रामकुमार पाँडेजँड्याहा पत्रिका
अहिले जँड्याहा पत्रिका पसलमा हप्तौँ झुण्डेर आफ्नो कुरूप अनुहार जनतासमक्ष अपहत्ते देखाएको देख्न पाइन्छ । नपत्याए उमेर हैन घुमेर हेर्नू होला । पत्रकार जँड्याहा हैन पत्रिका जँड्याहा देखिनेछ ।
रामकुमार पाँडे :
यो लेखक त खुस्के छ । पत्रकार हुनुपर्ने कहाँ पत्रिका लेखेको भन्नुहोला । यो प्रिन्ट मिस्टेक पनि हैन । केही नपाएर पत्रिकालाई जँड्याहा भन्न थाल्यो । साहित्यकारको आफ्नै भाइले चलाएको पत्रिकालाई त्यसो भन्न मिल्छ ? त्यस माथि पत्रकार पो जँड्याहा हुन सक्छ, पत्रिका पनि कहि जँड्याहा हुन्छ ? त्यस माथि यो निर्जीव । बुझ्ने जीवले त पहिलेजस्तो धोक्न छाडिसके । अहिले निर्जीवले कहाँ जाँड धोक्छ ?
हैन महाशय । सत्ययुगको कुरा गरेर हुन्छ ? सत्ययुगमा त अमृत मानेर सोमरस ठिक्क पिउँथे र ठिकठाक हुन्थे । अहिले मध्यकलिमा त धोक्नेलाई नातिमा सुतेको देखे बोक्ने घटना आँखाले देखेकै हो । चस्माले धोखा नदिएको भए आइग्लास भएको चस्माले त्यो बडेमानको घटनाको रटना लगाउँथे होलान् । त्यसैले यस्ता कुरा आफ्नै र आफ्नाको हुँदा पत्रकारले देख्दैनन् । पत्रिका नै टिल परेको हुन्छ जुन आफ्नै दाजु पर्ने साहित्यकारले देख्छ ।
गज्जबको समय आयो। दुई चार पेग कसैले लगाइदियो कि पत्रिका टिल परेर बस्दा जिल नपर्ने को होला ? त्यति मात्र हो र ? डुङ्गडुड्ती गन्हाएको कसले सुङाेस् ? पत्रिकाको शरीर भरी कुहिगन्ध। एक छाक मासुभात लतार्नेले भोट हालेर नर्क पठाउन पर्नेलाई वैतरणी तार्ने त देखिएकै हो। मासुभातले भोट आउँछ भने पत्रिकाले जाँड खान्छ भन्दा कोकोहोलो किन ? मैले देखेकैले लेखेको नत्र सज्जनले गरेको सम्मेलन जतिसुकै भव्य भए पनि तिनले किन देख्दैनन् ? बाटामा झिङ्गो नाचेको चाहिँ झिङ्गा जत्रो अक्षरमा किन छापिन्छन् ? जहिले पनि जता पनि कुहिगन्धे नेताको समाचारले बकबास गरेको किन छापिन्छन ? किन टेलिभिजनमा देखाको देखाई गर्छन् ? देशको भलो चिताएर देशकै इज्जत राख्नेको समाबार कता हराउँछन्र । युक्क जँड्याहा पत्रिका पक्कै जोडले पत्रिकाको दिमाग उडेको हनुपर्छ । जसले जाँड खाने पार्टी गर्छ र पत्रिकामा जाँड खाने नगद गर्छ त्यसले जौड नखाएर पञ्चामृत खान्छ त ? त्यसमा पनि पञ्चामृतलाई बिस देख्नेले जाँडको सुरमा राम्रो लेख्ने सोच्नु भुत्ते सियोले फाटेको लुगो घोच्नु बराबर हो ।
अब जसरी दल किसिम किसिमका उत्पती भएका छन्, त्यसैगरी रक्सिका ब्रान्ड । अनि जुन ब्रान्डको खायो त्यसैको ग्रान्ड खबर । नखाए पछि पुलाउ नै गोबर । उच्च कोटिको मदिरा पिलाउने एम्बेसीमा बेसी खाएपछि कुन जमिनमा टेकेको पत्तै हुन्न, जँड्याहा पत्रिकालाई । आफ्नो देशमा ढुलमुल गर्दै अर्कै देशमा छु भन्छ। ठूलो पार्टी ठूलाको पार्टी भए जाँड धोक्नसम्न धोकेर बोक्न पर्ने भएपछि पार्टीको गीत गाउँदै माझ सडकमै नाच्न थाल्छ ।
