रामकुमार पाँडेनयाँ रामराज्य
नयाँ रामराज्य ल्याउन पुरानो राज्यमा बाँदर सेना प्रयोग गर्नेपर्छ । नयाँ राम बनाउनुपर्यो । पुरानो रामलाई लान्छना नलगाई नयाँ काम नहुने भयो । पुरानो राजा रामले ठीक काम गरेन भन्नुपर्यो । डाँका फटाहाले उहाँले ठीक काम गर्नुभयो भन्नुपर्यो ।

प्रा. रामकुमार पाँडे :
कैयन् राष्ट्रपति भए, कैयन् प्रधानमन्त्री गए तर तिनले कत्रा कत्रा पुरुषार्थ गरेर राज्य गरे पनि नाम लिने बेलामा चाहिं घुम्दै फिर्दै राम राज्य । रामले कस्तो राज्य गरे ? उनको राज्यमा नै प्रधानमन्त्री ढेडु भए पनि हाइ हाइ गर्थे ।
रामको नाममा एकजोर चप्पल राखे पनि ढोगभेट गर्थे। चौध वर्ष वनवास भए पनि अयोध्यावासीले श्रीरामकी जय । भन्न छोडेनन् । रामका सेना बाँदरले बाटो नबनाएका भए लङ्का जित्ने सवालै थिएन । हनुमान् पो उफ्रन मात्रै हैन उड्न नि सक्थे । वास्तवमा बाँदर सेना प्रयोग गर्न कम सजिलो पर्दैन । पैसा उठाउनु छ कि कसैलाई ठटाउनु छ, बाँदर बटालिन पठायो, उपर उपरका पनि असुल उपर भै हाल्यो । बाँदर सेनालाई रामधुलाइमा कसले भेट्ने ? रामको दाँयाबाँया ढेडुरूपी बाँदर बसेपछि नाम राजाराम काम ढेडूको । मुद्दा छिन्ने काममा त बाँदर कुनै खन्चुवा न्यायाधीशभन्दा कम हुन्न । रोटीको टुक्रा जोख्दाको न्याय बिर्सिनसक्नु छ । बाँदर न्याय भएपछि कानून नुन विनाको आलु बराबर ।
कसैलाई स्पष्टसँग भ्रष्ट भन्नै पर्दैन बाँदर लगाएपछि राज्यमा संकट हटी काम पटिहाल्छ । राम भन्ने कुरो ढेडूको छातीमा हुन्छ । कतै फूर्ति गर्नुपर्यो भने अचेलका भरौटेले मन्त्री देखाएझै देखाइहाल्यो, खाइहाल्यो । कसैको मुखमा राम छ भने बगलीमा सक्कली छुरा हुन सक्छ । चैतेको कमाल भनेको यही हो । यसैले रामले बोल्न पाएको हुन्न हरामले प्रशंसाको पर्रा छोड्छ । क्या मज्जा !
बाँदरले हुल बाँधेपछि वगैंचा बन्छ मरुभूमि । अनि राम-राम भन्नै पर्ने हुन्छ । नयाँ रामराज्यको परिकल्पना भनेको यही हो । काम नगर्नेलाई मस्ती, दुःख गर्नेलाई सास्ती । हेर्नोस्, पुरानो नफाली नयाँ कसरी ? नयाँ वनाउन कुनै विराट परिभ्राट पर्दैन । सरकारले उठाउने राजस्व बाँदर संगठनले उठाउने । भ्रष्ट ठटाउन बाँदर नै पठाउने । बाँदरको लाम लगाएर सडक जाम पारेपछि अनि ठामको ठाम ।
नयाँ रामराज्यमा राम पनि हुनुपर्यो । सीधा टाउको हल्लाई मूर्तिभै बाेल्ने होइन टाउको कुमदेखि नाइटो थर्कने, घाटी सर्कने गरी बाेल्नुपर्यो । कोरेलो साँढे मैं हानिहालौँ कि भनेर डुक्रनुपर्यो । नयाँ रामराज्यको काम काज नबुझ्नेको दैलोमा पटका भए पनि पड्काउनुपर्यो । विरोध गर्ने नयाँ नयाँ शैली ल्याउनुपर्यो । अंशवण्डा र भागवण्डामा सहमतीय, बहुमतीय प्रणालीले काम नचले दुर्मतीय प्रणाली लागु गर्नुपर्यो । गरिबी हटाउन गरीबलाई पनि फाइभ स्टारमा आरक्षण दिनुपर्यो । नयाँ व्यापार ढाँचा ल्याएर फुटपाथमा पसल खोल्न, बगरमा वस्ती बसाउन, विद्यालयमा नक्कली सर्टिफिकेटवाला पसाउन र चारखुट्टे कुर्सीमा बस्न पाउनुपर्यो । टुँडिखेलमा सुकुमबासी बस्ती बसाउनुपर्यो । सिंहदरबारमा कोठैपिछे भाडा लगाउनुपर्यो । अझ मन्त्री ठेलागाडामा हिँड्नुपर्यो । अनि सामन्तीको गन्ध बन्द हुन्छ ।
