ठाकुरप्रसाद अधिकारीसँधियारको के भर छ र ?
मसित त अलिकता ओतिँदै पर चौतारोतिर निस्कन नाथे एउटा छाता थिएन । किन कि म कङ्गाल सँधियार थिएँ ।
ठाकुरप्रसाद अधिकारी :
लगभग पाँच सय हप्तादिनहरू बिताएपछि मैले चुपचाप केही गहिराईपूर्ण निचोड निकाल्न आफ्नै जग्गाको सिमानाबाट हिँड्दै थिएँ । आफ्नो जग्गाको सिमानाको काममा व्यस्त सँधियारले खेतको गह्रा आधुनिक बनाउने बहानाले सिमानाका नहर र बाटो काटेर झण्डै एक एक रोपनी जग्गा घुसाइसकेको थियो । म हिँडेको चाल पाएर बुढो सँधियार दङ्ग पर्दै अलिकता होशियार भयो, अनि मेरो उपस्थितिलाई आश्चर्य मानेर राम राम अभिवादन पनि गर्याो । म अगाडि हिँडेको देख्ने बित्तिकै कल्पवासभावले मेरो सिमानातर्फ आँखीभौँ उचालेर पल्याकपुलुक हेरिरह्यो विशाल आशा र अपेक्षाले मनमनै कामना गर्यो, यसले माझको एउटा नामी गह्रो खेत उसै दिए खासा हुन्थ्यो नि ! कति मज्जा हुन्थ्यो, उसो बाउको के जान्थ्यो ? छोराको अंश भाग बढेर दामी हुन्थ्यो त ।
मैले मनमनै सोचेँ– यसलाई हातमुख जोर्ने त कुनै दुःख कष्ट वा धौ धौ त छैन । तैपनि समाजिक थिचोमिचो गर्न किन यसरी हौसिएको होला ?
मैले उसलाई छेकारो काटेँ र पुछारतिरको साधमा पुगँे । त्यताबाट पनि म अर्को पुछारको आली कान्लातिर पुगेपछि अर्कै तल्लाधरे जग्गा धनी नाटकीय ढगले मेरो जग्गातर्फ फुत्त आएर दमदार आँखाले हेरिरह्यो । ऊ झण्डै बाँसको लिङ्गो मालिङ्गोजस्तो अग्लोमा अग्लो देखिने । मानौ हिन्दी फिल्मको अमिताव बच्चन जस्तै गोरो अग्लो देखिने गोठमा ठोकेको किलाझै ठिङ्ग खडा भयो हाइहलो अभिवादन र कुनै अपौचारिकता बिनै, मनमनै आशा ठूलो गर्यो । दुईचार कान्ला खेत दान गरे गाईबस्तुको पेट उकासिन्थ्यो । घाँस पनि टर्र्थ्यो नि ! मैले फिस्स नहाँसी टारिदिएँ ।
म अलिपर त्यो कित्ताबाट ठूलो माझखण्डतिर पुगेँ । पारिपट्टीका पारिघरे अर्कै सँधियार एक हातले हाफकट्टु अर्को हातमा चर्पिजाने जुत्ता हल्लाउँदै टुप्लुक्क आइपुगे । मतर्फ हेरे र मनमनै उनले पनि अनगिन्ती अपेक्षा गरे –दुइ चार गह्रा खेतवारी मेरो छ, काफ्ले ठाडो डाँडो बर्षौंदेखि उसै थन्केर बाँझो बसेका छ । बबाल पैसा खाँचो छ, अलि कता पैसा बन्दोबस्त गर्नु थियो । किनी दिए त भनेजस्तो हुन्थ्यो नि ! मेरी श्रीमतीको उपचार थामथुम हुन्थ्यो कि क्या ?
