साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईश्वर पनि भक्तहरूको भक्त छ

त्यसैले त ऊ आज पनि यस दुनियामा टिकिरहन सशक्त छ नत्र किन– नास्तिकहरू पनि सुनकै जलहरी बोकेर उसकै दैलोमा पुग्छन् ? गेरुवा पहिरिएर उसकै पाउमा झुक्छन् ?

Nepal Telecom ad

हरि कोर्काली :

ईश्वर नै हो सबैको आधार
सम्पूर्ण जगतको निशङ्क आधार ।

ऊ कर्मयोगी छ
तब त ऊ सर्बसमर्थ छ
अकर्मण्यतालाई अँगाल्यो भने उसले
जगतै मासिने छ
सृष्टि नै नासिने छ
अनि त
प्रकृतिलाई पनि
उसैको मात्र शासन प्रिय छ ।

कुनै पनि बस्तुलाई
एउटा सुन्दर आकारमा हेर्न चाहन्छौं हामी
आकारै नभएको शून्यलाई पनि
बिछट्टै बान्कि परेको
आकारमा हेर्छांैं हामी ।

जगतकै आधार भएरपनि
ईश्वर
निराकारै रहने मनगर्छ
तर, आफ्‌नै स्वभावको दबाबमा
एउटा सुन्दर आकार दिन हामीलाई मनपर्छ
र, आफ्‌नै सामू प्रकट गराएर
उपासना गर्ने हाम्रो बानी देखेर
ईश्वर पनि दङ्ङपर्छ ।

स्वच्छ मनले धेरै सोचेर
हामीले
उसका लागि एउटा आकार खोज्यौं
र उसलाई
ऊ आफैले सम्पूर्ण चित्त लगाएर विकास गरेको
अनि त्यसबाट
अटुट सन्तुष्टि पनि प्राप्त गरिरहेको
हाम्रो आफ्‌नै आकार दियौं
र, मुस्कुराउँदै
उसका आँखामा आँखा मिलाएर
प्रतिक्रिया माग्यौंं
कुनै पनि आकारमा नल्याई
निराकारै राख्यो उसले आफ्‌नो प्रतिक्रियालाई
बस ! स्वीकार गर्‍यो भनेर बुझ्यौं
र अझ बढी फुरुङ्ग परेर
आफ्‌ना मुस्कुराउने अङ्गहरूलाई
झन् बढी मुस्कुराउन छाडिदियौं ।

उसको लागि आकार खोज्न
हामीले बगाएको पसिनाको मूल्य
थाहापाएर हो वा
आफूले रोजेकै आकार पाएर हो
पाएको आकार स्वीकार नगर्न
उसले सकेन ।

हाम्रै जस्तो आकारको भएर
हामीसँगै रहँदा बस्दा
सङ्गत गुनाको फल
हामीलाई जस्तै उसलाई पनि
खानपानको आवस्यकता पर्ने नै भयो
उसको मन बुझेर हामीले
हामी आफैलाई मनपरेका
मीठा मीठा खानेकुरालाई
झन् मीठो तुल्याएर
नैवेद भनिने
विशिष्ट नामले सजाएर
प्रस्तुत गर्‍यौं
सहर्ष स्वीकार्‍यो
नाइँनास्ति गरेन ।

पैसा नहुँदाको मर्काबाट मुक्त हुन
हामीले पैसाको आविस्कार गर्‍यौं
उसलाई पनि आवस्यक पर्ला कि भनेर
भेटी भन्ने विशिष्ट नाम दिएर टक्य्रायौं
देख्नासाथ उसका तीनै नेत्र खुले
र हात पनि चिलाए
चुपचाप स्वीकारेर हातको चिलाइ मेट्यो
खुसीले
तीनै नेत्र पिलिक्क बलेका देखिए
त्यति खुसी फेरि कहिल्यै देखिएन ।

आफ्‌नै आकारमा
आफ्‌नै सामु
नाङ्गै राखिरहन कसरी पो सकिन्थ्यो र ?
लाजले आफैलाई जिस्क्याइ रह्यो
त्यसबाट मुक्त रहन
सृङ्गार र आभूषणका सामग्रिले
झकिझकाउ तुल्याएर
उसका लाजहरूलाई छोपि दियौं
त्यो पनि मख्ख परेर स्वीकार्‍यो
प्रतिकूलता प्रदर्शन गरेन ।

