घिमिरे ‘मैदेली’पुष्पक विमान चढेकै हुन्
कुनै घटना हेरेर पो गणेश (राजन) को मनोभाव यसरी फुर्दोरहेछ– सुमेरुलाई घुम्न जाने मयुरमा चढे । मैले भने जनताका सुखदुःख पढेँ ॥ गरिवका मुहारमा मन्दिर देखेँ मैले । देवता नै देख्ने भए गरिव चिन पैले ॥

घिमिरे ‘मैदेली’ :
पौराणिक कालको कुरा हो, एकपटक गणेश र कुमारमा तँ ठूलो कि म ठूलो ? भन्नेमा ठूलो होड चलेछ । कसैले पनि यो ठूलो भन्न सकेनछन् । सानो ठूलो मान्ने कुनै आधार पनि रहेनछ । नीलकण्ठ (बाबु शिवजी) लाई झोक चलेछ । र उनले भनेछन् ‘जस्ले सुमेरु पर्वत घुमेर छिटो मकहाँ आइपुग्छ उही ठूलो ठहर्ने छ’ । निर्णयकर्ता नीलकण्ठको यो कुरो सुन्नासाथ कुमार विचारै नगरी हस्याङफस्याङ मयुरलाई विमान बनाएर स्वाभिमान देखाउँदै पहिलो हुन दौडेछ । यता गणेश भने मुसो चढेर सुमेरु सफर गर्ने सोख र हर्कतमा रहेनछ ।
कुमारले सोच्यो मेरो सुमेरु भनेको जन्मथलो हो भनेर आफू जन्मेको धरातल छोडेनछ । मातातीर्थ उमामहेश्वरतिरै सभक्ति लुटुपुटु भएर घुमेछ र नीलकण्ठबाट दुबै छोराका त्याग, समर्पण र मनोभावको मूल्याङ्कन गरी निर्णय भएछ । मन, मत र जनमत नबुझी जथाभाबी दगुर्नेभन्दा माता र मातृभूमिलाई महान् मान्ने नै ठूलो हुन्छ भनेर नीलकण्ठले निर्णय दिएछन् । नीलकण्ठले यो परिणाम सुनाउँदा कुमार छानाबाट खसेजस्तै भएर जथाभाबी बोल्न थालेछन् । आखिर कुमारले जति काइँकुइँ गरे पनि नीलकण्ठको न्यायिक निर्णयले गणेश ठूलो ठहरेर अग्रपूजाका अधिकारी भएछन् ।
पाठकवृन्द मैले यो छोटो कथा सुनायेँ । समसामयिक कुनै व्यङ्ग्यात्मक सान्दर्भिक प्रसङ्ग यसैसित जोड्दै छु । परिणाम प्रसङ्ग झन्डै यस्तै छ । कुनै प्रतियोगी कलिको कुमार बनेर सिङ्गो मेचीमहाकालीकै सुमेरुपर्वतको फेरो मारेछन् । पुष्पक विमान र उनको स्वाभिमान लरतरो रहेनछ । कुमारले मयुर वाहन गरेसरह उनले विमानलाई दौडको सवारीसाधन बनाएकै रहेछन् । होइन कसैले भन्न सकेन, वाह्य भ्रमणमा उनी तामझामसहितका सान्दार देखिए । पुष्पक विमान चढे । श्रम शक्ति र साधन मात्र होइन धन पनि खर्च गरे । दौडाइकै कारणले हो भने पुष्पक विमानमा सुमेरु घुम्ने कुमारनै पहिलो विजयी हुनुपर्थ्यो । जनमतमा के आधार पुगेन कुन्नि कलिको कुमारको कद पुष्पक.. विमानको कारणले कटाइदिएछ ! त्यत्रो घुम्दा पनि उनी प्रतियोगितामा असफल भएर पछारिएछन् ।
धन र साधन नभएका राजन (गणेश) ले मुसो वाहन बनाएझैँ दलपैदलकासाथ यतै लुटुपुटिएर घुमेछन् । उनको त्यतिबेला सुमेरुपर्वत घुम्न सक्ने ताकत र ल्याकत नभएकोमा सबैका सहानुभूति बटुल्न सफल भएछन् । उनले सुमेरु मानेर मातातीर्थतिरै घुमेछन्, मत्स्यनारायणको दर्शन गरेछन्, महादेव र उमामहेश्वरको परिक्रमा कीर्तिमहाविहारतिरै गरेछन् । आफ्नो विहारनै चितुविहार बनेछ । मातृभूमिको साभारमा मन्जुश्रीको मन्जुरी लिन चोभार चुमेछन् ।
सक्नेले नै छलाङमार्ने हो । पुष्पकले त सुमेरुनै घुमेर आउँदा पनि जनमतकोे परिणाम अर्कै भएछ । मातृभूमिको सेवा अर्को ठाउँमा पुगेर गर्दा बिपरित परिणाम हुने रहेछ भन्ने पछुतो त पुष्पक विमानमा दौडनेलाई पो परेछ । नीलकण्ठले घुमेर चुमेर आओ भनेको त वनवनै होइन मान्छेका मनमनै घुमेर आओ भनेको पो रहेछ । …पछि दैलो देखेर त पुष्पक विमान चढ्नेलाई पो पछुतो भएछ । राजनको सुमेरु भ्रमणको सार्थकता त देवपुर होइन कीर्तिपुर पो भएछ ! त्यतिबेलाका नारायणले गर्ने निर्णयको आधार त आजको नर पो भएछ । जनमनमा जो पुग्न सक्यो उहीमात्र पो सफल हुने रहेछ । साधन र सम्पति भयो भनेर दाजुलाई मान्न नचाहने कुमारको त्यस्तो दुर्गति भएछ । कुनै घटना हेरेर पो गणेश (राजन) को मनोभाव यसरी फुर्दोरहेछ–
सुमेरुलाई घुम्न जाने मयुरमा चढे ।
मैले भने जनताका सुखदुःख पढेँ ॥
गरिवका मुहारमा मन्दिर देखेँ मैले ।
देवता नै देख्ने भए गरिव चिन पैले ॥
०००
संभवत अन्यत्र कतै अप्रकाशित
Subscribe
Login
0 Comments
Oldest







































