पूर्ण ओलीदेवकुमारीको ढुकढुकी र कराईको सुकुटी !
उनले पक्कै सोध्नेछिन् चुलो बल्यो कि बलेन भनेर । के भनी जवाफ दिऊँ उनलाई ? पाठ्यपुस्तक पछि पनि परिमार्जन गर्न सकिन्छ । तर मान्छेचाहिँ रिप्रिन्ट हुँदैन ।
पूर्ण वली :
(एउटा विपद् व्यवस्थापन विशेषज्ञको घरायसी प्रयोगात्मक परीक्षा)
नजिकैको दुवाकोटमोडको बजारबाट एक मुठा फर्सीको मुन्टा र एक लिटर दूध लिएर फर्किएँ । फर्सीको मुन्टा देख्दा गाउँघरको सम्झना आयो । दूध देख्दा चिया, दही, खीर र अरू धेरै सम्भावना देखिए । आज त दूधको कुराउनी नै बनाउनुपर्छ कि क्याहो जस्तो पनि लाग्यो । तर त्यो दिन ती दुवै वस्तुले मेरो कल्पनाभन्दा बिल्कुलै फरक भूमिका बोकेर आएका रहेछन् भन्ने मलाई के थाहा !
दूधलाई सानो ग्यास चुलोमा बसाएँ र फर्सीको मुन्टा ठुलो ग्यास चुलोमा । अनि कक्षा ७ को पाठ्यपुस्तकमा रहेको ‘विपद् व्यवस्थापन ‘ पाठ परिमार्जन गर्न कम्प्युटर अगाडि बसेँ । विपद्को परिभाषा, विपद्का प्रकार, विपद्बा ट जोगिने उपाय, पूर्वतयारी, जोखिम न्यूनीकरण आदि कुरा एक–एक गर्दै हेर्न थालेँ । पाठ परिमार्जन गर्दा आफैँलाई पनि अलि ठूलै विद्वान् भइसकेको अनुभूति भइरहेको थियो ।
००
दूधले ग्यास सम्झायो । ग्यासले परिमार्जन गर्नुपर्न पाठ सम्झायो । पाठले देवकुमारीलाई सम्झायो ।
आफू त विपद् व्यवस्थापनको विशेषज्ञ शिक्षक नै परिहालेँ । मेरो सबैभन्दा नजिककी विद्यार्थी देवकुमारीलाई नै ठान्छु म ।
तर देवकुमारीले यस विषयमा आफैलाई धुरन्धर शिक्षक र मलाईचाँहि कमजोर विद्यार्थी ठान्ने धृष्ठता गर्छिन् । यहीँनेर कुरा मिल्दैन हाम्रो ।
अस्ति उनलाई रुकुममै छोडेर काठमाडौँ आउँदा उनले मलाई हात जोडेर बिन्ती गरेकी थिइन्, “एक्लै नजानुस् । तपाईँको काम गर्ने ढङ्ग पुग्दैन । जे काम गर्दा पनि एक न एक बिगारेरै छाड्नुहुन्छ ।”
मैले उनको कुरा सुनेको नसुनेई गरी काठमाडौँ हानिएको थिएँ ।
पाठभन्दा देवकुमारी बढी आँखामा नाच्न थालेकोले उनलाई फोन गरेँ: ‘के गर्दै छ्यौ ? ग्यास निभाउन नबिर्सनू है ।’
उता देवकुमारीले तुरुन्तै गिज्याउने हिसाबले प्रतिक्रिया दिइहालिन् ‘घरमालिक साब्, हजुरको एक्लो भान्छामा पो ग्यास बल्यो कि बलेन ? आज पनि भोकै सुकला होइबक्सने हो कि ?’
