साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदरबारको भूलभुलैया र फेसबुकको भित्तो

हजुरको राष्ट्रवादको नारा त कस्तो भयो भने नि, फेसबुकमा 'लाइक' र 'सेयर' को बाढी आउँदा देश समृद्ध भएको महसुस हुने, तर तरकारी बजारमा जाँदा मूल्यवृद्धिको सुइरोले मुटु नै प्वाल पर्ने । यो भर्चुअल राष्ट्रवादको तुँवालोले कति दिनसम्म नागरिकको वास्तविक भोकलाई छोप्न सक्ला र सरकार ?

Nepal Telecom ad

नन्दलाल आचार्य :

‘कम बोल्ने, बढी कालो चश्मा लगाउने,
र्‍यापको तालमा सुशासनको राग अलाप्ने’
सम्माननीय प्रधानमन्त्रीज्यू,

तपाईंको त्यो भावुक, सुगन्धित र कता-कता सिंहदरबारको चिसो कुनाबाट निस्किएको सुस्केरा मिसिएको पत्र यस अकिञ्चन नागरिकले बडो मनोयोगपूर्वक पढ्यो । पत्र पढ्दै गर्दा मेरो मस्तिष्कको पृष्ठभूमिमा कुनै शास्त्रीय सङ्गीत होइन, बरु बेसुरो र्‍याप सङ्गीत गुन्जियो- “पहिलेका शासकले नेपाललाई स्विजरल्याण्ड बनाउने गफ गरे, जनताले पाए के ? आश्वासन, भाषण र भ्रम मात्रै !” वाह ! क्या बात ! यस्तो लाग्छ, हिजोका शासकहरू केवल ‘भाषणका भ्यागुता’ थिए, जो वर्षायाममा पानी पर्दा मात्र टर्टराउँथे र हिउँदमा ओछ्यानमुनि लुक्थे । तर आज त देशमा महा-चमत्कार भयो ! हिजोका शासकहरू “बोलेरै देश डुबाउने” महापुरूष थिए, आज हजुर “नबोलेरै देश उभ्याउने” र डिजिटल लोकतन्त्रको नयाँ जग बसाल्ने ‘मौन महा-अभियान’मा हुनुहुन्छ !

तर प्रधानमन्त्रीज्यू, यो मौनताको गहिराइ कति हो ? कतै यो मौनता नदीको गहिराइ नभएर सुख्खा इनारको रित्तोपन त होइन ?

आहा ! कस्तो दिव्य सुगन्ध, कस्तो अलौकिक सुस्केरा ! लौ आयो आधुनिक नेपालको सबैभन्दा ठूलो ‘मौन-क्रान्ति’ को फेसबुकिया सुवास !

तपाईंले बडो गर्वका साथ भन्नुभयो- “संसदमा बोलेन भनेर भ्रष्ट दलहरू मलाई घेराबन्दी गरिरहेका छन्, मेरो आलोचना गरिरहेका छन् ।” प्रभु ! तपाईंको यो मौनताको तस्बिर देख्दा मलाई बालकोट र बुढानीलकण्ठका वृद्ध नेताहरू मात्र होइन, स्वयम् देवगण पनि अचम्मित भए होलान् । तपाईंको यो संसद्को मौनता त कस्तो भयो भने नि सरकार- ‘कपाल काट्ने आधुनिक सैलुनमा छिरेर, कुर्सी चढेर, कपालै नकटाई केवल ऐना मात्र हेरेर, जुँगामा ताउ लगाएर फर्किएको’ जस्तो देखियो । संसद् भनेको त त्यो पवित्र थलो हो नि, जहाँ देशको भाग्य र कानुनको ‘कक्टेल’ बन्छ । त्यहाँ नबोलेर कतै तपाईंले सार्वभौम संसद्लाई सिंहदरबारको ‘सांस्कृतिक डबली’ वा आफ्नो आधिकारिक फेसबुक पेजको ‘कमेन्ट बक्स’ त ठान्नुभएन ? कि त्यहाँका प्रतिपक्षीहरूलाई हजुरले आफ्नो र्‍याप कन्सर्टमा आएका ‘हुटिङ गर्ने दर्शक’ मात्र देख्नुभयो ?

आउनुस् सरकार, तपाईंको यो दिव्य व्यक्तित्वलाई अलिकति फरक कसीमा घोटेर हेरौँ । आखिर साहित्य र राजनीतिको रस एउटै त हो नि, दुवैमा जनतालाई भुलाउने जादु हुन्छ !

