साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौलीका सच्चा साथी

सर्लक्क जन्मेर जीवनका हरेक उकाली ओराली बेहोर्दै बुढ्यौली उमेरमा पुग्न पाउनु भनेको मानिसको जीवनको उच्चतम प्राप्ति हो । अहोभाग्य हो । यस्तो अवसर सबैलाई प्राप्त हुँदैन ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

मानिसका लागि बुढ्यौलीपन नरमाइलो मान्नुपर्ने विषय होइन, अत्यन्त हर्ष मान्नुपर्ने आनन्दको क्षण हो । हत्तपत्त प्राप्त नहुने यो अवस्था कुनै पनि मानिसका लागि अहोभाग्यको विषय हो । सबैले चाहेर प्राप्त नहुने अवस्था हो । यस्तो सुखद अवस्थालाई कसरी उपयोग गर्ने भन्ने चासो मात्र खोजको विषय हो । यस्तो सुखद अवस्थालाई अझ कसरी सुखद र सहज बनाउने ? अथवा, यो सुखद अवस्थाको क्षणलाई थप सुखद बनाउन तिनलाई कसरी सहजता प्रदान गर्ने भन्ने विषय बढी महत्वपूर्ण हो । यस्तो अवस्थामा आवश्यक पर्ने विषय के के हुन सक्छन् ? यो हरेक दृष्टिकोणबाट कठिनावस्थामा पुगेका वृद्धावस्थाका मानिसका लागि बहसको विषय हो ।

अनुकूल अवस्थामा मानिसले अरूलाई चिन्दैन । अरूको खोज गर्दैन । अरूको आवश्यकता ठान्दैन । सामान्यतः कसैलाई वास्ता नगरी धमाधम आफैँ अघि बढिरहन्छ । तर प्रतिकूल अवस्थामा ऊ अरूको खोजी गर्छ । अरूको सहयोग र मद्दतको आवश्यकता ठान्छ । अरूको आवश्यकता पर्ने क्षण नै मान्छेका लागि प्रतिकूल अवस्था हो । मानिसका लागि पाइलापाइलामा प्रतिकूल अवस्था पनि आउँछ, अनुकूल अवस्था पनि आउँछ । अहिले यहाँ चर्चा गर्न लागिएको विषय भने मानिसको प्रतिकूल अवस्थाको हो । त्यो पनि प्रत्येक प्रतिकूल अवस्थाको नभएर उमेरगत शारीरिक कठिनावस्था हो । यसरी नै त्यतिखेरै व्यावहारिक हिसाबले सिर्जना हुने आन्तरिक पारिवारिक मिलनको असन्तुलताको क्षणको मात्र हो । अनि, यस्तो अवस्थामा आत्मिक मनले सहयोग गर्नेको खोजखबरी हो ।

कतिपय मानिसहरू भन्ने गर्छन् कि केटाकेटी र वृद्धवृद्धा उस्तै हुन् । हुन सक्छ यो भनाइ उनीहरू आफैँमा शारीरिक हिसाबले सक्षम नभएकाले भनिएको हो । बेलाबखत अरूका सहयोगको आवश्यकता पर्ने भएकाले भनिएको हो । तर मेरा विचारमा केटाकेटी र वृद्धवृद्धालाई यसरी फ्याट्टै तुलना गर्न मिल्दैन । किनकि, केटाकेटीमा भविष्यमा आउने दिनका सबै कुराको चिन्ता र व्यथा हुँदैन । केके समस्या आउँछन् ? कस्ताकस्ता प्रकृतिका उल्झन आउँछन् । सफलता भनेको के हो ? असफलता भनेको के हो ? अरूसँग प्रतिस्पर्धा गरेर कसरी अगाडि बढ्ने ? भन्ने जस्ता चिन्ता उनमा हुँदैन । उनलाई भनेका बेलामा खान पाए पुग्यो । राम्रो लाउन पाए पुग्यो । माटोमा लडिबुडी गर्न र साथीभाइसँग खेल्न पाए पुग्यो । स्वच्छन्द हिसाबले हिँडडुल गर्न पाए पुग्यो । थप आवश्यकताका कुरामा आफ्ना अभिभावकलाई रोएर, कराएर वा घुर्की लगाएर आप्‌mनो माग पूरा गर्न पाए पुग्यो । मोटामोटी रूपमा उनीहरूको चाहना यत्ति हो । तर बुढ्यौली वयका मानिसमा यस्तो हुँदैन । बुढ्यौली वयका मानिसहरू भोगाइका भकारी हुन् । उनमा बालपनदेखि वर्तमान वयसम्मका अनेक सङ्घर्ष, अनेक हन्डर र अनेक कष्टले भरिएका क्विन्टलका क्विन्टल बोराका चाङैचाङ हुन्छन् । ती सबैलाई मनका मझेरीमा कुनै कुनो खाली नहुने गरी खातका खात थुप्र्‍याइएको हुन्छ । कुनै न कुनै रूपमा जता पनि लैजान मिल्ने चिन्ताको विशाल कुलो हुन्छ । त्यस्तो कुलो आप्‌mना लागि मात्र नभएर आप्‌mना शाखासन्तान र आफन्तसम्ममा फिँजिएको हुन्छ ।