मेरी हठी विद्यार्थी देवकुमारीको पनि एकएक फाल्तु प्रश्नको जवाफ दिन थाले विषयान्तर हुने सम्भावना बढ्थ्यो । झगडा नै मच्चिने के बेर ! जागिर सकिएदेखि आफूमात्र होइन मोबाइल पनि भोकभोकै पर्न थालेको छ । निरीह अवस्थामा पुगेको मोबाइललाई माध्यम बनाएर किन परालको टौवामा आगो झोस्नु ? भनेर मिच मारेँ र आफ्नै काममा लागेँ ।
आखिर विपद् व्यवस्थापनको पाठ्यपुस्तक परिमार्जन गर्ने हैसियतमा पुगेको मान्छे हुँ म । घरको ग्यास व्यवस्थापन त झन् मेरो बायाँ हातको खेल भइहाल्यो ।
००
घरको भान्छादेखि सडक र सदनसम्म चर्चा चलिरहेको ग्यासको अभावले विपद् व्यवस्थापन मुद्दा ओझेल पारिदिएको थियो । नेपालीको हकमा ग्यासको अभावले विपद्कोव नयाँ मुद्दा थपिदिएको थियो । तर विद्यालयको पाठमा त्यस्तो कुरा थप्नु पनि भएन ।
भान्छाको चुलाहरूमा दूध र फर्सीको मुन्टा बसालिएको कुरा चाहिँ मेरो स्मृतिको कुन दराजमा थन्किएको थियो, याद भइरहेको थिएन ।
अनलाइन खबरहरू हेरेँ । सबैतिर बर्खाको विपद्का समाचार थिए ।—कतै पहिरो, कतै बाढी, कतै सडक अवरुद्ध । कतै जनधनको क्षति । मनमनै सोचेँ, मानिसले विपद् आउनुअघि नै पूर्वतयारी गर्ने हो भने धेरै विपद्बामट जोगिन सकिन्छ ।
विपद् व्यवस्थापनको पाठ मैले आजदेखि पढ्न थालेको होइन । लोकसेवाको परीक्षा दिनुपर्ने बेला पन्ध्र–बीस वर्षतक पनि यसलाई खुब घोकेकै हो । विपद् के हो ? जोखिम के हो ? पूर्वतयारी के हो ? न्यूनीकरणको उपाय के हो ? अहिले पनि आधाआधी कण्ठस्थ छन् । कसैले सोधे एकएक बताइदिन सक्थेँ । तर घोकेको कुरा मेरो व्यावहारिक जीवनमा कहिल्यै प्रयोगमा आएन ।
म यस्तै तर्कनामा डुबिरहेँ ।
००
केही बेरपछि भान्छाबाट तरकारी डढेको जस्तो गन्ध आयो । ‘के डढ्यो ? ‘ भन्दै भान्छामा पसेँ । चुलामा बसालिएको फर्सीको मुन्टाको तरकारी हेरेँ । मुन्टा त सबै सखाप ।
अर्को चुलो हेरेँ दूध उम्लिएर ग्यास पनि निभाइसकेको रहेछ । ग्यास भने अझै गन्ध आइरहेको थियो । हत्तपत्त चुलोको बटन मर्काएर ग्यास बन्द गरेँ । ‘ओहो ! ‘ केही बेर ढिला गरेको भए दूधले ग्यास निभाउनुको सट्टा ग्यासले आफैलाई निभाउन पो थालेको रहेछ !
जलेका फर्सीका मुन्टा हेरेँ, ‘मुन्टा त सुकुटी, सुकुटी !’
मुखबाट हाँसो फुत्कियो, ‘मान्छेले सबथोक जान्यो तर फर्सीको मुन्टाको सुकुटी बनाउन किन जानेन होला ? न यही पो मिठो हुन्थ्यो कि ?’ मरीमरी हाँस्न थालेँ र ‘खा अब भातसित फर्सीको सुकुटी ।’ भन्दै आफैलाई एक हातले लोप्पा खुवाएँ ।
चाखी हेर्दा जलेको फर्सीको मुन्टा त तितो विषजस्तो भइसकेको रहेछ । सबै डस्टबिनमा मिल्काएँ । भातका एकदुई डल्ला पानीसँग निलेपछि भित्रपट्टि जलेर कालो भएको कराई धस्काई–धस्काई माझेँ । कराई फेरि कराईकै स्वरूपमा फर्किएपछि मनमनै खुसी भएँ, ‘अब देवकुमारीले यो जलेको सुइँको समेत पाउने छैनिन् ।’
००
तन्दुरस्त कराईले फेरि देवकुमारीलाई सम्झाइदियो । देवकुमारीलाई हत्तपत्त फोन लगाइहालेँ, ‘ए तिमीले ग्यास निभाउन बिर्सियौ कि ?’
