हरिशंकर परसाईंपरसाईंका दुई लघु व्यङ्ग्य
आगे, जानाकारीका लागि भनिदिऊँ, जेठो छोरो शीतलावाहनलाल, जो ८–१० वर्षदेखि म्याट्रिकमा फेल भइरहेको थियो, यसपालि यहाँको दयाले पास भयो ।
हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
१. जनताको गोली (जनता की गोली)
राष्ट्रको संसद्मा कसैले आलोचना गर्यो — ‘पछिल्लो महिनामा प्रहरीले २५ ठाउँमा जनतामाथि गोली चलायो जसमा ५०–६० जना मारिए…….’
मन्त्रीले उत्तर दिए, ‘हामीकहाँ जनताकै धनबाट गोली बनाइन्छ । उत्तरदायी सरकार भएका कारणले हाम्रो पनि जनताको धनको उपयोग जनताकै लागि होस् भन्ने कर्तव्य हुन जान्छ । जनताको गोली पनि जनताकै काममा लाग्नुुपर्छ । त्यसैले हामीले अन्यमाथि गोलीको दुरुपयोग नगरेर जनताको वस्तु जनतालाई नै सुम्पेका हौँ ।’
मन्त्रीको यस भनाइमा सरकार पक्षबाट तालीको गडगडाहट गुँज्यो ।
नोभेम्बर १९५७ मा बसुधामा प्रकाशित
२. अपनेलालको चिठी (अपनेलाल की चिट्ठी)
(पण्डित कांगरेसप्रसादजी, बाबु अपनेलालका निकै निकट सम्बन्धी हुन् । उनी अपनेलालकी सालीका देवरका फुपाजुका साढुभाइका सानीमाका छोराका सालाका मामाका जेठा ज्वाइँ हुन् । अनि बाबुु अपनेलाल आफ्ना यति निकटका सम्बन्धीलाई चिठी लेख्दै छन् ।)
प्रिय भाइ कांगरेसप्रसादजी,
सादर नमस्कार ।
हामी सबै निकाआनन्दमा छौँ । आगे, फलामको अनुमति प्राप्त भयो भन्ने जानकारी पुगोस् । तपाईंको चिठी देख्नासाथ साना साहेबले काम गरिदिए ।
मैले तपाईंले भनेजस्तै नै खादीका कुर्ताहरू सिलाएँ । अनि दुईवटा धोती पनि किनेँ । साथै खादीकै सेता टोपी पनि लिएँ दुईवटा । अब यो खादीको धोती लगाउने कसरी हो भन्ने पनि लेखिपठाउने काम भइजाने नै छ तहाँबाट ।
आगे, जानाकारीका लागि भनिदिऊँ, जेठो छोरो शीतलावाहनलाल, जो ८–१० वर्षदेखि म्याट्रिकमा फेल भइरहेको थियो, यसपालि यहाँको दयाले पास भयो । बेकार बसेको छ । जागिर कतै पाइँदैन । मानिसहरू नालायक भन्छन् तर आफ्नो त छोरो परो । के गरम् ? जहिले ऊ साइकलबाट लडेको थियो त्यसै बेलादेखि उसको बुद्धि पनि मन्द भएको छ भन्ने त तहाँ तपाइँलाई थाहै छ । तपाईंले उसलाई कतै ठिकठाकको जागिरमा टाँसिदिनुभयो भने उपकार भइजाला । मैले उसका लागि पनि खादीको ‘दरेस’ (ड्रेस) किनिदिएको छु ।
तपाईंकी भाउजू मसँगै बसेकी छे । उनको सधै एउटै गुनासो हुने गर्छ कि देवरजी हुँदाहुँदै पनि हामीले गुड हालेर चिया खानुपरेको छ । यहाँ सक्खरको अभाव छ । साहेबबाट चारपाँच सेरको परमिट मिलाइदिने कष्ट भइजाला ।
आगे, जानकारी होस् कि तपाईंकी भाउजूका मामा तेलको कालोबजारीमा गिरफ्तार भएका छन् । तपाईंले कप्तान साहेबलाई एउटा चिठी लेख्ने वा फोन गर्ने काम गरिदिनुहोला । तपाईंकी भाउजूले निकै पिर मानेकी छे ।
यसपालि बारीमा मकै राम्रो भएको छ । केटाकेटीका लागि एक डालो पठाउँदै छु । धेरै के लेखम् ? तपाई आफैँ बुझ्ने हुनुहुन्छ । थोरै लेखे पनि धेरै बुझ्नुहोला र चिठीलाई तार (टेलिग्राम) ठान्नुहोला ।
तपाईंको प्रिय भाइ — अपनेलाल
पुनश्च : शीतलावाहन त काकालाई ऊ थानेदार बन्न चाहन्छ भनेर लेखिदिनुस् पो भन्छ ।
नोभेम्बर १९४९मा प्रहरीमा प्रकाशित
०००
‘परसाई रचनावली’ २ बाट अनुवाद गरिएका हुन् । अनु.
Subscribe
Login
0 Comments
Oldest





































