साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिँडालु पण्डितलाई पत्र (२)

जिउ किन यसरी थर्थरी काम्न थाल्यो ? आँतमुख किन यसरी सुक्न थाल्यो ? तैँ साँचो रहिस् पण्डित, म ढलेँ । फेरि ब्युँझौँला कि नब्युँझौँला अब ? उफ् यो काल यति छिटै नआइदिए पनि हुन्थ्यो ।

Nepal Telecom ad

पूर्ण ओली :

पुछनीय पिण्डालु पण्डितजी
माझीऔँलाको प्रणाम ।

तेरो अर्को पत्र हेर्ने जिज्ञासाले हिजो यिनी परेला झप्किँदै झप्किएनन् । आफ्नै दौँतरीले सम्झँदा के तँलाई पनि यस्तै हुन्छ पण्डित ? तँ त भाग्यले नेपाल खाल्डोमै जन्मिइस् । तैँले बच्चैमा अक्षर चिन्न पाइस्, समयमै बिजुली देख्न पाइस्, आवा गर्न पाइस्, मोटर देख्न पाइस् । तँलाई थाहा छ ? म त उमेर ढल्किएपछि मात्र अक्षर चिन्न पाएँ । तैँले भाग्यवश् जेजे देखिस् त्यो देख्न मलाई अरु २५ वर्ष कुर्नुपर्यो । पण्डित यदि तँ यो दूरदराजमा र म काठमाडौँमा जन्मेको भए !

हेर् न, मेरो कोठामा बत्तीको लाइन त छ, तर उठेर बाल्नै सक्दिनँ । जब सकसले उठेर मरीतरी बालेको हुन्छु, बाहिरबाटै झ्याप्प बत्ती निभाइदिन्छन् । अनि, पिसाब फेर्न बाहिर निस्कनलाई ढोका कहाँनेर छ भन्नेसमेत सुइँपत्तो पाउँदिनँ । रातभर पिसाब रोकेर राख्न कम्ती सास्ती हुन्छ पण्डित ? सुरुवालमा चुहेको पिसाब कम्ता गन्हाउँछ ? कहिले त अँध्यारोमा उठेपछि आफू सुत्ने बिछ्यौना पनि भेट्दिनँ र भुइँमै ढलेर रात कटाउँछु । बाहिर गुनगुनाएको सुन्छु, ‘यो मर्न नसकेको फतक्कै कुहेको बुढोलाई घाटमा जाने दिनसम्म पनि यतिविधि किन पढ्ने मन लागेको होला ?

यस्तो गाली सुन्दा मलाई कस्तो हुन्छ होला अनुमान गर्न सक्छस् पण्डित ? क्यारूँ पण्डित, आफ्नै पुर्पुरोलाई कर्कचेले हान्छु ।
तँलाई थाहै छ । यो घर जवान छँदा मैले नै बनाएको हुँ । यिनी दलिन, यी मुड्काहरू, यो निराल, ती दारभाटाहरूजति जम्मै मैले नै जङ्गलबाट यही काँधले ‌ओसारेको हुँ । यो घर बनाउँदा लागेका जम्मै ढुङ्गा मैले नै बोकेको हुँ । गारो लगाउने माटो मैले नै फलेको हुँ । घरमा धाराको र बिजुलीको लाइन जोड्दा अड्डाहरूमा म नै धाएको हुँ । तर क्यारुँ पण्डित । आफ्ना सन्तान मात्र होइन आफैले बनाएको घर र आफैले जोतेको खेतबारी पनि पराइ भइसक्यो ।

रातभर तेरो चिठ्ठीको मुठो सिरानी हालेर सुतेँ, कुन बेला उज्यालो होला र अर्को पत्र पढुँला भनेर । उज्यालो बसेपछि पनि अक्षर ठम्याउनै गाह्रो भइरह्यो । जब उज्यालो बस्यो, मैले तेरो दोस्रो पत्र खोलेँ । लेखेको रहिछस्:

“पहाड झुकाउँछु भन्थिस्, आकाश नुगाउँछु भन्थिस्, दिनलाई रात र रातलाई दिन बनाउँछु भन्थिस्, चट्टान मुड्कीका भरमा फुटाउँछु भन्थिस् । आली र कान्ला मर्काउँछु भन्थिस् । टोलबस्ती, वनपाखा थर्काउँछु भन्थिस् । आफ्नै ईशाराको भरमा हावा र पानी ‘आ’ भने आउँछन्, ‘जा’ भने जान्छन् भनेर खुप्पै बिङ्गा छाँट्थिस् त ? सकिस् त केही गर्न ? तिनी उस्तै छन्, बरु तँ आफै बुढो भइस् ।”

