साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय काठमाडौँ माता !

ढुस्स–ढुस्स कुहीगन्धे वासना आउने स्याउँस्याउँती कीरा परेको फोहरको आहालमा झाँक्रा फिजाएर भए पनि आफ्ना सन्ततीको पालनपोषण गरिरहेकी छ्यौ ।

Nepal Telecom ad

डा. गोपीन्द्र पौडेल :

काठमाडौं ! अँह, तिमी काठमाडौँ मात्र होइनौ, तिमी त टुटेफुटेका भाग्य निर्माण गर्ने निर्माता हौ, मान्छेमा प्राण संचार गर्ने जीवनदाता हौ र सबैको लालनपालन गर्ने काठमाडौं माता हौ । साँच्चै भनूँ भने तिमी त सडक, चोक, गल्ली, डबली, होटल, पसल, स्कूल, कलेज, मन्त्रालय, विभाग, सभा, सेमीनार, भोजभतेर आदिमा स्याउँस्याउँती सल्बलाउने लाखौँलाख शाखासन्तानकी माता हौ । तिम्रा शाखासन्तानको किम्ले लस्करले तिमी घपक्कै ढाकियौ, थिचियौ, किचियौ र छियाछिया भयौ ।

कङ्गाल जनहरूले आफ्नै चिचिभुँडीँको राइँराइँ र कचभाइँ सहन नसकेर परिवार नियोजन नामको भोटेताल्चा मार्ने चलन पुरानै भइसक्ता पनि तिमीले भेसोभाँती पाइनौ । सायद तिमीलाई भोटेताल्चा मार्नुपर्छ भन्ने उर्दी पनि कसैले जारी गरेन होला । धत् लाटी ! कानूनबमोजिम छनछनी गनेर एक सय रूपैयाँ पनि पाइने अनि किम्लेलस्कर सन्तानको लात पनि नखाइने । तिमीले औधी राम्रो सौभाग्य गुमायै युगौँयुगदेखि भुक्तभोगी बनिआएकी तिम्रा अगाडि म नाथे ठेट्नाले लम्बेतान बखान गर्नु कति मुनासिब होला र ? तैपनि देखेवमोजिम भन्नै पर्दा तिमी हुनसम्म ठगियौ, लुटियौ र खिल्टियौ ।

काठमाडौँ माता ! रातोदिन तिम्रो छातीमाथि ठेलमठेल गरेर दाइँ मार्ने तिम्रा शाखासन्तानले के के रवाफ दोचार्दै आएका छन् ? कतै तिमीले ती नानाथरिका भनाइको गन्ती गोटा गरेकी छ्यौं ? जबजब चुनाउपर्व सुरु हुन्छ तबतब तिम्रो नाममा भाकल गर्ने होड चल्छ । पूरा अवधि, मध्यावधि वा अल्पावधि र तलदेखि माथिसम्मका जुनसुकै चुनाउमा तिमीलाई मियो बनाएर दाइँ मार्ने चलन उहिल्यैदेखि चलेको हो । तिमी चुनाउपर्वकी आकर्षक नारा बनेकी छौ, त्यसैले तिम्रा छातीमा गोता लगाएर तर मार्न पल्केकाहरू पटक– पिच्छेका चुनाउमा फोक्से गाला बजाएर भजनकीर्तन गर्न थाल्छन्, त्यसैमा तिमी दङ्दास पछ्र्यौ’, मख्ख पछ्र्यौ’ र फुरुक्क फुर्कन्छयौ । हिजोका दिनमा तिमीलाई कतिले अलकापुरी भन], कतिले कान्तिपुरी भने, कतिले स्वर्गपुरी भने र तिलोत्तमा नगरीसमेत भने अर्थात् सबैले मनखुशी भने । आज पनि तिम्रो बखान गर्ने, तिम्रो गुणगान गाउनेको कुनै कमी छैन ।

