डा. गाेपीन्द्र पाैडेलकामरेडमा नाउँ दरिएन
भए त्यसले मलाई कामरेडमा दर्ला कि नदर्ला ? आफ्ना अगाडिबाट कतिपय कामरेडहरू लफरलफर् ओभरकोट लगाएर हिँडेको देख्दा पनि कन्सिरी तातेर आउँछ ।

डा. गोपीन्द्र पौडेल :
जमानाले पल्टा खाइसकेपछि ‘घिउ खान्या छोरो च्याउ खाने र च्याउ खान्या छोरो घिउ खाने’ हुन्छ बाबै ! भनेर उहिले हुँदो तल्लाघरे बुढा बाले भनेका कुरा अहिलेको नेपालमा घुटुघुटु बाडुकी लाग्दो छ । हुन त यस्तो खाँट्टी कुरो पनि अहिलेका मनुख्खेले पत्याउने होइनन् । जहाँ जेसुकै भर्सेला परोस् भनेर नबोलौँ यो मन मान्दैन र भित्रभत्रै हँुडुलिन थाल्छ, बोलौँ भने पनि उहिल्या कुरा अहिलेको दुनियाँले पुछिपात लाउँदैन । कहिलेकाहीँ त के विघ्न सङ्कट आइपर्यो भन्ने पनि लाग्छ ।
आफू यो दुनियाँ जस्तो हुन पनि सकिएन, दुनियाँ आफू जस्तो पनि भएन । यो कामरेडी जमाना हुनाले जताततै कामरेडकै राइँराइँ छ, कामरेडकै लमकझमक छ । यस्तै यस्तै भोगचलन गर्दै जाँदा मलाई झल्याँस्स एक जना मेरा गुरु कामरेडको सम्झना भयो । कुरो करीब १६ बर्षअगाडि अर्थात् छत्तीस सालतिरको हो तापनि एकाउन्न साले नेपालको चलनचल्तीले गर्दा सम्झनाको सेरोफेरो त्यहाँसम्म हुत्तिन पुग्यो ।
एक दिन साँझपखको कुरा हो, मलाई मेरा गुरु कामरेडले सुटुक्क आफ्नो घरमा बोलाउनुभयो । उहाँले कामरेडी शैलीमा मलाई धेरै गुप्ती बात पनि सुनाउनुभयो । त्यसपछि गम्भीर मुद्रमामा मलाई कामरेडको पद र पगरी गुथाउनुभयो, कामरेडी पदको शपथ गराउनुभयो । त्यसबेला मलाई मेरा ती गुरु कामरेडले कामरेडी पदमा पदासीन गराएर भन्नुभएथ्यो– “यो कामरेडको पद चानचुने होइन, यस्तो पद जुनसुकै मनुख्खेलाई दिँदा पनि दिइन्न, यो साह्रै महङ्गो हुन्छ, वजनदार हुन्छ, बफादार हुन्छ र साह्रै अनकन्टार हुन्छ । यसमा फलामे अनुशासन चाहिन्छ, यस्तो पद लरतरो मान्छेने प्राप्त गर्न सक्दैन, तपाईं महान् हुनुहुँदो रहेछ, धन्य हुनुहुँदो रहेछ ।”
मेरा गुरु कामरेडको यो बखान सुनेपछि म फुरुक्क परेँ, दङदास परेँ र कल्पेँ–‘जात्तेरीका के विघ्नै महिमाशाली पदको जोरजाम गरिएछ नाइँ, आफ्ना बाबुबाजे, पितापुर्खा, शाखासन्तानको भाग्यमा समेत नजुरेको’ भनेर मनले बुर्कुसी मार्यो । साँच्चै भनू भने आजकलको भाउबेसाहाभन्दा पनि कता हो कता महङगो कामरेडी पद पाएको यो ज्यानको नशानशामा उन्मत्त भैरवको सवार भयो, शरीर हलुङगो हुँदै गयो, आफूभन्दा माथिको आकाशमा प्वाँख फिजाएर सलसली उडेजस्तो लाग्यो । यत्रो विघ्न खुसी र चुरीफुरीका बिच आफ्नै टाउकामाथि भय र त्रासको चील पनि मडारिन थाल्यो, यो कामरेडी पदलाई जीवन रहेसम्म कसरी धान्ने होला भन्ने चिन्ताले भुट्भुट्याउन थाल्यो । यसो हुँदै जाँदा पनि आफ्ना गुरु कामरेडले प्रदान गएको कामरेडी पदलाई जेनतेन धानिएको छ भनूँ । यसै हुँदा मनको एक कुनामा खुसी सङ्गालेको थिएँ, प्रशन्न नै थिएँ ।
