ता बुद्धि चाहिने मान्छे हुँ म ? मलाई नआउने कुरा के छ ? नजान्ने भनेको केही छैन । म जाने हो र बुद्धिजीवी नै आएको देखेको छैन ? जस्लाई पनि म एक चुड्‌कीमा बोलाउन सक्छु । फूर्ति गर्नेलाई एक मुड्‌कीमा ढलाउन सक्छु । जागिर लगाएर पाल्न सक्छु । चारा छरेर कवि कलाकारलाई आफ्नो सोखमा देउसी भैलो खेलाउन सक्छु । कलाकार त के पत्रकार नै नचाउन सक्छु । गुरुको १३ भए हाम्रो आठ । गुरुको हातमा दैनिक पाठ हाम्रामा राजपाठ । त्यसै मन्त्री भाको हो र ? कत्रो तिकडम लगाउनु पर्छ ।

राजदूत, कुलपति हनेदेखि साम्सदको त रेट हुन्छ भने मन्त्री खान त्यसै हुन्छ ? मैले के के जुक्ति बुद्धि लगाए तलाई थाहा छँदै छ नि (?) पहिलेकाले दही लिएर, बोका डोराएर लान्थे अहिलेकाले अटैची ।

मैले त्यत्ति नपढेर के भो ? म संस्कृतिदेखि शिक्षामन्त्री भैन कि, अर्थमन्त्री भैन कि ? मैले नै प्राज्ञ बनाएँ, मैले नै जि.एम. बनाएँ, मैले नै तक्मा दिलाएँ, मैले नै पुरस्कार दिलाएँ । तक्मा पनि कतिलाई मैले नै सिफारिस गरेर दिएको हो । मन्त्री हुन नपाई मेरो गुरुभन्दा मेरो मर्यादाक्रम कति माथि पुग्यो ? के हिजोको जस्तो हरिलम्फू हुँ ? तिमीलाई के थाहा छ ? म कम दुःख गरेर मन्त्री भाको हुँ ?

जनता भन्छन, गोबरगण्डुलाई प्राज्ञ बनायौ, चपरचण्डुलाई मन्त्री, सण्डमुसण्डलाई ठेक्का दिलायौ, भ्रष्टलाई अमृत पिलायौ । मलाई थाहा छैन ? तिम्रो कर्तुत सबलाई थाहा छ ।

के कुरा गरेकी लाटी ? एकथरिलाई मासु भात खान्दे पछि भोट पक्का, एकथरिलाई सुरापान गराएपछि प्रशंसै प्रशंसा, भजन कीर्तन गर्नेलाई सल्लाहकार बनायो, अर्कालाई इनाम दिलाएपछि कस्ले बदनाम गर्ने ?

मन्त्री हुँदा के हुन्छ अब पत्तो होला । हेर त चोकदेखि चौरसम्म मान्छे थुप्रेका । यहाँ चाकडीमा आउने झोले कार्यकर्ता, टोले हर्ताकर्ता मात्र हो र बिग्रेको बुद्धिजीवीदेखि, शुद्धि हराएका गुदि नभाका काम छैन बिहानै चोकमा जात्रा । शिनोमा कीरा परेजस्तो ।

बल्ल मेरो योग्यता देखियो । पढ्न त मैले पढेको छैन । हेर त कस्ता कस्ता बुद्धिजीवी डाक्टर समेत पछि लागेका छन् ।

केका बुद्धिजीवी हुन्थे ? झोले, टोले र भद्रगोले मात्रै देख्छु म त (?) कमिशनखोर, डन र डाँका चोर, ठेकेदारदेखि आसेपासे सत्यानासे पत्रकार ठेकदार सब बेकार ! काम छैन मुसामाथि उपियाँ स्याउँस्याउँ । तिमी खुस्केपछि मरेको मुसालाई उपियाले छोडेजस्तो हुन्छ अनि देख्नेछौ ।

अब देख्नेछेस् मेरो चमत्कार । अब कस्को बाबुको तागत हाम्रो घर खानतलासी गर्ने ?