हजुरको यो मौनता कुनै हिमालयमा बसेर ब्रह्माण्डको रहस्य खोज्ने ऋषिमुनिको ‘तपस्या’ जस्तो कदापि होइन । बरु यो त परीक्षा हलमा प्रश्नपत्र निकै गाह्रो आएपछि, कलम टोक्दै, सिलिङ फ्यानको ब्लेड गनेर बस्ने ब्याक-पेपर लागेको विद्यार्थीको ‘गम्भीर मुद्रा’ जस्तो देखिन्छ । बाहिरबाट हेर्दा लाग्छ कति गहिरो सोचमा छ, तर भित्र प्रश्नको उत्तर शून्य हुन्छ ।

हजुरको त्यो चौबीसै घण्टा आँखामा टाँसिइरहने कालो चश्मा ‘रहस्यको प्रतीक’ हो कि जनभावनाबाट लुक्ने ‘पर्दा’ हो ? कतै संसद्का विपक्षी र ती पुराना राजनीतिक दलहरूलाई ‘भिजुअल इफेक्ट’ प्रयोग गरेर भर्चुअल संसारमा गायब देख्ने चश्मा त होइन त्यो ? दिउँसो पनि कालो, राति पनि कालो, कतै यो चश्माले देशको अँध्यारो भविष्यलाई त उज्यालो देखाइरहेको छैन ?

कता कता सहरका गल्लीहरूमा डोजरको चर्को आवाज त सुनिन्छ, तर अचम्म छ, त्यो डोजरले सिंहदरबारभित्र वर्षौँदेखि थुप्रिएको ‘नीतिगत भ्रष्टाचार र फाइलको फोहोर’ सोहोर्दै छ कि गरिब र निमुखा सुकुम्बासी बस्तीको ‘आस्थाको जग’ भत्काउँदै छ, त्यो चिन्नै गाह्रो भो सरकार ! तपाईंको डोजर शक्तिशालीका महल अगाडि पुगेर ‘स्टे-अर्डर’ को ब्रेक लगाउँछ, तर गरिबको झुप्रो देख्नासाथ त्यसको इन्जिन जुरुक्क जाग्छ । यो कस्तो न्याय हो ?
तपाईंले पत्रमा अगाडि लेख्नुभयो- “हिजो कसैले रेल र पानीजहाजको सपना देखाए, कसैले नेपाललाई स्विजरल्याण्ड बनाउने गफ गरे ।”

सत्य भन्नुभयो सरकार, शतप्रतिशत सत्य ! हिजोका शासकहरूले ‘कागजको जहाज’ उडाएर हामीलाई आकाशतिर हेर्न बाध्य बनाए, आज हजुर हातमा स्मार्टफोन लिएर ‘डिजिटल डोजर’ कुदाउँदै हुनुहुन्छ । तर एउटा कुरा नि प्रधानमन्त्रीज्यू, हिजोका ती बूढा नेताहरूले त कमसेकम ‘सपना’ बेचेका थिए, जसको वारेन्टी सकिएपछि हामीले तिनलाई चिन्न र सराप्न पायौँ । हजुर त ‘मौनताको अचुक औषधि’ बेच्दै हुनुहुन्छ, जसको न त कुनै एक्सपायरी डेट छ, न त कुनै साइड इफेक्ट ! जनता अलमल्ल छन्- औषधिले काम गर्दै छ कि रोग झन् बल्झिँदै छ ?

देश बनाउन गफ होइन, “स्पष्ट भिजन” चाहिन्छ भन्नुभयो । क्या गज्जवको लालित्य, क्या ओजपूर्ण शब्द ! तर त्यो भिजन कतै फेसबुकको निलो टिक (Blue Tick) भित्र मात्र त कैद छैन ? जनताले परिवर्तन भाषणमा होइन, आफ्नो दैनिक जीवनमा, चुल्होमा, र गोजीमा पाउनुपर्छ भन्दाभन्दै कतै जनताको वास्तविक जीवन चाहिँ ‘महानगरको डोजर’ र ‘अदालतको स्टे-अर्डर’ को चेपमा परेको ‘कमिला’ जस्तो त भएको छैन ? जसलाई जताबाट थिचे पनि मर्ने त उही सर्वसाधारण नै हो ।

हजुरको राष्ट्रवादको नारा त कस्तो भयो भने नि, फेसबुकमा ‘लाइक’ र ‘सेयर’ को बाढी आउँदा देश समृद्ध भएको महसुस हुने, तर तरकारी बजारमा जाँदा मूल्यवृद्धिको सुइरोले मुटु नै प्वाल पर्ने । यो भर्चुअल राष्ट्रवादको तुँवालोले कति दिनसम्म नागरिकको वास्तविक भोकलाई छोप्न सक्ला र सरकार ?

