साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोप्लेबाजी

खाली सिटले तपाईंको प्रतीक्षा गरिरहेको छ । तपाईंको योग्यता घोप्लेबाजीमा निर्भर गर्दछ, तपाईंले आर्जन गरेका योग्यताका प्रमाण-पत्रहरू घुसान हुन्, तपाईंको योग्यताको जाँचपड्‌ताल घोप्लेबाजीले गर्दछ ।

Nepal Telecom ad

डा. गाेपीन्द्र पाैडेल :

सृष्टिको आदिकालदेखि थालिएको घोप्लेबाजीको अध्याय अझै समाप्त भएको छैन । सबै खाले अध्याय थालेपछि समाप्त हुन्छन् र नयाँ अध्याय थालिन्छन् तर घोप्लेबाजीको आरम्भ भो अन्त्य भएन । यसको मतलब घोप्लेबाजीको ओखती पनि घोप्लेबाजी नै हो, त्यसैले यो जिउँदोजाग्दो छ ।

घोप्लेबाजीको शब्द सर्खारी शब्दकोशमा भेटिन्न । मलाई लाग्छ यो सर्खारी, भाषाको शब्द परेन होला, त्यसैले ‘घोप्लेबाजी’ लाई तपाईंले आफूखुसी जसरी अर्थ्याउनु भए पनि हुन्छ । कानून भए पो कानूनबमोजिम गर्न पाइन्थ्यो, कानूनै नभएपछि त मनखुसी गर्न पाइयो । त्यसैले घोप्लेबाजीको अर्थ घोप्लेबाजी, मुन्टेबाजी, भर्त्याडबाजी भनेर बुझे पनि हुन्छ, जाल, झेल, षड्यन्त्र फट्याइँ भनेर बुझे पनि हुन्छ, बाङ्‌गो, टेढो र नेप्टो भनेर बुझे पनि हुन्छ, एकले अर्कालाई भनौँ बलियोले निर्धालाई उचाल्नु, पछार्नु र थङथिलो पार्नु भनेर बुझे पनि हुन्छ । तपाईंले जे बुझे पनि वा जे अर्थ्याए पनि प्रजातन्त्रबमोजिम हुन्छ, प्रजातान्त्रिक अधिकारको उपयोग पनि हुन्छ ।

यो पसको जमाना हो, यो पनि घोप्लेबाजीकै शाखा सन्तान हो, भन् भने घोप्लेबाजीसँग पडसको तेह्र दिने साइनो छ । पड्सको जन्म पञ्चायतकालमा भए पनि यसको लालनपालन भने बहुदल आएपछि भयो । प्रजातन्त्रमा जसलाई जेसुकै गर्ने स्वतन्त्रता हुन्छ । फेरि पञ्चायतले दिएको स्वतन्त्रता प्रजातन्त्रले अपहरण गरोस् पनि कसरी ? त्यसैले कानमा यार्लिङ र साथमा डार्लिङ पनि रम्याकको नशामा मूल सडकमै पार्किङ पड्सको धर्म हो, स्वतन्त्रताको मूल मर्म हो। यो स्वतन्त्रता नारी र पुरुषले समान रूपमा पाउन सक्छन्, यसमा छुवाछुतको व्यवस्था छैन र मुलुकी ऐन पनि लाग्दैन ।

घोप्लेबाजी एउटा खेल हो, यसमा खेलाडी तालिम प्राप्त हुनुपर्छ। यो खेल खेल्ने खेलाडीले दशरथ रङ्गशाला धाइरहनु पर्दैन। घोप्लेबाजी गर्न नजान्नेले खेल जित्दैन र जो घोप्लेबाजीमा निपुण छ उसले हारेको पनि थाहा छैन । तपाईं पुराणका शाखा-सन्तान खोतल्दै जानुभयो भने घोप्लेबाजीकै चकचकी र बिगबिगी पाउनुहुनेछ र इतिहासका कुनाकाप्चामा आँखा हुत्याउनुभयो भने पनि घोप्लेबाजीकै चुरीफुरी पाउनुहुनेछ । त्यसैले घोप्लेबाजीलाई कुनै कालखण्डभित्र कोच्न सकिन्न, कोच्न खोजियो भने अर्नथ हुन्छ । घोप्लेबाजीको महिमागान हिजो पनि गाइयो, आज पनि गाइदैछ र भोलि पनि गाइने छ। घोप्लेबाजीको विरुद्धमा घोप्लेबाजी नै खेलिन्छ त्यसैले घोप्लेबाजीसँग उति सारो डराउनु पर्दैन, नडराउनोस् ।