उमेरका हिसाबले शारीरिक अशक्तता र विविध कारणले पारिवारिक असहजावस्थामा यस्ता वृद्धवृद्धाका लागि सच्चा व्यवहार गर्ने मानिसको खाँचो पर्छ यतिखेर । मन खोलेर बोल्ने साथी चाहिन्छ । सक्कली व्यवहार गर्ने मित्र चाहिन्छ । जिज्ञासा उत्पन्न होला– सक्कली भनेको के हो ? सक्कली व्यवहारलाई सच्चा व्यवहार भनिन्छ । सक्कली व्यवहार भनेको चोखो व्यवहार हो । यसलाई जस्तो हुनुपर्ने हो त्यस्तै भन्न पनि सकिन्छ । यो कुनै पनि किसिमको छलछामविनाको व्यवहार हो । यसमा भौतिक प्राप्तिको कुनै कण हुँदैन । न यसमा सरकारी प्रशासनमा जस्तो प्रशासनिक कुटिलता र जटिलता हुन्छ, न राजनीतिक प्रकृतिको बेइमानी र फट्याइँ । न सामाजिक मुख मिलाइ र लोलोपोतो हुन्छ न कुनै किसिमको घृणा वा अपहेलना । बुढ्यौली वयमा यस्तो व्यवहार कोबाट पाउन सकिन्छ ? प्रश्न यो हो । प्रश्न सामान्य छ, र त्यत्तिकै जटिल पनि ।

वृद्धवृद्धाका लागि चोखो मनले व्यवहार गर्ने सच्चा साथी चाहिन्छ । त्यो भनेको आप्‌mनै श्रीमती वा श्रीमान् हो । बेलाबखत सामान्य रूपमा गाँड कोराकोर भए पनि पतिपत्नीबीचको सम्बन्ध भनेको अपार मेलमिलापको सम्बन्ध हो । अपवाद अवस्थामा बाहेक यो सम्बन्ध उदाहरणीय सम्बन्ध हो । जुन व्यक्तिहरूका बीच पाइलापाइलामा ठेस लागेका कुरादेखि केस पाकेका कुरासम्म अलिकति पनि नढाँटी एक आपसमा व्यक्त गर्ने वातावरण हुन्छ । परिवेश हुन्छ । लामो समयदेखि एकले अर्काको सबै परिस्थितिको सबै मनोभाव बुझेकै कारण यस्तो स्थिति सिर्जना हुन पुग्छ । तर दुःखको कुरा जीवनको अन्तिम अवस्थासम्म बुढाबुढी सँगै बाँचिरहने अवस्था रहन्न । जीवन छाड्ने/चुँडिने क्रममा कसैका को अघि हुन्छ, कसैका को अघि । यो कसैको रोजाइको विषय नभएर चाहेर वा नचाहेर पनि सबैले मान्नुपर्ने प्राकृतिक नियम हो ।