आफू चाहिं
दाम्पत्य जीवनका
अनेक अनेक सुखहरू भोग गर्ने
पारिवारिक वाताव।णको रमाइलोमा
रमाइ रहने
आफ्‌नो आराध्य देवलाई चाहिं
कहिले हिउँको थुप्रोमा त
कहिले कठ्याउने पानीको दहमा
एक्लाएक्लै धुमधुमती राखिरहन
कहाँ मान्थ्यो र मनले ?
उत्तम उत्तम पारिवारिक सुख त
उसले पनि भोग्न पाउँनैपर्छ भनेर
उसका गुण र आफ्‌ना भावनासँग
ठ्याक्कै मेलखाने
अलौेकिक गुणहरूले सम्पन्न
राम्रा राम्रा
ईश्वरीहरूआविष्कार गरेर
जोडी पनि बाँधि दियौं
र उनीहरूका
सन्ततिहरू पनि आविष्कार गरेर
नाम, काम र कीर्तिहरू पनि
रचना गरिदियौं
त्यतिले मात्र नपुग्ला भनेर
अक्षय रतिरसले भरिएका
विछट्टै राम्रा राम्रा
देवाङ्गनाहरू आविष्कार गरेर
मनोरञ्जनलाई विस्तार गर्न सक्ने
सुविधा पनि जुटाइ दियौं
मौन मुद्रमै रहेपनि मख्खै परेर
त्यो सबै स्वीकार्‍यो
सर्वशक्तिमान् हुनुको अभिमान
प्रदर्शन गरेन ।

भक्तहरूले जुराइ दिएका
जनानादि बस्तुहरूबाट सन्तुष्ट ईश्वरले
सरल छु
भलाद्मी छु
निरभिमानी छु
सत्य जस्तै सोझो, कञ्चन, स्पस्ट र मौन छु
परम दयालु छु
सुहृदहरूप्रति सदा कृतार्थ छु
र,भक्तहरू उपर आफ्‌नो दीव्य सामर्थ्यले
आशीर्वादको वर्षा गराइ रहेको छु भन्ने
पुष्टि गरिरहेको छ ।

उसको परम निरभिमानी पनलाई
कसले पो मन नपराउला र ?
कसलेपो नमान्ला र ?
अगाध आस्थाका साथ
सबैले उपासना गरिरहेकै छौं
हाम्रा हरेक शुभ प्रार्थनालाई
दयालु मनले सुनिरहेको पाइरहेकै छौं ।

उसले सुनिरहेको हामी
उसैको आशीर्वाद स्वरुप
समय समयमा भैरहने वर्षाबाट थाहापाउँछौं
खेतबारीमा रोपेका पुरुषर्थमा
उसैले लगाइ दिएका
पोसिला पोसिला दानाहरूबाट थाहापाउँछौं
चन्द्र सूर्य मार्फत
निस्वार्थ भावले पठाइ रहेका
उपहारबाट थाहापाउँछौं
फलफूलमा उसैले राखि दिएका
मीठा मीठा स्वाद र बास्नाहरूबाट थाहा पाउँछौं
पसिनाको कमाइमा
उसैले राखिदिएको
इज्जत र सन्तुष्टिबाट थाहापाउँछौं
उसैको मात्र शासन मनपराउने प्रकृतिले
प्रसन्नतापूर्वक दिइरहेका
अनेक अनेक उपहारहरूबाट थाहापउँछौं ।

कसैसँग नबोल्ने भए पनि
आफैले आफूलाई अधिकतम सहयोग गर्ने सामु
ईश्वर
सदा नतमस्तक रहेर
उसले मागेको हरेक कुरा
खुरुखुरु दिइरहेको पाइरहेका छौं ।

ईश्वर पनि
आफूलाई आविष्कार गरी गरी
सुख सुविधा जुराइ दिने
भक्तहरूको भक्त छ
त्यसैले त ऊ
आज पनि यस दुनियामा टिकिरहन
सशक्त छ
नत्र किन–
नास्तिकहरू पनि
सुनकै जलहरी बोकेर
उसकै दैलोमा पुग्छन् ?
गेरुवा पहिरिएर
उसकै पाउमा झुक्छन् ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
0
Would love your thoughts, please comment.x
()
x