वासुदेव गुरागाईंबुढ्यौलीका सच्चा साथी
सर्लक्क जन्मेर जीवनका हरेक उकाली ओराली बेहोर्दै बुढ्यौली उमेरमा पुग्न पाउनु भनेको मानिसको जीवनको उच्चतम प्राप्ति हो । अहोभाग्य हो । यस्तो अवसर सबैलाई प्राप्त हुँदैन ।
वासुदेव गुरागाईं :
मानिसका लागि बुढ्यौलीपन नरमाइलो मान्नुपर्ने विषय होइन, अत्यन्त हर्ष मान्नुपर्ने आनन्दको क्षण हो । हत्तपत्त प्राप्त नहुने यो अवस्था कुनै पनि मानिसका लागि अहोभाग्यको विषय हो । सबैले चाहेर प्राप्त नहुने अवस्था हो । यस्तो सुखद अवस्थालाई कसरी उपयोग गर्ने भन्ने चासो मात्र खोजको विषय हो । यस्तो सुखद अवस्थालाई अझ कसरी सुखद र सहज बनाउने ? अथवा, यो सुखद अवस्थाको क्षणलाई थप सुखद बनाउन तिनलाई कसरी सहजता प्रदान गर्ने भन्ने विषय बढी महत्वपूर्ण हो । यस्तो अवस्थामा आवश्यक पर्ने विषय के के हुन सक्छन् ? यो हरेक दृष्टिकोणबाट कठिनावस्थामा पुगेका वृद्धावस्थाका मानिसका लागि बहसको विषय हो ।
अनुकूल अवस्थामा मानिसले अरूलाई चिन्दैन । अरूको खोज गर्दैन । अरूको आवश्यकता ठान्दैन । सामान्यतः कसैलाई वास्ता नगरी धमाधम आफैँ अघि बढिरहन्छ । तर प्रतिकूल अवस्थामा ऊ अरूको खोजी गर्छ । अरूको सहयोग र मद्दतको आवश्यकता ठान्छ । अरूको आवश्यकता पर्ने क्षण नै मान्छेका लागि प्रतिकूल अवस्था हो । मानिसका लागि पाइलापाइलामा प्रतिकूल अवस्था पनि आउँछ, अनुकूल अवस्था पनि आउँछ । अहिले यहाँ चर्चा गर्न लागिएको विषय भने मानिसको प्रतिकूल अवस्थाको हो । त्यो पनि प्रत्येक प्रतिकूल अवस्थाको नभएर उमेरगत शारीरिक कठिनावस्था हो । यसरी नै त्यतिखेरै व्यावहारिक हिसाबले सिर्जना हुने आन्तरिक पारिवारिक मिलनको असन्तुलताको क्षणको मात्र हो । अनि, यस्तो अवस्थामा आत्मिक मनले सहयोग गर्नेको खोजखबरी हो ।
कतिपय मानिसहरू भन्ने गर्छन् कि केटाकेटी र वृद्धवृद्धा उस्तै हुन् । हुन सक्छ यो भनाइ उनीहरू आफैँमा शारीरिक हिसाबले सक्षम नभएकाले भनिएको हो । बेलाबखत अरूका सहयोगको आवश्यकता पर्ने भएकाले भनिएको हो । तर मेरा विचारमा केटाकेटी र वृद्धवृद्धालाई यसरी फ्याट्टै तुलना गर्न मिल्दैन । किनकि, केटाकेटीमा भविष्यमा आउने दिनका सबै कुराको चिन्ता र व्यथा हुँदैन । केके समस्या आउँछन् ? कस्ताकस्ता प्रकृतिका उल्झन आउँछन् । सफलता भनेको के हो ? असफलता भनेको के हो ? अरूसँग प्रतिस्पर्धा गरेर कसरी अगाडि बढ्ने ? भन्ने जस्ता चिन्ता उनमा हुँदैन । उनलाई भनेका बेलामा खान पाए पुग्यो । राम्रो लाउन पाए पुग्यो । माटोमा लडिबुडी गर्न र साथीभाइसँग खेल्न पाए पुग्यो । स्वच्छन्द हिसाबले हिँडडुल गर्न पाए पुग्यो । थप आवश्यकताका कुरामा आफ्ना अभिभावकलाई रोएर, कराएर वा घुर्की लगाएर आप्mनो माग पूरा गर्न पाए पुग्यो । मोटामोटी रूपमा उनीहरूको चाहना यत्ति हो । तर बुढ्यौली वयका मानिसमा यस्तो हुँदैन । बुढ्यौली वयका मानिसहरू भोगाइका भकारी हुन् । उनमा बालपनदेखि वर्तमान वयसम्मका अनेक सङ्घर्ष, अनेक हन्डर र अनेक कष्टले भरिएका क्विन्टलका क्विन्टल बोराका चाङैचाङ हुन्छन् । ती सबैलाई मनका मझेरीमा कुनै कुनो खाली नहुने गरी खातका खात थुप्र्याइएको हुन्छ । कुनै न कुनै रूपमा जता पनि लैजान मिल्ने चिन्ताको विशाल कुलो हुन्छ । त्यस्तो कुलो आप्mना लागि मात्र नभएर आप्mना शाखासन्तान र आफन्तसम्ममा फिँजिएको हुन्छ ।
उमेरका हिसाबले शारीरिक अशक्तता र विविध कारणले पारिवारिक असहजावस्थामा यस्ता वृद्धवृद्धाका लागि सच्चा व्यवहार गर्ने मानिसको खाँचो पर्छ यतिखेर । मन खोलेर बोल्ने साथी चाहिन्छ । सक्कली व्यवहार गर्ने मित्र चाहिन्छ । जिज्ञासा उत्पन्न होला– सक्कली भनेको के हो ? सक्कली व्यवहारलाई सच्चा व्यवहार भनिन्छ । सक्कली व्यवहार भनेको चोखो व्यवहार हो । यसलाई जस्तो हुनुपर्ने हो त्यस्तै भन्न पनि सकिन्छ । यो कुनै पनि किसिमको छलछामविनाको व्यवहार हो । यसमा भौतिक प्राप्तिको कुनै कण हुँदैन । न यसमा सरकारी प्रशासनमा जस्तो प्रशासनिक कुटिलता र जटिलता हुन्छ, न राजनीतिक प्रकृतिको बेइमानी र फट्याइँ । न सामाजिक मुख मिलाइ र लोलोपोतो हुन्छ न कुनै किसिमको घृणा वा अपहेलना । बुढ्यौली वयमा यस्तो व्यवहार कोबाट पाउन सकिन्छ ? प्रश्न यो हो । प्रश्न सामान्य छ, र त्यत्तिकै जटिल पनि ।
वृद्धवृद्धाका लागि चोखो मनले व्यवहार गर्ने सच्चा साथी चाहिन्छ । त्यो भनेको आप्mनै श्रीमती वा श्रीमान् हो । बेलाबखत सामान्य रूपमा गाँड कोराकोर भए पनि पतिपत्नीबीचको सम्बन्ध भनेको अपार मेलमिलापको सम्बन्ध हो । अपवाद अवस्थामा बाहेक यो सम्बन्ध उदाहरणीय सम्बन्ध हो । जुन व्यक्तिहरूका बीच पाइलापाइलामा ठेस लागेका कुरादेखि केस पाकेका कुरासम्म अलिकति पनि नढाँटी एक आपसमा व्यक्त गर्ने वातावरण हुन्छ । परिवेश हुन्छ । लामो समयदेखि एकले अर्काको सबै परिस्थितिको सबै मनोभाव बुझेकै कारण यस्तो स्थिति सिर्जना हुन पुग्छ । तर दुःखको कुरा जीवनको अन्तिम अवस्थासम्म बुढाबुढी सँगै बाँचिरहने अवस्था रहन्न । जीवन छाड्ने/चुँडिने क्रममा कसैका को अघि हुन्छ, कसैका को अघि । यो कसैको रोजाइको विषय नभएर चाहेर वा नचाहेर पनि सबैले मान्नुपर्ने प्राकृतिक नियम हो ।