यसरी हेर्दा जीवनको अन्तिम अवस्थासम्म बुढाबुढीबीच कुरा साटासाट गर्ने अवसर कमै मानिसलाई प्राप्त हुन्छ । यस कुरालाई बुझेर आप्‌mनो बुढ्यौलीपनको भोग गर्नुपर्छ जोसुकैले पनि । चाहे त्यो वृद्ध होओस् वा वृद्धा । दुवैले मन बुझाउनुपर्छ । नरमाइलो मान्नुहुन्न । बुढ्यौली किन पनि नरमाइलो मान्नुपर्ने विषय होइन भन्दा यो मानिसले जतिसुकै जोगिए पनि, जतिसुकै सतर्क रहे पनि, जतिसुकै टाढा/नजिक रहे पनि, जतिसुकै खुसी भए पनि, जतिसुकै दुःखी भए पनि जीवनको उकाली ओरालीमा क्रमशः प्राप्त गर्नै पर्ने उमेरगत सम्प्राप्ति हो । जतिसुकै राम्रो सम्पन्नता, जतिसुकै राम्रो रोजगारी, जतिसुकै राम्रो खानपान, जतिसुकै राम्रो लवाइखवाइ, जतिसुकै राम्रो हिँडाइडुलाइ, जतिसुकै बढी देश दर्शन, जतिसुकै राम्रो शारीरिक हेरचाह, जतिसुकै राम्रो र व्यवस्थित घर परिवार भए पनि जोसुकैको बुढ्यौली प्राप्त नभइनछाड्ने उमेरगत उपहार हो । जतिसुकै राम्रा बन्धुबान्धव, आफन्त, इष्टमित्र हुँदा पनि यसबाट जोगिन सकिन्न । मानिस यस्तो अपरिहार्य वस्तु प्राप्त गर्दा पनि म बुढो भएँ, म बुढी भएँ भन्दै पिरोलिन्छन् । चिढिन्छन् । दिक्किन्छन् । छटपटिन्छन् । निन्याउरिन्छन् । अनेकौँ गुनासो र छटपटी व्यक्त गरिरहन्छन् । यी सब अनावश्यक कुरा हुन् । वाहियात कुरा हुन् । किनकि, जुन कुरा जति प्रयास गर्दा पनि प्राप्त हुँदैन फेरि त्यसैका लागि मरिहत्ते गर्नु एक हिसाबले मूर्खता पनि हो ।

सर्लक्क जन्मेर जीवनका हरेक उकाली ओराली बेहोर्दै बुढ्यौली उमेरमा पुग्न पाउनु भनेको मानिसको जीवनको उच्चतम प्राप्ति हो । अहोभाग्य हो । यस्तो अवसर सबैलाई प्राप्त हुँदैन । सबैलाई प्राप्त नहुने कुरा प्राप्त गर्न पाउनुभन्दा ठूलो कुरा अरू के नै हुन सक्छ र ? दुःख, सुख, कष्ट, हन्डर, ताली, गाली, घाउ, चोट, ऐया, आत्था आदि भन्ने कुरा त जीवन भोगाइभित्रका विविध घटना परिघटना हुन् । यी कुरा सबैलाई समान हैसियतले प्राप्त हुने विषय होइनन् । कसैका भागमा के पर्छ, कसैका भागमा के पर्छ । त्यसैले जो कोही मानिसले आफ्ना जीवनकालमा आइपर्ने यस्ता कुरालाई सहज रूपमा लिनुपर्छ । स्वीकार गर्नुपर्छ । कदापि आत्तिनु हुँदैन । आवश्यक परे अरू र आफ्नो अवस्था तुलना गरेर पनि चित्त बझाउनुपर्छ ।

यस्तो अवस्थामा उपलब्ध भए बुढाबुढी एक आपसका सच्चा साथी हुन सक्छन् । दुवै अशक्त भएपछि दुवैको थुप्रिने थलो भनेको घर, कोठा र ओछ्यान नै हो । हेर्ने/देख्ने भनेको आप्‌mनै अगाडि नाचिरहेका छोरा, बुहारी, छोरी, जुवाइँ, नातिनातिना आदि मानवीय जीवनका गहना हुन् । सकारात्मक रूपमा सोच्दा यसरी सोचिए पनि सबैलाई यस्तो अवस्था उपलब्ध नहुन पनि सक्छ । यस्तो अवस्थामा जे उपलब्ध छ त्यसमा चित्त बुझाउनुपर्छ । आफ्ना सामु आइपरेका दुःख, सुख, अनुकूल, प्रतिकूल, घात, प्रतिघात, सम्पन्नता, विपन्नता, मित्रता, शत्रुता जस्ता सबै अवस्थाका कुरालाई यी नै मेरा सच्चा साथी हुन् भनेर चित्त बुझाउनुको विकल्प रहन्न ।

०००
काठमाडाैं
२०८३/५/६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x