मनले ताक्छ मूढो, बन्चरो ताक्छ घूँडो भन्ना ठिक जमानाले पल्टा खाइदिँदा आफू निख्लै परियो, आफ्नो हिसाब–किताबले पनि पल्टा खायो, हुँदाहुँदाको उलटपुलटमा आफू अलपत्र परियो । अहिले यी आँखाले त्यस्तो देख्न पाएनन् र यी कानले त्यस्तो सुन्न पनि पाएनन् जस्तो मेरा गुरु कामरेडले भन्ने गर्नुहुन्थ्यो । यो ज्यानले उति सारो भोग्न नपाए पनि देखेसुनेका मनचिन्ते बात अलि बेग्लै छन्, खाइलाग्दा छन् । भनूँ भने– उहिले हुँदोका कामरेडहरु दिनमै रात पार्ने र रातमा दिन पार्ने गर्थे । एक छाने झोपडीको वास अनि सिस्नुमा ओडाल]को मकैको पिठोको आसले हितैषी कामरेडको साथ खोज्दै बस्ती–बस्तीमा धाउने गर्थे । बस्ती–बस्तीका गरीब जनसित गमस्ता गर्थे, भलाकुसारी गर्थे र मिलोमतो गर्थे । मान्छेहरू हृदय खन्याएर एकले अर्कोलाई मायाँ गर्थे, आफूहरू लुटिनु र भुटिनुको कुरा गर्थे र बुझकार कामरेडले सबैलाई गुदी कुरा बुझाउने गर्थे । मनपेट र हित्तचित्त मिलेपछि उनीहरू दरो निधो लिन्थे ।
जीवन जीउने तरीका लोभ लाग्दो थियो, कामरेड हुनुको अर्थ खुलेको थियो । तर अचेल हुँदोका कामरेडहरूको रूपरङ फेरिएको छ; चालढाल फेरिएको छ र कामरेड हुनुको अर्थ फेरिएको छ । औंला भाँची–भाँची भनूँ भने कामरेड नै थरिथरिका । एकथरि बेमौसमी कामरेडहरू लोर्के कारमा चढेर चुइँ चुइँ अलकत्रे सडकमा चुइँकिँदै स्वागत–सत्कार अनि महलको मेजमानीमा रमाउने गर्दछन् । सांसद हुनुको स्वादमा बुर्लुक्क बुर्लुक्क उम्लने अनि नहुनुको बेस्वादमा रन्थनिएर हिँड्छन् । नाफा नोक्सान र मानसम्मानको एक एक हिसाब–किताब गर्छन् । यहीँनेर अर्काथरि कामरेडहरू आज पनि मकैको पिठोमा सिस्नु ओढालेर आन्द्राभँुडी तन्काउँदै गरीब जनको घरदैलोमा पुगेर मितेरी लाउने र सुखदुःख बाँट्ने गरेको देख्ने यी आँखा पनि आलाकाँचै छन् ।
हुन त यी आँखाले के देखे, कति देखे र कति देख्नुपर्ने हो त्यसको बखान यहाँ गरिसक्नु छैन । जाँगर लगाएर बखान गरिहालूँ भने पनि प्रजातन्त्रको जमाना छ ज्यूँका त्यूँ सोझो कुरो गर्न हुन्न, घोप्लेबाजी गरूँ त्यस्तो अभ्यास आफूलाई छँदा पनि छैन र मन पनि मान्दैन । कलमको टुप्पो घोट्ता–घोट्ता भुत्ते भए पनि गाँठ्ठी कुरो गिदीमै बिलाउँछ, यो भन्दा ठुलो सङकट अर्थोक के नै हुन सक्ला र ? देखेको कुरा नढाँटी भनूँ भने सडक, चोक, गल्ली, बजारदेखि दरबारसम्म र उत्सव, महोत्सव, जन्मोत्सवदेखि धर्मोत्सवसम्म कामरेडकै हल्लीखल्ली छ, कामरेडकै ढलीमली छ र कामरेडकै मोजमस्ती छ ।