उनले उताबाट झर्कँदै भनिन्, ‘के बौलाहा तालको पोइ होला । रातको ११ बजेसम्म ग्यास, ग्यास ………’
देवकुमारीले अरू के के पढाउनेवाली थिइन् विषयान्तर भई अर्कै मोड नलिओस् भनेर फोन काटिहालेँ ।
एक मनले भन्यो— ‘देवकुमारीको ढुकढुकी र फर्सीको मुन्टाको सुकुटी’ शीर्षकमा एउटा हास्यव्यङ्ग्य लेखे कस्तो होला ? ‘
मेरो सोचाइलाई क्रमभङ्ग गर्दै देवकुमारीकै फोन बज्योः ‘फोन तुरुन्तै किन काटिबक्सेको राजा ? आफ्नै भान्छाको ग्यास चुलो बल्यो कि निभ्यो ? एकचोटि हेरिबक्स्योस् त !’
मलाई झनक्कै रिस उठ्यो । गिज्याउनुपर्योल भने उनले मलाई यस्तै ‘राजा, बक्सियोस्’ भन्दै सम्बोधन गर्ने गर्छिन् नि त !
कतै ग्यास पो निभेन कि भनी मैले भान्छातिर हेरेँ । ग्यास त निभेकै थियो तर दूधमा तर पनि लागेको थिएन ।
‘अघि पानीसँग भातका डल्ला निल्नुभन्दा यही दूधले मुछेर खाएको भए ! थुक्क सुद्धि ! ग्यास निभेर राम्ररी दूध उम्लन पाएन कि क्या हो ?’
दूध फेरि उमाल्नुपर्ने देखियो ।
ग्यास बालेर दूधलाई बिस्तारै उम्लन दिएँ । सुरुमा लो भोलुममा राखेँ । केही बेरपछि हेर्न गएँ, दूध उम्लेकै रहेनछ । ग्यास अलि ठूलो बनाउँदै भनेँ ‘अब छिट्टै उम्लिएस् है । मलाई पटक पटक हेर्ने दुक्ख नदिएस् । अघिजस्तै ग्यास ननिभाएस् नि फेरि !’ र आफूचाहिँ फेरि आफ्नो महान् बौद्धिक कर्ममा फर्किएँ ।
मनलाल सरलाई फोन गरेर विपद् व्यवस्थापन पाठमा थप्नुपर्ने कुराहरूको बारे छलफल गरेँ । साहित्यकार साथीहरूसँग पनि मेसेन्जरमा विपद्कै विषयमा भलाकुसारी गरेँ । दिनभरको कामले थकाइ लागेको हुँदो हो । कुरा गर्दा गर्दै झुङ्न थालेछु । सुत्ने कोठामा ओर्लिएँ र ओछ्यानमा पल्टिएँ । केही बेरमै विपद् व्यवस्थापनको सम्पूर्ण ज्ञानलाई सिरानीमुनि राखेर भुसुक्क निदाएछु ।
राति कताकताबाट कुराउनीको बासना आयो । लाग्योः ‘कोठा बस्नेहरूले ल्याए होलान् । अलिकति मलाई पनि दिएको भए ! कस्ता लोभीहरू !’
कुराउनीको मिठो बास सुँघ्दै फेरि निदाएछु । के थाहा मलाई चुलोमा बसालेको दूधले चेतावनी दिँदै छ भन्ने ?
राति सास थुनिएजस्तो भयो । कोठामा धुवाँ भरिएजस्तो भयो । निकै पानी प्यास लागेको रहेछ । भान्छाबाट पानी ल्याउनै बिर्सिएछु । लाग्यो, उठेर भान्छाबाट पानी ल्याई घटघटी पिऊँ । फेरि मनलाई सम्झाएँ,— ‘एक रात पानी नपिएर कोही मरेको खबर सुनिएको छैन ।’
पानीभन्दा पनि बढी विवेकको प्यास लागेको पत्तै भएन । बिहान अलि अबेरसम्मै सुतिएछ ।
००
बिहान उठ्दा प्यास निकै लागेको थियो । झटपट उठेर माथिल्लो कोठामा पुगेँ ।
कोठाभरि धुवाँ रङमङिएको थियो । दूध जलेको गन्धले मेरो सातोपुत्लो उड्यो ‘ला मैले त हिजो दूध तताउन ग्यास पो बाली छोडेको थिएँ । निभाउनै पो बिर्सिएँ कि ? ‘
हत्तपत्त भान्छाको ढोका खोलेँ । चुलामा धिपधिपे निलो प्रकाशबाहेक बाक्लो धुवाँले गर्दा भान्छाका अरू थोक केही देखिएनन् । ग्यास चुलो अझसम्म बलिरहेकै रहेछ !
