हरि कोर्कालीअब पनि बा नै आउनुहुनेछ
घामलाई ठूलो–सानो पारेर बाले नै मिलाउनु हुने छ यसरी बाले सम्भ्रान्त नेपाल र सम्भ्रमित नेपाली बनाएरै छाड्नु हुने छ आहा ! फेरि पनि हाम्रा बा नै आउनु हुने छ ।

हरि कोर्काली :
चुनाव नजिकै आइसक्यो
गाउँमा अब
बा आउनु हुनेछ
काँधमा बोकेर रेल ल्याउनु हुनेछ
मतदाताहरूलाई
दमक–दार्चुला एक्सप्रेसमा
तुफानी यात्राको मजा चखाउनु हुनेछ
लिपुलेख, लिम्पियाधुरा र कालापानी
घुमाउनु हुनेछ
तिनीहरूलाई आफैले तानेर ल्याएको
पुराण लगाउनु हुनेछ
र त्यहींबाट पानी जहाजमा राखेर
टनकपुर उतार्नु हुनेछ
र फेरि रेलमै राखेर घरघरमा
पुर्याइ दिनु हुनेछ
चुनाव नजिकै आइसक्यो
गाउँमा अब बा आउनु हुनेछ ।
चुनाव नजिकै आइसक्यो
गाउँमा अब बा आउनु हुनेछ
उखान तुक्काको वर्सा गराउनु हुनेछ
पेट मिचिमिची हँसाएर
स्वास्थ्यलाभ गराउनु हुनेछ
भोटरहरूलाई भ्यूटावरमा चढाएर
विकासको नमुना देखाउनु हुनेछ
पहिले नै
आफैले घरघरमा पुर्याएर
भोटेताल्चा लगाई राखेको
ग्यस–लाइनको समुद्घाटन गरिदिएर
घरघरका भित्तामा
अभिलेख टाँस्न लगाउनु हुनेछ
स्वदेशमै रोजगारी सृजना गर्न
अरिङाल र बारुलाका सङ्गठनहरूलाई
भरमार विस्तार गर्नु हुनेछ
सुकुम्बासीका हातहातमा
बतासे नै सही, धनीपुर्जा पुर्याउनु हुनेछ
र तिनै धनीपुर्जामा सक्कली धान फलाएर
अघाउँजी भात ख्वाउनु हुनेछ
भोकै कसैलै बस्नुपर्ने छैन
रोगी कसैले हुनुपर्ने छैन
र, मगी खाने पनि कतै देखिने छैनन्
आफूले देखाएको सुखस्वप्न पूरा गर्नु हुनेछ
चुुनाव आयो
गाउँमा अब बा आउनु हुनेछ ।
चुनाव नजिकै आइसक्यो
अब फेरि बा नै आउनु हुनेछ
उहाँ आइसके पछि
नेताको चाकरी गर्नुपर्ने छैन
नेताले नै जनताको चाकरी गर्ने छन्
सेवा लिन अड्डा अदालत धाउनुपर्ने छैन
हाकिमहरू नै
सेवाको भारी बोकेर
दैलोदैलोमा आइपुग्ने छन् र
बाले नै पठाइदिनु भएका स्मार्ट फोन पनि
एकएक थान
हातहातमै दिएर जानेछन्
अनि
काम गर्न पनि
बाले नै
रोबोटहरू पठाइ दिनु हुनेछ
खाना पनि रोबोटले नै बनाएर ख्वाउने छन्
सबै काम रोकोटले नै गरिदिने छन्
एकल पनि कसैले रहनुपर्ने छैन
महिला रोबोटले साथ दिने छन्
र चाहिएका बखत
गाथ पनि रोबोटले नै उपदब्ध गराउने छन्
आआफ्ना जोडी र गर्लफ्रेण्डलाई
सन्तुष्ट गराउने बाहेक
अरू केही गर्नुपर्ने छैन
मोबायल खेलाएर बसे पुग्ने
जहिले पनि सुखै सुख ।
चुनाव आई नै सक्यो
फेरि पनि बा नै आउनु हुनेछ
र बाको आगमन सँगै
सुखका दिन आउने छन्
सुखकै घाम उदाउने छन्
जाडोले आउने बाटै पाउने छैन
गर्मी पनि चाहिनेजति मात्रै हुने गरी
लालटिनको प्रकाश मिलाएझें
घामलाई ठूलो–सानो पारेर
बाले नै मिलाउनु हुने छ
यसरी बाले
सम्भ्रान्त नेपाल र सम्भ्रमित नेपाली
बनाएरै छाड्नु हुने छ
आहा ! फेरि पनि हाम्रा बा नै आउनु हुने छ ।
०००
Subscribe
Login
0 Comments
Oldest








