हे ‘बालेन’ रूपी क्रान्तिकारी प्रधानमन्त्रीज्यू, हातमा सुइरो लिएर बसेको यो सचेत नागरिक तपाईंलाई केही यथार्थको सुइरो रोप्ने अनुमति चाहन्छ ।

संसद्को रोस्टममा नबोल्नु र फेसबुकमा लामा-लामा ‘स्टाटस’ लेख्नु भनेको नि “गीत गाउनका लागि स्टेजमा चढेर, हातमा ब्रान्डेड माइक समातेर, एक शब्द पनि नबोली केवल खुट्टा ठटाएर र ताली मात्र बजाएर ओर्लिनु” जस्तै हो । भ्रष्ट दलहरू त ‘भुस्याहा कुकुर’ जस्तै हुन्, तिनको काम नै परिवर्तन देख्नासाथ भुक्ने हो, तिनले त भुक्छन् नै । तर तपाईं त यो देशको ‘सिंह’ बन्न हिँड्नुभएको मान्छे, सिंहले त गर्जने ठाउँमा गर्जनुपर्छ । सिंह नै संसद्को रोस्टममा गएर ‘मौन व्रत’ बसिदिएपछि, त्यो रित्तो जङ्गलमा तिनै पुराना स्यालहरूले राज गर्दैनन् र ?

तपाईंको सुशासनको नारा कतै ‘कागतीलाई मज्जाले निचोरेर अमिलो पानी’ मात्र निकाल्ने खेल त भइरहेको छैन ? जहाँ भिटामिन सी त टन्नै छ, जिब्रो पनि अमिलो हुन्छ, तर त्यसले पेटको भोक मेटिँदैन । भोको पेटलाई अमिलो पानी होइन, भात चाहिन्छ सरकार, भात !

जनताको यो भरोसा र आशा भनेको त्यो ‘काँचको ऐना’ जस्तै हो, जसलाई जोगाउन फेसबुकका लाखौँ लाइकहरू र इन्स्टाग्रामका रिल्सबाहरू होइन, संसद्को रोस्टममा उभिएर भ्रष्टहरूको सातो खान सक्ने र तिनको मुटु कमाउन सक्ने ‘गर्जने गला’ र ‘थैली बन्द गर्ने’ आँट चाहिन्छ ।

अन्त्यमा, तपाईंले आफूलाई यो देशको छोरो र भाइ भनेर प्रस्तुत गर्नुभयो, बडो राम्रो लाग्यो । छोरो बनेर आउनुभएकोमा यो नेपाली समाजमा तपाईंलाई हार्दिक स्वागत छ । तर याद रहोस् प्रधानमन्त्रीज्यू, घरको जेठो छोरो त ‘हलगोरु’ जस्तै कर्मठ र कामदार हुनुपर्छ, जसले जेठको चर्को घाममा खेत जोत्दा मुखबाट एउटै शब्द ननिकाले पनि, मंसिरमा बेलुका घरको भकारी अन्नले भरोस् ।

कतै तपाईं चाहिँ “हातमा महँगो आइफोन लिएर, खेतको आलीमा उभिएर, कालो चश्मा लगाएर ट्र्याक्टरसँग सेल्युलregistered फोटो खिचेर फेसबुकमा ‘कृषि क्रान्ति’ को स्टाटस हाल्ने, तर वास्तविक खेत चाहिँ बाँझै राख्ने” आधुनिक र डिजिटल छोरो त बन्नुहुने होइन?

हामीलाई फेसबुकको ‘भर्चुअल रियालिटी’ मा होइन, भुइँको ‘एक्चुअल रियालिटी’ मा परिवर्तन चाहिएको छ। हामीलाई चश्मा पछाडिको रहस्यमयी आँखा होइन, जनताको आँसु पुछ्ने सफा हात चाहिएको छ। हातको सुइरोले व्यवस्थाका फोकाहरूलाई पञ्चर गर्नुछ, केवल हावा भर्नु छैन।

आशा छ, अर्को पटक तपाईंको यस्तो साहित्यिक र सुगन्धित फेसबुकिया पत्र होइन, बरु संसदमा ‘डोजर’ जस्तै कड्किने तपाईंको आफ्नो मौलिक आवाज, भ्रष्टहरूलाई जेल कोच्ने बलियो कानुन, र भुइँमान्छेको जीवनमा देखिने सुशासनको ‘लाइभ कनेक्सन’ सुन्न र देख्न पाइनेछ। फेसबुकको भित्तो त भोलि अर्कै ट्रेन्डले भरिएला, तर देशको भित्तो भत्किनु भएन सरकार !

— उही हजुरको ‘मौनताको महाकाव्य’ को
गहिरो ‘सबटाइटिल’ र सुइरोको निशाना खोजिरहेको
एउटा रैती (नागरिक) !

०००
२०८३ जेठ १७ गते
सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
बाजी

बाजी

नन्दलाल आचार्य
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x