हो बुढा, मैले पत्याएँ । सरकार ढल्दा थाहा पाउनेछौ । उस्तैको हात परे छानविन हुन बेर हुन्न । अनि सबको बेइज्जत । बेइज्जत कमाएर पैसो कमाएको पनि इज्जत कमाएको हुन्छ र ? तिम्रो योग्यता के छ । लेखेको क क न न गरेर, अङ्ग्रेजी पढ्दा बच्चाले पनि नगरने गल्ती गरेर देखाइसक्यौ । अझ फूर्ति गर्छ । बुद्धि हुनेले आफ्नो मन्त्रालय अन्तर्गत नियुक्ति गरेको, पुरस्कार दिएको छलबाटै तिम्रो ताल देखिसकियो । फूर्ति लगाएर हुन्छ र ? के छ तिम्रो योग्यता ? योग्यता भनेको जेलमा बसेको हो । जेलमा बस्दा कस्ताको सङ्गत गरेका छौ ? गतिलो मान्छे जेल पर्छ र ? चोर, डाँका, घुसखोर, ज्यानमारा, डनको सङ्गत अनि के हुन्छ ? कुनै विद्वान् आएका छन् तिमीलाई भेट्न ?

पदबाट खुस्केपछि कुकुरलाई जति पनि नपुछेको देखेका छैनौ ? काम गतिलो गरे पो सबैले हाइ हाइ गर्थे । बिदेश घुम्यौ के सिक्यौ । एउटा नमूना काम गरेनौ । मलाई पो भन्छन तिम्रो लोग्नेले त घुस खाएर सबै बनायौ देशलाई कङ्गाल गरायौ । भ्रष्टाचार गरेर कमायौ । मलाई गहना लगाएको पनि सुहाउँदैन भन्छन् छिमेकी । समाजले त देखिरहेका छन् ? जनता सचेत नभएर पो हिसाब गरेका छैनन । ती बुझ्ने भए हाम्रा छोरालाई कसैले छोरी दिँदैनन्, छोरी पनि कसैले लिँदैनन् । इतिहासमा तिम्रो अनुहारमा कालो पोतिन्छ ।

त्यस्तो नभन न बुढी । बरु तल आउनेलाई मान्छे हेरेर चिया नास्ता देन । यी सब कामका मान्छे हुन ।

यी नकचरा । आफ्नो काम बनाउन आएका । मन्त्री सकेको भोलिपल्ट मरेको मुसालाई जिउँदो उपियाँले छोडेजस्तो दम्पच हुन्छन् । असल मान्छे त यहाँ आएकै छैनन् । हेर बुढा कामै गर्ने हो भने नीति नियम बनाउने, राम्रो योजना बनाउने र यस्का लागि विद्वान् विशेषज्ञ बोलाउने, छलफल गर्ने, योजना बनाउने अनि पो हुन्छ काम । यहाँ आएका खुराफातीहरू आफ्नो स्वार्थ लिएर समय बर्बाद गर्न आका छन् । उल्टो गतिमा विकास अघि बढ्ने हैन पछि हट्छ । ज्ञानी, विद्वान्, विशेषज्ञका घरमा गए पो बुद्धि फुर्छ । यस्ता लठैत वरपर भिड जम्मा
गरेर के नापिन्छ ?

के पाइन्छ हेर बुढी । पैसाको ओइरो लागेर राख्ने ठाउँ नहुँदा पानीट्यान्कीमा राखेको थाह छैन ? अब हेर्दै जा । गरिब मन्त्री को छ ? हाम्रै साथीहरू हेर कसैको जग्गा, कसैको घर, कसैको रेस्टुराँ, कसैको पार्टी प्यालेस, कसैको सुपर मार्केट कसैको अपार्मेन्ट । बन खौरेर जग्गा बढाका छन, भोजभतेरमा मोज मस्ती लडाका छन् । बरु तैँले… ।

ए बुढा । तिम्लाई मात लागेजस्तो छ । गस्तीभित्र मस्ती मनाउँदै छौ। उ हेर त बाहिर जुलुस आएजस्तो छ । सुन त- भ्रष्टाचारी मन्त्री मुर्दाबाद । पनि माथिकालाई के गर्दा खुसी हुन्छ त्यही गरेर फाइदा उठाउन सोच । केही नगरी मन्त्रिनी भाछेस् अरूले मलाई बधाई दिन्छन् म तँलाई बधाई भन्छु ।

०००
मधुपर्क (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x