मैले मात्र हो र ? तैँले पनि यस्तै भन्थिस् र हाम्रा छाउँली सबैले त्यो जवानीमा छाती फुल्याउँदै मुठी कस्दै भन्थ्यौँ नि भन्न त । नगरेको पनि कहाँ हो र पण्डित ? सकेसम्म त गरिएकै हो । यो घर हावामै घर बनेको हो र ? यो बारी त्यत्तिकै बारी बनेको हो र ? क्यारूँ पण्डित ! अहिले यो बुढेसकालमा पो चपरीमुनिको बास भयो ।

पत्रमा लेखेको रहिछस्: “उहिले आफ्नो परिवार आफ्नै अधीनमा छन्, बस् भने बस्छन्, उठ् भने उठ्छन् भन्थिस् । पत्नीले आफ्नो अनुहारमा सोझो हेर्न सक्तिनन् भन्थिस् । अहिले तिनकै सामु तँ ‘उठ्’ भने उठ्छस्, ‘बस्’ भने बस्छस्, ‘खा’ भने खान्छस्, ‘चुठ्’ भने चुठ्छस् । न प्रतिवाद गर्न सक्छस्, न उनीहरूको अनुहारमा पुलुक्क हेर्न सक्दछस् ।”

हो पण्डित, सोह्रै आना साँचा कुरा गरिस् । पत्रबाट मेरै आत्मा बुझिस्, मेरै वेदना कहिस् । “जवानीमा तँ आफै गाउँको नेताजस्तो थिइस् । हामीले तँलाई मानेका पनि थियौँ । दर्जनौं नेतालाई सुताउँछु र कार्यकर्ता जुटाउँछु भन्थिस् । अहिले तैले धपाउँदा झिँगो टेर्दैन, लखेट्दा पुतली त उड्दैन । मन मात्र बलियो भई क्यार्छस् त ? तनमा तँ शक्तिहीन भइसकेको छस् । तँ बुढो हुँदै गएपछि त तेरा ती ध्वाँसजति जम्मै हावामा बिलाए । ऐनामा आफूलाई नियाल् त ! तँ उस्तै बाघ कहाँ रहेको छस् र ? तँ त मरन्च्याँसे बिरालोतुल्य भइसकेको छस् । तर बिडम्बना छ कमले, तँ आफूलाई जस्ताको तस्तै छु पो भन्ठान्छस् ।”

“सृष्टिको हरेक चिजबीजमा नियम हुन्छः आदि र अन्त्य । तैँले आदि भोगिसकिस् र ‘अन्त्य’ अलिकति बाँकी छ । तन मन उही भए पनि समयले काँचुली फेरिसक्यो । तँ बुढो भएको छुइन भन्ने जति दिवास्वप्न देखे पनि तँलाई कसैले सुन्दैनन् र कसैले पुछ्तैनन् पनि । तँ मिथ्या बर्बराहट त्यागिदे, इतिहास बिर्सिदे । घमन्ड कदापि नगर् । तेरा लागि म बाल्यकालीन साथी हुँ र शुभेच्छुक हुँ । मैले भनेको मान्छस् भने अब बजारका राता गालामा आँखा नदौडा । अब काला कपालमा हात गुडाउने सपना देख्न छोडिदे ।”

भैगो भैगो । तैँले हदैको शुभेच्छुक कहलिएर यो चिर्कटोबाट मलाई खुप्पै पेल्न पो खोजिछस् ! एइ बाहुन् काठा, तँ पनि मेरा कुरा सुन् । यो कालकोठरीमा मलाई हठात् थुनेर यमराजतुल्य सन्तानले टुप्पी रिँगाएर जिउँदै गरुडपुराण घोकाउँदा त अद्यापि घोक्न सकेको छैन । तितो र चर्को अपहेलनाको मिठो झोल बनाएर पिलाउन खोझ्दा त प्युन सकेको छैन । तँ बाहुन काठाले पत्र लेख्दैमा यो नियतिको खेल छर्लङ्गै बुझौँला भन्ठानेको छस् ? नपत्याए यी हेर् ! म जुरुक्कै उठेर फनफनी नाचेर देखाउन सक्छु ! यी हेर् यो लठ्ठी भाँचेर देखाउन सक्छु ! यी हेर् त !

लौ लौ, मलाई के भयो यो ? सास निकै बढेर आयो । भर्खर उज्यालो भएजस्तो लाग्छ, अहिल्यै अन्धकारले छोप्न थालिसक्यो । जिउ किन यसरी थर्थरी काम्न थाल्यो ? आँतमुख किन यसरी सुक्न थाल्यो ? तैँ साँचो रहिस् पण्डित, म ढलेँ । फेरि ब्युँझौँला कि नब्युँझौँला अब ? उफ् यो काल यति छिटै नआइदिए पनि हुन्थ्यो ।

उही तेरो जजमान ‘कमले’

०००
दिनाङ्कः १४ माघ २०८१

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
भमरकोटे
भमरकोटे
1 year ago

आहा नमीठो समीक्षा । तर वास्तविक र सटीक । धन्यवाद समिक्षक ज्यू ।

Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x