रामेले घोप्लेबाजीकै भरमा रावणको खेदो खनेर आफूलाई सर्वशक्तिमान घोषणा गर्नु तथा कृष्णले त्यही घोप्लेबाजीकै अभ्यास गरेर महाभारतको युद्ध गराएको मात्र नभई आफूलाई महानायक भनाएको पनि तपाईंले सुन्नुभएकै छ । दुनियाँमा भएका युद्ध घोप्लेबाजीकै परिणति हुन् र तिनलाई तह लगाउने रीतिथिति पनि घोप्लेबाजीकै नमुना हुन् । रुस र चीनमा भएका क्रान्ति तथा त्यहीं भएका प्रतिक्रान्ति पनि घोप्लेबाजीकै परिणति हुन् । युद्ध र क्रान्तिका कुरा मात्र होइन रातको नीद र दिनको भोक हराम गर्ने पनि घोप्लेबाजी नै हो । नेपालकै कुरा गर्नुहुन्छ भने जङ्गेले घोप्लेबाजी गर्दा गर्दा राणा शासन निम्यात्यो । २००७ सालमा त्यही निरङ्कुश शासनलाई घोक्रेठ्याक लगाउन नेपाली जनले पनि घोप्लेबाजीको अभ्यास गरेकै हुन् तर नेपाली जनको घोप्लेबाजीका तुलनामा भारतीय विस्तारवाद र राणा-काङ्ग्रेसको घोप्लेबाजी भुसतिधे साबित भयो । २०१७ सालमा अर्को घोप्लेबाजी भयो जसले पञ्चायत नामको व्यवस्थाको जन्म दियो । २०४६ सालमा पुनः नेपालीजनले घोप्लेबाजीको चर्तिकला देखाए पञ्चायत नामको अन्त्य भयो । भनूँ भने वर्तमानको प्रजातन्त्र भनिने व्यवस्था पनि घोप्लेबाजीकै घम्साघम्सीबाट जन्मिएको हो। घोप्लेबाजी निरन्तर जारी छ, घोप्लेबाजीको यात्रा पनि उबडखाबड भूमिको यात्रा जस्तै न हो कहिले उकाली कहिले ओराली गरेकै छ ।

तपाईं घोप्लेबाजीमा जति निपुण हुनुभयो, सफलता पनि त्यसरी नै हात लाग्छ । तपाईलाई विदेशमा शयर गर्ने विचार छ भने तुरुन्तै बुटपालिस गरिहाल्नोस मौकामा चौका हान्ने मात्रै घोप्लेबाजीका खप्पिस खेलाडी हुन् । त्यसैले अडिटर हुने मनसुवा भए कमिसन शाखा महाराजगञ्जमा सम्पर्क राख्नोस, मिनिस्टरकै जोखिम उठाउनुहुन्छ भने बालुवाटार दरबारमा घण्टी बजाउनोस्, भएन अप्रेटर, कन्डक्टर कम्पोजिटर, डाइरेक्टर हुने धोको भए घोप्लेबाजी सञ्चालन केन्द्र… काठमाडौंलाई सम्झनोस्, तपाईंको इरादा पूरा हुनेछ र यसै जुनीमा वैतरणी पार गर्नुहुनेछ, स्वर्गको बास हुनेछ ।

घोप्लेबाजीको कुनै कानून हुँदैन, दुनियाँको कानूनको कुनै पनि दफा-उपदफाले घोप्लेबाजीलाई टसमस पार्न सक्दैन, त्यसैले तपाईंले जे गर्नु भए पनि त्यो घोप्लेबाजीभित्र पर्छ, तपाई ढुक्क हुनोस् । घोप्लेबाजी न हो पाँच-सात वर्षे बालिकामाथि सडकमा हिँड्दाहिँड्‌दै हुर्मत कसे पनि हुन्छ, गरीबी उन्मूलनको नाममा क‌ङ्गाल जतिलाई दुई टुक्रा पारेर छप्काए पनि हुन्छ, शासन-सत्ताको बागडोर आफ्नो हातमा छउन्जेल राष्ट्रको सम्पदा बेचे पनि हुन्छ र राष्ट्रलाई जति खंगारे पनि हुन्छ र भएकै त्यस्तै छ । आँट भए विकासलाई साक्षी राखेर विनास जति गरे पनि हुन्छ, राष्ट्रको सम्पत्तिमा दाइँ मारे पनि हुन्छ, कल-कारखाना जति विदेशीलाई सुम्पेर डलर आर्जन गरे पनि हुन्छ । घोप्लेबाजीको अभ्यास न हो विकास र निर्माण फाइटर चढेर तपाईकै घरदैलोमा पुग्ने गर्छ, आफूले दिएको भोटको करामत न हो, तपाईंका आँखाले फाइटर नामको जिनिस देख्छन् । चुनाउमा घोप्लेबाजी भयो त के फरक पर्याे, त्यो त चुनाउको पहिचान हो, आफ्नै किसिमको मौलिकता हो । त्यसैले जिउनुको सार खोज्नु छ भने घोप्लेबाजी गर्न सिक्नोस् । घोप्लेबाजहरू पछार्न पनि सक्छन्, जो घोप्लेबाज होइनन् उनीहरू पछारिन्छन् मात्र ।