तिम्रो छातीमा होली खेलेर, तिमीलाई फोहरको डुङगुरमा पुरेर भए पनि तिमीलाई सिंगापुरी नगरी बनाउने कसम खानेको कुनै कमी छैन । कमी होस् पनि कसरी ? आज तिम्रो छाती माथि काउली र भान्टाको मात्र खेती हुन्न, रायोको साग र खुर्सानीको मात्र खेती हुन्न, भनूँ तिम्रो छातीमाथि परम्परागत खेतीको कुनै लेखाजोखा हुन्न, गन्ती गोटा हुन्न । यहाँ त तिमीलाई साक्षी राखेर भनूँ तिमीलाई सिंगापुरी बनाउने कसम खाएर चुनाउ जितेको भोलिपल्टदेखि यही तिम्रो छातीमाथि डलरको खेती हुन्छ, सुनको खेती हुन्छ, कमिशनको खेती हुन्छ, भ्रष्टाचार र दुराचारको खेती हुन्छ, मन्त्रीको खेती हुन्छ, आतङकको खेती हुन्छ, तिमी अत्याधुनिक उर्वरा भूमि भएकी छौ । तिम्रो छातीमा गोता लाउनेहरूले जतिसुकै अत्याधुनिक खेती गर्न थाले पनि दिनानुदिन तिमी भुत्तिएकी छौ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका गरीब–कङगालदेखि सामन्त जिम्दारसम्मका उड्केपुड्के मनुष्यले तिमीसँग साउती लगाए, लोलोपोतो देखाए, माता भनेर तिम्रो पाउ मले तर अहिले तिनै मनुष्यद्वारा तिमी मुडुलिएकी छौ, खुइलिएकी छौ, रित्तिएकी छौ र पनि तिमीले आफू रित्तिनुको मेसो पाएकी छैनौ ।

माता ! तिमी काठमाडौंका नामले देशदेशावर कहलिएकी छौ, चर्चित छौ किनभने तिमी सबैकी ढुकढुकी हौ र सबैमा प्राणवायु संचार गर्ने ममताकी खानी हौ । तिमी कवि, कलाकार र गायककारकी काठमाडौं, तिमी नेता, उपनेता र विजेताकी काठमाडौं, तिमी मगन्ते, माननीय र मन्त्रीकी काठमाडौं, तिमी जागीरे, जोइटिङ्ग्रे र जेमदूतकी काठमाडौं, तिमी घुमक्कड, पियक्कड र पर्यटककी काठमाडौं, तिमी बेपार, बेघरबार र बेरोजगारीकी काठमाडौं, तिमी पत्रकार, मूर्तिकार र ठेकेदारकी काठमाडौं, तिमी कमिशनखोर, कामचोर र नाफाखोरकी काठमाडौं, तिमी संसद, सांसद र शकुनीकी काठमाडौं, तिमी फुटपाथे, फिरन्ते र फन्टुसकी काठमाडौं, तिमी भद्र, भ्रष्ट र भक्तकी काठमाडौं, तिमी प्रीतिकार, कृतिकार र नीतिकारकी काठमाडौं, तिमी सन्त, महन्त र आफन्तकी काठमाडौं, तिमी आँखाकी नानी, ममताकी खानी र राजधानी काठमाडौं ।

त्यसैले त, हातमा फगत एउटा पित्तलको लोटा लिएर तिम्रो पाउमा जल चढाउन आएका फकीरहरू तिम्रै छातीमाथि चिल्ला कारमा चढेर चिप्लेटी मारिरहेका छन् । लङगौटीको धरो र एकसरो भाङग्रो भिरेर तिम्रो पाउमा लम्पसार पर्न आउनेहरू छत्रै महलको मेजमानीमा ढलीमली गरिरहेका छन् । घुँडामा टालेको सुरुवाल र कुर्कुच्चामा प्वाल परेको चप्पल लाएर लेकबेसी गर्नेहरू सांसद बनेको भोलिपल्टै तिम्रो छातीमाथि गुड्ने महल बनाएर जिउनुको स्वाद चाखिरहेका छन् । सिधा, साधु र सेवक भनिनेहरू तिमै्र आडभरोसामा सुन र डलरको खेती गरेर रातारात अरवपति बनिरहेका छन् । भनूँ भने व्यथा अनन्त छन्, कहन त्यति सजिलो छैन, प्रजातन्त्रको जमाना छ, मन फुकाएर बोल्नु छैन ।

मेरी माता ! भन्न नचाहेर पनि मन मान्दैन, चाहेजति सबै भन्ने सकिन्न । तिम्रै काखमा माथिको कृपाले ज्वाईँको सरुवा भन्सारमा भएको चाल पाउने वित्तिकै सासुले लर्कने साडी लगाएर टोलै थर्काउँदै धन्सारको सरजाम गर्छिन्, चुनाउ जितेका काका मन्त्री भएको भोलिपल्ट भाइभतिजले अफिसर लेवलको जागीरको जोरजाम गर्छन्, भिना राजदूत भएको मौकामा चौका हान्दै सालो डलरको सपना देख्नथाल्छ, मामा जी. एम. भएको लगत्तै भान्जले मुख बङ्ग्याएर जुङगाका रेखीमा ताउ लगाउँछ । यो कुनै बेफ्वाँकको बात होइन र बनावटी स्वाँग पनि होइन । यो तिम्रा काखमाथि चलेको मान्छेको रीतिथिति हो, जीउनुको अर्थ हो । तिम्रो काखमा मन्द्राएर तिम्रा आफन्त भन्नेहरूले ताउरोमाउरो जुटाइसके, कुम्ला कुटुरा बाँधिसके । यो तिम्रो छातीमाथि हुने नियमित खेल हो जहाँ कर्मठले हार्ने र हुतिहाराले जित्ने गर्छ ।

