फित्काैली डटकमभाइरल सुन्दरी, डिजिटल रसिक र मायावी बजार
यस्तो लाग्छ, यी रसिकहरूका हातमा मोबाइल होइन, केवल दृष्टि-विलासको नयाँ मदिराको प्याला थमाइएको छ।
प्रेम घिमिरे अग्निकवच
उहिल्यैका कविहरू भन्थे— सुन्दरीको एक झलक पाउन मन्दिरको देहली कुर्नुपर्थ्यो, आँखाको इसारा बुझ्न पातका पानामा मसी घोल्नुपर्थ्यो। तर, समयको बैँस पनि अचेल काउकुती लागेर फेरिएछ। आधुनिक विलास र आकर्षणका लागि न कुनै लाजको घुम्टो चाहिन्छ, न नयनको सङ्कोच। केवल बैँसको पोकोलाई अल्गोरिदमको हावामा फिँजाइदिए पुग्छ। बाँकी काम ‘भाइरल’ नामको आधुनिक कामदेवले गरिहाल्छ। काँचको चिनियाँ स्क्रिनमा कमरको दुई-चार लचक, ओठको गुलाबी मुस्कान र मन्द-मन्द कटाक्ष मात्र के फ्याँकियो— सिङ्गो डिजिटल नगर नै कामपिपासु रसिकहरूको मदहोस मेलामा परिणत हुन थाल्छ।
हाम्रा यी नयाँ भाइरल अप्सराहरूको मन्दिरमा न धुप-दीप चाहिन्छ, न रातो चन्दन। यहाँ त केवल ‘हर्ट रियाक्ट’ को लाली र ‘नोटिफिकेसन’ को मधुर झङ्कार नै पूजाको मुख्य शृङ्गार हो। हिजोसम्म चोकको हाटमा शिर निहुराएर हिँड्ने कुनै लज्जावती, आज बिहान क्यामराको आँखामा गाजलको नयाँ धार खिचेर र ओठमा लाली भर्दै ‘युगकी मेनका’ बनिदिन्छिन्। कुन रात कस्तो मोहिनी रूपले अवतार लिन्छ, यहाँ मनका ज्योतिषीहरू पनि चकित हुन्छन्। सलको एउटा सानो सरसराहट र केशको मन्द फर्फराहटलाई समेत ‘विश्वमोहिनी जादू’ बनाएर पस्किने यी आधुनिक रम्भाहरूको पाउमा लुटपुटिन आउनेहरूको लर्को देख्दा लाग्छ— हाम्रो चेतना नै अचेल कुनै मदहोस मधुशालामा मस्त लडिरहेको छ।
अप्सराहरू त केवल चञ्चल छाया हुन्, असली रमिता त तिनका ‘डिजिटल रसिक’हरूको छ। यी रसिकहरूको अनुराग पनि गजबकै हुन्छ। घरमा आफ्नी अर्धाङ्गिनीले सुटुक्क हात समातेर ‘एकछिन त मसँग बसिदेऊ न’ भन्दा झर्किने प्रियतमहरू, यी भाइरल सुन्दरीको लाइभ-शृङ्गारमा भने दुवै आँखा र औँला लतारेर मदहोस बन्छन्। स्क्रिनमा मोहिनीले एउटा आँखा मात्र के झिम्काइदिऊन्, कमेन्ट बक्समा गुलाबका फूल र चुम्बनका वर्षा सुरु भइहाल्छन्— ‘मेरी महारानी !’, ‘हजुरको यो रूपले त कलेजो नै चिर्यो!’ आफ्नाहरूको खुसीका लागि एक थान चुरा किन्न कञ्जुस्याइँ गर्नेहरू, यता डिजिटल प्रेमिकाको ध्यान तान्न सय-पचासको सुपरच्याट र भर्चुअल हीराको उपहार चढाउन आफ्नो खल्ती रित्तो पार्न तयार हुन्छन्। यस्तो लाग्छ, यी रसिकहरूका हातमा मोबाइल होइन, केवल दृष्टि-विलासको नयाँ मदिराको प्याला थमाइएको छ।
यी प्रेमीजनको दरबारमा कुनै विवेक वा यथार्थको सङ्कोच चल्दैन। आफ्नी भर्चुअल सुन्दरीलाई कसैले हल्का व्यङ्ग्य मात्र के गरिदेओस्, यी ‘रोमियो’हरूको पल्टन नाङ्गो शब्द-बाण बोकेर कमेन्टको गल्ली-गल्लीमा धावा बोल्न थालिहाल्छ। भाइरल महारानीको अधरबाट फुत्किएको एउटा सानो हाँसो नै यिनका लागि प्रेमको सर्वोच्च सनद हो। जसलाई चाह्यो, एक निमेषमै ‘अप्सरा’ बनाएर मनको सिंहासनमा सजाउँछन्; अनि नजर अलिकति मोडियो भने भोलिपल्टै अर्को रूपको पछि कुद्न बेर लगाउँदैनन्।
०००
सिन्धुली
Subscribe
Login
0 Comments
Oldest









































