युवराज भण्डारीमिलन अवतार
खोज्ने र पर्खिनेको जम्काभेट गराउने देख्न नसक्नेलाई अवसरको सूर्योदय देखाउने अवतार खोइ ? ईश्वर खोइ ? खोइ मिलन अवतार ?

युवराज भण्डारी :
खोज्नेले
खोजिरहेको थियो हिजो पनि
खोजिरहेकै छ आज पनि
ऊ अनवरत केही पर्खिरहेको छ
सायद अवसरले
पर्खिरहेको होला उसलाई पनि
तर, के हुन सक्ला दुवैलाई सूचित गर्ने माध्यम ?
ओ वैज्ञानिक !
कुनै नौलो यन्त्र बन्न सक्छ,
जुन यन्त्रले
खोज्ने र पर्खने दुवैलाई
एउटै बिन्दुमा पुऱ्याउन सकोस् ?
कठै !
कति विवश हुन्छ यहाँ खोज्ने मानिस ?
अभागी महसूस गर्छ ऊ
अवसरै-अवसरको बीचमा पनि
जोसँग पनि सम्झौता गर्नुको विकल्प नरहेजस्तो
योग्यता र अनुभवको कुनै मूल्य नभएजस्तो
गोताखोरझै अनवरत खोजिरहेकै हुन्छ
अरु धेरै पर पुग्छन् उसैले देखाएको मार्गमा
ऊ भने जहाँको तहीं अथक सोचिरहेकै हुन्छ ।
एक अवतार छन्-
जन्म व्यवस्थापन गर्ने
अर्का अवतार छन्-
संहारको प्रबन्ध गर्ने
आउने-जानेको क्रम चलेकै छ
प्रबन्धक कहीं नदेखिए पनि
बाटोघाटोमा कतै नभेटिए पनि
जहाँ जे हुनुपर्ने हो, भएकै छ
सबैलाई ठाउँ पुगेकै छ ।
अवसर व्यवस्थापन गर्ने प्रभु
को हुन सक्लान् ?
मिलन व्यवस्थापनको प्रारूप
कस्तो हुन सक्ला ?
बेरोजगार होस्
अन्वेषक होस्
प्रेमी होस्
या होस् पागल !
अनवरत खोजिरहेकै हुन्छन् यहाँ
खोज्ने र पर्खिनेको जम्काभेट गराउने
देख्न नसक्नेलाई
अवसरको सूर्योदय देखाउने
अवतार खोइ ?
ईश्वर खोइ ?
खोइ मिलन अवतार ?
०००
अर्काे कर्नाली (२०८०)
Subscribe
Login
0 Comments
Oldest






