माता ! हेर तिम्रो छातीमाथि महिनैपिच्छे सरकार फेरिन्छ, मन्त्री फेरिन्छन्, अफिसर फेरिन्छन्, नेता फेरिन्छन्, अभिनेता फेरिन्छन्, निर्माता फेरिन्छन्, नर्तक नर्तकी फेरिन्छन्, नीति फेरिन्छ, नैतिकता फेरिन्छ, बोलीभाषा फेरिन्छ अर्थात् आनका तान फेरिन्छन् फर्काइन्छन् तिम्रै छातीमाथि सबका सब फेरिँदा फर्काइँदा र उलटपुलट हुँदा तिमी भने उस्तै फुसैधुस्रै भएर लटा परेका झाँका क्रिजाएर बसेकी छौ, गजधुम्म परेकी छौ, तिम्रा लागि फेर्ने फर्काउने केही भएन, भर्खरैको बजेट भाषणमा भाउ बेसाहा घटाइएका सिन्दुर, चुरा, टीका तिमीलाई नपुगेरै होला उस्तै झुत्रा प्लाष्टिकका कागज अनि टुटेफुटेका शिशी तिम्रा सिङ्गारपटारका साधन भएका छन् । ढुस्स–ढुस्स कुहीगन्धे वासना आउने स्याउँस्याउँती कीरा परेको फोहरको आहालमा झाँक्रा फिजाएर भए पनि आफ्ना सन्ततीको पालनपोषण गरिरहेकी छ्यौ ।

कतिसम्म भने कानमा यारलिङ्ग र साथमा डार्लिङग अनि हिन्दी गानाको झङ्कार र डीस्को डान्सको तालमा चोक, चौतारी र चौबाटोमा दिउँसै रात पार्नेहरूदेखि लिएर कन्चन प्रकाशको छहारीमुनि भोको पेट मिचेर चिसो भुइँमा माघे रात गुजार्नेसम्मका हरिकङ्गाललाई तिमीले प्रश्रय दिएकी छौ । यसलाई तिम्रो महानता भनूँ कि उदारता भनूँ, ममतामयिता भनूँ कि विशालता, म दोधारमा परेको छु ।

माता ! तिमी कति सफल, कति असफल, त्यसको सीमारेखा कोर्ने औकात म जस्तो ठेट्नामा छैन । तर एकसरो हेराइकै भरमा भन्नुपर्दा तिमी दुई कुरामा सक्षम र सफल देखियौ । सायद बडे बडे गिदीवालले पनि यो कुरा सकार्लान भन्ने लाग्छ । सन्तानोत्पादन र भवनोत्पादन तिम्रा महत्त्वपूर्ण उपलब्धि हुन् । त्यसैले स्याउँस्याउँती पाक्ने शाखासन्तान र धौले घरले तिमी घप्लकै ढाकिएकी छौ, माता हुनुको पहिचान गुमाइसकेकी छौ । हुँदाहुँदा तिमी धौले घरकी माता बनेकी छौ तर आफ्ना बढी भन्दा बढी सन्तानलाई चोक, छिंडी, गल्ली र रछ्यानमा मिल्काएकी छौ, धौले घरप्रतिको तिम्रो मोह देख्दा म पनि तीन छक्क परेको छु । तिम्रो अस्तित्व खोज्नेहरूले कहाँ खोजी गर्लान् ? कहाँ तिमीलाई तन्दुरुस्त फेला पार्लान् र सलामी टक्रयाउलान् ‘जय काठमाडौं माता’ !

०००
कान्तिपुर (२०५२ भदौ)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
घोप्लेबाजी

घोप्लेबाजी

डा. गाेपीन्द्र पाैडेल
अलमल्ल

अलमल्ल

रामकृष्ण ढकाल
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
सञ्जालको जाल : कालको द्वार

सञ्जालको जाल : कालको...

फित्काैली डटकम
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x