नयाँ रामराज्य स्वर्गतुल्य बनाउन विपक्षीलाई जसरी भए पनि स्वर्ग पुऱ्याउनुपर्यो । शहिदमा पनि समानुपातिक र ठूलाठूला नेता कोर लागेर सुइँकिए पनि शहिदको पगरी गुथाएर नगद आरक्षण गरी क्रमभङ्गको ढंगमा आरक्षणको छलाङ मार्नुपर्यो । शहिद दिवसलाई नयाँ चाड मानी भोज खानुपर्यो ।
नयाँ रामराज्यमा साहुजीले मान्छे हेरी मूल्य तोक्न पाउनुपर्छ । चोर फटाहाले पुलिसलाई ठोक्न पाउनुपर्छ। कहीं नबिकेकालाई राजनीतिमा भर्ती गर्दै मन्त्री र सांसद्को पद पूर्ति गर्न पाउनुपर्छ । नयाँ शिक्षामा प्राथमिकलाई ढुङ्गा हान्न, माध्यमिकलाई टायर बाल्न, उच्चलाई वमै हान्न सिकाउनुपर्छ । राज्यले विना भेदभाव घर हुनेलाई घरभाडा र महिला पुरुष जो भए पनि सांसद् भए सुत्केरी खर्च पाउने गर्नुपर्छ । छलाङ मार्ने भनेकै यही हो । आफ्नो कमाई नहुनेलाई चन्दा असुल्न छुट र चन्दा नदिनेलाई लूट नै कृत भएकाले अर्कोलाई सुताउन आफूलाई उठाउनुपर्छ । ठोक्दा तल बितल परे आहतलाई राहत दिनु नपर्ने विधेयक ल्याउनुपर्छ । चाहत
अनुसार राहत नभए पनि शहिदको सपना पूरा गर्न कनिका छर्नुपर्छ ।
नयाँ रामराज्यमा सुरक्षाकर्मी र विद्यार्थीलाई आ-आफ्नो बाँदर नृत्यमा रोकतोक हुने छैन । गृहमन्त्रीको कामकाज नहुने हुँदा लुते राखे पनि नपुंसक ल्याए पनि हिजडा ल्याए पनि वा गोरुमुते भए पनि फरक पर्दैन ।
नयाँ नयाँ चलन चलाउन काम चलाउ प्रधानमन्त्रीको पनि कायममुकायम पद खडा गरी कुर्सी जोगाइनेछ । सचिव दुई दुई जनाको दरवन्दी आफ्ना प्रेमिकालाई घरवन्दी बनाई हलगोरु जोते जस्तै जोतिनेछ । मन्त्रीको पाउ मोलेमा पढाइभन्दा माथि चढाई भाउ बढाइनेछ । मूर्खराज भनेको यही हो । लाटा घोइरालाई प्रमुखले नपुगे मानपदवीमा मुख्य पनि थपिनेछ ।
रामको सेवक हनुमानलाई टाउकामा टेकाइने छ । भारदार वरखुदार हवल्दारलाई घर बनाउनेदेखि मन्त्री बनाउने सम्मको काम चैतेलाई प्रोत्साहन स्वरूप गरिनेछ । नेताको सीतालाई अपहरण गर्न नपर्ने तर आँफै अपहरित भए भत्ता र लत्ताकपडाको व्यवस्था नाङ्गो जुलसमा जानेलाई एन.जी.ओ मार्फत गरिनेछ । असल शासनको नाममा सरकार हल्लाउने समानान्तर सरकारदेखि गाउँदेखि टुप्पैसम्म आ-आफ्नो छाया सरकारको दरकार महसुस गरी लुटमा छुट हुनेछ । नयाँ रामराज्यमा बाटादोबाटामा बाँदर नाच नाच्नेको कम्मर भाँच आदेश जारी गरिनेछ ।