अब छिट्टै लाइनमा बस्नुहोस् । बूढो भए कतारको लाइन, तन्नेरी भए सर्खारको लाइन, मामा मन्त्री भए भन्सारको लाइन र पहुँच नहुने जति मट्टितेलको लाइनमा बसे हुन्छ । खाली सिटले तपाईंको प्रतीक्षा गरिरहेको छ । तपाईंको योग्यता घोप्लेबाजीमा निर्भर गर्दछ, तपाईंले आर्जन गरेका योग्यताका प्रमाण-पत्रहरू घुसान हुन्, तपाईंको योग्यताको जाँचपड्‌ताल घोप्लेबाजीले गर्दछ । गुदी कुरा भनूँ भने तपाईंको योग्यता कंशाकार हुनु र नहुनुकोकसीमा घोटेर दाजिने छ, जाँचमा तपाईं खरो उत्रनु भयो भने प्रथमोप्रथम तपाईंलाई नै डलरको खेती हुने उर्वरा भूमिको माली बनाइने छ । आखिर घोप्लेबाजीभित्र असम्भव भन्ने कुनै त्यस्तो अड्चन हुँदैन, त्यसो हुँदो हो त टनकपुरमा सन्धि होइन समझदारी भनेर नेपाली जनलाई थानामा सुताउन कहाँ पाइँदो हो र ? घोप्लेबाजीमा चतुऱ्याइँ, धुर्याइँ र छलकपटको भित्रीसाइनो हुने गर्दछ । यस्तो कुरा अनुभवीले मात्र जान्दछ, लरतरो मखण्डीले राष्ट्रको भूमि बेचेर इष्टमित्र रिझाउने कुराको कल्पनासम्म पनि गर्न सक्दैन ।

वर्तमान घोप्लेबाजीको उर्वर क्षण हो, त्यसैले पनि घोप्लेबाजी मौलाउँदो छ । घोप्लेबाजीको चालक कहिले सत्तासीन वर्ग हुन्छ त कहिले जनता हुन्छन् । यो कुरा घोप्लेबाजीको इतिहास पढेपछि जानिन्छ । यतिबेला सत्तामा बस्नेहरू घोप्लेबाजीको घोडा चढेर दमलिएका छन्, गाउँ-शहर र बस्ती बस्तीमा हुण्डरी मच्चाइरहेका छन्, घोप्लेबाजी उनीहरूका अनुकूलै बनेको छ ।

घोप्लेबाजीमा क‌ङ्गालजनहरू पनि वस्ताद हुन्छन् । मेसोभाँति नपाउन्जेल उनीहरू घोप्लेबाजीको भुमरी र हुण्डरीमा दुन्मुनिए पनि मेसोभॉति पाइसकेपछि आफू पनि घोप्लेबाजीको घोडा चढ्न खप्पिस हुन्छन् । कङ्गालजनहरू घोप्लेबाजीको खेलमा रमाउन थाले भने त्यो घोप्लेबाजी कम्ती लोभ लाग्दो हुने छैन । आखिर तपाईं हामी जहाँ भए पनि घोप्लेबाजीबाट बिछोडिन सक्दैनौँ । त्यसैले तपाई पनि घोप्लेबाजीको लाइनमा बस्नोस्, घोप्लेबाजी खेल्नोस् र घोप्लेबाजलाई घोक्रेठ्याक लाउनोस् । विगत घोप्लेबाजीको, वर्तमान घोप्लेबाजीको र आगत पनि घोप्लेबाजीको ।

०००
कमरेडमा नाउँ दरिएन (२०५६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x