यत्रो पृथ्वीलाई आफ्नै अक्षमा एक फन्को मार्न बरु चौबीस घण्टा लाग्छ, तर यही पृथ्वीको चतुर जीव मान्छेले छिन्छिन्मा कति हो कति गोलचक्कर लगाउँछ, पलपलमा रङ्गरोगन बदल्छ र हुँदाहुँदा आनकातान फेरिन्छ, फेरिएको छ । हाम्रा बाबुबाजे त भन्ने गर्थे मरेपछि चोला फेरिन्छ भनेर, तर अचेलका मान्छेले जीउँदै चोला फेर्न थालिसके । बेढङ्ग र बेतालको फेरिने क्रियाले चकित तुल्याएको छ । फेरिने, फेराउने, फेर्न फर्काउन लगाउने पिपलपाते चलनचल्ती भनेकै हिजोआजको नवीनता हो, कामरेडी शैलीमा आएको आधुनिकता हो र नखरमाउलो चालढाल हो । फेरिने क्रम तीव्र गतिमा बढ्दो छ, फेरिनुको होड चलेको छ, यही कामरेडी क्यारियर बनाउने औसर भएको छ ।
सायद त्यसैले होला हिजोका दिनमा स्वस्ति टक्य्राउनेदेखि लिएर जय नेपाल भट्याउनेसम्म र जदौ पसार्नेदेखि लिएर नमस्ते टकार्ने– सम्मका सबैजसो लालसलाम बजर्ने भइसके । कल्ले कहाँ कतिबेला के गर्छ भन्ने कुराको निधो बेमौसमी खेलाडीबाट हुँदा पनि हुँदैन । यो उलटपुलटको जमाना हो, उलटपुलटकै राइँराइँ छ र छेपारे जीवनशैली रूचाउनेहरूको हपहपी छ, चकचकी छ, र यो रङग बदलको युग न हो नेपाली हावापानी पनि कामरेडमय भएको छ ।
कामरेडको सङ्ख्या बढ्दा बढ्दा आफू हिड्ने बाटो पनि कामरेडमय भइसक्यो तर आफूमा भने कामरेडको गन्धसम्भ पनि आएको होइन । दायाँ फर्कूँ कामरेड, वायाँ फर्कूँ कामरेड, अघिपछि चारौँ तर्फ कामरेडहरूका बिचमा आफू हाँसको बथानमा बकुल्लो जस्तै परियो । यसो कल्पदै गएँ– मेरा गुरु कामरेडले मलाई विराजमान गराउनुभएको कामरेडी पद र आजभोलिको कामरेडी दुनियाँका बिचको दूरी कति मिटरको होला ? त्यसको नापजोख गर्ने कुनै उपाय होला कि नहोला ? सायद दूरी बढ्दै जाँदा आफूमा कामरेडी रङ्ग नचढेको होला भन्ने पनि लाग्छ र छेपारे कामरेडको चकचकी देखेर राल काढ्न थालियो भने उल्टै बित्याँस पर्ला कि भन्ने पनि लाग्छ । आखिर कामरेड पनि भदौरे, कात्तिके, चैते आदि थरिभाँतिका हुँदा रहेछन् । आफू परियो भदौरे कामरेड, जमाना परे चैते कामरेडका, त्यसैले पनि दूरी बढ्नु त्यति अनौठो लागेन ।
यस रीतले खोतल्दै जाँदा कामरेडहरू पनि वरिजनल र डुब्लिकेट हुँदा रहेछन्, सायद कामरेड उत्पादन गर्ने कम्पनी पनि यस्तै हुनुपर्छ । त्यसैले होला कहिलेकाहीँ कामरेड–कामरेडका बीचमा पनि घम्साघम्सी पर्ने गर्छ, रूपरङ्ग र मन पेट नमिलेपछि पर्ने नै भो । राम्रो मेजमानी नपाएपछि सगोत्री कामरेडहरूमा नै घम्साघम्सी पर्दोरहेछ । बाटोमा हिँड्दा यसो कानको लोती तानेर दायाँबायाँ चाल मार्यो भने चैते कामरेडको दुःखेसो सुन्न पाइन्छ– “साला यार फलानो कामरेड मभन्दा जुनियर भएर पनि राजदूत, जी. एम, अध्यक्ष, सल्लाहकार हाम्रो त्याग र बलिदानको मूल्याङकन भएको खोई ?