नयाँ रामराज्यको खुशियाली कस्तो होला ? त्यो लङ्का विजयभन्दा कम्ता हुने छैन । फूलबारीमा बाँदर नाच । राम वनवास हुँदाको पीडा बिर्सिन पेडा बाँडिएला । सुवर्ण लङ्कामा बाँदर पसेझै सम्पत्ति हारालुछ हुँदा जनताको सुखको सीमा हिन्द महासागरसम्म फराकिलो हुन वेर हुन्न । शंखधरलाई माथ गर्ने गरी ऋण मोचन गरेपछि कति हलुका होला ? बस् ऋण ल्याउँदै ढेडू जतिलाई सुख सुविधा दिंदा ती कति दंग पर्लान् ? बुद्धि बिग्रेका राष्ट्रभक्त परे राष्ट्र ऋण प्रत्येक नागरिकलाई तिराएर नेताको भ्रष्टाचार समेतमा राहत भएपछि ती मन फुकाएर नाच्दा हुन् । रोडपति जति लुट्न पाए सव करोडपति । ऋण दिने वर्ल्ड बैंक जस्ता लक्ष्मीपति भए । हरदम लक्ष्मीपूजा । राती लक्ष्मीको पदार्पण हुने र दिउसो फिर्ती सवारि हुने हुँदा लक्ष्मीलाई उस्तै परे अपहरण गरी अँध्यारामा चुन्न वेर हुन्न । राजा रामको पालामा कम से कम कामै नगरी खाजा खानेको संख्याले नर्क भरिएर स्वर्गवासीको संख्या बढ्नेछ ।
नयाँ रामराज्य ल्याउन पुरानो राज्यमा बाँदर सेना प्रयोग गर्नैपर्छ । नयाँ राम बनाउनुपर्यो । पुरानो रामलाई लान्छना नलगाई नयाँ काम नहुने भयो । पुरानो राजा रामले ठीक काम गरेन भन्नुपर्यो । डाँका फटाहाले उहाँले ठीक काम गर्नुभयो भन्नुपर्यो । भाषादेखि नै खासाको कुरा ल्याएपछि अचेलका छुरा जस्ता भुराले ताली पिट्ने नै भए । नयाँ राम एकपत्नी भक्त हुनुभएन । समावेशीकरणलाई विचार गरी सबै जात-लिङ्गको एक एक जना महिलालाई रानी सीता हुन अवसर दिनुपर्यो । सीतालाई पनि समान अधिकार दिने समावेशी श्रीमान् चाहियो ।
विधवालाई अप्ठेरो परे रातो वस्त्र रङाएर सेतो कपालमा ध्वाँसो पोत्नुपर्यो । नयाँ राम ल्याउन पुराना रामलाई चाहिने नचाहिने आरोप लगाउनुपर्छ । सवैभन्दा पुरानो हनुमानले सम्मान पाउनुपर्यो ।
केही नपाएको आवाज बुलन्द गर्नुपर्छ । महिलाहरूमा सबै नभए मन्थरा जति सबैको संगठन बलियो बनाउनुपर्छ । स्वर्ण लङ्काको सुविधाभोगी विभीषणलाई षड्यन्त्रमा लगाउनुपर्छ । नयाँ रामराज्य त्यसै बन्छ ? रामराज्यमा पत्रकारको भूमिका नभएकाले नयाँ रामराज्यमा सवल बाँदरलाई अग्रणी भूमिका विद्यार्थी नेतृत्व सम्ममा दिनुपर्छ । समावेशीकरण गर्न पत्रकारमा बाँदर मात्र हैन ब्वाँसो, स्याल र गथा समेत राख्नुपर्छ । रेडियो, टेलिभिजन र पत्रिकामा ढेडूको प्रशंसा पुराण लगाउनुपर्छ । राज्यमा सम्पूर्ण धरोहरमा बाँदर सेना चढ्न स्विधा होस भन्ने हेतुले लिस्नाको सेत् बनाउनुपर्छ । नयाँ रामराज्यमा श्रीमतीहरण गर्ने रावणसँग मित्रता बढाई रावणदललाई सोझै माथिसम्म जान रोकतोक नलगाइने व्यवस्था हनुपर्छ र साँच्चिकै नयाँ राज्य बनाउने हो भने रामले हार्ने र रावणले जित्ने युद्ध गर्नुपर्छ, बस नयाँ रामराज्य आइहाल्छ ।
कामना, गाईजात्रा, २०६६
०००
जाेकतन्त्र जिन्दावाद ! (२०७७)
Subscribe
Login
0 Comments
Oldest








































