साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म ट्याब्लेटको मान्छे

ट्याब्लेट देशव्यापीमात्र होइन विश्वव्यापी भएर नै नेपाल ढाकेको हो अब त ट्याब्लेट हावापानी सबैतिर फैलिसक्यो । अब हामीले फोक्सो फुलाउने हावा र आन्द्रा फुलाउने पानीमा समेत ट्याब्लेट परिसकेको छ ।

Nepal Telecom ad

कृष्णप्रसाद घिमिरे ‘मैदेली’ :

समाजमा जस्तोसुकै चालचलन भए पनि मान्छेले जमानाअनुसार चल्न सकेन भने ऊ असभ्य र पाखे ठहरिन्छ रे । त्यसैले होला मान्छे जसरी भए पनि सभ्य र शिष्टको दर्जामा दरिन कर्जा लिएर पनि कहलाउन चाहँदोरहेछ । म पनि वनौषधि छोडेर महौषधि भन्दै आजकाल ट्याब्लेट नै खान थालेको छु ।

सानै छँदा गाउँघरमा बस्दाको समयमा म रुघाखोकी लागी ज्वरो आएर बिरामी पर्दाको कुनै अवस्थामा पनि मलाई आमाले हर्रो, बर्रो र अमलाको टर्रो र’तीतो धूलो खुवाउनुहुन्थ्यो । ताप्रेका गेडा, असुराका जरा, द्रोणपुष्प, तुलसीको पातजस्तै धेरै जडीबुटीका बूटा र बिटा घर-घरमै हुन्थे र कुन्नि के के रोगलाग्दा हो, बेलाबेलामा हामी सबैलाई तिनै रसादिहरू कुटेर, भुटेर, घोटेर, घोलेर, निचोरेर खुवाउनुहुन्थ्यो । हामीलाई निको पनि हुन्थ्यो । त्यति बेला अहिलेझै यसरी अनेक प्रकारका ट्याब्लेट बनेका पनि थिएनन् । हावा पानीकै स्वच्छताले होला शतायुका बूढापाका पनि डाँडा पाखा पखेरामा जताततै हिंडिरहेका देखिन्थे ।

म त गाउँ छाडेर सहरतिर बसाइसरेको मान्छे । वनौषधि सेवन गर्दा जङ्गली पाखे भइएला भन्ने डरले रुघाखोकी लागेर टाउकोमात्र दुखे पनि डाक्टरकै सल्लाह लिन पुग्ने गरेको छु । रोगले चियाउन नभ्याउँदै डाक्टरकहां प्राणको भिक्षा माग्न पुग्ने गरेको छु । दश रुपैयाँको ट्याब्लेट किन्ने अनुमति माग्न रु. तीनसय डाक्टर सलामी टक्र्‌याउने गरेको छु। के गर्ने बाँच्नैपर्यो । ओहो ! कति रोग, कति डाक्टर, कति क्लिनिक, कति ट्याब्लेट, प्रयोग पनि कति । टाउको दुख्यो ट्याब्लेट, रिङ्गटा लाग्यो ट्याब्लेट, रुचि बढाउन, खाना पचाउन, मोटाउन, दुब्लाउन, जेमा पनि ट्याब्लेट । अमन भए पनि ट्याब्लेट, बमन भए पनि ट्याब्लेट । निन्द्रा लगाउन परोस्, निन्द्रा भगाउन, मोटाउन परोस्, दुब्लाउनु, रगतको घटबढ, तौलको घटवढ र जेका लागि पनि ट्याब्लेट ।

किन्न महङ्गो भए पनि व्यवहारमा किन यस्तो सस्तो भएको ट्याब्लेट । दिशा-पिसाव ढिलो चाँडो पार्नुपर्यो वा कसैको होस गुमाउनुपर्यो, खुलाउनुपर्यो, हल्का रोग लागोस् कि तहल्का मच्चाउने रोग जागोस्, प्रयोग भएको छ त्यही ट्याब्लेट । जुनसुकै रोग, जस्तोसुकै रोग र जहाँसुकै रोग लागे पनि र जस्तासुकै व्यक्तिलाई रोग लागे पनि बिहान, दिउँसो, बेलुका खानापछि खानाअघि चिसोपानी, तातोपानी, जे-जसरी पनि खानै पर्ने ट्याब्लेट अब त प्रत्येक रोगीका हाड, मासु, रगत र नशामा पुगिसकेको छ । अङ्ग अङ्गमा शरीरका लादी र लिदीभित्र गिदी र गुदीभित्र पनि पुगिसक्यो ट्याब्लेट । जतिजति रोगका समस्याहरू बढ्‌दै गए ट्याब्लेटले पनि आफ्नो तमासा देखाउँदै गयो ।

