हरिशंकर परसाईंदुई लघु व्यङ्ग्य
‘यसमा के छ ? थाहा छ ? यसमा प्रेमपत्र छ । जुन केटीले यो लेखेकी हो त्यसलाई म एक वर्षदेखि हिन्दी पढाउँदै छु । अनि उसले यो प्रेमपत्र दिएर मलाई भन्छे, ‘सर, यो लेटर बक्समा हालिदिनुस् न !’
हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
१. जनताको गोली (जनता की गोली)
राष्ट्रको संसद्मा कसैले आलोचना गर्दै भन्यो, गत महिना प्रहरीले २५ ठाउँमा जनतामाथि गोली चलायो जसमा ५०/६० मान्छे मारिए……’
मन्त्रीले उत्तर दिए, ‘हाम्रोमा जनताको धनबाटै गोलीहरू बन्ने गर्छन् । उत्तरदायी सरकार भएकाले हाम्रो कर्तव्य के हुन्छ भने जनताको धनको बढीभन्दा बढी प्रयोग जनतामै होस् । जनतका गोली जनताकै काम लाग्नुपर्छ । त्यसैले हामीले गोलीहरूलाई अन्य कसैमाथि पनि अपव्यय नगरेर जनताको वस्तु जनतालाई नै दिएका हौँ ।’
उनको यस भनाइमा सत्तापक्षबाट परररररर ताली गुँज्यो ।
२. सक /झटका (शाक)
नगरको नाम भन्दिनँ । जसको चर्चा गर्दै छु ती हिन्दीका प्रसिद्ध लेखक तथा आलोचक थिए ।
शरीररूपी सम्पत्ति निकै फितलो । रूप पनि कहिल्यै आकर्ष थिएन होला । जुन समयको चर्चा हुँदै छ त्यति वेला उनलै ४० वर्ष पार गरिसकेका थिए । अविवाहित थिए ।
एक दिन पार्कमा मन लागी नलागी बसेका थिए । एकजना मित्र आए र सोधे, ‘किन ? के भयो र ? निकै मन नलागी नलागी बसेका छौ नि !
‘यस्तो के भयो र तिमीमाथि दुःखको पहिलो खस्यो र ?’
उनले भने, ‘नमान्ने नै हौ भने सुन । म हिन्दीको लेखक हुँ र २० /२२ वर्षको मेरो साधना । छायावादी कवितालाई त मानिसहरू रौँबराबर पनि मान्दैनन् । मैले उनलाई छायावादका बारेमा बुझाएँ । छायावादी रथको सारथी त एक प्रकारले म नै हुँ । मेरा आठवटा पुस्तकहरू छन् । हिन्दुस्तानीहरूलाई लाजसरम हुँदो हो त अहिलेसम्म मलाई सम्मानका लागि विद्यावारिधिको उपाधि दिइसक्नुपर्ने हो ।’
उनी रोकिए । अनि गहिरो सास छोडेर भने, ‘अनि मेरो यो अवस्था छ । ममाथि यसरी अन्याय भएको छ । मेरो यस्तो अवहेलना भएको छ ।’
मित्रले यिनको कतै कुनै सम्मेलन आदिमा पक्कै अपमान भएको छ भन्ने बुझे । उनले पनि सम्झाउँदै भने, ‘हेर भाइ, हिन्दीवालाले त मान्छेको साधनालाई मान्यता दिनै साह्रै ढिला गर्छ्न् ।’
उनले भने, ‘हैन, मलाई हिन्दीवालासित गुनासो हैन । यो खाम हेर, यसमा कसको नाम र ठेगाना लेखिएको छ ?’
मित्रले भने, ‘यसमा त कुनै युनिभर्सिटीको केटाको ठेगाना लेखिएको छ ।’
‘यसमा के छ ? थाहा छ ? यसमा प्रेमपत्र छ । जुन केटीले यो लेखेकी हो त्यसलाई म एक वर्षदेखि हिन्दी पढाउँदै छु । अनि उसले यो प्रेमपत्र दिएर मलाई भन्छे, ‘सर, यो लेटर बक्समा हालिदिनुस् न !’
०००
(यी रचनाहरू हरिशंकर परसाईको ‘परसाई रचनावली २’ बाट अनुवाद गरिएका हुन् । अनु.)
Subscribe
Login
0 Comments
Oldest







