पत्रिकाको नृत्य बेसुरको भए पनि हेर्न लायक हुन्छ। पक्कि पत्रकार त त्यति खसेको वा महाभोजमा फसेको देखेको छैन। त्यसमा पनि पत्रिका त्यही सिको गरी एम्बेसी पसेको देखिन्न। जब नित्र धोकेर, खल्तिमा थप सिसी बोकेर, पत्रिका बाहिर आउँछ दुर्गन्धले वातावरण छाउँछ । पत्रकार त हेर्दा सज्जन अनुहार, जुङ्गा फुलेको, हेर्दा पाको कहाँ खाको देखिन्छ ? त्यसै पत्रकारलाई दोष दिनु हुन्न । त्यसमाथि मै हुँ भन्ने नेता त थुरथुर काप्छन् र भाषणमा तिनका मङ्गलाचरण छाप्छन् हो पनि । जाँडले लट्ठ परेर बाटो दोबाटो घरआँगनमा बेसुरमा हिँडेको, गाएको प्रमाण अरुले देखेको होला, मैले देखेको छैन । पत्रिका चाहिँ टिल परेर मनपरी बकेको देख्दा जिल परेको छु । पत्रिकाकै निधारमा टड्कारै देखिन्छ, नालीमा परेर लागेको दाग हेर्न नसकिने कुरूप ।
यहि भएर अचेल केजाती सोसियल मिडियाले सत्य कुरा पत्रिकाको जँड्याहा अनुहार देखाउन थालेका छन । नभए लाटासोझा जनतालाई कहाँ थाहा हुन्थ्यो र । उहिले त पत्रिकाले जनताको दिमाग यसरी मुट्थ्यो कि आफ्नो अनुहार नालिमा चोपलिँदासम्म पनि आधुनिक मेकप हो, यो नै सौन्दर्य हो भन्दै उपद्रो गरी भुट्थ्यो । पत्रिका भ्रष्टाचारमय भएको उजुरी कहाँ दिने ? लाउकेको तस्बिर भढेरे टाउके अक्षर सहित दिएको देख्दा जनताको अगाडि लाज नहुँदा नै जड्याहा पत्रकार नभनी धोक्ने धोकेबाज जड्याहा पत्रिका भनेको हुँ। कसैलाई आघात परे मेरो बात नमाने पनि हुन्छ, केही छैन। पत्रकार त निर्पराध जीव हुन् । दानापानी धानेकै छन् मान्नेलाई मानेकै छन । जाँड धोकेको मैले त देख्दिन । जँड्याहा त पत्रिका हो । अहिले जँड्याहा पत्रिका पसलमा हप्तौँ झुण्डेर आफ्नो कुरूप अनुहार जनतासमक्ष अपहत्ते देखाएको देख्न पाइन्छ । नपत्याए उमेर हैन घुमेर हेर्नू होला । पत्रकार जँड्याहा हैन पत्रिका जँड्याहा देखिनेछ ।
धन्ना नमान्नु होला । जाँड खोसेर हैन पोसेर लेख्ने परम्परा बसालेपछि बिरोधीलाई झोसेर लेख्नेको जनगणना एक दर्जन नाघ्ने नै भो। पत्रिकाको जाँड र जाँडसँग प्राप्त हुने गोजी गरम गर्ने र भोजभतेरमा प्राप्त हुने नरम गरम खान्की बान्किलाई खोस्ने कोही जिउँदो नेता नजन्मेको हुँदा पत्रकारले अमृत प्राप्त नगर्ने घोषणा यहि दुन्मुनिएको पत्रिका मार्फत जानकारी गर्न निवेदन गर्दछु ।
०००
ललितपुर
Subscribe
Login
0 Comments
Oldest








