अब त मानवमा मात्र होइन पशुपंछी, कीराफट्याङ्ग्राहरूलाई पनि ट्याब्लेटै दिन थालिएको छ । ट्याब्लेट कति थरीका बने, के के प्रयोजनका निम्ति बने, त्यसको नाम लेखेर घोकेर साध्य छैन । ब्रह्माण्डका मान्छे स्वयं ब्रह्माजीले पनि गन्न नसकेझै अबका ट्याब्लेटको नाम न त निर्माताले चिन्न सकेका होलान् न त ट्याब्लेट डाक्टरले नै चिन्न भन्न र गन्न सकेका होलान् । केबल उनीहरू पनि धमाधम मान्छेमाथि प्रयोग गर्दै छन् । मिति पुगेका औषधिबाट रोगीका पनि मिति पुऱ्याइरहेका छन् ।

मेरा एकजना परिचित डाक्टर साहेबले मलाई एकपटक ट्याब्लेटको परीक्षण गर्न विनारोगमा पनि दिनको तीनपटक खाने ट्याब्लेट दिएर मलाई त्यसको प्रभाव बताउन लगाए । त्यस ट्याब्लेटबाट मलाई सन्चो नभएबापत् मलाई फेरि अर्काथरी ट्याब्लेट नै खान दिए । यस अर्थमा मैले मेरो शरीरलाई डाक्टरको ट्याब्लेटको प्रयोगशाला पनि सम्झेको छु । रोग लगाउन पनि रोग भगाउन पनि ट्याब्लेट नै प्रयोग हुने गरेको छ आजको दुनियाँमा । ट्याब्लेट पनि कति प्रकार, प्रयोग र प्रकृतिका भन्या । परिवार नियोजन, विनियोजन, सुनियोजनमा मात्र होइन नछुनी धुनियोजनमा पनि ट्याब्लेटै प्रयोग हुँदोरहेछ । हैन देवताको नीति नियमलाई नै वेनियम पो पर्छ कि क्या हो आधुनिक ट्याब्लेटले । मलाई त अब शङ्गा, आशङ्का र उपशश नै लाग्न थाल्यो ट्याब्लेटको ।

ट्याब्लेट अब रोगको क्षेत्रमा मात्र सीमित छैन । यसले विविध क्षेत्रमा प्रवेश गरिसक्यो । राजनीतिक र सामाजिक क्षेत्रमा पनि यो ट्याब्लेट हरेक कुराको प्रतीकको रूपमा प्रयोग भएको पाइन्छ । रोग, शोक, भोग र भोकजस्ता हरेक क्षेत्रमा प्रभाव पार्ने ट्याब्लेटको चर्चा र परिचर्चा चानचुने तरिकाले गरेको पाइन्न । राजनीति, कूटनीति, जालझेल, छलकपट, टडकभडक, जहाँ-जहाँ, जे-जे गर्न गराउन, खेल्न खेलाउनु पर्छ त्यहाँ प्रतीकको रूपमा ट्याब्लेट नै प्रयोग भएको देखिन्छ ।

