साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुर्कुसी मारेपछि उपरखुट्टी : हँसाएर छुट्टी

हास्यव्यङ्ग्यमा हास्यव्यङ्ग्यकार नै बुर्कुसी मारेपछि कसले भेट्ने ? आफ्नो प्रयोगमा शब्द, भाव, भाषादेखि शैली र पहेलीदेखि शीर्षकसम्म हाँस्ने हसाउने पाराले छनक र दनक देखाएका हुन्छन् ।

Nepal Telecom ad

प्रा. रामकुमार पाँडे :

देवीप्रसाद चापागाइले आफू हास्यव्यङ्ग्यकार भएको प्रमाण पहिलोपल्टै यस क्षेत्रमा बुर्कुसी मारेर देखाइसकेका छन् । हुन त कुरकुरे बैंसमा लेखेका हास्यव्यङ्ग्य निबन्धको बिटो बोकेर एउटा ठिटो काठमाडौँ खाल्डो छिरेको २०६६ मा । आफ्नो घरगाउँबाट बुर्कुसी मारेर काठमाडौं आइपुगेका देवीको प्रसाद प्राप्त यी चापागाई सिन्धुपाल्चोकको के जाति धापबाट आएकोलाई धेरैले धाप दिँदै अझ बुर्कुसी मार्न हौसाएछन् । तर बिचरा थकाई लागेर उपरखुट्टी लाएर बसेपछि पाँडे पुराणका महापण्डितलाई भेट्ने मनसुबा जागी गाउँको हलो छोडी सहरको हेलो भन्न थाले । हलो छोडेर काठमाडौँमा आएपछि हलो हलो नगरी सुख छैन । देवलाई त आँखा चिम्लेर भेट्ने मान्छे देवी नै फेला परेपछि आफ्नो हुलिया के दिएको थिए। कहाँको देवी भगवती हुनु जुडे मुठे चापागाई पो प्रकट भयो। एउटा ठिटोठिटो म कहाँ आएर गजधम्म परी उपरखुट्टी लगाएपछि शरणको मरण गर्नुभएन । पहिला काठमाडौँ आउँदा बाटामा लागेका लागुभागुलाई भगाउनतिर लागे । उनी बक्दै गए । जसले जे भने पनि पत्याउने चापागाईलाई खुर्सानीको धूप हालेर कसीमा दलेर हेरेपछि बल्लतल्ल लम्बरीको लक्षण देखियो ।

धन्न ढुङ्गै बङ्ग्याउने खाले परेनछन् । उपरखुट्टीको पोज देखेपछि यी पक्कै सुइखुट्टी खाले हैनन् भनी बुर्कुसीबारे बुझ्न लागे। सक्कली हास्यव्यङ्ग्यकार पुच्छर हैन जुंगा हल्लाउँछन् । नेपालमा मूर्ख समालोचक भन्छन्, फलानो लेखक जस्तो त हुन सक्दैनस् । फलानोको तुलनामा अर्को छैन। आफ्नो समयमा तहल्का मच्चाउने भूत सधैं सम्कँदा हो न हो पछिका जिउँदा भए पनि त्यो भूतसँग तर्सन्छन् । हास्यव्यङ्ग्यकार सबै आ-आफ्नो विशेषताले भरिएका हुन्छन् जुन लर्तरो हुन्न । कसैले कुनै कविलाई पगरी दियो भने मरेपछि पनि अर्कोमा नसर्ने पगरीको भूतले अप्रत्यक्ष तर्साएको हुन्छ । हाम्रो समयको अहिलेको महाकवि को ? कवि शिरोमणि को ? के कविले मात्र पगरी गुथ्नु अरू साहित्यकारको अस्तित्व नमान्नुसरह हैन र ? राष्ट्र उपन्यासकार को हो ? सय वर्ष पुगेकालाई छोडी नपुगेकालाई शताब्दीको उपमा दिने स्याल पहिचान गरिसकेको छ । यसैले एउटाले हुइयाँ गर्दा क्रमैले हुइयाँ गर्ने कति छन् छन् ।

जेठाको त घोती न टोपी कान्छोको के गति ? अत्ती न पत्ती पिँधमा बत्ती। बुर्कुसीभित्र अत्तो थाप्नेदेखि कहाँबाट लेख्ने पत्तो छैन। खुच्चिङ गरेर खेदाइ गर्ने र खोजी गर्ने पनि छन् । गलगाड मात्र हो र घोत्ल्याइ गर्दै घुँयेत्रो पनि हानिएको छ। चूप र चेवादेखि थप्पड र थेगोको चमत्कार । धूर्तहरूको गोलमेच सम्मेलन, नकचराको र पौरखको उल्टीसुल्टी प्रदक्षिणा गर्ने कुनै कोही भन्दा कम्ता छैनन् । सबैमा हास्य हालेका छन् । व्यङ्ग्य बजारेका छन् । सानो चिरो पाउन हुन्न कसरी पसेर अर्कै लोक देखाउँछन् भन्ने बुर्कुसीले प्रमाणित गरेका छन्।