तर कराई ? कराई अब कराईको स्वरुपमा थिएन । कराईको पिँध आगोको फिलिङ्गो बनेको थियो । माथिल्लो भाग सुकुटीमा परिणत भइसकेको थियो । फर्सीको मुन्टालाई सुकुटी बनाउने पहिलो प्रयोग सफल भएपछि यो हुस्सुले रा
तारात कराईको सुकुटी उत्पादन गरिसकेको रहेछ । म हाँसूँ कि रोऊँ ?
ग्यास निभाउन खोज्दा ग्यासको बटनले हात सलक्कै पोल्यो । बल्ल ग्यास सिलिण्डरको रेगुलेटर बन्द गर्ने होस आयो । हत्तपत्त रेगुलेटर बन्द गरेँ । सिलिण्डरसमेत रनक्क तातिएको रहेछ । चुलोमा सल्किरहेको ग्यासले ननिभी सुक्खै पाएन ।
एकापट्टिको ग्यास चुलो अङ्गारजस्तो भइसकेको थियो । ग्यासको पाइप अत्यधिक तापले झोल्लिरहेको थियो ।
बल्ल महसुस भयोः म ठुलो दुर्घटनाबाट धन्नले बचेछु । केही बेर अझै ढिला गरेको भए ग्यास पाइप सल्किन सक्थ्यो । पाइप सल्केर सिलिण्डरसम्म पुगेर सिलिण्डर नै आगो लाग्न सक्थ्यो । भान्छामा काठका फर्निचर र र्याोकहरू थिए । कपडाका पर्दाहरू थिए । आगो फैलिन बेर लाग्दैनथ्यो । घरमै आगलागी हुन सक्थ्यो ।
र त्यसपछि ?
फर्सीको मुन्टाको सुकुटी शीर्षकमा हास्यव्यङ्ग्य लेख्ने् योजना बनाउँदै मस्त निद्रामा सुतेको यो महान साहित्यकार कहलिने हुस्सु आफैँ सुकुटी बनिसकेको हुनेथियो ।
फर्सीको मुन्टाको सुकुटी देखेर हिजो राति म बेसरी हाँसेको थिएँ । तर मान्छे नै सुकुटी भएको देखेर हाँस्ने बैरीहरू कति हुँदाहुन् ?
मान्छेको सुकुटी त कसैले खाँदैन ।
००
मलाई आफ्नै परिचयले धिक्कार्यो । आफैँ विपद् व्यवस्थापन विषयक पाठ्यपुस्तक निर्माता । आफैँ विपद् व्यवस्थापन पढाउने मान्छे । अरूलाई विपद्कोन पूर्वतयारी र जोखिम न्यूनीकरणका उपाय सिकाउने मान्छे । त्यही कुरा लोकसेवाको जाँचमा लेखेर सरकारी जागिर खाएर पनि अवकाश पाइसकेको अब्बल मान्छे ।
तर आफ्नै भान्छामा एउटा ग्यास निभाउन बिर्सिएर विपद्को प्रत्यक्ष नमुना बन्न पुगेको म बहुलठ्ठी मान्छे । आफ्नै कर्तुत सम्झेर आफैँलाई ल्वाप्पा खुवाएँ । गालामा दुई चड्कन लगाएँ । आफैलाई जगल्ट्याउन मन लाग्यो ।
तर म छक्क परेँ । १० मिनेटमै उम्लिएर ग्यास निभाउने दूधले फेरि किन ग्यास निभाएन ? रातभर बलेर पनि किन आधा सिलिण्डर ग्यास सकिएन ? किन बलिरहेको ग्यासले रबरको पाइप सल्किएन ? जवाफ एउटै थियोः अझै बाँच्न लेखिएको रहेछ ।
०००
अब अर्को झन् ठुलो चुनौती त बाँकी नै थियोः सुकुटी परिसकेको कराईको व्यवस्थापन ।
दुई महिनाअघि देवकुमारीले तीन हजार रुपैयाँ हालेर बजारमा चहारेर ल्याएको कलेजी रङको दूध तताउने कराई थियो त्यो । देवकुमारीको ढुकढुकी नै भने पनि हुन्छ । हरेक दिन टलक्क पारेर भाँडाहरूको बिचमा सजाएर राख्थिन् ।
हरेक पाहुनाहरू आउँदा पनि उनी यही कराईको बखान गर्न थाल्थिन्, ‘कम्ता राम्रो छैन यो कराई । दूध बसाल्नेबित्तिकै उम्लिन्छ । दाल, तरकारी समेत मज्जासँग पकाउँछ । तेल त झन् हाल्नै पर्दैन । मलाई त यो भाँडोबाहेक अरूमा पकाएको मिठै लाग्न छोड्यो ।’
देवकुमारीको ढुकढुकी बनेको यो कराईको सुकुटीलाई म अब के गरूँ ?