यसरी हेर्दा जीवनको अन्तिम अवस्थासम्म बुढाबुढीबीच कुरा साटासाट गर्ने अवसर कमै मानिसलाई प्राप्त हुन्छ । यस कुरालाई बुझेर आप्mनो बुढ्यौलीपनको भोग गर्नुपर्छ जोसुकैले पनि । चाहे त्यो वृद्ध होओस् वा वृद्धा । दुवैले मन बुझाउनुपर्छ । नरमाइलो मान्नुहुन्न । बुढ्यौली किन पनि नरमाइलो मान्नुपर्ने विषय होइन भन्दा यो मानिसले जतिसुकै जोगिए पनि, जतिसुकै सतर्क रहे पनि, जतिसुकै टाढा/नजिक रहे पनि, जतिसुकै खुसी भए पनि, जतिसुकै दुःखी भए पनि जीवनको उकाली ओरालीमा क्रमशः प्राप्त गर्नै पर्ने उमेरगत सम्प्राप्ति हो । जतिसुकै राम्रो सम्पन्नता, जतिसुकै राम्रो रोजगारी, जतिसुकै राम्रो खानपान, जतिसुकै राम्रो लवाइखवाइ, जतिसुकै राम्रो हिँडाइडुलाइ, जतिसुकै बढी देश दर्शन, जतिसुकै राम्रो शारीरिक हेरचाह, जतिसुकै राम्रो र व्यवस्थित घर परिवार भए पनि जोसुकैको बुढ्यौली प्राप्त नभइनछाड्ने उमेरगत उपहार हो । जतिसुकै राम्रा बन्धुबान्धव, आफन्त, इष्टमित्र हुँदा पनि यसबाट जोगिन सकिन्न । मानिस यस्तो अपरिहार्य वस्तु प्राप्त गर्दा पनि म बुढो भएँ, म बुढी भएँ भन्दै पिरोलिन्छन् । चिढिन्छन् । दिक्किन्छन् । छटपटिन्छन् । निन्याउरिन्छन् । अनेकौँ गुनासो र छटपटी व्यक्त गरिरहन्छन् । यी सब अनावश्यक कुरा हुन् । वाहियात कुरा हुन् । किनकि, जुन कुरा जति प्रयास गर्दा पनि प्राप्त हुँदैन फेरि त्यसैका लागि मरिहत्ते गर्नु एक हिसाबले मूर्खता पनि हो ।
सर्लक्क जन्मेर जीवनका हरेक उकाली ओराली बेहोर्दै बुढ्यौली उमेरमा पुग्न पाउनु भनेको मानिसको जीवनको उच्चतम प्राप्ति हो । अहोभाग्य हो । यस्तो अवसर सबैलाई प्राप्त हुँदैन । सबैलाई प्राप्त नहुने कुरा प्राप्त गर्न पाउनुभन्दा ठूलो कुरा अरू के नै हुन सक्छ र ? दुःख, सुख, कष्ट, हन्डर, ताली, गाली, घाउ, चोट, ऐया, आत्था आदि भन्ने कुरा त जीवन भोगाइभित्रका विविध घटना परिघटना हुन् । यी कुरा सबैलाई समान हैसियतले प्राप्त हुने विषय होइनन् । कसैका भागमा के पर्छ, कसैका भागमा के पर्छ । त्यसैले जो कोही मानिसले आफ्ना जीवनकालमा आइपर्ने यस्ता कुरालाई सहज रूपमा लिनुपर्छ । स्वीकार गर्नुपर्छ । कदापि आत्तिनु हुँदैन । आवश्यक परे अरू र आफ्नो अवस्था तुलना गरेर पनि चित्त बझाउनुपर्छ ।
यस्तो अवस्थामा उपलब्ध भए बुढाबुढी एक आपसका सच्चा साथी हुन सक्छन् । दुवै अशक्त भएपछि दुवैको थुप्रिने थलो भनेको घर, कोठा र ओछ्यान नै हो । हेर्ने/देख्ने भनेको आप्mनै अगाडि नाचिरहेका छोरा, बुहारी, छोरी, जुवाइँ, नातिनातिना आदि मानवीय जीवनका गहना हुन् । सकारात्मक रूपमा सोच्दा यसरी सोचिए पनि सबैलाई यस्तो अवस्था उपलब्ध नहुन पनि सक्छ । यस्तो अवस्थामा जे उपलब्ध छ त्यसमा चित्त बुझाउनुपर्छ । आफ्ना सामु आइपरेका दुःख, सुख, अनुकूल, प्रतिकूल, घात, प्रतिघात, सम्पन्नता, विपन्नता, मित्रता, शत्रुता जस्ता सबै अवस्थाका कुरालाई यी नै मेरा सच्चा साथी हुन् भनेर चित्त बुझाउनुको विकल्प रहन्न ।
०००
काठमाडाैं
२०८३/५/६
Subscribe
Login
0 Comments
Oldest




