आग्रादेखि गाग्रासम्म हास्यव्यङ्ग्यात्मक शैलीमा नाच्दै उफार्छन् । निक्खरो शब्द उनेर नेपाली परिवेश बुनेर लेखनमा आशा जगाएका छन्। उनी भाषिकालाई धकेल्दै दौडने हुन् कि भन्ने पो देखिन्छ । हास्यव्यङ्ग्य क्षेत्र भरपुर छ। साहित्यका सबै रस, सबै विधा, सबै शैलीमा हास्यव्यङ्ग्य लेखिन्छ । हास्यव्यङ्ग्य हैन बरु छिद्रबाट पसेर भित्रको प्रदक्षिणा गरी प्रक्षेपण गर्नु हो। उद्देश्य गालीगलौज, लाज भाड हैन सुधार सापेक्ष हो। हो, सबैबाट माथि उठेर लेख्नुपर्छ किनकि व्यङ्ग्यकारले आफैमाथि पनि व्यङ्ग्य बजार्छ। गाउँ ठाउँमा बसेर मोफसलको अर्गानिक फसल ल्याउनु शिक्षकको तगडा दृष्टि फाटफुट लेखेर अझ आक्रोस व्यक्त गरेर अथवा आफै बौलाएर लाटलुट गर्नेको मुटु थर्काउने मस्तिष्क चर्काउने नै छन् । मति विकृतिमा कहिलेकाहीँ अतिशयोक्तिले गाँज्ने गरे पनि होश पुऱ्याएर जोस निकाले बुर्कुसी नै देखिन्छ। देवीजीको हास्यव्यङ्ग्यपछि आउने माझमा सुत्ने स्वीकृति दिन सकिने नै छन् । सम्पादक र समीक्षकले हास्यव्यङ्ग्यमा हास्यव्यङ्ग्यकार नै बुर्कुसी मारेपछि कसले भेट्ने ? आफ्नो प्रयोगमा शब्द, भाव, भाषादेखि शैली र पहेलीदेखि शीर्षकसम्म हाँस्ने हसाउने पाराले छनक र दनक देखाएका हुन्छन् ।

दमदार हास्यव्यङ्ग्य कविता भट्‌याउँदा छनक मनक गरेर जन्मँदैन । टम्म मिलेको शाश्वत मूल्य, मान्यता र प्रवृत्ति गतिविधिमा दखल राखी लेख्ने र लेखिने हुँदा यो हास्यव्यङ्ग्य क्षेत्रको लेखन विधा लर्तरो तालले हुँदैन, जम्दैन । त्यसैले यो साहित्यको विधा, उपविधा, शैली र अर्कै के जाति नभै हास्यव्यङ्ग्य एउटा क्षेत्र हो। यसमा तीन विधा लेखन, प्रहशन र चित्रा‌ङ्कन ठूला उपक्षेत्र छन् । लेखनभित्र अनेक शैली अपनाइन्छ । त्यसैले हास्यव्यङ्ग्य भनेको हास्यव्यङ्ग्य हो । यो प्रहशन मात्र हैन। यसभित्र सबै अटाउँछन् ।

देवीप्रसाद चापागाई पनि पूर्वको अवतार ताराबहादुरदेखि पश्चिमको बिनाभुटुनको च्वाइँका लेखकजस्ता खरा, दरा र भरपर्दा छन् । पढाउने गुरु भएकाले व्याख्या र हास्यव्यङ्ग्यको दृष्टि प्रखरताले ट्वाक्कटुक्का र प्वाक्कपुक्क पार्न सिपालु छन् । बुर्कुसी मारेर यो फाँटबाट बाहिर नजानु होला बरु यत्रो फाँटबाट भेटेको झोला भर्नुहोला भन्ने कामना साथ यो संस्करणको बधाई अर्पण गरेको छु।

०००
ललितपुर 
बुर्कुसी दाेस्राे सं. (२०७५) काे भूमिका कथन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
नयाँ रामराज्य

नयाँ रामराज्य

रामकुमार पाँडे
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
भ्रम

भ्रम

नन्दलाल आचार्य
झण्डी

झण्डी

कृष्ण प्रधान
0
Would love your thoughts, please comment.x
()
x