अब नयाँ कराई किनेर राखिदिऊँ कि ? तर यस्तै रङको कराई पाइएला कि नपाइएला ? पाइए पनि अब यो विरूप कराईलाई कहाँ लगेर लुकाऊँ ? वा कहाँ अन्त्येष्टि गरूँ ? टुटेको फलामका भाँडा लिने भैयाले समेत चिन्नसक्ने अवस्थामा छैन ।
मेरो बेढङ्गको टाढैबाट गन्ध पाउने देवुकमारीलाई पो के जवाफ दिऊँ अब ?
‘कराई आफैँ डढ्यो ‘ भन्न मिल्दैन । ‘दूधले डढायो ‘ भन्न मिल्दैन । ‘फर्सीको मुन्टाको सुकुटीको अनुसन्धान गर्दै जाँदा कराई पनि सहिद भयो ‘ भन्न मिल्दैन । ‘विपद् व्यवस्थापनको प्रयोगात्मक पाठहरूसहित अभ्यासहरू बनाउँदै जाँदा कराईले बलिदान दियो ‘ भन्न त झन् मिल्दै मिल्दैन ।
अनि ग्यास ?
लामो समयसम्म ग्यासको अभावको बेला आधा महिनासम्म लाइनमा लागेर बल्लतल्ल भरेको आधा सिलिण्डर ग्यास थियो । त्यही ग्यास कराईको सुकुटी तयार गर्ने नयाँ काममा प्रयोग भइसकेको थियो ।
देवकुमारीले अब फेरि फोन गर्ने बेला भएको छ । उनले पक्कै सोध्नेछिन् चुलो बल्यो कि बलेन भनेर । के भनी जवाफ दिऊँ उनलाई ?
पाठ्यपुस्तक पछि पनि परिमार्जन गर्न सकिन्छ । तर मान्छेचाहिँ रिप्रिन्ट हुँदैन ।
००
हामी विपद् व्यवस्थापनका ठूलठूला कुरा गर्छौँ । बाढी, पहिरो, भूकम्प, आगलागी, महामारी, दुर्घटना—सबैका बारेमा बोल्छौँ । तर विपद् हाम्रो ढोकामा ठूलठूला साइरन बजाउँदै आउँदैन । कहिलेकाहीँ त्यो दूध तताउने कराईमाथि चुपचाप बसिरहेको हुनसक्छ । एउटा निभाउन बिर्सिएको ग्यासमा लुकेर बसेको हुनसक्छ । खुला छोडिएको बिजुलीको स्विचमा टाँसिएर बसेको हुनसक्छ । बालेर छोडिएको अगरबत्तीको सिन्कामै बेरिएको हुनसक्छ । कहिलेकाहीँ ‘एकछिनपछि गर्छु ‘ भनेर छोडिएको सानो काममा मुख लुकाएर छिपेको हुनसक्छ ।
विपद्को आकार सानो हुन्छ । तर त्यसको परिणाम सोचेभन्दा भयङ्कर हुन सक्छ । जाबो कराई, मान्छे र घर त के पूरै बस्तीलाई नै सुकुटी बनाउने खालको हुनसक्छ ।
अरूलाई सिकाउन खोज्नुभन्दा विपद्बाकट आफै सजग हुनु उत्तम रहेछ ।
०००
Subscribe
Login
0 Comments
Oldest







