बुझ्नु भो कामरेड यहाँ लाल कामरेडलाई पाखा र दलाल कामरेडलाई काख गर्ने काम भएको छ, यो अन्यायका विरुद्ध डटेर मुकाविला गर्नुपर्छ ।” कोठाबाट बाहिर ननिस्कूँ गृहस्थी चल्दैन, निस्कूँ अनेक थरिको कामरेडी उखरमाउलो मात्र सुन्न पाइन्छ । यी कानले अझ के कति सुन्नु पर्ने हो त्यसको ठरठेगान भने छैन । यसो पछिल्तिर फर्केर गुन्दै जाँदा आफूले कामरेडको पद पाएको झण्डै १६ वर्ष पुगिसक्ता पनि कसैले पुछिपात लाउने होइन । कहिलेकाहीँ त विरक्त लागेर आउँछ अनि अनेक तर्कना मनमा खेल्न थाल्छन् । यो कामरेडी योग्यताको जाँचपड्ताल गर्ने कुनै कानून होला कि नहोला ? भए त्यसले मलाई कामरेडमा दर्ला कि नदर्ला ? आफ्ना अगाडिबाट कतिपय कामरेडहरू लफरलफर् ओभरकोट लगाएर हिँडेको देख्दा पनि कन्सिरी तातेर आउँछ । आफू परियो कमेडी परिभाषाको अनुसन्धाता, छेपारे कामरेडको बिल्ला भिरेर परेट खेलेको दुनियाँका नजरमा दृष्टि पुगेन भनूँ ।
जिल्लादेखि बेजिल्लासम्म, पियनदेखि जी. एम. सम्म र कुचिकारदेखि नीतिकारसम्म जहाँतहीँ कामरेड कामरेडको लाइन हुँदा पनि आफूलाई नून, चिनी, मट्टितेल किन्दा ढुक्नुपर्ने लाइनबाहेक अरू लाइनको बारेमा पटक्कै अनुभव छैन । हुन त त्यही कामरेडी लाइनमा बस्नेहरू पनि केही त नून खाएका ढकुरजस्तै पनि छन् । लाइन नहो त्यहाँभित्र पनि सक्कली कामरेडलाई पाखा लाएर आफू साख्खै बन्ने चैते र कात्तिकको सङ्ख्या गनिसक्नु छैन । तँलाई हेर मलाई हेर भन्दाभन्दै डुब्लिकेट कामरेडले ताउरोमाउरो जुटाइसकेको पनि देखिएकै छ ।
आफूलाई त के छ र ? दायाँ हेरुँ कामरेड, बायाँ हेरुँ कामरेड, अधि हेरुँ कामरेड, पछि हेरुँ कामरेड, साँच्चै भनूँ भने सिङ्गो वायुमण्डल नै कामरेडीकरण हुँदा पनि आफू विशुद्ध मान्छे बनेर बाँचिएकै छ । कोही कसैले मेराबारेमा ‘कामरेडीपन विनाको फगतको दुई खुट्टे जन्तु मात्र हो भन्ने फत्तेउरां पनि गर्दा हुन् र कहिलेकाहीँ एक सुर्ते बनेर झोक्य्राउँदा मनले कल्पन्छ– आखिर यो नेपाली वायुमण्डलसमेत कामरेडीकरण भएको तात्तातो वर्तमानमा कामरेडीपनविनाको मान्छे नुनविनाको तिहून जस्तै त होइन भन्ने पनि लाग्छ । यदि जिउनुको मर्म यसैमा छ भने हर्ताकर्ता र पालनकर्तासमेत ठहरिएका उनै गुरु कामरेड जल्ले आफूलाई कामरेडी मन्त्र सुनाएका थिए, उनैसँग गएर बिन्ति गरूँ महामयिम गुरु कामरेड – आफ्नो त कामरेडमा नाउँ दरिएन ।
०००
काठमाडौं
२०५१ माघ कान्तिपुर
कामरेडमा नाउँ दरिएन (२०५६)
Subscribe
Login
0 Comments
Oldest







































