कृष्ण शर्मा सुमुस्वर्ग पुगेपछि
जिउँदै हाँस, जिउँदै हँसा। सेलरोटी जिउँदै बाँड, पुरी जिउँदै खुवाऊ। मरेपछि त स्वर्गमा पनि सेलरोटी पाइन्छ, तर त्यो स्वाद तलको जस्तो हुँदैन।
कृष्ण शर्मा सुमु :
स्थान: स्वर्गको गेट,
म कृष्ण शर्मा सुमु, भर्खर स्वर्ग पुगेको छु। यमराजले भर्खरै छोडेर जानुभएको छ। हातमा एउटा फाइल छ – मेरो कर्मको फाइल।गेटमा चित्रगुप्त बस्नुभएको छ, ल्यापटप खोलेर।
चित्रगुप्त – के हो “नाम ?”
म – “कृष्ण शर्मा सुमु, दार्जिलिङ, सिलगढी।”
चित्रगुप्त – “ओहो, पहाडी ! तिम्रो फाइल छुट्टै छ। तिमीले जिउँदो छँदा के गर्यौ ?”
म – “केही गरिनँ, खाली हँसाएँ।”
चित्रगुप्त – “ए, त्यही त ठूलो पुण्य हो। अरू त पुरीको हिसाब गर्थे, तिमीले हाँसोको हिसाब गर्यौ। पास।”
गेट खुल्यो।
भित्र गएँ, के देख्छु? स्वर्ग पनि हाम्रो दार्जिलिङ जस्तै रहेछ। कुहिरो लागेको, चियाको बोट, लुङ्दर फरफराइरहेको छ।
स्वर्गमा पनि एक आमा समूह रहेछ – स्वर्गीय आमा समूह।
एक आमा भन्दै हुनुहुन्थ्यो – “ए, नयाँ आयो है, सुमु आयो रे।”
अर्कोले भन्नुभयो – “यसको त सेलरोटीको बारेमा लेख्न, यसलाई सेलरोटी दिनुपर्छ कि पुरी ?”
मैले भनें – “आमा, यहाँ पनि सेलरोटीको कुरा ?”
आमाले भन्नुभयो – “नानी यहाँ पनि उही हो। यहाँ पनि पुरी फुलेन भने इज्जत जाँदैन, तर हाँसो फुलेन भने आत्मा रिसाउँछ।”
म छक्क परें। स्वर्गमा पनि पुरी आलुदमको टेन्सन रहेछ।
अलिक पर गएँ, मेरो बोजु भेटिनुभयो। सेतो लुङ्दर टाँगेर बस्नुभएको।
मैले भनें – “बोजु, तपाईं यहाँ ?”
बोजुले भन्नुभयो – “हो बाबु, म त अस्ति नै आएँ। तेरो बारीको कागले पिण्ड खाएन भनेर तँ टेन्सनमा थिइस् नि, म त त्यही दिन आइपुगेको। काग त बाटोमा भेटेको थिएँ, उसले भन्यो – ‘बोजु, मलाई आज भोक छैन, तपाईं जानुस्, म भोलि आउँछु।'”
म हाँसें। बोजुले पनि हाँस्नुभयो।
बोजुले भन्नुभयो – “बाबु, तल के छ हाल? सेलरोटी पुरी आलुदम पाक्यो?”
मैले भनें – “बोजु, तपाईं मरेपछि त झन् ठूलो भोज भयो। ५०० जनाले खाए।”
बोजुले भन्नुभयो – “ए, म जिउँदो छँदा त ५ जनालाई खुवाउन गाह्रो थियो, मरेपछि ५०० जनाले खाए? यो त घाटा भयो नि! जिउँदै खुवाएको भए म पनि खान्थें।”
दुवै जना हाँस्यौं। स्वर्गमा पनि हिसाब उही।
स्वर्गमा एक कुनामा फेसबुके आत्माहरूको भेला रहेछ।
सबैको हातमा मोबाइल – “RIP” लेखिएको पोस्ट हेरिरहेका छ।
एक आत्माले भन्दै थियो – “हेर, म मरेपछि मेरो साथीले १००० शब्दको पोस्ट लेख्यो।”
अर्कोले भन्यो – “मेरो लागि त २ जनाले मात्र लेखे।”
मेरो पालो आयो। मैले हेरें – मेरो लागि त पुरै निबन्ध नै लेखिदिनुभएको छ। मैले भनें – “मेरो लागि त एउटा मान्छेले ७००० शब्द लेख्यो।”
सबै आत्मा जले। एकले भन्यो – “ए, तेरो त फ्यान फलोइङ धेरै रहेछ।”
मैले भनें – “फ्यान होइन, सुमु जी आफै हुँ म।”
सबै बेहोस।
यमराज आउनुभयो, हातमा चिया लिएर ……।
यमराजले भन्नुभयो – “ए सुमु, तँ पहाडी मान्छे, तँलाई एउटा प्रश्न सोध्छु।”
म – “सोध्नुस् प्रभु।”
यमराज – “तल दार्जिलिङ, सिक्किम, असम, देहरादुनमा मान्छे मरेपछि सबैभन्दा बढी केको चर्चा हुन्छ? आत्माको कि खानपिनको?”
मैले भनें – “प्रभु, आत्माको चर्चा ५ मिनेट, खानाको चर्चा ५ दिन।”
यमराज हाँस्नुभयो – “त्यसैले त म पनि कन्फ्युज छु। मान्छे मरेपछि म लिन जाऊँ कि खाना बनाउनेलाई पठाऊँ?”
म पनि हाँसें।
यमराजले भन्नुभयो – “जा बाबु, तँ स्वर्गमा बस। तँ जस्तो हँसाउने मान्छे स्वर्गमा चाहिन्छ। यहाँ पनि सबै सिरियस भएर बसेका छन्, तँ आएर हँसा।”
म कृष्ण शर्मा सुमु, स्वर्गबाट लाइभ लेख्दैछु –
स्वर्गमा पनि चिया पाइन्छ, सेलरोटी मोमो ,चाउमिन आलुदम पाइन्छ, तर सबैभन्दा बढी जे पाइन्छ त्यो हो – शान्ति।
यहाँ कागले पिण्ड खाने टेन्सन छैन, पुरी फुल्ने टेन्सन छैन, फेसबुकमा RIP लेख्ने टेन्सन छैन।
यहाँ एउटै हिसाब हुन्छ – तिमीले जिउँदो छँदा कति जनालाई हँसायौ, कति जनालाई चिया पिलायौ, कति जनालाई “सन्चै छ?” भनेर सोध्यौ।
त्यसैले तल बस्ने मेरो साथीहरू – मेरो सन्देश
जिउँदै हाँस, जिउँदै हँसा।
सेलरोटी जिउँदै बाँड, पुरी जिउँदै खुवाऊ।
मरेपछि त स्वर्गमा पनि सेलरोटी पाइन्छ, तर त्यो स्वाद तलको जस्तो हुँदैन।
म यहाँ ठीक छु, लुङ्दर टाँगेर बसेको छु, हावा चल्दा मेरो नाम तिमीसम्म आइपुग्छ।
हावामा सुन – “हाहा…”
– स्वर्गबाट तपाईंको कृष्ण शर्मा सुमु
०००
सिलगडी, भारत
Subscribe
Login
0 Comments
Oldest






































