हरिशंकर परसाईंदुई लघुव्यङ्ग्य
अर्थात् आकाशको पनि अंशबन्डा भएको थियो भाइहरूका बिचमा । आपसमा बोलचाल छैन । तर दुवै दाजुभाइ ‘क्षमावाणी’ पर्वको तयारीमा उत्साहपूर्वक लागेका छन् ।
हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
१. झटका (शाँक)
सहरको नाम नभनौँ । जसको चर्चा गर्दै छु, उहाँ हिन्दीका प्रसिद्ध लेखक र समालोचक हुनुहुन्छ ।
शारीरिक सम्पत्ति निकै क्षीण । रूप पनि कहिल्यै आकर्षक थिएन होला । जुन समयको चर्चा गर्दै छु त्यति वेला उहाँ ४० पारि पुगिसक्नुभएको थियो तर अविवाहित हुनुहुन्थ्यो ।
एक दिन पार्कमा उदास भएर बस्नुभएको थियो । एकजना मित्र आए । सोधे, ‘के भयो ? किन उदास भएर बसेका छौ त ?’
‘भाइ, मलाई नजिस्क्याऊ है !’ उहाँ ठुस्केर बोल्नुभयो ।
‘आखिर केही त भन न ! कुनचाहिँ दुःखको पहाडै खस्यो र तिमीमाथि ?’
उनले भने, ‘नसुनी नहुने भए सुन त । म हिन्दीको लेखक हुँ । मेरो साधनाका पनि २०–२२ वर्ष भए । तर छायावादी कवितालाई मानिसहरू धुलोबराबर पनि मान्दैनन् । मैले उनीहरूलाई छायावादका बारेमा भन्दै एक प्रकारले छायावादी रथको सारथी म नै हुँ भनेर बुझाएँ र भनेँ, मेरा आठवटा पुस्तकहरू छन् । हिन्दूस्तानीहरूमा अलिकति पनि लाज हुँदो हो त अहिलसम्म मलाई मानार्थ विद्यावारिधिको उपाधि दिइसक्नुपर्ने हो ।’
उहाँ अडिनुभयो । फेरि गहिरो सास तानेर भन्नुभयो, ‘अनि मेरो यो अवस्था छ । यो त ममाथि अन्याय नै भएको हो । यस्तो अवहेलना मेरो !’
मित्रले उहाँको कतै कुनै सम्मेलनआदिमा अपमान भएको रहेछ भन्ने थाहा पाए । उनले सम्झाउँदै भने, ‘ए भाइ, हिन्दीवालाहरू त निकै ढिलो गरेर मात्र मानिसको साधनालाई मान्यता दिने गर्छन् ।’
उहाँले भन्नुभयो, ‘हैन, हिन्दीवालासित मेरो गुनासो हैन । यो खाम त हेर । यसमा कसको ठेगाना लेखिएको छ ?’
मित्रले भने, ‘यसमा त कुनै विश्वविद्यालयको विद्यार्थीको ठेगाना लेखिएको छ ।’
‘थाहा छ यसमा के छ ? यसमा प्रेमपत्र छ । जुन केटीले लेखेकी हो, उसलाई म एक वर्षदेखि हिन्दी पढाउँदै छु । अनि उसले यो प्रेमपत्र मलाई दिँदै ‘सर, यो चिठी लेटर बक्समा खसालिदिनुहोला’ पो भनी !’
२. क्षमावाणी
बितेका दिनमा पर्यूपर्षण पर्वमा एकजना धार्मिक जैन सज्जनसित भेट्न गएँ ।
निकै व्यस्त थिए । भने, भोलि ‘क्षमावाणी’ उत्सव हो । त्यसैको व्यवस्थापनमा लागेको छु । सबै काम मेरै टाउकामा आएको छ । ११ दिनदेखि व्रत चलिरहेको छ र आज त सास फेर्ने फुर्सदसम्म पनि छैन ।’
मैले सोधे, ‘कस्तो उत्सव हो र यो ?’
उनले भने, ‘भाइ, यस उत्सवमा सबैजना प्रेमपूर्वक भेट्छन् र एकले अर्कालाई क्षमा गर्छन् । निकैै प्रेम र सद्भावको उत्सव हो यो ।’
उनी प्रेमविभोर भए ।
मैले भनेँ, ‘ठुल्दाजु कहाँ हुनुहुन्छ त ? उहाँलाई पनि भेट्न पाए हुन्थ्यो । बोलाइदिनुस् न ल ?’
उनले भने, ‘पल्लोपट्टि बस्न थाल्नुभएको छ । गएर बोलाऊ । हाम्रो त बोलचालै छैन ।’
उनी ‘क्षमावाणी’ को काममा लागे ।
मैले बाहिर गएर हेरेँ । त्यस घरलाई छुट्याउनका लागि जुन पर्खाल उठाइएको थियो त्यो आठ फिट अग्लो थियो । अर्थात् आकाशको पनि अंशबन्डा भएको थियो भाइहरूका बिचमा । आपसमा बोलचाल छैन । तर दुवै दाजुभाइ ‘क्षमावाणी’ पर्वको तयारीमा उत्साहपूर्वक लागेका छन् ।
नोभेम्बर १९५६ मा बसुधामा प्रकाशित
०००
‘परसाई रचनावली’ २ बाट अनुवाद गरिएकाे हाे । अनु.
Subscribe
Login
0 Comments
Oldest






