उनी निकै सोख भोगमा ड्ुबेका, घरमा दुधको छलोखेलो भएका मान्छे हुन् । मनमनै सोचेर ठूलो खण्डको माझतिर उकालो लागेँ म– ठूलो खण्ड खेत आइपुगी हाल्यो । त्यहा खेत रेखदेख गर्न पुर्खाले ठाँटी बनाएका थिए– अहिले त अवशेषको पुरानो सिमाना मिचेको काप्राको रुखको ठूटो शेष चिराचिरा मात्र बाँकी थियो । अलिकता त्यही ठुटोमा अडेस मारेर दुई जोडी अन्दाजी छब्बिस सत्ताइस उमेर नकटेको सँँँधियार ठूलै प्रतिष्ठित र धरानिया देखिने भेषभुषा देख्ता गाईजात्राको मेलामा जस्तै मलाई छुटुयाउन गाह्रो भएन । हलगोरुजस्तै जोडिएका तन्नेरी हंसमुख परेका भर्खरै महाबौद्धमा चिटिक्क किनको चेस्मा फुकाल्दै थिए । घरिघरि मतर्फ हेर्र्थे, एउटा त करोडपतिको छोरा केहीबेर मोवाइलमा अलमलिएको जस्तो लाग्यो ।
उनीहरूसित बोलुँ वा उनीहरूको नालीबेली सोधु उति स्वाभविक र सार्न्दभिक लागेन । उनीहरूसित बस्न त रहर थियो तर उनीहरू कुटो कोदालो होइन फेसबुकमा दुनिया फाँडेर हिँड्ने गरेको सुनेको थिएँ । अलिपरैबाट देखेँ–सायद उनीहरू कसैको जग्गा बेचेर दुइ चार बोतल बियर खान र बोहोनी गरेको कमिशनले धितमर्ने पैसा कमाउने मोवाइलमा आर्कषित कुन लहडमा पालै पालो चलिरहेका थिए । झ्वाट्टै मैले अनुमान गर्न सकिन ।
के प्रभावले हो उनीहरूलाई खै केले घचघच्यायो बसेको ठाउँबाट प्रसन्न हुँदै जुरुक्क उठे । दुईले मनमा सल्किएको आगो साम्य पार्न एकपटक परपर पिपल वरको बोटका पातनै हल्लिने गरि धुवाँदार होहल्ला मच्चाएर साइसाइ सुइसुइ गरी सिठी एकैपटक दन्कियो । अचानक मेरो आँखा उतै सोझिन पुगे ।
मतिर हेरेर मौनतालाई भङ्ग गर्दै तीन फुट माथि उफ्रेर गाडीको टायर पन्चट भएझै पड३केर भन्यो– किन यसै यस्तो गर्नु भो ? यहाँको जग्गा हेर्दै अचम्म लाग्यो ? दश बर्षदेखि बाँझोमा परिणत छ । के तपाईलाई जग्गा बाँझो राख्न मन पर्छ ? यो जग्गामा मुद्दा परेको छ कि कसो ?” उनले अझै नालीबेली लगाए.– “जिल्लातिर हामीलाई तारिख लिन परे वारिस राखे त पर्चा बोक्ने भरिया हामी हुनेथ्यौँ नि त !”
म अलिकता माथि मध्यान्तर सिमानमा पुगेँ । हिँडेको देखेर त्यो सधियारले निकै उत्सुक भावना साथ यताउता हल्लिरहेको हल्कारजस्तो हिसाबले फर्पिङको नास्पातीजस्तो दुब्लो पातले सँधियार पहिलादेखि देखिने ऊ मेरो सिमानमा देखापर्यो । मलाई भावनाको दहमा डुबाएर क्वाक्वारर्ती हेर्दै मनमनै आशा अपेक्षा गर्यो– यो जग्गा दश बर्षदेखि बाँझो भएर अन्न भाउबेसा गाउँभरि बढ्यो नि ! खेती गरे त वातावरण हरियाली हुन्थ्यो नि !
दोश्रो केटो आधुनिक घरजग्गा कारोवार गर्ने बिचौलियाले चाहिँ मेरो जग्गातिर हेरेर मनमनै इच्छा जाहेर गर्यो– यो जग्गा त घडेरी चौकुना मिलाएर कित्ताकाट गरे त लेकमा पहिरो लागेका आए पनि बस्ति विकास हुन्थ्यो नि ! यो भनाई अवश्य समान्य छैन । म पनि विवश भएर यसोउसो उसलाई के भनौ ?