कुनै व्यक्ति कतै चढ्‌यो, बढ्यो भने त्यसलाई ठीक गर्न ट्याब्लेट नै खुवाउनुपर्छ भन्दा रहेछन् । बिग्रिएको काम सपार्ने र सप्रिएको काम बिगार्ने काममा पनि अनेक प्रकारका ट्याब्लेटकै कुरा हुँदोरहेछ । आजकालका ठिटाठिटीहरू ठिटी पट्‌याउन वा ठिटा छक्याउन पनि टठ्‌याइँ बठ्‌याइँको मेलोमेसोमा ट्याब्लेटकै कुरा गर्दा रहेछन् । नेता, उपनेता, अभिनेताजस्ता ज-जसलाई जहाँ-जहाँबाट आफ्नो पक्षमा ल्याउनु छ भने पनि कुन्नि कुन नामको हो ट्याब्लेटले नै गर्छ रे। धन्य ट्याब्लेट, धमाधम बनाऊ ट्याब्लेट, धूमधामको धमाका मच्चाऊ ट्याब्लेट, धन्यवाद ट्याब्लेटलाई ।

आखिरमा डाक्टर होस् वा कन्डक्टर ट्याब्लेट खुवाउने टाठाबाठा जान्ने बुभने मनाउँदा नै त ट्याब्लेट बुजुक बन्दारहेछन् । जसको प्रयोग शारीरिक वा मानसिक अवस्थाका रोगी निर्धा र निमुखालाई त सुंघाउने, चटाउन, चुसाउने र कोचाउनेसमेत गर्दारहेछन् । मान्छेलाई मात्र होइन जङ्गलका पाटेबाघ, विषालु सर्पदेखि लिएर जलचर, थलचर, नभचर, चलाचल सबै प्राणीलाई ट्याब्लेटले नै ठीक गर्दैछन् रे मान्छेले । रोगीलाई ठीक गर्नेदेखि रोगलाई ठीक गर्नेसम्म पनि अब त ट्याब्लेट नै भइसक्यो ।

त्यही ट्याब्लेटले कसैको रोग लुकेको छ, कसैको सुकेको छ त कसैको भने झनै दुखेको छ। यसको प्रभाव रोग रोगन रगत रसादिअनुसार पनि हुन सक्छ रे । कसैलाई ठिक्क, कसैलाई दिक्क, कसैलाई भने हिक्क हिक्क पनि पार्छ रे यही ट्याब्लेटले । कत्रो व्यापकता यस ट्याब्लेटको । जे-जसरी हो मानव समाजमा यसले प्रभाव पार्यो पार्यो । अब यो घट्दैन बरु बढ्छ । अब संसार नै ट्याब्लेटको नियन्त्रणभित्र परिसक्यो । सक्कली ट्याब्लेटले आफ्नो नाम विकाएर नक्कलीलाई समेत समाहित गरिसक्यो । जनताको ज्यू-धन सक्कलीले भन्दा पनि नक्कलीले लुटिसकेका छन् ।

नक्कलीदेखि सावधान भने पनि सक्कलीलाई कसैले व्यवधान गर्न सकेको छैन । स्वास्थ्य क्षेत्रबाट प्रवेश गरेको ट्याब्लेटले मानव जीवन र जगत्‌का हरेक क्षेत्रमा समेत असर पारेर कसर छोडिसक्यो । ट्याब्लेट खाने बानी परेको जुनसुकै रोगलाई पनि अब जङ्गली जडीबुटीका झोलले छुन नसक्ने भयो । ट्याब्लेट देशव्यापीमात्र होइन विश्वव्यापी भएर नै नेपाल ढाकेको हो अब त ट्याब्लेट हावापानी सबैतिर फैलिसक्यो । अब हामीले फोक्सो फुलाउने हावा र आन्द्रा फुलाउने पानीमा समेत ट्याब्लेट परिसकेको छ ।

अब हामी कोही पनि ट्याब्लेटभन्दा बाहिर छैनौँ। म त झन् सबै रोगको निदान गर्न सधैं ट्याब्लेटमात्र खाने ट्याब्लेटको मान्छे भएँ। मेरा जीवन र जगत्‌का सबै समस्या ट्याब्लेटले नै टारोस् बुढेसकालमा लाग्ने हरेक रोग, शोक र भोकजस्ता जुनसुकै समस्यामा पनि टपक्क ट्याब्लेटको टनिक टिपेर दुःख-दर्दको टुङ्गा लगाउन पाउँ ।

०००
ट्याब्लेटको मान्छे (२०५८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
कुर्सी, कमिसन र प्रशासन

कुर्सी, कमिसन र प्रशासन

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x