अब म जग्गाको सिमाना भित्रने बारीतर्फ मोडिएँ । दायाँतर्फ बायातर्फ हेरेँ– एउटा कालो मैलो दौरा सुरुवाल र कालै चस्मा लाएको घाँटीमा भैसी बाँध्ने दाम्लो जत्रो सिक्री, हातमा उस्तै टल्किने मैले मन थाम्न सकिनँ । उसैले दमाइ दाइले बिहेमा बजाउने दमाहाजत्रो पेट हल्लाउदै थियो । जो सित धेरै पहिला विद्यार्थी कालमै अदालतको तारिक पर्चा लिँदा भेटको थिएँ । हो उसैले मेरो हिँडाइको कलकलाउँदो पाइलाको क्रमभङ्ग मजाले गरि दियो । तर उसले केहि धैर्य गरेर मलाई हेरिरह््यो र उसले चिनेचिनेजस्तो लाग्यो तर हेक्का गर्न सकिन भन्यो । केही अकमकिएर उसलै पुर्खाले पसिनाले रचेको रैथाने बाटो, आहाल मिचेर बनाएको, तर मैले नजानेर बनाएछु बाबु भन्यो ।
झ्वाट्ट परबाट हेर्दा मानौ विशाल बम्बै शहर जस्तो उभिएको, हैगिङ गार्डेनजस्तै बगैचा, बम्बैशहरकै अर्को गोरो गाउँको फिल्मसुटिङ स्थल, काठमाडौको रानीपोखरी जस्तैजस्तै रमणीय भव्य सुन्दर आलिसान दुइ जुम्ल्याहा सिसाको भवन गहभरी आँसुु पारेर किन दिन पो प्रस्ताव राखे– नयाँ डिजाइनमा रानीपोखरी जस्तैजस्तै विशाल चिटिक्क माछापोखरी देखाएर मलाई किनी दिन मनमनै इच्छा पो प्रकट गरे । मेरो मेरो हिँडाइको बेगालाई उनले दोश्रो पटक गरि गरिदिए । उल्टै यसैबाट मेरो गर्जो टार्न पाए सात पुस्ता छोरानातिको शेयर व्यापार बिगहाउसमा कति कारोवार कति बन्थ्यो होला नि !
सँधियारले लोभ्याउने र दाउने सुरमा टाउको कन्याउदै– बरु फाइभ स्टारको चाउचाउ चमचम उखुजस्तो रसिलो चक्लेट तुरुन्तै मोवाइलबाट मगाउँला र घुमाउने थालभरि पुलाउले पेट थरिथरि वियर वाइन पनि खुवाउँला नि ? मैले यस्तो सधियारको कुरा हा हा हाँसोमा उडाउन सकिनँ र सँधियारसित हर्षित र थप आर्कषित हुन पनि सकिनँ ।
मेरो पेटमा दिनभर कति आगो सल्कियो, आफ्नै भोको पेट ! दिनभर भोकले थाकेको शरिर । त्यसमाथि आधुनिक रौनकले ढपक्क छोपेका सँधियारको अगाडि– मेरो त्यहाँ उनीहरूको दयाले लोभिने त के कुरा । मैले आफ्नो मिचिएको सिमानातिर हेरिरहेँ । मेरो सानो घनजत्रो टाउको लुकाउने के कुरा मेरो पेटको इन्जिन पनि हल्का भइसक्यो । सधियार कता पो गइसके हेर्न तागत भए पो ? पछि, चार अमलको टुप्पी ओतिने ठाउँ दश बर्षदेखि गुमाएको थिएँ । अरु के कुरा चुल्हो पातिने ढुङ्गो लुकाउने, भाँडो तताउने ठाउँ हटरा हराएका थिए । त्यसैले मैले वीर साम्राज्य हाँकेर जित्ने सँधियारसित उनीहरूको लोभलाग्दो कुरामा म पुलकित हुन पनि जानिनँ ।
एकछिन त एकदम चकमन्न सिंहदरवारको संसदको शून्य हाउसजस्तै शून्य शून्य मन भयो । वरपर कोही चरो मुसो बोल्ने सहारा दिने दुइ पाउ बाहेक केहि थिएन । मन बिचलित थियो । घरिघरि म आकाशतर्फ हेर्र्थें । एकै छिनका छिन तुरुन्तै हावाहुरी आँधिवेरीले हात्तीसुँढे घनघोर वर्षा ओइरियो, थामिनसक्नु भयो । दौरा सुरुवालवाल र अरु टप्किने सँधियारज्यूहरू कता दम्पच भएर कता लाखापाखा गए । घनधोर बर्षाले मेरो होसहवास सुद्धि र बुद्धि पनि भएन । दिन भरिका सबै घटना पनि भुसुक्कै विर्सिए । मेरो हिँडाइमा त ठूलौ कृष्णभिरको बर्षाको पानी र पहिरो झरेर यातायात समस्या झै मेरो हिँड्ने लुर पनि समाप्त भयो । मसित त अलिकता ओतिँदै पर चौतारोतिर निस्कन नाथे एउटा छाता थिएन । किन कि म कङ्गाल सँधियार थिएँ ।
०००
तुप्चे– ४, नुवाकोट चनौट
हाल –काठमाडौ १५, चमती
Subscribe
Login
0 Comments
Oldest







































